सहकारी ठगी : कम्बोडियाबाट पक्राउ, सीआईबीको हिरासतमा

काठमाडौं । ‘मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ मा करोडौं रकम ठगी प्रकरणमा फरार रहेका प्रमुख प्रतिवादी ज्योतिबहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

१४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याउँदै १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरिएको यस प्रकरणमा भण्डारीविरुद्ध सन् २०२४ अक्टोबर २९ मा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । उनलाई असार ४ गते नेपाल ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ ।

अनुसन्धानमा खुल्न आएका अनुसार भण्डारीले ‘मितेरी’ सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङसँग मिलेर मार्फत सहकारीका पदाधिकारीहरूलाई विभिन्न बहानामा ठगी गरेका थिए । उनले आफूले विदेशबाट पठाएको ३३ करोड रुपैयाँ पार्सल लिन कमिसन तिर्नुपर्ने बहानामा थप ३ करोड ४४ लाख रुपैयाँ ठगी गरेका थिए ।

भण्डारीले दुईवटा राहदानीमा फरक नागरिकता नम्बर प्रयोग गरेको, अन्य व्यक्तिको विवरण दुरुपयोग गरी कीर्ते नागरिकता तथा राहदानी तयार पारी स्क्याममा संलग्न रहेको प्रमाणित भएको छ । उनले फरक नाम र खाताबाट फेसबुक तथा व्हाट्सएप प्रयोग गरेर ठगी गर्ने गरेको खुलासा भएको छ।

ज्योती बहादुर भण्डारीविरुद्ध काठमाडौं प्रहरी परिसरमा ठगीसम्बन्धी तीनवटा मुद्दा दर्ता छन् । प्रहरीले अरू पीडितहरूलाई पनि सम्पर्क गर्न आग्रह गरेको छ।

Share News