विकासन्युज

बागमती प्रदेशमा खर्चभन्दा आम्दानी धेरै, २५.६२ प्रतिशत खर्च गर्दा ३८.१३ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५.६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकामा ८ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७.६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८.२२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ९.७९ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी सन्यालले बताए । चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरु कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको छ । राजस्व सङ्कलन बर्सेनि घट्दो बागमती प्रदेशको राजस्व सङ्कलन बर्सेनि घट्दै गएको छ । चालु आवको ८ महिनाको अवधिमा बागमती सरकारले लक्ष्यको ३८.१३ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सूचना अधिकारी सन्यालका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवमा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ८ महिनामा ती सबै शीर्षकबाट २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी सन्यालले जानकारी दिए । प्रदेश सरकारले चालु आवमा राजस्व बाँडफाँडबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकामा सो अवधिमा लक्ष्यको ४७.०३ प्रतिशतअर्थात् १३ अर्ब ९० करोड २७ लाख ६८ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । यस्तै सङघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएकामा चालु आवको ८ महिनामा लक्ष्यको ५२.५८ प्रतिशत अर्थात् ८ अर्ब १८ करोड ९९ लाख ६४ हजार रुपैयाँ अनुदान प्राप्त भएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो अवधिमा लक्ष्यको ५२.४१ प्रतिशत अर्थात् २ अर्ब ३७ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजस्व मात्र सङ्कलन भएको सूचना अधिकारी सन्यालले बताए । यसअघि अघिल्लो आवमा बागमती प्रदेशको राजस्व ९ अर्ब ३ करोड ३१ लाख २७ रुपैयाँ कम सङ्कलन भएको थियो । प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।

‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठन भएपछि मुलुकमा आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका बताउका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गरे । ‘दुई ठूला दलबीच समझदारी भएर वर्तमान सरकार बनेकाले यो सरकार परिवर्तन हुँदैन । यो सरकारले जनता केन्द्रित भएर काम गरिरहेकाले पनि यसलाई स्थायित्व दिनुपर्ने जरुरी छ,’ उनले भने । महासचिव पोखरेलले भने, ‘जतिबेला मुलुकको आर्थिक अवस्था नाजुक बन्दछ र जनतामा निराशा फैलिन्छ । राज्यको शासन व्यवस्थामाथि सङ्कट आउँछ, त्यस्तो अवस्थामा प्रमुख पार्टी मिलेर जनताको निराशा अन्त्य गर्ने, अर्थतन्त्रलाई उकास्ने र मुलुकलाई सही मार्गमा हिँडाउने जिम्मेवारी रहन्छ । अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी मिलेका हुन् ।’ पार्टीले यही चैत ११ गतेदेखि सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराइने उनको भनाए छ । महासङ्घका अध्यक्ष एनपी साँवाले सरकारले उद्योग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिउ । आजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

व्यवसाय विस्तारमा आक्रामक बन्दै बिग मार्ट, काठमाडौंमा खोल्दै २०० नयाँ शाखा

  काठमाडौं । बिग मार्टले थप नयाँ शाखा विस्तार गर्ने भएको छ । बजारमा रहेका नयाँ शाखालाई यथावत् सञ्चालन गर्दै कम्पनीले काठमाडौं उपत्यकाभित्रै थप २०० नयाँ शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ । हामीले काठमाडौंको राम्रो ठाउँ भएको जुनसुकै वस्तिमा पनि शाखा विस्तार गर्ने तयारी गरेका छौं, राम्रो ठाउँ भयो भने उपत्यका बाहिर पनि जान सकिन्छ, अहिले ठाउँ हेर्ने काम भइरहेको छ, कम्पनी स्रोतले भन्यो । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै २०० नयाँ शाखा खोल्ने रणनीतिका साथ काम भइरहेको छ । पछिल्लो समय बजारमा नयाँ–नयाँ सुपरमार्केट सञ्चालनमा आइरहेको बेला बिगमार्टले फरक ढंगबाट आक्रामक किसिमले व्यावसायिक रणनीति बनाएको हो । अहिले बिगमार्टमा डेढ सय वटा शाखाहरु रहेका छन् भने पोखरामा पाँच वटा र चितवनमा चार वटा शाखा रहेका छन् । सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको सुरु भएको थियो । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको थियो । बिगमार्टले किराना, ताजा उत्पादन, घरायसी वस्तुसहित विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ । अहिले उपभोक्ताको रोजाइमा बिगमार्ट परिरहेको छ ।

