३५ सय मेगावाटमै लथालिङ्ग, २८ हजार मेगावाटको सपना खोक्रो : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण गम्भीर चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशनमा बोल्दै उनले प्राधिकरण घाटामा नभए पनि संरचनागत रूपमा ‘बीच बाटो’ मा अड्किएको स्थिति रहेको स्पष्ट गरे ।

‘आज प्राधिकरण घाटामा छैन, तर कठिन परिस्थितिमा छ । हामी यस्तो स्थानमा छौं, जहाँबाट अगाडि बढ्नैपर्ने बाध्यात्मक अवस्था छ,’ शाक्यले भने, ‘सरकारले २८ हजार ५ सय मेगावाट उत्पादनको लक्ष्य लिएको छ, तर अहिलेको ३ हजार ५ सय मेगावाट मात्रै पनि धान्न सक्ने प्रशारण संरचना छैन ।’

उनले प्रसारण प्रणाली कमजोर भएकाले तथा  सानो कारणले पनि बारम्बार सिस्टम ट्रिप हुने, रेखा कट्ने समस्या देखिएको बताए ।

‘एउटा रुख ढल्यो भने पनि ट्रान्समिसन लाइन ट्रिप हुन्छ, सिस्टम नै बन्द हुन्छ,’ शाक्यले भने, ’हामीले लगानी नगरेर यो अवस्था बनायौं। अबको लक्ष्य पूर्तिका लागि विगतभन्दा धेरै गुणा लगानी र संरचनागत सुधार आवश्यक छ ।’

उनका अनुसार अब तत्काल र दीर्घकालीन योजना बनाएर मात्रै प्राधिकरणलाई भविष्यको चुनौती सामना गर्न सकिनेछ । 

Share News