खानेपानीको किचलोले नागढुंगा-नौबिसे सुरुङमार्गमा फेरि अवरोध, माग सम्बोधन नभए थप आन्दोलन गर्ने
फाइल तस्बिर । काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि बन्द भएको छ । खानेपानी आयोजनामा स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिनुपर्ने मागसहित चन्द्रागिरी नगरपालिका- २ का स्थानीयले आइतबारदेखि निर्माणको कार्य बन्द गरेका हुन् । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हाल काठमाडौं र धादिङतर्फको कार्य बन्द भएको हो । स्थानीयले पटक-पटकको अवरोधले गरी रहँदा आयोजना निर्माणले गति लिन नसकेको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल सञ्जिय पन्थीले जानकारी दिए। उनले भने, ‘स्थानीयहरूले बारम्बार अवरोध गर्दै आएका छन् । खानेपानी स्रोत र व्यवस्थापन गरिदिनुपर्ने र निर्माण कार्यमा हामीलाई पनि सहभागिता गराउपर्छ भनेर उनीहरूले अवरोध गरिरहेका छन् । आज दिउँसो ४ बजे उनीहरूलाई छलफलका लागि हामीले अफिसमै बोलाएका थियौं तर, उहाँहरू आउनु भएन ।’ हालसम्म स्थानीयहरूको खानेपानी व्यवस्थापन गर्दै आएको प्रमुख पन्थीले बताए । उनले भने, ‘निर्माण कार्य अन्तिम चरणमा रहेकाले त्यसपछि कसले जिम्मा लिने अत्तोपत्तो छैन । त्यसैले स्थानीयहरूले अवरोध गरिरहेका छन् । यसको जिम्मा चन्द्रागिरी नगरपालिकाले लिने भन्ने बारेमा कुनै छलफल भएको छैन । यहाँ पानीको मुल नै सुकेको अवस्था छ । त्यसैले पानीको व्यवस्थापन गर्नुपर्छ भनेर उनीहरुले अवरोध गरिरहेका छन् ।’ यसबारेमा स्थानीयहरूसँग थप छलफल गरेर अगाडि बढ्ने उनले बताए । प्रमुख पन्थीले यदि स्थानीयहरूले निर्माण कार्यमा कुनै बाधा अवरोध नगरे असारसम्ममा सम्पन्न गरिसक्नेसमेत दाबी गरे । आयोजनाको हाल ८७ प्रतिशत काम सकिएको उनको भनाइ छ । सुरुङमार्गमा पहिरोको कामलगायत बाँकी रहेको बताइएको छ । यता स्थानीयहरूले भने मागहरू सम्बोधन नभए निर्माण कार्य ठप्प नै रहने बताउँदै आएका छन् । चन्द्रागिरी नगरपालिका २ का स्थानीय तथा पूर्ववडाध्यक्ष गोपी सुरखेतीका अनुसार उक्त आयोजना सुरु गर्दैगर्दा सिस्नेखोलाको पनि सुकेको थियो । पानी सुकेपछि आयोजनाले पानीको पुरै जिम्मा लिएको थियो । जसमा त्यो खानेपानी आयोजनाको छुट्टै समिति बनाएर काम अघि बढाइएको थियो । उनले भने, ‘निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब काम सकेपछि आयोजनाले सुरुङमार्ग हस्तान्तरण गर्ने भएको छ । खानेपानीको यसको जिम्मा आयोजनाले नै लिनुपर्ने हाम्रो माग हो ।’ चर्केका घरहरूको निरीक्षण गरी क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको समस्या समाधान गर्नुपर्नेलगायत मागहरू आफूहरूले राखेको विकासन्युजलाई जानकारी दिए । उनले मागहरू छिट्टै सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
भोल्भोको नयाँ एस्काभेटर बजारमा
