विकासन्युज

फूल बिक्री गरेरै मासिक २ लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले पुष्पको व्यापारबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् । २०७७ मा तीन हजार पाँच सय रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गरेकी गुरुङले सभा, सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावटसमेत गर्दै आएकी छन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उनले बताइन् ।  ‘पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’, उनले भनिन् । रासस

चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १२०, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १४०, कोइराला प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ५५, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, खरबुजा प्रतिकिलो रु ४५, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।  त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २५ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

५ हजार ६९७ जनाले पाए एभरेष्ट बैंकको ऋणपत्र, ब्याजदर ७.५० प्रतिशत

काठमाडौं । ५ हजार ६९७ जना लगानीकर्ताले एभरेष्ट बैंकको ऋणपत्र पाएका छन् । चैत १ गते गरिएको बाँडफाँटमा रितपूर्वक आवेदन दिएका ५ हजार ६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण गरिएको बैंकले जनाएको छ । बैंकेल गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको थियो । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ ।

नमूना विद्यालयमा करोडौं लगानी, नतिजा खस्कँदो

काठमाडौं । गोरखाका विभिन्न ५ विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौं अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित भइ करोडौं अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो । गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख रुपैयाँ परेको छ, कार्यक्रम आएको सुरुको वर्ष ५० लाख रुपैयाँ आएको थियो ।’ प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए । उनका अनुसार १२र१२ कोठाको २ वटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माणसँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सो विद्यालयमा हाल ५६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमूना घोषणा भएको वर्ष २०७४ को एसइईमा औसत २.४० जिपिए थियो । विसं २०७५ मा २.४८, २०७६ मा २.५९, २०७७ मा २.७४, २०७८ मा २.२७ र वर्ष २०७९ मा २.२१ मात्र जिपिए ल्याएको छ । गतवर्ष २०८० को एसइई नतिजा घटेर १.७२ जिपिए छ । भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रम सञ्चालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल ३२४ जना विद्यार्थी रहेको सो विद्यालयमा २ वटा ६÷६ कोठे भवन निर्माण गर्नुका साथै विद्यालय बससमेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताए । नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक १ करोड रुपैयाँ भौतिक पूर्वाधारमा र बाँकी ५० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गतवर्षको एसइई नतिजा औसत ७५.८६ प्रतिशत छ । ३१५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको ५ वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख रुपैयाँ प्राप्त गरेको छ । अनुदानवापत प्राप्त ४ करोड रुपैयाँ विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । ९७ लाख रुपैयाँ बराबरको चमेना गृह, २१ लाख रुपैयाँ लागतमा विद्यालयको मञ्च र करिब १० लाख रुपैयाँमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए । बजेट करोडौँ खर्च गरेपनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष विसं २०७५ मा विद्यालयले २.२५ जिपिए प्राप्त गरेको थियो । विसं २०७६ मा २.८४, २०७७ मा ३.१४, २०७८ मा २.२० र विसं २०७९ मा २.६५ जिपिए प्राप्त ग(यो भने गत वर्ष जम्मा ०.५६ जिपिए प्राप्त गरेको छ । ३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २.५५, २०७८ मा २.५३, २०७७ मा २.८५, २०७६ मा २.८५ र २०७५ मा २.८७ जिपिए ल्याएको थियो । जिल्लामा सबैभन्दापछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसइई परीक्षामा नौ जना अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए । ६३० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल नमूना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।

जुम्लामा गोठालो भत्ता १८ हजार रुपैयाँ, कर्णाली सरकारले छुट्यायो ४५ लाख

काठमाडौं । जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका ८ वटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो । मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्ता सम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका २३० जना भेडापालक किसानलाई १८ हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताए । जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १ हजार ७ सयभन्दा बढी छन् । यहाँका ८ वटै स्थानीय तहमा ८८ हजार ३ सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ताबापत् १८ हजार रुपैयाँ पाएपछि थप भेडापालनमा टेवा पुगेको छ । आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका–६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

एसइईको सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भने, ‘गतवर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार २८६ जना बढेर ५ लाख १४ हजार ७१ जना छन् ।’ कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका २ कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट ४ जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ भने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

१ लाख ५० हजार बढी पर्यटकले अवलोकन गरे भेडेटार स्काई वाक, ५ करोड रुपैयाँ कारोबार

काठमाडौं । गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ,’ होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे । त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन् । होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरु आकर्षित नभएको गुनासो गरे । हाल भेडेटारमा पर्यटकलक्षित १ सय भन्दा बढी सुविधा सम्पन्न र करिब २ सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा १ लाख ५० हजार बढी पर्यटकहरुले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट ५ करोड रुपैयाँ बढी कारोबार भएको उनको भनाइ छ ।