यी हुन् सरकारले पुरस्कृत गरेका १० व्यक्ति

काठमाडौं । सरकारले यो वर्ष विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरूलाई सम्मान गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट १० जना व्यक्तिहरू पुरस्कृत भएका छन् । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त सम्मान प्रदान गरेका हुन् । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) हुन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको हो । उक्त कोषबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही पाँच लाख  रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । विसं २०७६ मा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । यी हुन् पुरस्कृत भएका व्यक्तिहरू डा. आभास मास्के डा. आभास मास्केको जन्म वि.सं. २०४७ साल फागुन ४ गते मोरङ जिल्लाको विराटनगरमा भएको हो । उनले क्युशु इन्स्टिट्युट अफ टेक्नोलोजीबाट विमान, अन्तरिक्ष, तथा अन्तरिक्ष प्रविधिमा विद्यावारिधि गरेका छन् । उनले सियोल विश्वविद्यालयका स्याटेलाइट प्रविधिसम्बन्धी विभिन्न परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी सातवटा क्युवस्याट स्याटेलाइट परियोजनामार्फत सातवटा स्याटेलाइटलाई पृथ्वीको कक्षमा (अर्बिट) राख्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका छन् । सन् २०१६ मा नेपालकै पहिलो स्याटेलाइट निर्माण गरी त्यसलाई सफलतापूर्वक पृथ्वीको कक्षमा पठाउन महत्वपूर्ण योगदान दिएका थिए । नोभेम्बर २०२० मा, उनले नेपालमा अन्तरिक्ष प्रविधि, स्याटेलाइट प्रविधि, र रिमोट सेन्सिङ प्रविधिमा नयाँ पुस्तालाई ज्ञान प्रदान गर्न र प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले नेपालको पहिलो स्याटेलाइट निर्माण गर्ने स्याटेलाइट परियोजनाको नेतृत्वकर्ता हुन्  । नेपालको स्याटेलाइट विकास र प्रविधि क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि उनलाई उदीयमान प्रविधि पुरस्कारबाट सम्मानित गरिएको छ । डा. ओममूर्ति अनिल विसं. २०३५ साल कार्तिक १४ गते महोत्तरी जिल्लाको धमौरा-८ मा जन्मिएका डा. ओम मुर्ति अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानबाट मेडिसिनमा एम.डी. तथा नयाँ दिल्लीस्थित एम्सबाट इन्टरभेसन कार्डियोलोजीमा डि.एम. गरेका छन् । डा. ओम नेशनल कार्डियाक सेन्टरका सञ्चालक समेत हुन् । स्वास्थ्य सचेतनाका क्षेत्रमा डा. मुर्तिका नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित दुई विश्व कीर्तिमान कायम रहेका छन् । सन् २०१३ मा उनले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशन गरे, जसबाट प्राप्त आय मुटुरोग र नसर्ने रोग (एनसीडी) रोकथामका लागि खर्च गर्दै आएका छन् । उनले ११ दिने निःशुल्क मुटु शिविर सञ्चालन, मुटुरोगसम्बन्धी वृहद् अनुसन्धान, व्यक्तिगत खर्चमा दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी, पत्रकार, र सुरक्षाकर्मीलाई तालिम प्रदान गर्ने कार्य गर्दै आएका छन् । त्यसैगरी, डिजिटल प्लेटफर्ममार्फत दीर्घ जीवनको प्रयास, निःशुल्क टेलिमेडिसिन सेवा, १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता महत्वपूर्ण कार्यमा संलग्न रहेका छन् । उनले डा. ओम फाउण्डेशनको स्थापना गरी स्वास्थ्य, शिक्षा, र सामाजिक रूपान्तरणलाई अभियानका रूपमा अगाडि बढाउने उद्देश्य राख्दै निरन्तर सक्रिय रूपमा काम गरिरहेका छन् । डा. छिरिङ लामा वि.