काठमाडौं । पञ्चकन्या ग्रुपले भोल्भोको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । ग्रुपले प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भोल्भो ईसी टु ट्वान्टी एस्काभेटर सार्वजनिक गरेको हो । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको ग्रुपले जनाएको छ । एक्सप्लोर अर्थ मुभर्स प्रालिअन्र्तगत बिक्री वितरण हुुने भोल्भो ईसी टु ट्वान्टीको मेसिनमा शक्तिशाली इन्जिन क्षमता रहेको छ । यो जटिल निर्माण कार्यक्षेत्र जस्तै– खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एस्काभेटर युरो स्टेज आईआईआईए मापदण्डअनुसार रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाइने अन्य सोही प्रकृतिका मेसिनहरू भन्दा १० प्रतिशत बढी उत्खनन क्षमतासहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । नेपालको भौगोलिक बनावट सुहाउँदो भएकाले यस मेसिनको प्रयोगले प्रभावकारीता वृद्धि गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाइएको छ ।
‘पर्यटन प्रवर्द्धन गर्न छिमेकी मुलुकमा सम्पर्क कार्यालय स्थापना गराैं, स्वदेशमा पूर्वाधार बढाऔं’
काठमाडौं । पर्यटन क्षेत्रमा विगत छ दशकदेखि निरन्तर योगदान दिँदै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले नेपालको पर्यटन प्रवर्द्धन, विकास तथा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशभर १ हजार १०० भन्दा बढी टुर तथा ट्राभल व्यवसायी कम्पनीहरूको प्रतिनिधित्व गर्ने नाट्टा नेपालका अग्रणी पर्यटन संस्था हो । अहिले कल्पना गर्दा पनि गौरव लाग्छ, ६० वर्षअघि जब नेपालका पूर्वजहरूले पर्यटनको सम्भावना देखे, त्यतिबेला न त सूचना सञ्चार प्रविधि थियो, न पूर्वाधारको सुविधा, न त उचित स्थल तथा हवाई यातायात व्यवस्थापनको सुविधा । तैपनि नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने परिकल्पना गर्नुभयो, जसका लागि म उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नाट्टाको इतिहास हेर्दा सन् १९६६ मा नाट्टाको स्थापना भएपछि नेपालमा पर्यटन गतिविधिहरू तीव्र रूपमा वृद्धि हुन थाले । सगरमाथा आरोहण (१९५३) पश्चात नेपाल अन्तर्राष्ट्रिय मिडियामा चर्चित बन्दै गयो, जसले पर्यटन प्रवर्द्धनलाई थप ऊर्जा प्रदान गर्यो । तत्पश्चात ६० को दशकमा नेपालको पर्यटन जुर्मुराउन थाल्यो । फलस्वरूप सन् १९६० को समयमा पर्यटन गतिविधिमा राम्रो वृद्धिसमेत भयो । यस्तै, सन् १९६५ मा सोल्टी होटल तथा अन्नपूर्ण होटल सञ्चालनमा आउँदा नेपालमा व्यवस्थित पर्यटन व्यवसायको जग बसिसकेको थियो । हाम्रा पूर्वजहरूले समयको सही मूल्यांकन गरेरै नै होलान् नाट्टाको स्थापना गरेका सायद । विशेष संयोग नै होला त्यही समयमा युरोपमा पनि यस्तै संस्थाहरू स्थापना भएका थिए, जस्तै सन् १९६६ मा विश्व पर्यटन प्रवर्द्धनमा प्रसिद्ध विश्वकै ठूलो पर्यटन व्यापार मेला (आइटीबी) बर्लिन मेला तथा संसारका पर्यटन व्यवसायीहरूको साझा संगठन युनिभर्सल फेडरेशन अफ ट्राभल एजेन्टस एशोसिएशन (युएफटीएए) को स्थापना समेत भएको छ । यसले देखाउँछ कि हाम्रो पूर्वजहरूको सोच समयसापेक्ष युरोपियनस्तरको नै थियो । सम्झँदा पनि गौरव लाग्छ कि नाट्टाको सुरुवात एउटा संस्था स्थापना मात्र थिएन, त्यो एउटा सोचको बिजारोपण थियो । एउटा गन्तव्यप्रतिको मोमेन्ट थियो, जुन हामीमाझ नेपालकै अग्रणी र पर्यटन क्षेत्रको पहिलो संस्थाका रूपमा ६० वर्षको परिपक्क पर्यटन विकास तथा प्रवर्द्धनकाे साझेदार बन्दै पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासलाई देशका हरेक कुनामा पुग्न र पुर्याउन सफल भएको छ । फलस्वरुप नेपालको आर्थिक विकासको