आज विश्व क्षयरोग दिवस मनाइँदै, ७ हजार संस्थाबाट निःशुल्क सेवा उपलब्ध
काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ । केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गरेको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति १ लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति १ लाख जनसङ्ख्यामा ५४ थियो । सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेकोमा ११० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो । क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण-२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ । रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ । चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा ६ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप- केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, ६ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ । मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुवात भएको छ । राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ । आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ । तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।
नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए । नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम कार्यालय स्थापन गर्न बीमा प्राधिकरणले निर्देशन दिएको हो ।
दृष्टिविहीन श्रीमती र छोराहरूलाई आवतजावत गर्न कठिन भएपछि चन्द्रवीरले खनेको त्यो बाटो…
काठमाडौं । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि दाङको तुलसीपुर उपमहानगरपालिका-३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खन्नुभएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ । विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन,’ उनले भने, ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।’ उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन् अन्य तीन छोराले आँखा देख्दैनन् । अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन् भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौंमै छन् । उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । ‘कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ । यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ,’ उनले भने ।
विद्युत प्राधिकरणले उद्योगहरूमा दिउँसै रातको पार्यो: अध्यक्ष शोभाकर न्यौपाने
काठमाडौं । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले विद्युत प्राधिकरणले आफूहरुको उद्योगमा दिउँसै रातको पारेको आरोप लगाएका छन् । आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जानकारी नगराई १२/१३ घण्टासम्म लोडसेडिङ गरेको गुनासो गरे। डेडिकेटेड र ट्रंक लाइनको विवादित विषयलाई लिएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नै मन लाग्दी गरेको भन्दै उनले आपत्ति जनाए । अहिले भैरहवा क्षेत्रमा दिनकै १२/१३ घण्टासम्म लोडसेडिङ भएको नेपाल स्टिल उत्पादक संघका अध्यक्ष न्यौपानेले गुनासो गरे । उनले भने, ‘हामीलाई लोडसेडिङबारे केही जानकारी नै गराउनु भएन्। बिचमै एक्कासी लाइन काटिन्छ । मिडिमामा १२ घण्टा हुने कुरा मिडियामा सुनिन्छ। तर अहिले १३, १४ घण्टासम्म विद्युत आउदैन् ।’ लोडसेडिङको कारण स्टिलको मूल्य ९ रूपैयाँ ३३ पैसा पुगेको दाबी गरे । उनले आफुहरुलाई चैत बैशाखदेखि असारसम्म पुरै बत्ती दिन सरकारलाई आग्रह गरे । उनले यसपछि १५ दिन बत्तीको लाइन काटेन पनि केही फरक नपर्ने बताए । उनले हाल उद्योगमा धेरै सुधार आइरहदाँ लोडसेटिङ गर्दा धरापमा पर्ने अवस्था आएको समेत बताए ।
राजनीति गर्न र चलचित्र निर्माणका लागि तयार छैन्, अभिनयका लागि प्रस्ताव गर्नुहोस्: मनिषा
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताइन् । उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।’ त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन् । ‘मैले सुरुवाती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो,’ अभिनेत्री कोइरालाले भनिन् । कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेकी थिइन् । भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताइन् । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन् । ‘मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो,’ उनले भनिन् । अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् । उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल, आरएनपी-एआर प्रणालीको कार्यान्वयन
काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ,’ उनले भने, ‘विमानस्थल सञ्चालनको सुरुवाती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका थिए ।’ महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । उनले सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चितताका लागि विभिन्न पहलकदमी लिएको छ । श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टरको व्यवस्था गरिने, नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्नेलगायत मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । यसैबीच गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न यही चैत्र ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरोकारवालासँग छलफल गरेका छन् । आरएनपी-एआर प्रणालीको कार्यान्वयन विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को अभावमा खराब मौसमका कारण केही उडान स्थगित गर्नुपरेको थियो । उक्त समस्याको समाधानस्वरूप भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स-अथोराइजेशन रिक्वार्ड’ (आरएनपी-एआर) अवतरण प्रणालीको प्रस्ताव गरिएको र हाल उक्त प्रणाली कार्यान्वयनमा आइसकेको विमानस्थलले जनाएको छ । अब यस प्रणालीलाई प्रयोग गर्न सक्ने जहाज तथा प्रशिक्षित चालक दल भएको एयरलाइन्सले अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ । विमानस्थलको तथ्याङ्कअनुसारअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा कुल आठ हजार १५७ यात्रु, भने सन् २०२५ को मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन् । यो सङ्ख्याले उडान सुधारको संकेत देखिएको विमानस्थलको विश्वास छ ।
दाङमा प्लाई उद्योगमा आगलागी, बाँके र रुपन्देहीबाट दमकल मगाएर निभाउने प्रयास
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन ।