विकासन्युज

पर्खाल हटाएर दक्षिणढोका-मूलपानी बाटो खोल्ने, गोकर्णेश्वर मन्दिरबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका-४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक खोल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि यो सडक खोल्न माग गर्दै आएको छ । यो सडक खुलेमा स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुनेछ । गोकर्ण वनको पर्खाल धेरै ठाउँमा भत्किए पनि काँडेतारले बाटो छेकिएको छ । पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा वाग्मतीको करिडोर पनि खुल्न सकेको छैन । यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए । यो सडक खोल्न माग गर्दै एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले पनि यो सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएको उनले बताए । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष द्वारिका श्रेष्ठ, ३ का अध्यक्ष मुरारीप्रसाद कुइँकेल, ४ का अध्यक्ष महत, गोनपा-४ का वडा सदस्यहरु गौरी श्रेष्ठ, राजेश श्रेष्ठ, गोनपा-८ का सदस्य सुमन लामालगायत स्थानीयवासीले प्रधानमन्त्रीलाई भेटेर उक्त सडक खोल्नुपर्नेमा जोड दिए ।

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा, १२औं दिनमा नामकरण गरिने

काठमाडौं । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए । छावाको नामकरण १२औं दिनमा गरिने उनले जानकारी दिँए । केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको उनको भनाइ छ । हाल प्रजनन केन्द्रमा ९ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये ६ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका ४ भाले र २ पोथी हुन् । ४ वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।

१६ करोडमा सञ्चालनमा आयो रातोढुङ्गा सबस्टेशन

काठमाडौं । म्याग्दी जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सबस्टेशन सञ्चालनमा आएको हो । विसं २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सबस्टेशनबाट आजदेखि नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् आपूर्ति गर्न थालेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताए । ‘मिलनचोक सबस्टेशन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सबस्टेशनमा लाइन जोडेर हाम्रो निगरानीमा परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।’ नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा १६ करोड रुपैयाँमा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिक रूपमा सबस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताए । सबस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

२ पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले भने-मिर्गौला उपचारमा नेपालले उपलब्धि हासिल गरेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकामा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताए । नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए । दुईपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रोपटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा गर्व महसुुस भएको उल्लेख गरे । सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे । समाजका अध्यक्ष प्रा डा दिव्यासिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतीकरण गरिन् ।

समयमा निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द, निर्माण व्यवसायी अदालतमा

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । ४ किलोमिटर सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै सडक डिभिजन कार्यालय भक्तपुरले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा अदालतमा मुद्दा हालेका थिए । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिउको गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनअघि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि-खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो । कार्यालयका प्रमुख डिजिनल सिनियर इञ्जिनियर सुमन योगेशले अदालतबाट अन्तरिम आदेश आए पनि पुनःठेक्का प्रक्रियाको काम अघि बढिरहेको बताए । ‘कानुनतः पुनः ठेक्का खोल्ने प्रक्रियामा अघि बढ्न मिल्छ, यसका लागि मन्त्रालयस्तरमा निर्णयको प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिने तयारीमा छ भने यसपछि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ । यसैबीच ठेक्का रद्द गरिएको तथा अदालतले हाललाई कुनै पनि काम अघि नबढाउने अन्तरिम आदेश दिएपछि स्थानीयले धुलोका कारण जनजीवन प्रभावित भएको जनाउँदै बिहीबार तीन घण्टा सडक अवरूद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय भक्तपुरबीच पुनःसडक निर्माणको काम सुरू नभएसम्मका लागि दैनिक दुई ट्याङ्कर पानी हाल्ने सहमतिपश्चात् सडक अवरूद्ध गर्न बसेका स्थानीय पछि हटेका थिए । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम गरिएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेश, सब-बेश हाल्ने काम सुरू गरिए पनि वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनः निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताएका छन् । काठमाडौंमा युएचएस होल्डिङ्सको सहभागितामा आयोजित आइओन एक्सचेन्ज जेरोबी-उत्पादन लन्च समारोहमा मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र आगामी एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइएको बताए । उनले भने, ‘हामी सबैलाई अवगत छ कि शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो, यसको अभावले सार्वजनिक स्वास्थ्य मात्र होइन, समग्र विकासमा समेत गम्भीर असर पुर्याउँछ ।’ मन्त्री यादवले खानेपानी मन्त्रालय नेपालका प्रत्येक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउने आफ्नो सङ्कल्पप्रति प्रतिबद्ध रहेको बताउँदै नेपालका ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र सहरी क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवाहरूको पहुँच पाएको बताए । सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको तथा जुन संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको हिस्सा पनि भएको बताए । उनले भने, ‘यस लक्ष्यलाई हासिल गर्न निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी संस्थाहरूको सहकार्य अपरिहार्य छ ।’ दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजाजस्ता रोग महामारीका रूपमा देखापर्ने गरेका, नेपालका धेरै भागमा जलस्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास र औद्योगिक फोहर स्वच्छ पानीको उपलब्धतामा बाधक बन्दै आएको उनको भनाइ छ । शुद्ध खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसलाई सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर सुनिश्चित गर्नुपर्ने, जेरोबीजस्ता नवीनतम् प्रविधिहरूको प्रयोगले सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न मद्दत गर्ने, सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरू मिलेर ‘स्वच्छ खानेपानी पहुँच’को लक्ष्य प्राप्त गर्ने मन्त्री यादवले बताए ।