तीन स्तम्भहरू मध्येको कृषि, ऊर्जासहितको एक पर्यटन क्षेत्रलाई स्थापित गर्न अहम भूमिका निर्वाह गरेको छ । समय सापेक्ष हरेक नाट्टामा सम्बद्ध हाम्रा अग्रजहरुसहित आजका यस युवा पिँढीले पनि आआफ्नो योगदान दिँदै आजको दिनमा नाट्टालाई यहाँसम्म पुर्याउन सफल भएको छ । नाट्टाले पर्यटन विकासका विभिन्न चरणहरूमा महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ । भू-परिवेष्ठित देश नेपालमा तेस्रो मूलुकका पर्यटक आउन अत्यन्त कठीन रहेको बेला भिषा सुविधा विस्तारका लागि पहल गर्दै सन् १९८० को दशकमा छिमेकी राष्ट्रहरूबीच रहेको खुला नाकाको उचित उपयोगका लागि सरकारमार्फत विशेष नीति लागु गराउन योगदान दिनुका साथै सन् १९८५ मा नेपाल–तिब्बत सीमामार्फत नेपाल र तिब्बतबीच पर्यटकहरुलाई भिषा सुविधा विस्तारका लागि आवश्यक सम्झौता गर्न पहल गर्ने महत्वपूर्ण भूमिका नाट्टाले निभायो, जसका कारण नेपाल तिब्बत पर्यटनका लागि प्रवेशद्वार बन्यो । समयको मागसगैं नाट्टाले पर्यटन मेलाहरूमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा आफ्नो पहुँच कायम गर्यो । १९८० को दशकमा सुरु भएको बेलायतमा सञ्चालन हुने वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मेलामा समेत सो बेलादेखि नै नाट्टाले सहभागी जनाएको छ । सन् १९९० मा नेपालका प्रमुख पर्यटकीय क्रियाकलापहरू वन्यजन्तु हेर्न जङ्गल सफारी लगायत महत्त्वपूर्ण पदमार्गहरू (लाङटाङ, अन्नपूर्ण) विशेष प्राथमिकतामा परे । नेपालले खुला आकाशको नीति अबलम्बन गर्दै हवाई क्षेत्रको विकासमा धेरै सेवा प्रदायकहरु नेपालमा प्रवेश गरे । सन् १९९८ मा सफलतापूर्वक नेपाल भ्रमण वर्ष भिजिट नेपाल १९९८ सम्पन्न भयो, जसमा नाट्टाले नेतृत्वदायी भूमिका निर्वाह गर्यो । त्यसलगत्तै नेपालको पर्यटन प्रवर्द्धनलाई थप गतिशील तीव्रता दिन १९९९ मा निजी, सरकारी साझेदारीमा आधारीत नेपाल पर्यटन बोर्ड तथा हवाई सेवा नियमनमा नागरिक उड्डयन प्रधिकरणको स्थापनाका लागी समेत नाट्टाको विशेष योगदान रह्यो । सन् २००० देखि २०१० को अवधिमा नेपालका पर्यटन पूर्वाधार र वातावरणीय रणनीतिहरूको विकासमा ध्यान दिइयो, तर राजनीतिक अस्थिरता तथा राजदरबार घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्यो । तथापि नाट्टाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्दै ‘वी क्यान भिजिट नेपाल’ अभियान सञ्चालन गर्यो । यसैगरी, विभिन्न पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्य पर्यटन पुन:उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै सन् २०११ मा पुनः नेपाल भ्रमण वर्ष मनाइयो, जसमा नाट्टाको विशेष भूमिका रहेको थियो । २०१५ मा भूकम्पले नेपाल पर्यटन क्षेत्रमा ठूलो क्षति गर्यो । पर्यटन व्यवसाय संवेदनशील भएकाले साना घटनाहरूले पनि विश्वभर प्रतिकूल प्रभाव पार्न सक्छन । २०१९ मा नाट्टाले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट बीटीम सुरु गर्यो । त्यसपछि कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा व्यापक असर पर्यो । यद्यपि नाट्टाले सरकारसँग सहकार्य गर्दै व्यवसाय पुनः सञ्चालनका लागि विभिन्न पहलहरू गरेको थियो । महामारीपछि बंगलादेश र श्रीलंकाबाट पर्यटक भित्राउने कार्य सफल रह्यो । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन विकास एवं प्रवद्र्धनमा विविध कार्यक्रम र रणनितिहरु तयार गर्दै सरकार तथा सम्बद्ध सरोकारवालाहरुसगैं हातेमालोसहित पर्यटन पूनर्जागरणमा अघि बढ्यौं। हालको समयमा नाटटाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, जस्तै यूएनडीपी, युएसएड, तथा विभिन्न जिडिएस सेवाप्रदायकहरूसँग सहकार्य गर्दै विविध कार्यक्रम, तालिम तथा समय सापेक्ष आफ्ना कार्यक्रमहरू विकास गरिरहेको छ । यस क्रममा नयाँ प्रविधि तथा प्रविधिमैत्री तथा एआई समायोजन गर्दै डिजिटलाइजेसन, डिजिटल मार्केटिङ, तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू सम्बद्ध सदस्यहरूलाई प्रदान गर्दै आइरहेको छ । नीति निर्माणका सन्दर्भमा नाट्टाले नेपाल सरकार तथा सम्बद्ध मन्त्रालयहरू समक्ष आफ्नो विचारहरू प्रस्तुत गर्दै आएको छ । विशेष गरी, नेपाल सरकारले लागू गरेका विभिन्न कर सम्बन्धी नियमहरू तथा तिनले सिर्जना गरेका समस्याहरूको सम्बन्धमा सरकारसमक्ष आवाज उठाउँदै आएको छ । तर, मागहरू सम्बोधन नभएको अवस्थामा इतिहासमै पहिलो पटक नेपाल सरकारविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताका लागि सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जसको सुनुवाइ प्रक्रिया जारी छ । यसैबीच, नेपाल पर्यटन बोर्डको सहकार्यमा नाटटाले सम्बन्धित नीति तथा नियमहरूले पर्यटन क्षेत्रमा पारेका प्रभावहरूको अनुसन्धान गर्न हालै मात्र एक अनुसन्धानकर्ता कम्पनीसँग सम्झौता सम्पन्न गरेको छ । यसको उद्देश्य प्रत्यक्ष अध्ययन गरी सरकारलाई प्रतिवेदन प्रस्तुत गर्नु रहेको छ । पछिल्लो समय, विविध प्राविधिक कारण, ऐन, नियम तथा नियमावलीको प्रभावले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यहरू गर्न नसक्दा नाटटाले नेतृत्व गर्दै विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरूमा सहभागी भई नेपालको उपस्थिति सुनिश्चित गरेको थियो । साथै, नाट्टाले आफ्ना प्रादेशिक संरचनाहरूको विस्तार गर्दै आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने क्रममा विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । मानसरोवर यात्रादेखि आन्तरिक हवाई सञ्जालको विस्तारसम्म नाटटाले आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हाल नेपालको प्रमुख समस्या युवा जनशक्तिको विदेश पलायन हो । हामी प्रायः दक्ष जनशक्ति अभावको कुरा गर्छौं, तर यसको रोकथामका लागि प्रभावकारी कार्य गर्न सकिरहेका छैनौं । नेपाल सरकारले मात्र नभई निजी क्षेत्र, सरोकारवाला निकाय तथा हामी जस्ता संस्थाहरूले समेत आ-आफ्नो तर्फबाट ठोस पहल गर्न आवश्यक छ । नेपालको होटल क्षेत्र अन्य क्षेत्रहरू तुलनामा तीव्र विकास भइरहेको भए तापनि यसको कुल अकुपेन्सी दर ४० प्रतिशतमै सीमित रहेको तथ्य हामीले सुन्दै आएका छौं । यसले सञ्चालन खर्च समेत पूरा गर्न नसक्ने स्थिति देखिन्छ । त्यसैले पर्यटन आगमनलाई प्राथमिकता दिँदै नीतिगत सुधार तथा आवश्यक संरचनागत विकासमा ध्यान दिन जरुरी छ । नेपालको हवाई सेवा विस्तार नहुनुको प्रमुख कारणमध्ये एक, युरोपियन युनियनद्वारा नेपाललाई हवाई सुरक्षा कालोसूचीमा राख्नु हो । यसलाई समाधान