सं. २०३९ साल असोज १ गते सिन्धुपाल्चोक जिल्लाको किउल-७ मा जन्मिएका डा. छिरिङ लामाले वेलायतको नर्थम्ब्रिया विश्वविद्यालय बाट टेलिमेडिसिनमा विद्यावारिधि गरेका छन् । उनले सन् २०१४ मा ‘आइडिया स्टुडियो नेपाल’ स्थापना गरे । हाल यस संस्थाले नीति निर्माणका क्षेत्रमा नेपाल सरकारसँग, ज्ञान निर्माणका क्षेत्रमा विश्वविद्यालयहरूसँग, र आर्थिक लाभसँगै सामाजिक तथा वातावरणीय प्रभाव पार्ने दिशामा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको छ । आइडिया स्टुडियोमार्फत विभिन्न नयाँ विचार (आइडिया) खोजी गरिन्छ, तिनलाई व्यवसायिक रूप दिन इन्क्युबेसन प्रक्रियामा लैजाने काम गरिन्छ । एक हजार जना उद्यमी उत्पादन गर्ने लक्ष्यसहित संस्था क्रियाशील छ । यस प्रक्रियाबाट सजिलो मर्मत सेवा, नेपाल मेड, टिकेट एन साप, मेट्रो तरकारी, कृषि गुरु, सिता अरनिक, मिस्टर कर्म, रिभोलुसन डेभिलगायतका उद्यमहरू स्थापित भइसकेका छन् । नवउद्यमीहरूलाई प्रशिक्षण तथा लगानीको अवसर प्रदान गर्न सक्रिय आइडिया स्टुडियोले ‘अबरोध तोड्दै, भविष्य बताउँदै’ भन्ने नाराका साथ समावेशी उद्यमशीलतालाई विशेष प्राथमिकता दिँदै आएको छ । यस संस्थाले विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई व्यवसायमार्फत सशक्त बनाउन पहल गर्दै आइरहेको छ । दिलशोभा श्रेष्ठ वि.सं. २०१० साल चैत्र १० गते काठमाडौंमा जन्मिएकी दिलशोभा श्रेष्ठले आफ्नो समाजसेवाको यात्रा वि.सं. २०५३ सालदेखि अलपत्र अवस्थामा रहेकी आमाहरूको उद्धार गर्दै सुरु गरिन् । उनले वृद्धवृद्धाहरूलाई सुरक्षित आश्रय दिने उद्देश्यले ‘आमाघर’ स्थापना गरिन्, जुन हालसम्म निरन्तर सञ्चालनमा छ। उनले आफ्नो घर कालिमाटीमा मात्र नभई गुर्जुधारा र गोकर्णमा समेत आमाघर स्थापना गरी सञ्चालन गर्दै आएकी छन् । आमाघरमा वृद्धवृद्धाहरू मात्र नभई बेवारिसे बालबालिकाहरूलाई पनि आश्रय प्रदान गर्दै आएकी छन् । अहिलेसम्म सयौं आमाहरूलाई सेवा र आश्रय दिनुका साथै उनीहरूको सम्पूर्ण हेरचाहको जिम्मेवारी उनले आफैं लिएकी छन् । विशेष कुरा के हो भने उनले काम गर्न अरू कोही राखेकी छैनन्, बरु स्वयं सेवामै समर्पित भई आमाहरूको स्याहार-सुसार गरिरहेकी छन् । बाँचुन्जेल आफ्नै हातले सेवा गर्ने अनि मृत्युपछि दाहसंस्कारको व्यवस्था समेत आफैं गर्ने प्रण गर्दै आएकी छन् । उनको महान सेवाभावका कारण नेपाल सरकारले ‘जनसेवा श्री पुरस्कार’ द्वारा सम्मान गरेको छ। साथै, विभिन्न संघसंस्थाबाट पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । समाजसेवामा समर्पित उनको योगदानले मानवताका लागि जीवन अर्पण गर्न चाहने जोसुकैलाई थप प्रेरणा र उर्जा प्रदान गरिरहेको छ । पूर्णिमा श्रेष्ठ वि.सं. २०४७ साल भदौ १ गते गोरखा जिल्लाको आरुचनौटे, आरुघाटमा जन्मिएकी पूर्णिमा श्रेष्ठले सन् २०१७ मा विश्वको आठौं सर्वोच्च शिखर मनास्लु हिमालको सफल आरोहण गर्दै आफ्नो हिमाल आरोहण यात्राको सुरुवात गरेकी थिइन् । उनले हालसम्म सत्तल, सगरमाथा, अमादब्लम, अन्नपूर्ण प्रथम, धौलागिरि प्रथम, कञ्चनजंघा प्रथम, ल्होत्से र मकालुको सफल आरोहण गरिसकेकी छन् । विशेषगरी, सन् २०२४ मा एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएकी छन् । साथै, विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ हिमालको सफल आरोहण गरिसकेकी छन् । हिमाल आरोहणका साथै पूर्णिमा श्रेष्ठ एक सफल फोटोपत्रकार पनि हुन् । उनले खिचेको सुन्दर तस्बिरहरू अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ तथा नेपालका राष्ट्रिय पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित हुँदै आएका छन् । उनको हिमालप्रतिको प्रेम र निष्ठाले महिला पर्वतारोहीहरूका लागि प्रेरणादायी बनेको छ। रविन्द्र पुरी वि.