भन्सार छली ल्याइएका मोबिल र मोटर पार्टससहित पक्राउ, चिया निर्यात ५० प्रतिशतले बढ्यो

काठमाडौं । झापा जिल्ला प्रहरीले नेपाल-भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले मेचीनगर-६ कालिखोलास्थित भारतबाट नेपाल आउँदै गरेको अवैध सामानसहित भारतीय नम्बरको कार बरामद गरिएको जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी ‘फल्सबटम’ बनाएर ९ लाख १५ हजार ५८२ रुपैयाँ मूल्य बराबरका मोबिल र मोटरका पाटपुर्जा बरामद भएका हुन् । कार चालक भारत पश्चिम बङ्गाल दार्जिलिङका ३४ वर्षीय अमित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए । चिया निर्यात ५० प्रतिशतले बढ्यो मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ८ महिनामा चिया निर्यात ५०.४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा ३ अर्ब २० करोड २ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार ५७६.३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा २ अर्ब १२ करोड ७६ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२.८ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको ८ महिनामा ५ अर्ब ८३ करोड ७३ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा ५ अर्ब १७ करोड २६ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको थियो । भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर २०४.७ प्रतिशत, भेनियरसिट ७४.३ प्रतिशत र मोलासिसको निर्यातमा ४ हजार ५८९.५ प्रतिशतले वृद्धि भएको छ । फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसोलगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिए । उनका अनुसार मेची भन्साबाट चालु आवको ८ महिनामा १७ अर्ब ९० करोड ६१ लाख २५ हजार रुपैयाँ को वस्तु निर्यात भएको छ ।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