गर्न सरकारले सुरक्षा मापदण्डहरूको विकास तथा आवश्यक नीति निर्माण गर्दै हवाई सञ्जाल विस्तार सहज बनाउनु आवश्यक छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना अपरिहार्य देखिन्छ । जबसम्म निगमले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने संरचना र रणनीति विकास गर्दैन, तबसम्म नेपालको पर्यटन यथास्थितिमै रहने निश्चित छ । तसर्थ, नेपाल वायुसेवा निगमको संगठनात्मक पुनर्संरचना, सक्षम नेतृत्व, र दीर्घकालीन रणनीति अवलम्बन गर्नु अपरिहार्य छ । यदि सुधार सम्भव नभए, नेपाल वायुसेवा निगमलाई पुनःसंरचित गर्दै नयाँ संरचनामा लैजानु आवश्यक छ । जबसम्म नेपाली आकाशमा राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायकहरूको उपस्थिति वृद्धि हुँदैन, तबसम्म नेपाल महँगो गन्तव्यका रूपमा रहि रहनेछ। नेपाल वायुसेवा निगमको पुनर्संरचनाका लागि नाटटाले विभिन्न अवसरहरूमा आफ्ना सुझावहरू प्रस्तुत गर्दै आएको छ । यस सन्दर्भमा, सीमित पाँचदेखि सात जना विज्ञ व्यक्तिहरू सम्मिलित एक अधिकार सम्पन्न समिति गठन गरी निगमको पुनर्संरचना तथा आवश्यक जहाज खरिददेखि सञ्चालनसम्मको नीति तथा रणनीति तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । नेपालमा सबै व्यक्ति भ्रष्ट छैनन, न त सबैको सोच एक नै हुन्छ । सकारात्मक दृष्टिकोणका साथ योग्य तथा सक्षम व्यक्तिहरूको पहिचान गरी यो प्रक्रिया यथाशक्य छिटो प्रारम्भ गर्नु अत्यावश्यक छ । तसर्थ, समय नष्ट नगरी पुनर्संरचनाको दिशामा ठोस र परिणाममुखी कदम अघि बढाउन पहल गर्नुपर्छ । नेपालको पर्यटन विकासमा छिमेकी मुलुकका पर्यटकहरू मुख्य स्रोतका रूपमा रहेका छन । विशेष गरी भारतीय पर्यटकहरूको घटदो संख्या र सम्भावित चिनियाँ पर्यटकहरूको वृद्धिलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले चीनका बेइजिङ, सांघाई तथा भारतका दिल्ली, मुम्बई, हैदराबादजस्ता प्रमुख सहरहरूमा आफ्ना सम्पर्क कार्यालयहरू स्थापना गरी पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । त्यसैगरी, छिमेकी राष्ट्रहरूसँग उपलब्ध विभिन्न विकास पूर्वाधार, सेवा, र साधनहरूको प्रभावकारी उपयोगका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूले ती मुलुकका सम्बन्धित संस्थाहरूसँग समन्वय गर्दै आवश्यक कदमहरू अगाडि बढाउन अत्यावश्यक छ । सीमित भौतिक पूर्वाधारका कारण हामी छिमेकी मुलुकका पूर्वाधारको उचित उपयोग गरी अझ बढी लाभ उठाउन सक्छौं । हालको अवस्था हेर्दा अमेरिकालगायत भारतका विभिन्न सहरहरूबाट नेपाल आउँदा औसतमा झन्डै १ हजार २०० अमेरिकी डलरमै दोहोरो हवाई टिकट प्राप्त गर्न सकिन्छ । तर सोही तुलनामा नेपालका लागि हवाई भाडा २ देखि ३ गुणासम्म महँगो पर्न आउँछ । यस्तो परिप्रेक्ष्यमा यदि उपलब्ध पूर्वाधारहरूको सही सदुपयोग गर्न सकियो भने छिमेकी राष्ट्रहरूबाट पर्यटकहरूको आवागमनलाई १ हजार ५०० अमेरिकी डलरभित्रै व्यवस्थापन गर्न सकिन्छ । यसका लागि नेपाली हवाई सेवा प्रदायक कम्पनीहरूले पारस्परिक सम्झौता वा कोड सेयरिङ प्रणालीमार्फत सहकार्य गरी सुलभ हवाई भाडा व्यवस्था गर्नुपर्छ । साथै नेपालका स्तरीय होटल, नयाँ तथा पुराना पर्यटन गन्तव्यहरूमा पर्यटक आकर्षण वृद्धि गर्न विशेष रणनीतिक