सं. २०२५ साल पुष १६ गते भक्तपुरमा जन्मिएका रविन्द्र पुरीले ललितकला र कानुनमा स्नातक तथा जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तर गरेका छन् । सन् १९९० देखि १९९३ सम्म पाटन दरबार संरक्षण परियोजनामा ‘आर्किटेक्चरल मोडेल मेकर, मूर्तिकारतथा डिजाइनर’ को रूपमा कार्य गरे । त्यसपछि, सन् १९९६र९७ मा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको पुनर्स्थापनामा पनि महत्वपूर्ण भूमिका निभाए । उनले रानीपोखरी र सिंहदरबार पुनर्निर्माणमा समेत उल्लेखनीय योगदान दिएका छन् । उनका विभिन्न कलाकृतिहरू नेपालका संग्रहालयहरूमा प्रदर्शनमा राखिएका छन् भने, जर्मनी, श्रीलंका तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा समेत उनका कलाकृतिहरू प्रशंसित भएका छन् । रविन्द्र पुरीको नेतृत्वमा स्थापना भएको रविन्द्रपुरी फाउन्डेशन मार्फत १०० भन्दा बढी परियोजनाहरू सञ्चालनमा छन्, जसले नेपालको सम्पदा संरक्षण तथा कला प्रवर्द्धनमा विशेष योगदान पुर्‍याइरहेको छ। उनी युनेस्कोको ‘ एसीया पेसीफीक कलचरल हेरिटेज अर्वाड ’ प्राप्त गर्ने पहिलो नेपाली हुन् । यसैगरी, वि.सं. २०७० मा ‘जगदम्बा स्टिल एक्सिलेन्स अवार्ड’ द्वारा सम्मानित हुनुका साथै बीजनेश ३६० म्यागजीनले ‘नेपालका १० प्रभावशाली परिवर्तनकर्ता’ मध्ये एक तथा अन्नपूर्ण मिडियाले ‘देशका ५० अगुवा व्यक्तित्व’को रूपमा उनलाई सम्मान गरेको छ । उनको योगदानले नेपालको कला, सम्पदा संरक्षण तथा सांस्कृतिक पुनर्जागरणमा एक महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ । रामजी अधिकारी वि.सं. २०४१ साल असार १० गते गोरखा जिल्लाको भिरकोटमा जन्मिएका रामजी अधिकारीले मानव सेवा आश्रम स्थापना गरी त्यसका प्रमुख संस्थापक र अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । मानव सेवा आश्रमले देशका सात वटै प्रदेशका १९ जिल्लामा २३ ओटा आश्रम सञ्चालन गर्दै सडकमानवलाई सम्मानपूर्ण जीवनयापनका लागि आवश्यक सेवाहरू प्रदान गर्दै आएको छ। आश्रमको संरक्षणमा करीब १,५०० जना बेसहारा असहाय, परिवार र समाजबाट परित्यक्त व्यक्तिहरू रहेका छन् । आश्रमको प्रमुख उद्देश्य भनेको वि.सं. २०८२ सम्ममा देशलाई सडक-मानवमुक्त बनाउने र नेपाललाई मानवताको देशको रूपमा संसारसामु चिनाउने छ । रामजी अधिकारीले युवाहरुलाई नेतृत्व र उत्प्रेरणासम्बन्धी तालिम प्रदान गर्दै देश, जनता र मानवताको सेवामा सक्रिय बनाउन प्रयासरत रहेका छन् । उनको जनसेवाश्री पदक सहित थुप्रै पुरस्कार र सम्मान प्राप्ति उनको समाजसेवा र योगदानको ठूलो मूल्याङ्कन हो । रामजी अधिकारीको प्रेरणादायी कार्यले नेपालमा मानवसेवाको क्षेत्रलाई नयाँ दिशा दिएको छ । डा. विराज सिंह थापा डा. बिराज सिंह थापाको जन्म वि.