काठमाडौं । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्,’ स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।’ भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो-नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक-एक गरी सुनाए । ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ,’ उनले भने । उपभोक्ताले उनका कुरा चाख मानेर सुनिरहेका थिए । ‘भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त,’ उनले थपे । सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उहाँलाई लाग्छ । सबैले यसको महत्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उनले बुझेका छन् । त्यसैले उहाँ सबैलाई फोटो खिच्न र युट्युवमा भिडियो हेर्न आग्रह गर्दै थिए । ‘आज नकिन्नेले घर गएर युट्युवमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु,’ उनले भने । अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिएका उनले यसपाली १०२ वटा काठका भाँडा ल्याएका रहेछन् । यसपटक उद्घाटन नहुँदै ९ वटा बिक्री भइसकेको उनले बताए । ‘पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २/३ दिनमै बिक्री भइसकेका थिए, यसपाली पनि सुरुआत राम्रो छ,’ उनले भने । उनले विजयसाल काठबाट बनेका आम्खोरा, गिलास र कप बनाएका छन् । धेरै पैसा खर्च नगर्नेका लागि स-साना आकर्षक टुक्रा पनि बनाएका छन् । कञ्चनपुर भीमदत्त नगरपालिका-१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन सुरु गरेको बताए । ‘पहिले त धैरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो, कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाए, अहिले ३/४ सय पनि पुग्दैन,’ उनले भने । विजयसाललाई संरक्षित बोटको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ । उनका अनुसार यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ । अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको रु तीन हजार तीन सय पर्ने तर पनि पाउन गाह्रो हुने उनले बताए । काठ पाउन छाडेपछि उहाँले पछिल्लो समय भीमदत्त, बेदकोट र बेलोरीका ३०० विरुवा वितरण गरेका छन् । आफैँले पनि तीन वटा बोट रोपेको बताए । ‘मैले रोपेको २० वर्ष जति भयो, २०/२२ फिट अग्लो भएको छ, यो काठका लागि मात्रै होइन, खोट र पातको पनि ओषधीय प्रयोग गर्ने चलन छ,’ उनले भने । महोत्सवमा विजयसालका काठबाट निर्मित भाँडामा जस्तै नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पामा उत्पादित ढाकाका विभिन्न पहिरन, सिन्की, नेपाली पोते, मस्यौराका साथै रुकुम रोल्पामा उत्पादित भीर मौरीको मह, थाङ्का चित्रकलामा पनि देहरादूनबासीले उत्तिकै चासो दिएका छन् । महोत्सवमा नेपाली हस्तकला धेरैले मन पराएका छन् । महोत्सवमा भाग लिन चितवन भरतपुरबाट आएकी मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले आफूले नेपाली उत्पादनहरु मस्यौरा, तितौरालगायत ल्याएको बताइन् । ‘हाम्रो कुल उत्पादनमध्ये ६० प्रतिशत विदेश निर्यात हुन्छ, यो महोत्सवले देहरादूनमा बजार विस्तारमा सहयोग गर्ने अपेक्षा छ,’ उनले भनिन् । महोत्सवमा काठमाडौं कीर्तिपुरबाट पुगेकी राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकार आफू यसअघि तीन पटक यस महोत्सवमा सहभागी भइसकेको उल्लेख गर्दै विगतका महोसत्वमा राम्रो व्यापार भएकाले यसपाली पनि आएको बताइन् । ‘सामान यहाँसम्म ल्याउन कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सहयोग गरेको छ, स्टल निःशुल्क उपलब्ध गराएको छ, महोत्सवले नेपाली हस्तकलाको बजारीकरणका लागि सहयोग पुगेको छ,’ उनले भनिन् । कैलाली घोडाघोडी-२ मा अशिषेक मौरीपालन फर्म सञ्चालक उमा खत्रीले महोत्सव नेपाली उत्पादनको प्रचारप्रसारका लागि उपयुक्त थलो भए पनि उत्पादन ल्याउनका लागि सहज नभएको बताइन् । ‘महोत्सवमा सहभागी हुँदा नेपाली उत्पादनको प्रचारप्रसार तथा नयाँ बजार खोज्नमा सहयोग पुग्छ तर सीमाबाट सामान ओसारपसारमा भने सहज हुनु जरुरी छ,’ नेपाल मौरीपालन सङ्घका केन्द्रीय उपाध्यक्ष खत्रीले भनिन्, ‘अहिले पनि सामान ल्याउन सहज भएन, दुवै देशका सरकारले यस विषयमा ध्यान दिन जरुरी छ ।’ काठमाडौं नागार्जुनमा ग्लोबल नेचर एग्रोटेक सञ्चालन गरिरहेी संगीता गुरुङले रोल्पा र रुकुममा उत्पादित भीर मौरीको मह ल्याएको बताइन् । ‘श्रीमान ओमप्रकाश गुरुङ आफैँ भीर मौरीको मह निकाल्न जानुहुन्छ, भीर मौरीको मह धेरैले रुचाउनुभएको छ, त्यसबाहेक टिमुर र कोदोको पीठोको बिक्री पनि राम्रो छ,’ उनले भनिन्, ‘महोत्सवका कारण नेपाली उत्पादनलाई यहाँसम्म ल्याउन सजिलो भयो ।’ काठमाडौं कोटेश्वरमा कोसेली ढाकाका सञ्चालक करुण राईले भने हातले बुनेका विभिन्न पोशाक ल्याएको बताए । ‘यो पोशाक मात्रै होइन, नेपाली पोशाक र नेपाली हस्तकलाको प्रवर्द्धन पनि हो, देहरादूनमा उल्लेख्य सङ्ख्यामा नेपाली रहेकाले महोत्सवमा सहभागी भएका हौँ,’ उनले भने । महोत्सवमा भक्तपुरस्थित कुवेर थाङ्का एण्ड आर्टस् एण्ड ट्रेडर्सका सञ्चालक लायन तामाङ पनि भेटिए । उनले स्टलमा रुद्राक्ष, बोधिचित्तका मालाका साथै, ५० हजार रुपैयाँसम्म मूल्य पर्ने थाङ्का बिक्रीका लागि राखेका छन् । ‘महोत्सव नेपाली चित्रकलालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर पनि हो, चित्रकलामा धेरैले चाखपूर्वक अवलोकन गरेका छन्,’ उनले भने । त्यसअवसरमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायतका गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवमा नेपालका ५० र भारतका १५० वटा स्टल छन् ।