पहल आवश्यक छ । यसबाट नेपालको पर्यटन क्षेत्रलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ । हाल नेपालमा ११ लाख ४७ हजार पर्यटक आगमन भएको तथ्याङ्क छ तर पर्यटन पूर्वाधार अभावका कारण ठूलो मात्रामा पर्यटक भित्र्याउन असमर्थ देखिएको छ । नेपालको भिषा प्रणाली अझ प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक छ । आजका दिनमा अधिकांश देशहरूले ई-भिसा प्रणाली लागू गरिसकेका छन् जुन नेपालमा पनि सुरु भएको छ । तर विदेशी मुद्रामा भुक्तानी गर्न कठिनाइ भइरहेकाले सुधारको आवश्यकता देखिन्छ । नेपाल सरकारले पर्यटन क्षेत्रको पूर्वाधारमा विशेष ध्यान दिनुपर्दछ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउनुका साथै, पर्यटकीय गन्तव्यहरूलाई विश्वस्तरको सेवा सुविधा प्रदान गर्नेतर्फ अग्रसर हुन आवश्यक छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै सम्बन्धित निकाय तथा निजी क्षेत्र गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । स्वच्छता, भौतिक पूर्वाधार र गुणस्तरीय सेवा सुधार गर्दै, युरोपेली तथा अन्य विकसित देशका उच्चस्तरीय पर्यटकलाई आकर्षित गर्नेतर्फ पहल आवश्यक छ । नीति निर्माताहरू, पर्यटन व्यवसायीहरू तथा सम्बन्धित सबै पक्षहरू मिलेर प्रभावकारी नीति निर्माण, प्रविधि नवाचार र सहकार्यद्वारा नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । नेपालको पर्यटन क्षेत्रलाई सुदृढ बनाउन, सरकार, निजी क्षेत्र, पर्यटन बोर्ड तथा सरोकारवाला निकायहरू एकजुट भई दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रबाट उत्पन्न हुने राजस्वको अधिकतम उपयोग गर्दै, नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न अबिलम्ब ठोस कदम चालिनुपर्छ । (नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले ६०औं वार्षिकोत्सवमा व्यक्त गरेको विचारको सम्पादित अंश)
महालक्ष्मी बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक
काठमाडौं । महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरूलगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्बर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइटमार्फत हेर्न सकिन्छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालमा छिटै राजतन्त्र फर्किन्छ : बाबा कालिदास
काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए । आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताए । राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको बताए । अहिलेका नागरिकहरुमा जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किनसक्ने बताए । भारतीय सञ्चारमाध्यमहरु र नेपालका सञ्चारमाध्यमहरुले पनि राजततन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिटै नै राजतन्त्र फर्किनसक्ने जानकारी दिए ।
