विकासन्युज

१ लाख ५० हजार बढी पर्यटकले अवलोकन गरे भेडेटार स्काई वाक, ५ करोड रुपैयाँ कारोबार

काठमाडौं । गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ,’ होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे । त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन् । होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरु आकर्षित नभएको गुनासो गरे । हाल भेडेटारमा पर्यटकलक्षित १ सय भन्दा बढी सुविधा सम्पन्न र करिब २ सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा १ लाख ५० हजार बढी पर्यटकहरुले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट ५ करोड रुपैयाँ बढी कारोबार भएको उनको भनाइ छ ।

कोशी र मधेसमा हुरीबतास चल्ने, सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाफियालाई टक्कर दिँदै कुलिङको नाममा सञ्चालकको उम्मेद्वारी रद्द, अयोग्य हुनेछन् बैंकिङ क्षेत्रका सञ्चालक

काठमाडौं । नेपाल बैंकविरुद्ध बैंककै पूर्वसञ्चालक विवेक शमशेर जबरा अदालत जाने भएका छन् । बैंकको निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध सेयरधनी समेत रहेका जबरा अदालत जाने भएका हुन् । बैंकले चैत ६ गते हुने ६५औं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जनाको निर्वाचन हुँदैछ । बैंकको सञ्चालक बन्न पूर्वसञ्चालक विवेक शमशेर जबराले उम्मेदवारी दिएका थिए । तर, जबराविरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी नै रद्द गरेको जानकारी दिएकाे छ । साेही निर्णयविरूद्द उनी न्यायका लागि अदालत जाने निर्णयमा पुगेका हुन् । ‘विवेक शमशेर जबराले सञ्चालक पदबाट हटेको कम्तीमा ६ महिना समय व्यतित नभई पुनः आवेदन दिएको हुँदा उम्मेदवारी खारेज हुनुपर्ने उजुरी परेपछि उम्मेदावरी रद्द भएको हो,’ निर्वाचन अधिकृत विद्याकान्त अधिकारीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवारी दिएका जबरा कुलिङ पिरियड नबसेकाले उम्मेदवारी रद्द गर्नुपर्ने मागसहित उजुरी परेको थियो । साथै जबराले राष्ट्र बैंकको निर्देशनसमेत उल्लङ्घन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । ‘सञ्चालकबाट हटेको कम्तीमा ६ महिना समय व्यतित नभएको अवस्थामा पनि उम्मेदवारी दर्ता भएकाले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी ई.प्रा. निर्देशन नं. ६ को दफा १९(१) उल्लंघन भएको हुँदा निजको उम्मेदवारी दर्ता मनोनयन खारेज हुनुपर्नेछ,’ जबराविरुद्धको उजुरीमा उल्लेख छ । तर, जबराले भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ परिच्छेद ४, दफा १५ मा सञ्चालकको नियमावलीमा उल्लेख भए बमोजिम ४ वर्षको हुने र निज पुनः नियुक्ति तथा मनोनित हुनसक्ने व्यवस्था बमोजिम उम्मेदवारी दिएको दाबी गरे । ‘राष्ट्र बैंकको निर्देशनलाई बुझ्नुपर्ने तथा कम्पनी ऐन, २०६३ र नेपाल बैंकको विसं २०७७ पुस २९ मा भएको साधारण सभाबाट पारित प्रबन्धपत्र तथा नियमावली जसको अन्तर्गत बैंकका सबै कार्यहरूको निर्धारण हुने परिच्छेद ४ अन्तर्गत २९ दफामा एक पटक सञ्चालक भइसकेको व्यक्ति पुनः सञ्चालकमा नियुक्त हुने पूर्ण व्यवस्था भएकोमा राष्ट्र बैंकको परिपत्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को आधारमा परिपत्र बनेको छ, त्यसलाई नै टेकेर निजको बैंकको ६५औं वार्षिक साधारण सभाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग उनकाे छ । जबरा बैंकको विसं २०७७ पुस २९ मा सम्पन्न ६१औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गरी चार बर्षको लागि सञ्चालक पदमा निर्वाचित भएका थिए । उनको कार्यकाल गत पुस २८ गते समाप्त भएकाे थियाे । तर, बैंकले भने बैंक तथा वित्तीय संस्था, कम्पनी तथा धितोपत्र सम्बन्धी कानूनी व्यवस्था अन्तर्गत सम्बन्धित नियामकमा जबराको पदावधि समाप्त भएको जानकारी गराइसकेको छ । निर्वाचन कार्यालयको दाबीअनुसार राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका २०८१ को निर्देशन नं. ६ २०.