विकासन्युज

बसन्तपुुरमा लाग्यो केपी ओली मुर्दावादको नारा, बालेनको प्रशंसा

काठमाडौं ।  पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने अधिकांश कार्यक्रममा उनी विरुद्दका नारा लाग्ने गरेका छन् । प्रधानमन्त्री ओली सहभागी हुने अधिकांश कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले केपी ओली मुर्दावादको नारा लगाउँदै उनको विरोध गर्ने गरेका छन् । ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने वित्तीकै युवाहरुले उनी विरुद्दका नारा घन्काउने गरेका छन् । यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली कप मात्रै होइन ओली विदेशमा गएको बेला समेत अमेरिकामा उनीविरुद्द नारा लागेको थियो । त्यस्तै नारा बिहीबार बसन्तपुरमा पनि लाग्यो । होली मनाउन बसन्तपुर पुगेका युवाहरुको समूहले ओली सहभागी नभए पनि केपी ओली मुर्दावाद भन्दै उनको विरोध गरे । होली मनाइरहेका युवाहरुले केपी ओली मुर्दावाद, बालेन शाह जिन्दावाद भन्दै नारा लगाएपछि बसन्तपुरको माहोल तातेको थियो । युवाहरु नारा लगाउँदै उफ्रिएपछि बसन्तपुरमा खटिएका सुरक्षाकर्मी सक्रियमात्रै बनेनन्, अन्य ठाउँमा खटिएका सुरक्षाकर्मी पनि बसन्तपुरमै आइपुगे । सुरक्षा व्यवस्थामा कडाइ भएपछि युवाहरुले प्रधानमन्त्री ओली विरुद्दका नारा लगाउन रोकिएका थिए । यसरी ओली पुगेका विभिन्न सार्वजनिक कार्यक्रम र उनी सहभागी नै नभएको ठाउँमा समेत उनको आलोचना गर्दै उनीविरुद्द नारा लाग्न थालेपछि धेरैले ओलीको लोकप्रियता घट्दै गएको र सरकारको कामप्रति सर्वसाधारण असन्तुष्ट बनेको बुझ्न सकिन्छ ।  

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा दुई करोड ३१ लख ३६ हजार सात सय ५० रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्याएको छ । पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए । यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ । विसं २०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

एमाले र काँग्रेस निकटलाई सदस्य बनाएर सरकारले बनायो गभर्नर सिफारिस समिति, राष्ट्र बैंक कसको भागमा ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि समिति गठन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको हो । अर्थमन्त्री पौडेल नेकपा एमालेका उपाध्यक्ष समेत हुन् । समितिमा अध्यक्ष पौडेलसँगै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् । औपचारिक निर्णय नभएपनि अनौपचारिकमा उनीहरु दुई जनालाई समितिमा राख्ने विषय निश्चित भइसकेको स्रोतको दाबी छ । भट्टराई नेपाल राष्ट्र बैंकको तेर्हौं गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् । उनको कार्यकाल सन् २००५ देखि २०१० सम्म रह्यो । उनी केही समय भ्रष्टाचार मामिलामा परि वर्खास्त हुँदा दिपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर, पछि उनलाई पुनर्वहाली गरिएको थियो । अहिलेका गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्दा पनि उनी सिफारिस समितिको सदस्य थिए । यस्तै, अर्का सदस्य पौडेल नेपाली काँग्रेस निकट मानिन्छन् । २०७९ मा भएको निर्वाचनमा चितवन निर्वाचन न. १ बाट उम्मेदवार बनेका थिए । तर, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले पराजित गरे । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै राजीनामा दिएर काँग्रेसको उम्मेदवार बनेका थिए । सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नका लागि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जनालाई सदस्य बनाउनु पर्ने व्यवस्था छ । सो समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने व्यवस्था छ । तीन जनामध्येबाट एक जनालाई गभर्नरमा नियुक्त गनुपर्ने व्यवस्था छ । पछिल्लो समय विभिन्न निकायको नियुक्तिमा सरकारमा सम्मिलित दलहरुबीच भागबण्डा गर्ने गरेका छन् । विशेषगरि एमाले र काँग्रेस अहिले भागबण्डा गरिरहेका छन् । केही समयअघि मात्रै नेपाल बीमा प्राधिकरण नेपाली काँग्रेस निकटले पाएको चर्चा बजारमा छ । त्यसैले पनि राष्ट्र बैंक नेकपा एमालेले पाउँछ कि भन्ने अनुमान छ । प्रधानमन्त्री र अर्थमन्त्री नै एमालेको भएकोले देशको आर्थिक तथा वित्त नीतिलाई सरल र सहज रुपमा अगाडि बढाउनका लागि भएपनि प्रधानमन्त्री र अर्थमन्त्रीले एमाले निकट व्यक्तिलाई नै गभर्नर बनाउन सक्ने सम्भावना पनि छ । तर, एमालेले निर्वाचन आयोगको निर्वाचन आयुक्तमा भाग खोजिरहेको चर्चा चलिरहेको बेला राष्ट्र बैंकको गभर्नर कसले पाउने भन्ने विषय अहिलेसम्म अनिश्चित नै बनेको छ । गभर्नरका लागि दुई दर्जन व्यक्ति दौडधूपमा लागेका छन् ।

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं । सरकारले यो वर्षको लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात हुँदै आएको छ ।

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

काठमाडौं । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ । ‘चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ’, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योंगकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर देखाउनाले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ । संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन… सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ ।’ जनवरीमा पुनः पदभार ग्रहण गरेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाएका छन् । यस महिना ट्रम्पले चिनियाँ उत्पादनहरूमा लगाएको १० प्रतिशतको सामान्य भन्सारलाई बढाएर २० प्रतिशत पुर्‍याएका थिए । बेइजिङले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाएको छ । विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधवार इस्पात र एल्युमिनियम आयातमा अलग–अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न ‘सबै आवश्यक उपायहरू’ गर्ने प्रतिबद्धता जनाएको छ ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरू बिहीबार जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । जनकपुरधाम फर्किने परिक्रमा यात्री जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बसेका छन् । धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो । फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किरहेका परिक्रमा यात्री (भोलि) शुक्रवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौं विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । ‘एयर अरेबियाको जहाजले काठमाडौं विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ’, उनले भने, ‘दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।’ त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौंमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो । यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो । कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए । त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए । प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तरराष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिए । अन्तरराष्ट्रिय उडानका जहाज काठमाडौं विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ । आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ । बुधबार राति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्ष भएको छ । विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो । आज पनि ती प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै अपराह्नतिर घेम गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् । आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदै छ ।