सं. २०३६ साल जेठ १७ गते, मोरङ जिल्लाको विराटनगरमा भएको हो । वर्तमानमा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा सहप्राध्यापकका रूपमा कार्यरत उनले हाइड्रोपावर र ग्रीन हाइड्रोजनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयको गड़ोजन ल्याबको टिस लिडर र इसिमोडको सह-नेतृत्व पनि गर्दै आएका छन् । उनकै नेतृत्वमा जीएच ल्याबले नेपालको पहिलो हाइड्रोजन कार, २०१९ मा हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको थियो । साथै, काठमाडौं विश्वविद्यालयले नेपालको पहिलो हरियो हाइड्रोजन कार इन्फ्युलिङ स्टेसन पनि कोरियाबाट एसेम्ब्ली गरेर सञ्चालनमा ल्याएको छ। नर्वेबाट विद्यावारिधि गरेका डा. थापाले नेपाल सरकारको ग्रिन हाइड्रोजन नीतिको समन्वय समितिको सदस्यका रूपमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनी विश्व ऊर्जा परिषद्को सदस्य पनि हुन् । डा. थापाको नेतृत्वमा गरिएको कार्यले नेपालको हाइड्रोजन र नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको छ र उनको योगदानले नेपाललाई विश्व ऊर्जा क्षेत्रसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हरिराम श्रेष्ठ गोरखा जिल्लाको पालुङटार वडा नं. ८ मा वि.सं. २०४३ साल कार्तिक ८ गते जन्मिएका हरिराम श्रेष्ठ नेपालका विज्ञान तथा प्रविधि क्षेत्रका एक आशाको दियो हुन् । उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा प्राविधिक अधिकृतको रूपमा कार्यरत छन् र नास्टको अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख पनि हुन् । उनले जापानबाट विद्यावारिधि गरेका छन् । उनी स्याटलाइट निर्माणमा मुख्य योगदानकर्तामध्ये एक हुन् र यस स्याटलाइटको निगर्मागर नेभिगेसनमा कार्यरत छन्। इन्जिनियरिङका क्षेत्रका विज्ञ, उनले स्याटलाइट प्रशिक्षण लगायत विद्यालय र अन्तर्राष्ट्रिय समुदायमा अन्तरिक्ष प्रविधि प्रदर्शन गर्दै आएका छन् । स्याटलाइट प्रविधिका क्षेत्रमाको निर्माण र सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएकाले वि.सं. २०७६ सालमा कीर्तिमय राहूदीप चौथोकाट सम्मानबाट सम्मानित भएका छन् । श्रेष्ठको योगदानले नेपालमा अन्तरिक्ष प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्न महत्त्वपूर्ण भूमिका निभाएको छ । सावित्रा भण्डारी (साम्बा) सावित्रा भण्डारी, नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडीका रूपमा चिनिएकी छन् । उनको जन्म २६ मे १९९७ मा लमजुङ जिल्लाको सिमपानीमा भएको थियाे । एपीएफ क्लबकी मुख्य खेलाडी सावित्रा भण्डारीको उच्च प्रदर्शनका कारण एपीएफ क्लबले लगातार चार पटक प्रधानसेनापति कपको उपाधि जित्न सफल भएको थियो । साथै महिला राष्ट्रिय लिगको उपाधि जित्नमा पनि क्लबको सफलता सुनिश्चित गरिन् । विसं. २०७३ सालमा प्रधानसेनापति कप र राष्ट्रिय लिग जित्दा उनी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । यसैगरी, विसं. २०७५ सालको प्रधानसेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी थिइन् । सावित्रा भण्डारी अन्तर्राष्ट्रिय व्यावसायीक फुटबल खेल्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले सन् २०१७ मा माल्दिभ्स महिला लिगमा माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेकी थिइन् र उक्त संस्करणमा प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् । साथै माल्दिभ्स पुलिस र सेतु क्लबको तर्फबाट पनि खेलेकी उनले करिब चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका छन् । सावित्रा भण्डारीको उत्कृष्ट खेलकुदको योगदानले नेपाली फुटबलमा महिला खेलाडीहरूको स्थानलाई मजबुत बनाएको छ र उनले अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालको प्रतिष्ठा उच्च बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