१ (साविक निर्देशिका २०८० को ६.१९.१) मा कुनै एक संस्थामा सञ्चालक रहेको व्यक्ति प्रचलित व्यवस्थाको अधिनमा रही कार्यकाल थप भएको अवस्थामा बाहेक सञ्चालक पदबाट जुनसुकै कारणबाट हटेमा कम्तिमा ६ महिनाको समय व्यतित नभई सञ्चालक लगायत अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था छ । सोही व्यवस्था बमोजिम जबराको कार्यकाल समाप्त भई केही समय समेत व्यतित भएकाले ६ महिनापछि मात्रै सञ्चालकमा पुनः निर्वाचित वा नियुक्त हुनको लागि योग्य मानिने निर्वाचन अधिकृतको दाबी छ । साथै जबराको पदावधि सकिएपछि मात्रै बैंकले वार्षिक साधारण सभा आह्वान गरेकाले पदावधि निरन्तरता पाइरहेको भन्ने मान्न समेत नमिल्ने र लिखित प्रतिक्रियामा उल्लेख गरेका कानूनी व्यवस्थाका आधारहरू तथ्यगत रूपमा मेल समेत नखाएको हुँदा उम्मेदवारी रद्ध गरिएको निर्वाचन कार्यालयले जनाएको छ । तर, बैंक विज्ञ अम्बिर बोगटी बैंक तथा वित्तीय संस्था ऐन (वाफिया)को दफा १५ मा सञ्चालकको पदावधि सम्बन्धि व्यवस्था बमोजिम विवेक शमशेर जबरा सञ्चालक बन्न योग्य रहेको दाबी गर्छन् । सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुनः नियुक्ति तथा मनोनित हुन सक्ने वाफियाको दफा १५ मा भएको व्यवस्था सुनाउँदै बोगटीले भने, ‘नेपाल बैंकको निर्णय गलत छ । मूल कानुनलाई कसैले पनि लत्याउन पाउँदैन । वाफियाले स्पष्ट पुनः नियुक्ति हुन्छ भनेपछि किन नमिल्ने ?’ यदि नेपाल बैंकको निर्वाचन अधिकृतको कार्यालयले गरेको उक्त निर्णय लागू भएमा अधिकांश बैंकका सञ्चालक अयोग्य ठहर हुने बोगटीको दाबी छ । ‘६ महिना व्यतित भनेको अर्काे पदमा जानको लागि हो । निरन्तरता दिन पाइन्छ । पुनः नियुक्ति भन्ने व्यवस्था छ । विवेक जबराको विषय पुनः नियुक्तीको हो,’ उनले भने, ‘अन्य बैंकमा सञ्चालकले पुनः नियुक्ति पाउने विवेक जबराले नपाउने भन्ने हुँदैन । जस्तो हिमालयन बैंकमा केही पब्लिकबाट प्रमोटर र प्रमोटरबाट पब्लिकमा आएका छन् । त्यो भनेको पुनः नियुक्ति हो । यदि विवेकलाई कुलिङ लगाउने हो भने अरू बैंकका सञ्चालकलाई कुलिङ लगाउनुपर्छ ।’ नेपाल बैंकको उक्त निर्णयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि सबै सञ्चालक पुनः सञ्चालक बन्न पाउँदैनन् । किनकि बैंकको वार्षिक साधारण सभा ढिला भएको छ । मर्जरले एक कार्यकाल (एक वर्ष) मात्रै हुने व्यवस्था छ । साथै अन्य बैंकको पनि बिचमा ग्याप भएर एजीएम एजीएम आयोजना भएकाे देखिन्छ । उनका अनुसार राष्ट्र बैंकको निर्देशनको १९ को २ मा कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सञ्चालक पदमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्था छ । तर, जबरा पदबाट नहटी पदावधि सकिएको हुँदा उक्त व्यवस्था लागू नहुने बोगटीको बुझाइ छ । ‘दफा १९ को १ मा जुनसुकै कारणबाट हटेमा भनिएको छ भने पदावधि सकिएको उल्लेख छैन । हट्ने भनेको राजीनामा दिएर वा पदावधि नसकिँदै हटेको भन्न खोजिएको हो । तर, पदावधि सकिएर जाने व्यक्ति पुनः नियुक्ती हुन पाउने व्यवस्था छ,’ उनले भने, ‘तत्कालीन सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बीचमा छोड्नु भयो । उहाँ सञ्चालक र अध्यक्ष हटेर सांसद बन्नु भयो ।  सांसदको पदावधि सकिएपछि पुनः सञ्चालक समितिमा फर्किनु भयो । त्यसपछि मात्रै राष्ट्र बैंकले दफा १९ को २ को बुँदा थप्दै सोही सञ्चालकमा पुनः आउन नपाइने व्यवस्था गरेको हो । तर, अर्काे कार्यकालको लागि भने पाइन्छ भन्ने खोजेको छ ।’ उनका अनुसार यदि जबरा अदालत जानु भयो भने पुनः नियुक्तिका लागि योग्य ठहर हुने कानूनी आधार धेरै छन् । किनकि मूल कानुनले नरोकेको र अर्काे बैंकमा नगएकाले अदालतले जबराको पक्षमा फैसला गर्न सक्ने आधार रहेकाे उनकाे भनाइ छ । ‘उहाँको कार्यकाल समाप्त भएपछि समयमै वार्षिक साधारण सभा हुन सकेको छैन । यदि समयमा सभा भएको भए उहाँ योग्य हुनुहुन्थ्यो होला । बैंकले साधारण सभा समयमा नगरेपछि उहाँले गुमेकाे पदमा पुनः नियुक्ति माग्नु भएको हो वा चुनाव लड्नु भएको हो । त्यसैले उहाँ अदालतमा जानु भयो भने जित्नु हुन्छ,’ बोगटीले भने । नेपाल बैंकले आफ्नो उजुरी रद्द गरेपछि आफू अदालत जाने तयारीमा रहेको जबराले बताए । साथै अदालतले जे निर्णय गर्याे स्वीकार गर्ने उनको भनाइ छ । ‘कानुन सबैभन्दा माथि हुन्छ । निर्देशिकाले ऐनलाई काट्न मिल्दैन । त्यो ऐनमा बसेर निर्देशिका बन्नुपर्छ । किनभने ऐन भनेको संसदले पारित गरेको हो । निर्देशिका भनेको सम्बन्धित संस्था, सम्बन्धित विभाग, सम्बन्धित निकायले बनाउने हो । तर, ऐनभित्र बसेर निर्देशिका बन्नुपर्ने हुन्छ,’ उनले भने, ‘निर्देशिकाले ऐनभन्दा बाहिर गएर ऐनका कुराहरु काट्नु हुँदैन, हामीले चिनेको ऐन हो । ऐनमा दिएको प्रदत्त अधिकार हरेक नागरिकले प्रयोग गर्न पाउनुपर्छ ।’ नेपाल राष्ट्र बैंक पनि ऐनलाई कुनै पनि निर्देशिका तथा निर्देशनले काट्न नमिल्ने बताउँछ । ‘सबैभन्दा ठूलो संविधान हो, संविधानपछि ऐन हो, निर्देशन र नियमावली एउटै तहका हुन्छन्, त्यसलाई राष्ट्र बैंकको बोर्डले स्वीकृत गर्छ, नेपाल बैंकको सञ्चालकको विषयमा राष्ट्र बैंकमा पनि उजुरी परेको छ, गभर्नरज्यूसम्म यो विषय पुगिसकेको छ, छलफलकै क्रममा छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

अन्तर्राष्ट्रियस्तरको ‘महिला नेतृत्व सम्मेलन’ काठमाडौंमा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको ‘महिला नेतृत्व सम्मेलन’ को आयोजना गरेको छ । आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको सम्मेलन दोस्रो अन्तराष्ट्रिय सम्मेलन हो । योभन्दा पहिले २ वर्ष अगाडि भरतपुरको चितवनमा पहिले सम्मेलन गरिएको थियो । नेपाल उद्योग परिसंघ तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको लागि महिला र पुरुष सँगसँगै अघि बढ्नुपर्ने बताए । नेपालमा हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको बताउँदै ओलीले समस्या भएका ठाउँमा समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताए । उनले नेपालमा सबैभन्दा पहिले महिला राष्ट्रपति पाएको बताउँदै अहिले प्रदेशका मुख्यमन्त्री हुँदै मुख्य सचिवसमेत महिला नेतृत्व पुगिसकेको बताए । यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली महिलाको आन्दोलनको सफलता नेपाली महिलाहरू हरेक क्षेत्रमा पुग्न सफल भएको बताए । उनले अहिलेको सरकार नेपालको उत्पादन र उद्यमशीलताको क्षेत्रमा सक्रिय रहेको बताउँदै नीतिगत सुधारका कार्यहरू पनि गरिरहेको बताए । सम्मेलनमा खेलकुद क्षेत्रमा सहभागीता जनाइ देशलाई चिनाउन सफल फुटबल खेलाडी प्रीति राई र पारलैंगिक महिला रुप्सना कपालीलाई सम्मान गरिएको थियो । यस्तै, सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘वुमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन वुमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल चलेको थियो । कार्यक्रममा युके, जापान, भारतलगायतका देशबाट वक्ताहरू आएका थिए । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा स्थापित महिलाहरूको सहभागिता रहेको थियो ।

