प्रधानमन्त्री ओलीको दावी- एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । 

गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए । सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने प्रधानमन्त्रीले जिकिर गरे ।

उनले भने, ‘शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी हो । त्यसकारण शिक्षाको सवालमा सरकार सचेत छ । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ । यस वर्ष नै सुधार आउनेछ । किनभने हामीले केही प्रभावकारी कदमहरू चालेका छाैं । जसले ४८ प्रतिशत उत्तीर्णजस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन । यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्याउने छाैं । उत्तीर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौं । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ ।’

प्रधानमन्त्री ओलीले रोजगारीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए ।

Share News