‘सार्वजनिक संस्थानको सेयर निजी क्षेत्रलाई बेचौं, घाटामा रहेका कम्पनीलाई चलाउन सकिँदैन’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानहरुलाई यसरी नै सञ्चालन गर्न दिने हो भनेर राज्यले ठूलो आर्थिक व्ययभार भोग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा निजीकरण ऐन २०५० को संशोधन गर्न बनेको बिधेयक २०८१ मा सांसदबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उनले घाटामा रहेका सार्वजनिक संस्थालाई व्यवस्थापन गर्नैपर्ने देखिएको बताएका हुन् । अहिले धेरैले सरकारले सार्वजनिक संस्थानमा बिचौलियाको प्रवेश गराउन खोजिएको र सरकारले कौडीको भरमा सार्वजनिक संस्थानको सेयर बिक्री गर्न खोजेको आरोप लाग्दै आएको भएपनि भविश्यमा अहिले घाटामा रहेका संस्थान नाफामा जाँदा राज्यलाई नै फाइदा हुने धारणा राखे । ‘सार्वजनिक संस्थानको सेयर बिचौलियालाई दिने भनिएको होइन, यसमा कसैले भड्किनुपर्ने जरुरत छैन, सार्वजनिक सम्पत्तिप्रति सबैको माया छ । सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्नुपर्ने सबैको जिम्मेवारी हो । तर, घाटा भएका कम्पनीलाई घाटामा रहन दिन सकिँदैन,’ उनले भने । उनले हाल अधिकांश सार्वजनिक संस्थान घाटामा रहेको बताउँदै ती संस्थालाई विभिन्न मोडालिटी बनाएर नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताएका हुन् । ‘घाटामा रहेका संस्थानलाई यही रुपमा छोड्नु हुँदैन, यसलाई यही अवस्थामा छोडियो भने झन घाटा बढ्छ, यसको व्यवस्थापन गर्न आवश्यक छ, नयाँ ढंगको सुधार आवश्यक छ,’ उनले भने । उनले कतिपय सार्वजनिक संस्थानको सेयर निजी क्षेत्रलाई दिने, कतिपयलाई सार्वजनिक–निजी साझेदार (पीपीपी) मोडलमा सञ्चालन गर्ने र कतिपय संस्थालाई नयाँ ढंगबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘घाटामा रहेका संस्थानलाई निजी क्षेत्रलाई दिएपछि राम्रोसँग चल्छन्, नाफामा जान्छन्, सरकारलाई राजस्व तिर्छन्, सार्वजनिक संस्थानलाई कौडीको मूल्यमा बिक्री गर्न लागिएको होइन,’ उनले भने । उनले दुग्द विकास संस्थानको उदाहरण दिँदै त्यस्ता संस्थान आवश्यक नरहेको तर्क दिए । अर्थमन्त्री पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेको पनि बताएका छन् । यस्तै, निजीकरण ऐन २०५० को संशोधन गर्न बनेको बिधेयक २०८१ मा आफ्नो धारणा राख्दै नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पनि घाटामा रहेका सार्वजनिक संस्थन निजी क्षेत्रलाई बिक्री गर्न नै उचित हुने धारणा राखे । ‘सरकारी नियन्त्रण तथा सरकारी स्वामित्वले समाजवाद सुनिश्चित हुन्छ भन्ने मान्यता असफल भइसक्यो, अब निजी क्षेत्रले उत्पादन गर्ने, राज्यले त्यसबाट आएको राजस्व कुन वर्ग र कुन समूह पछाडि परेको छ त्यसमा लगानी गर्ने पद्दति विकास गर्ने हो, हामी अझैं पूरानो अवस्थामा अल्झियौं भने समस्या आउँछ, त्यसैले घाटामा रहेका संस्थानको सेयर बिक्री गर्नुपर्छ,’ उनले भने । उनले विगतमा घाटामा रहेको भारतीय एयरलाइन्स एयर इण्डियालाई त्यहाँको सरकारले टाटालाई बिक्री गर्दा अहिले सो विमान कम्पनी नाफामा रहेको सुनाए । ‘जनताको पैसालाई घाटामा रहेका संस्थानको खर्च तिर्नमा प्रयोग नगरौं, नेपाल एयरलाइन्समा सरकारको स्वामित्व राखिराख्ने हो भने हामीले त्यसमा ठूलो घाटा बेहोर्नुपर्छ, त्यसैले नेपाल एयरलाइन्सको बढी सेयर निजी क्षेत्रलाई बेचौं,’ उनले भने । सरकारको स्वामित्व हुने वित्तिकै जनताको हो भन्ने भ्रम हटाउनुपर्ने उनको धारणा छ ।
बिमा प्राधिकरणको नवनियुक्त सञ्चालक राधा पोखरेलले लिइन् सपथ
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।