खानेपानीको किचलोले नागढुंगा-नौबिसे सुरुङमार्गमा फेरि अवरोध, माग सम्बोधन नभए थप आन्दोलन गर्ने

फाइल तस्बिर । काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि बन्द भएको छ । खानेपानी आयोजनामा स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिनुपर्ने मागसहित चन्द्रागिरी नगरपालिका- २ का स्थानीयले आइतबारदेखि निर्माणको कार्य बन्द गरेका हुन् । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हाल काठमाडौं र धादिङतर्फको कार्य बन्द भएको हो । स्थानीयले पटक-पटकको अवरोधले गरी रहँदा आयोजना निर्माणले गति लिन नसकेको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल सञ्जिय पन्थीले जानकारी दिए। उनले भने, ‘स्थानीयहरूले बारम्बार अवरोध गर्दै आएका छन् । खानेपानी स्रोत र व्यवस्थापन गरिदिनुपर्ने र निर्माण कार्यमा हामीलाई पनि सहभागिता गराउपर्छ भनेर उनीहरूले अवरोध गरिरहेका छन् । आज दिउँसो ४ बजे उनीहरूलाई छलफलका लागि हामीले अफिसमै बोलाएका थियौं तर, उहाँहरू आउनु भएन ।’ हालसम्म स्थानीयहरूको खानेपानी व्यवस्थापन गर्दै आएको प्रमुख पन्थीले बताए । उनले भने, ‘निर्माण कार्य अन्तिम चरणमा रहेकाले त्यसपछि कसले जिम्मा लिने अत्तोपत्तो छैन । त्यसैले स्थानीयहरूले अवरोध गरिरहेका छन् । यसको जिम्मा चन्द्रागिरी नगरपालिकाले लिने भन्ने बारेमा कुनै छलफल भएको छैन । यहाँ पानीको मुल नै सुकेको अवस्था छ । त्यसैले पानीको व्यवस्थापन गर्नुपर्छ भनेर उनीहरुले अवरोध गरिरहेका छन् ।’ यसबारेमा स्थानीयहरूसँग थप छलफल गरेर अगाडि बढ्ने उनले बताए । प्रमुख पन्थीले यदि स्थानीयहरूले निर्माण कार्यमा कुनै बाधा अवरोध नगरे असारसम्ममा सम्पन्न गरिसक्नेसमेत दाबी गरे । आयोजनाको हाल ८७ प्रतिशत काम सकिएको उनको भनाइ छ । सुरुङमार्गमा पहिरोको कामलगायत बाँकी रहेको बताइएको छ । यता स्थानीयहरूले भने मागहरू सम्बोधन नभए निर्माण कार्य ठप्प नै रहने बताउँदै आएका छन् । चन्द्रागिरी नगरपालिका २ का स्थानीय तथा पूर्ववडाध्यक्ष गोपी सुरखेतीका अनुसार उक्त आयोजना सुरु गर्दैगर्दा सिस्नेखोलाको पनि सुकेको थियो । पानी सुकेपछि आयोजनाले पानीको पुरै जिम्मा लिएको थियो । जसमा त्यो खानेपानी आयोजनाको छुट्टै समिति बनाएर काम अघि बढाइएको थियो । उनले भने, ‘निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब काम सकेपछि आयोजनाले सुरुङमार्ग हस्तान्तरण गर्ने भएको छ । खानेपानीको यसको जिम्मा आयोजनाले नै लिनुपर्ने हाम्रो माग हो ।’ चर्केका घरहरूको निरीक्षण गरी क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको समस्या समाधान गर्नुपर्नेलगायत मागहरू आफूहरूले राखेको विकासन्युजलाई जानकारी दिए । उनले मागहरू छिट्टै सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

भोल्भोको नयाँ एस्काभेटर बजारमा

काठमाडौं । पञ्चकन्या ग्रुपले भोल्भोको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । ग्रुपले प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भोल्भो ईसी टु ट्वान्टी एस्काभेटर सार्वजनिक गरेको हो । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको ग्रुपले जनाएको छ । एक्सप्लोर अर्थ मुभर्स प्रालिअन्र्तगत बिक्री वितरण हुुने भोल्भो ईसी टु ट्वान्टीको मेसिनमा शक्तिशाली इन्जिन क्षमता रहेको छ । यो जटिल निर्माण कार्यक्षेत्र जस्तै– खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एस्काभेटर युरो स्टेज आईआईआईए मापदण्डअनुसार रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाइने अन्य सोही प्रकृतिका मेसिनहरू भन्दा १० प्रतिशत बढी उत्खनन क्षमतासहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । नेपालको भौगोलिक बनावट सुहाउँदो भएकाले यस मेसिनको प्रयोगले प्रभावकारीता वृद्धि गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाइएको छ ।

‘पर्यटन प्रवर्द्धन गर्न छिमेकी मुलुकमा सम्पर्क कार्यालय स्थापना गराैं, स्वदेशमा पूर्वाधार बढाऔं’

  काठमाडौं । पर्यटन क्षेत्रमा विगत छ दशकदेखि निरन्तर योगदान दिँदै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले नेपालको पर्यटन प्रवर्द्धन, विकास तथा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशभर १ हजार १०० भन्दा बढी टुर तथा ट्राभल व्यवसायी कम्पनीहरूको प्रतिनिधित्व गर्ने नाट्टा नेपालका अग्रणी पर्यटन संस्था हो । अहिले कल्पना गर्दा पनि गौरव लाग्छ, ६० वर्षअघि जब नेपालका पूर्वजहरूले पर्यटनको सम्भावना देखे, त्यतिबेला न त सूचना सञ्चार प्रविधि थियो, न पूर्वाधारको सुविधा, न त उचित स्थल तथा हवाई यातायात व्यवस्थापनको सुविधा । तैपनि नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने परिकल्पना गर्नुभयो, जसका लागि म उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नाट्टाको इतिहास हेर्दा सन् १९६६ मा नाट्टाको स्थापना भएपछि नेपालमा पर्यटन गतिविधिहरू तीव्र रूपमा वृद्धि हुन थाले । सगरमाथा आरोहण (१९५३) पश्चात नेपाल अन्तर्राष्ट्रिय मिडियामा चर्चित बन्दै गयो, जसले पर्यटन प्रवर्द्धनलाई थप ऊर्जा प्रदान गर्‍यो । तत्पश्चात ६० को दशकमा नेपालको पर्यटन जुर्मुराउन थाल्यो । फलस्वरूप सन् १९६० को समयमा पर्यटन गतिविधिमा राम्रो वृद्धिसमेत भयो । यस्तै, सन् १९६५ मा सोल्टी होटल तथा अन्नपूर्ण होटल सञ्चालनमा आउँदा नेपालमा व्यवस्थित पर्यटन व्यवसायको जग बसिसकेको थियो । हाम्रा पूर्वजहरूले समयको सही मूल्यांकन गरेरै नै होलान् नाट्टाको स्थापना गरेका सायद । विशेष संयोग नै होला त्यही समयमा युरोपमा पनि यस्तै संस्थाहरू स्थापना भएका थिए, जस्तै सन् १९६६ मा विश्व पर्यटन प्रवर्द्धनमा प्रसिद्ध विश्वकै ठूलो पर्यटन व्यापार मेला (आइटीबी) बर्लिन मेला तथा संसारका पर्यटन व्यवसायीहरूको साझा संगठन युनिभर्सल फेडरेशन अफ ट्राभल एजेन्टस एशोसिएशन (युएफटीएए) को स्थापना समेत भएको छ । यसले देखाउँछ कि हाम्रो पूर्वजहरूको सोच समयसापेक्ष युरोपियनस्तरको नै थियो । सम्झँदा पनि गौरव लाग्छ कि नाट्टाको सुरुवात एउटा संस्था स्थापना मात्र थिएन, त्यो एउटा सोचको बिजारोपण थियो । एउटा गन्तव्यप्रतिको मोमेन्ट थियो, जुन हामीमाझ नेपालकै अग्रणी र पर्यटन क्षेत्रको पहिलो संस्थाका रूपमा ६० वर्षको परिपक्क पर्यटन विकास तथा प्रवर्द्धनकाे साझेदार बन्दै पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासलाई देशका हरेक कुनामा पुग्न र पुर्‍याउन सफल भएको छ । फलस्वरुप नेपालको आर्थिक विकासको तीन स्तम्भहरू मध्येको कृषि, ऊर्जासहितको एक पर्यटन क्षेत्रलाई स्थापित गर्न अहम भूमिका निर्वाह गरेको छ । समय सापेक्ष हरेक नाट्टामा सम्बद्ध हाम्रा अग्रजहरुसहित आजका यस युवा पिँढीले पनि आआफ्नो योगदान दिँदै आजको दिनमा नाट्टालाई यहाँसम्म पुर्‍याउन सफल भएको छ । नाट्टाले पर्यटन विकासका विभिन्न चरणहरूमा महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ । भू-परिवेष्ठित देश नेपालमा तेस्रो मूलुकका पर्यटक आउन अत्यन्त कठीन रहेको बेला भिषा सुविधा विस्तारका लागि पहल गर्दै सन् १९८० को दशकमा छिमेकी राष्ट्रहरूबीच रहेको खुला नाकाको उचित उपयोगका लागि सरकारमार्फत विशेष नीति लागु गराउन योगदान दिनुका साथै सन् १९८५ मा नेपाल–तिब्बत सीमामार्फत नेपाल र तिब्बतबीच पर्यटकहरुलाई भिषा सुविधा विस्तारका लागि आवश्यक सम्झौता गर्न पहल गर्ने महत्वपूर्ण भूमिका नाट्टाले