डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने
काठमाडौं । ‘महत्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ । संयुक्त राज्यले सन् २०२४ सम्म डब्लुएफपीलाई नौ अर्ब ७० करोड कोषमध्ये चार अर्ब चालिस करोड प्रदान गरेको थियो । हाल वाशिङ्गटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त प्रदान गरिने रकम कटौती गरिने जनाएको छ । सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ । डब्लुएफपीले पाँच करोड १० लाख जनसङ्ख्या भएको यस देशका एक करोड ५० लाखभन्दा बढी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ । ‘कोषको गम्भीर अभावका कारण अप्रिलदेखि सुरु हुने गरी म्यान्माका दस लाखभन्दा बढी मानिस डब्लुएफपीको जीवनरक्षक खाद्य सहायताबाट वञ्चित हुने्,’ डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डब्लुएफपीले भनेको छ,’यी कटौतीहरू बढ्दो द्वन्द्व, विस्थापन र पहुँच प्रतिबन्धहरूले पहिले नै खाद्य सहायताको आवश्यकतालाई तीव्र रूपमा बढाइरहेको बेलामा आएका छन् ।’
सिटिजन्स बैंकले १५ वर्ष सेवा गरेका कर्मचारीलाई गर्यो दीर्घ सेवा सम्मान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । आजको दिन (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकमा हाल १ हजार ८ सय कर्मचारी कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आप्mनो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ । ५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ । बैंकका अनुसार यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्छ । यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउनेछन् । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने छ । सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीले दिए निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँग आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरे। ‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ ।’ ‘मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ,’उनले थपे। प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरे । सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले १६ औं योजनाको कार्यान्वयन, यसका चुनौतीहरु, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपुरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका छन् । उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए । छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालयलगायत सहभागी थिए।
आईओइमा अध्ययनरत प्रजेशले पाए श्री शङ्करलाल अग्रवाल गोल्डमेडल
काठमाण्डौं । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसमा अध्ययनरत प्रजेश श्रेष्ठले श्री शङ्करलाल अग्रवाल गोल्ड मेडल प्राप्त गरेका छन् । आईओइले आफ्नो ५९ औँ वार्षिक समारोहका शुभ अवसरमा प्रजेशलाई गोल्ड मेडल प्रदान गरिएको हो । श्रेष्ठले २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ सङ्कायको परीक्षामा इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएका थिए । प्रजेश लाई गोल्ड मेडलसँगै ५१ हजार रुपैयाँ नगद दिएर सम्मान गरिएको पुरस्कारका साथ सम्मानित गरिएको हो । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोह बुधबार समापन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शङ्कर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा डीन प्रा. डा.सुशील बहादुर बज्राचार्य प्रमुख अतिथि रहेको समारोहमा विशेष अतिथिका रुपमा शंकर ग्रुपका निर्देशक –संचालन तथा मार्केटिङ रवि प्रकाश इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा। खेम ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई ३० लाख सहयोग
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थको बुढानीलकण्ठमा निर्माण भइरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)युगेशभक्त बादे श्रेष्ठले काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थको व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्रसिंह भण्डारी, कम्पनीका सीईओ श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त बाल अस्पतालको लागत २ अर्ब ६५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
वसन्त ऋतुको आगमनसँगै खुल्यो काठमाडौं उपत्यकाको आकाश (तस्बिरहरू)
काठमाडौं । करिब एक सातापछि काठमाडौं उपत्यकाको आकाश खुलेको छ । धुम्म परेको बादल हटेसँगै उपत्यकाको आकाश रमणीय अनि मनमोहक देखिएको छ । आजदेखि वसन्त ऋतुको आगमन पनि भएको छ । शुक्रबार धरहराबाट देखिएको काठमाडौंको मनमोहक दृष्य हामीले क्यामेरामा कैद गर्ने प्रयास गरेका छाैं । तस्बिरहरू :
महायज्ञबाट दुई करोड ७६ लाख संकलन
मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुई करोड ७६ लाख रुपैयाँ संकलन भएको छ । हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापा बताउँछन् । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट दुुई करोड ७६ लाख रुपैयाँ संकलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।