‘फलाम र सिमेन्टको मूल्यवृद्धिले समस्या भइरहेको छ, तत्काल समाधान खोज्नुपर्छ’

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको तस्रो महाधिवेशको उदघाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य राक्न समेत आवश्यक भएको धारणा राखे । ‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ । तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरि कतिपय गतिविधि भएका छन । जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ । यसमा परिवर्तन आवश्यक छ,’ उनले भने । सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसको कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे । उनले यसबाट नेपालको व्यवसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले विश्वास लिएको समेत बताए । नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनीको स्थापना गरी काम अगाडि बढाइएको बताए । अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताउँदै महासंघले व्यावसायिक वातावरण सुधार र लगानी प्रवद्र्धनलाई आफनो उच्च प्राथमिकतामा राखेको र यसमा सरकार र अन्य निकायहरुसंग समन्वय र सहकार्य खोजिरहेको धारणा राखे । आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न र लगानी बढाउन आग्रह गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन आगामी बजेटले सम्बोधन गर्न सरकारलाई सुझाव दिए । पछिल्लो समय सिमेन्ट र फलामको मूल्यवृद्धि र लोडसेडिङ जस्ता समस्याहरूले औद्योगिक तथा व्यावसायिक क्षेत्र समस्यामा देखिएको चर्चा गर्दै उनले यसको तत्काल समाधान खोज्न पनि सरकारलाई आग्रह गरे ।

भारत नेपालमा राजा चाहन्छ कि गणतन्त्र भन्ने पत्रकारको प्रश्नमा आरजुले दिइन् यस्तो जवाफ

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छन् । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।’ उनले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । मन्त्री डा राणाले भनिन्, ‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्डियन इनर्जी एक्सचेञ्जमार्फत नेपालमा आपूर्ति हुने विद्युत्को परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु ।’ उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिइन् । त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रूपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा. राणाले दिइन् । पत्रकारका एक प्रश्नमा उनले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट गरिन् । नेपालमा हालै भएका केही राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उनको जवाफ थियो, ‘यस विषयमा त भारतमा कुनै कुरा भएन तर पनि हामीले देखिरहेकै छौँ कि भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।”

उद्योगमन्त्री भण्डारी भन्छन् : औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ

काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राखेका छन् । शुक्रबार आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावारण बनाउनु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । मन्त्री भण्डारीले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा सम्भावना बोकेको उद्योग र व्यवसाय भएकाले यस क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गरे । समग्र औद्योगिक क्षेत्रको प्रवद्र्धन तथा नीतिगत सुधारमार्फत ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा सरकारले पहल गरिरहेको उनले बताए । मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रका उद्योग, व्यवसायको विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सङ्घीय सरकारको वार्षिक कार्यक्रममा समावेश भई कार्यान्वयनमा रहेका छन्, वर्तमान सरकार उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ कार्य गरी आर्थिक क्षेत्रलाई सङ्कटमुक्त गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वदेशी उद्योगको संरक्षण तथा निर्यात प्रवद्र्धन र आयात व्यवस्थापन गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने मार्गमा प्रतिबद्ध छ ।’ सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने मार्गमा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ जारी गरी कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । स्वदेशी कच्चा पदार्थमा आधारित तथा आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य गर्नेगरी योजनाबद्ध रूपमा काम भइरहेको मन्त्री भण्डारीले बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहनलगायत कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले मुलुकमा औद्योगिक लगानीको अवस्था सुधार गरी लगानीमैत्री वातावरण बनाउन र स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न सहज गरिएको बताए । यस्तै, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सृजना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका साथै व्यवसायमैत्री हुनेगरी प्रक्रियागत सरलीकरण गरिएको जानकारी दिए । यस वर्ष संघीय सरकारले लगानीसहित औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्ने उद्देश्यले अध्यादेश जारी गरेको बताउँदै मन्त्री भण्डारीले कानूनी र नीतिगत व्यवस्थामार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरिएको उल्लेख गरे । यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएको उनको दाबी छ ।

घनघोर जंगलमा कहाँबाट आए १७ देशका सय बढी विदेशी? अधिकांश व्यापारी

काठमाडौं । कैलालीको सिमली जंगलमा एक सयभन्दा बढी विदेशी नागरिहरू अनुमति नलिईकन अस्वाभाविक गतिविधि गरिरहेका भेटिएका छन् । घोडाघोडी नगरपालिका ९ स्थित चुरे छेउमै पर्ने सिमली जंगलमा एक सातादेखि १७ देशका एक सयभन्दा बढी नागरिकहरू अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा भेटिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ती विदेशी नागरिकहरूसँग भिजिट भिसा रहेको पाइएको छ । ती विदेशी नागरिक प्रकृतिसँग रमाउने, एकान्तमा बस्न रुचाउने, रमाइलो गर्ने गरी जंगलमा आएका बुझिएको नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बताए । उनका अनुसार तिनीहरू भारत, चीन, अमेरिका, जापान, फिलिपिन्स, बेलायतलगायतका देशबाट आएका हुन् । यिनीहरू सबै व्यापारी तथा व्यवसायीहरु रहेका छन् । उनीहरु फागुनको दोस्रो सातातिर त्यहाँ आएका बुझिएको छ । उनले भने, ‘यी नागरिकहरूमा कोही बच्चा छन्, कोही युवा त कोही वृद्धवृद्धासहित कुनैले परिवारै लिएर हिडेका छन् । यिनीहरूको टोलीमा नेपाली नागरिकहरूसमेत रहेका छन् । यिनीहरू वर्षैपिच्छे यसरी नै घुमिरहने रहेछन् । सन् २०२३ देखि यिनीहरूले यस्ता खालका क्रियाकलाप गर्दै आएका रहेछन् । योभन्दा पहिले रेन्बो फेमली ग्यादरिङ नाम दिएर अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।’ विदेशी नागरिकहरू सामूहिक रूपमा जंगलमै टेन्ट लगाएर बस्ने र त्यहीँ खाने गरेको प्रमुख रावतले बताए । जिल्ला प्रशासन कार्यालय, कैलालीले रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको छ । विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने गरेको जनगुनासो आउन थालेपछि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको टोली सिमली जंगल पुगेको थियो । सिमली जंगलमै पुगेर ती विदेशी नागरिकहरूलाई आ-आफ्नो गन्तव्यतिर लाग्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए । कुनै पनि निकायबाट जंगलमा बस्ने अनुमति नलिएका कारण उनीहरूलाई २४ घण्टाभित्र ठाउँ खाली गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए । ‘सिमली जंगलमा रेन्बो फेमली ग्यादरिङ नाम दिएर बस्दै आएका विदेशी नागरिकले अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आउन थाल्यो । अनि हामी आफै त्यहाँ पुगेका थियौं । त्यहाँ बसेका सबै जनालाई २४ घण्टाभित्र आ-आफ्नो गन्तव्यतर्फ जान निर्देशन दिएका छौं। जाने तयारी गरिरहेका छन्,’ उनले भने । निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।