निभायो, जसका कारण नेपाल तिब्बत पर्यटनका लागि प्रवेशद्वार बन्यो । समयको मागसगैं नाट्टाले पर्यटन मेलाहरूमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा आफ्नो पहुँच कायम गर्‍यो । १९८० को दशकमा सुरु भएको बेलायतमा सञ्चालन हुने वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मेलामा समेत सो बेलादेखि नै नाट्टाले सहभागी जनाएको छ । सन् १९९० मा नेपालका प्रमुख पर्यटकीय क्रियाकलापहरू वन्यजन्तु हेर्न जङ्गल सफारी लगायत महत्त्वपूर्ण पदमार्गहरू (लाङटाङ, अन्नपूर्ण) विशेष प्राथमिकतामा परे । नेपालले खुला आकाशको नीति अबलम्बन गर्दै हवाई क्षेत्रको विकासमा धेरै सेवा प्रदायकहरु नेपालमा प्रवेश गरे । सन् १९९८ मा सफलतापूर्वक नेपाल भ्रमण वर्ष भिजिट नेपाल १९९८ सम्पन्न भयो, जसमा नाट्टाले नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो । त्यसलगत्तै नेपालको पर्यटन प्रवर्द्धनलाई थप गतिशील तीव्रता दिन १९९९ मा निजी, सरकारी साझेदारीमा आधारीत नेपाल पर्यटन बोर्ड तथा हवाई सेवा नियमनमा नागरिक उड्डयन प्रधिकरणको स्थापनाका लागी समेत नाट्टाको विशेष योगदान रह्यो । सन् २००० देखि २०१० को अवधिमा नेपालका पर्यटन पूर्वाधार र वातावरणीय रणनीतिहरूको विकासमा ध्यान दिइयो, तर राजनीतिक अस्थिरता तथा राजदरबार घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्‍यो । तथापि नाट्टाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्दै ‘वी क्यान भिजिट नेपाल’ अभियान सञ्चालन गर्‍यो । यसैगरी, विभिन्न पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्य पर्यटन पुन:उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै सन् २०११ मा पुनः नेपाल भ्रमण वर्ष मनाइयो, जसमा नाट्टाको विशेष भूमिका रहेको थियो । २०१५ मा भूकम्पले नेपाल पर्यटन क्षेत्रमा ठूलो क्षति गर्‍यो । पर्यटन व्यवसाय संवेदनशील भएकाले साना घटनाहरूले पनि विश्वभर प्रतिकूल प्रभाव पार्न सक्छन । २०१९ मा नाट्टाले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट बीटीम सुरु गर्‍यो । त्यसपछि कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा व्यापक असर पर्‍यो । यद्यपि नाट्टाले सरकारसँग सहकार्य गर्दै व्यवसाय पुनः सञ्चालनका लागि विभिन्न पहलहरू गरेको थियो । महामारीपछि बंगलादेश र श्रीलंकाबाट पर्यटक भित्राउने कार्य सफल रह्यो । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन विकास एवं प्रवद्र्धनमा विविध कार्यक्रम र रणनितिहरु तयार गर्दै सरकार तथा सम्बद्ध सरोकारवालाहरुसगैं हातेमालोसहित पर्यटन पूनर्जागरणमा अघि बढ्यौं। हालको समयमा नाटटाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, जस्तै यूएनडीपी, युएसएड, तथा विभिन्न जिडिएस सेवाप्रदायकहरूसँग सहकार्य गर्दै विविध कार्यक्रम, तालिम तथा समय सापेक्ष आफ्ना कार्यक्रमहरू विकास गरिरहेको छ । यस क्रममा नयाँ प्रविधि तथा प्रविधिमैत्री तथा एआई समायोजन गर्दै डिजिटलाइजेसन, डिजिटल मार्केटिङ, तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू सम्बद्ध सदस्यहरूलाई प्रदान गर्दै आइरहेको छ । नीति निर्माणका सन्दर्भमा नाट्टाले नेपाल सरकार तथा सम्बद्ध मन्त्रालयहरू समक्ष आफ्नो विचारहरू प्रस्तुत गर्दै आएको छ । विशेष गरी, नेपाल सरकारले लागू गरेका विभिन्न कर सम्बन्धी नियमहरू तथा तिनले सिर्जना गरेका समस्याहरूको सम्बन्धमा सरकारसमक्ष आवाज उठाउँदै आएको छ । तर, मागहरू सम्बोधन नभएको अवस्थामा इतिहासमै पहिलो पटक नेपाल सरकारविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताका लागि सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जसको सुनुवाइ प्रक्रिया जारी छ । यसैबीच, नेपाल पर्यटन बोर्डको सहकार्यमा नाटटाले सम्बन्धित नीति तथा नियमहरूले पर्यटन क्षेत्रमा पारेका प्रभावहरूको अनुसन्धान गर्न हालै मात्र एक अनुसन्धानकर्ता कम्पनीसँग सम्झौता सम्पन्न गरेको छ । यसको उद्देश्य प्रत्यक्ष अध्ययन गरी सरकारलाई प्रतिवेदन प्रस्तुत गर्नु रहेको छ । पछिल्लो समय, विविध प्राविधिक कारण, ऐन, नियम तथा नियमावलीको प्रभावले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यहरू गर्न नसक्दा नाटटाले नेतृत्व गर्दै विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरूमा सहभागी भई नेपालको उपस्थिति सुनिश्चित गरेको थियो । साथै, नाट्टाले आफ्ना प्रादेशिक संरचनाहरूको विस्तार गर्दै आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने क्रममा विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । मानसरोवर यात्रादेखि आन्तरिक हवाई सञ्जालको विस्तारसम्म नाटटाले आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हाल नेपालको प्रमुख समस्या युवा जनशक्तिको विदेश पलायन हो । हामी प्रायः दक्ष जनशक्ति अभावको कुरा गर्छौं, तर यसको रोकथामका लागि प्रभावकारी कार्य गर्न सकिरहेका छैनौं । नेपाल सरकारले मात्र नभई निजी क्षेत्र, सरोकारवाला निकाय तथा हामी जस्ता संस्थाहरूले समेत आ-आफ्नो तर्फबाट ठोस पहल गर्न आवश्यक छ । नेपालको होटल क्षेत्र अन्य क्षेत्रहरू तुलनामा तीव्र विकास भइरहेको भए तापनि यसको कुल अकुपेन्सी दर ४० प्रतिशतमै सीमित रहेको तथ्य हामीले सुन्दै आएका छौं । यसले सञ्चालन खर्च समेत पूरा गर्न नसक्ने स्थिति देखिन्छ । त्यसैले पर्यटन आगमनलाई प्राथमिकता दिँदै नीतिगत सुधार तथा आवश्यक संरचनागत विकासमा ध्यान दिन जरुरी छ । नेपालको हवाई सेवा विस्तार नहुनुको प्रमुख कारणमध्ये एक, युरोपियन युनियनद्वारा नेपाललाई हवाई सुरक्षा कालोसूचीमा राख्नु हो । यसलाई समाधान गर्न सरकारले सुरक्षा मापदण्डहरूको विकास तथा आवश्यक नीति निर्माण गर्दै हवाई सञ्जाल विस्तार सहज बनाउनु आवश्यक छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना अपरिहार्य देखिन्छ । जबसम्म निगमले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने संरचना र रणनीति विकास गर्दैन, तबसम्म नेपालको पर्यटन यथास्थितिमै रहने निश्चित छ । तसर्थ, नेपाल वायुसेवा निगमको संगठनात्मक पुनर्संरचना, सक्षम नेतृत्व, र दीर्घकालीन रणनीति अवलम्बन गर्नु अपरिहार्य छ । यदि सुधार सम्भव नभए, नेपाल वायुसेवा निगमलाई पुनःसंरचित गर्दै नयाँ संरचनामा लैजानु आवश्यक छ । जबसम्म नेपाली आकाशमा राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायकहरूको उपस्थिति वृद्धि हुँदैन, तबसम्म नेपाल महँगो गन्तव्यका रूपमा रहि रहनेछ। नेपाल वायुसेवा निगमको पुनर्संरचनाका लागि नाटटाले विभिन्न अवसरहरूमा आफ्ना सुझावहरू प्रस्तुत गर्दै आएको छ । यस सन्दर्भमा, सीमित पाँचदेखि सात जना विज्ञ व्यक्तिहरू सम्मिलित एक अधिकार सम्पन्न समिति गठन गरी निगमको पुनर्संरचना तथा आवश्यक जहाज खरिददेखि सञ्चालनसम्मको नीति तथा रणनीति तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । नेपालमा सबै व्यक्ति भ्रष्ट छैनन, न त सबैको सोच एक नै हुन्छ । सकारात्मक दृष्टिकोणका साथ योग्य तथा सक्षम व्यक्तिहरूको पहिचान गरी यो प्रक्रिया यथाशक्य छिटो प्रारम्भ गर्नु अत्यावश्यक छ । तसर्थ, समय नष्ट नगरी पुनर्संरचनाको दिशामा ठोस र परिणाममुखी कदम अघि बढाउन पहल गर्नुपर्छ । नेपालको पर्यटन विकासमा छिमेकी मुलुकका पर्यटकहरू मुख्य स्रोतका रूपमा रहेका छन । विशेष गरी भारतीय पर्यटकहरूको घटदो संख्या र सम्भावित चिनियाँ पर्यटकहरूको वृद्धिलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले चीनका बेइजिङ, सांघाई तथा भारतका दिल्ली, मुम्बई, हैदराबादजस्ता प्रमुख सहरहरूमा आफ्ना सम्पर्क कार्यालयहरू स्थापना गरी पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । त्यसैगरी, छिमेकी राष्ट्रहरूसँग उपलब्ध विभिन्न विकास पूर्वाधार, सेवा, र साधनहरूको प्रभावकारी उपयोगका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूले ती मुलुकका सम्बन्धित संस्थाहरूसँग समन्वय गर्दै आवश्यक कदमहरू अगाडि बढाउन अत्यावश्यक छ । सीमित भौतिक पूर्वाधारका कारण हामी छिमेकी मुलुकका पूर्वाधारको उचित उपयोग गरी अझ बढी लाभ उठाउन सक्छौं । हालको अवस्था हेर्दा अमेरिकालगायत भारतका विभिन्न सहरहरूबाट नेपाल आउँदा औसतमा झन्डै १ हजार २०० अमेरिकी डलरमै दोहोरो हवाई टिकट प्राप्त गर्न सकिन्छ । तर सोही तुलनामा नेपालका लागि हवाई भाडा २ देखि ३ गुणासम्म महँगो पर्न आउँछ । यस्तो परिप्रेक्ष्यमा यदि उपलब्ध पूर्वाधारहरूको सही सदुपयोग गर्न सकियो भने छिमेकी राष्ट्रहरूबाट पर्यटकहरूको आवागमनलाई १ हजार ५०० अमेरिकी डलरभित्रै व्यवस्थापन गर्न सकिन्छ । यसका लागि नेपाली हवाई सेवा प्रदायक कम्पनीहरूले पारस्परिक सम्झौता वा कोड सेयरिङ प्रणालीमार्फत सहकार्य गरी सुलभ हवाई भाडा व्यवस्था गर्नुपर्छ । साथै नेपालका स्तरीय होटल, नयाँ तथा पुराना पर्यटन गन्तव्यहरूमा पर्यटक आकर्षण वृद्धि गर्न विशेष रणनीतिक पहल आवश्यक छ । यसबाट नेपालको पर्यटन क्षेत्रलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ । हाल नेपालमा ११ लाख ४७ हजार पर्यटक आगमन भएको तथ्याङ्क छ तर पर्यटन पूर्वाधार अभावका कारण ठूलो मात्रामा पर्यटक भित्र्याउन असमर्थ देखिएको छ । नेपालको भिषा प्रणाली अझ प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक छ । आजका दिनमा अधिकांश देशहरूले ई-भिसा प्रणाली लागू गरिसकेका छन् जुन नेपालमा पनि सुरु भएको छ । तर विदेशी मुद्रामा भुक्तानी गर्न कठिनाइ भइरहेकाले सुधारको आवश्यकता देखिन्छ । नेपाल सरकारले पर्यटन क्षेत्रको पूर्वाधारमा विशेष ध्यान दिनुपर्दछ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउनुका साथै, पर्यटकीय गन्तव्यहरूलाई विश्वस्तरको सेवा सुविधा प्रदान गर्नेतर्फ अग्रसर हुन आवश्यक छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै सम्बन्धित निकाय तथा निजी क्षेत्र गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । स्वच्छता, भौतिक पूर्वाधार र गुणस्तरीय सेवा सुधार गर्दै, युरोपेली तथा अन्य विकसित देशका उच्चस्तरीय पर्यटकलाई आकर्षित गर्नेतर्फ पहल आवश्यक छ । नीति निर्माताहरू, पर्यटन व्यवसायीहरू तथा सम्बन्धित सबै पक्षहरू मिलेर प्रभावकारी नीति निर्माण, प्रविधि नवाचार र सहकार्यद्वारा नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । नेपालको पर्यटन क्षेत्रलाई सुदृढ बनाउन, सरकार, निजी क्षेत्र, पर्यटन बोर्ड तथा सरोकारवाला निकायहरू एकजुट भई दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रबाट उत्पन्न हुने राजस्वको अधिकतम उपयोग गर्दै, नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न अबिलम्ब ठोस कदम चालिनुपर्छ । (नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले ६०औं वार्षिकोत्सवमा व्यक्त गरेको विचारको सम्पादित अंश)

महालक्ष्मी बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरूलगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्बर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइटमार्फत हेर्न सकिन्छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।