गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी सीईओमा इवाहाङलाई नियुक्त गरेको हो । उनी आगामी ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन् । फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो । पाएको जागिर इन्कार, घरमै बसेर तीन महिना सीईओ
हैसियत हेरेर बीमा गरौं र गराऔं : बीमाविज्ञ घिमिरे
काठमाडौं । बीमाविज्ञ रविन्द्र घिमिरेले बीमितको आर्थिक हैसियत हेरेर मात्रै कम्पनीहरूले बीमा गराउनुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बीमितले पनि कसैले भनेको आधारमा बीमा गर्नुभन्दा पनि राम्रोसँग कुरा बुझेर आफूले कति सम्मको बीमा गर्न सकिन्छ, त्यसको आधारमा बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् । बीमा विज्ञ घिमिरेले आर्थिक हैसियत नहेरी बीमा गर्दा कम्पनी र बीमित दुबैलाई समस्या पर्ने यसले कसैलाई फाइदा नगर्ने अभिव्यक्ति दिए । घिमिरेले बीमा क्षेत्र भर्खर सिक्ने चरणमै रहेको हुँदा सिक्नुपर्ने कुरा धेरै रहेको औंल्याए । उनले भने, ‘बीमा क्षेत्रमा हामी सिक्ने चरणमै छौं, यो क्षेत्रका साथीहरू अध्ययन गर्न र केही सिक्नमा इच्छुक हुनुहुन्छ । सिक्दैछौं, सिकेपछि त्यसलाई व्यवहारमा उतार्न बाँकी छ ।’ सिक्ने सिकाउने क्रम कहिल्यै नसक्ने उल्लेख गर्दै बीमा विज्ञ घिमिरेले फिल्डदेखि केन्द्रीय नेतृत्व तहसम्मकाले सिक्नैपर्ने बताए । ‘मलाई बीमा पढ्दा सबै कुरा जानेजस्तो लाग्थ्यो । विस्तारै बुझ्दै जाँदा केही जाने रहेनछु भन्ने थाहा भयो । टेक्निकल विषय हो, निरन्तर सिकाइको प्रक्रियामा नगइन हामीले बीमा क्षेत्रको विकास गर्न सक्दैनौं,’ उनले भने । नेपाल बीमा प्राधिकरणले बीमाको क्षेत्रमा काम गर्दै आइरहेको भएपनि प्रभावकारी काम अझै हुन नसकेको औंल्याउँदै उनले त्यसतर्फ ध्यान पुग्नेपर्ने बताए । त्यस्तै, बीमाविज्ञ घिमिरेले बीमा क्षेत्रको सुधारको लागि प्राधिकरणले दक्ष जनशक्ति उत्पादनको लागि गम्भिर रुपमा सोच्नुपर्ने औंल्याए । त्यसबाहेक असल शुसान, समयअनुसार प्रविधिको प्रयोग र अभ्यास यो क्षेत्रले गर्दै जानुपर्ने उनले बताए । उनले भने, ‘असल शुसासन कायम आवश्यक छ । संसारभरिका जति पनि कम्पनीहरू कोल्याप्स भएका छन्, असल सुशासन नभएर नै हो । हरेकले आफ्नो क्षेत्रबाट राम्रै गरिरेको छु भन्ने ठाने पनि त्यहाँ सुधार्नुपर्ने धेरै कुरा हुन्छ । असल सुशासन र रेगुलेशनमा बीमा प्राधिकरणले काम गर्नुपर्छ ।’
सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, ११६ प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित
काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल मिरावल धुलिखेलमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/ ०८० तथा आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गर्न कम्पनी ऐन २०७३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको वाह्य लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न गर्न बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्तिलाई अनुमोदन गर्ने, निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पूँजी १२० करोड रूपैयाँ पूरा गर्न हाल कायम रहेको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।
फोटोन विश्वभर १ करोड युनिट बिक्री गर्न सफल
काठमाडौं । फोटोनले विश्वभर १ करोड युनिट बिक्री गर्न सफल भएको छ । फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाएको छ । यसले डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारीसाधनको आपूर्तिमा नयाँ स्तर कायम गरिरहेको छ । यो उपलब्धिले फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा विश्वव्यापी अग्रणी बनाएको छ । उच्चगुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारीहरू उद्योगहरूको पहिलो रोजाइ बन्न पुगेका छन् । फोटोनले इन्धन दक्षता सुधार्ने आधुनिक प्रणाली कार्यान्वयन गर्दै कार्बन उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ । १ करोड युनिट बिक्री र आगामी दिनहरूका लागि दृढ लक्ष्यसहित फोटोन व्यावसायिक सवारीसाधनको क्षेत्रमा विश्वव्यापी स्तरमा नयाँ उचाइ हासिल गरिरहेको छ । ११० भन्दा बढी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाएको फोटोनले विश्वव्यापी आर्थिक वृद्धिमा योगदान पु¥याउने यातायातको आमूल परिवर्तनलाई अघि बढाइरहेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि हो ।
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर
काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने कम्पनीले जनाएको छ । मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ । यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ । साथै, ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ । टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं ।’
दशौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी बैशाख २५ देखि सुरु, ३ सयभन्दा बढी स्टल रहने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ । नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ । महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरूका उत्पादनहरूका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरूसमेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा छ । महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुक भित्र प्रादेशीक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।
रसुवामा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु
रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो । सो संस्थाले विशेषज्ञ चिकित्सक उपलब्ध गराएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ । रसुवा जिल्ला अस्पतालले सोही संस्थाको सहयोगमा १८ जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरी बच्चा पैदा गराएको जनाएको छ । विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा दासले बताए । ‘बुस्कोपान’ नामक दुखाई कम गर्ने ‘इन्जेक्सन’ दिइ काठमाडौं पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेपछि रसुवावासीको खुशीको सीमा नरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। यसैगरी पाठेघरको नलीमा गर्भ बस्न गई जोखिममा परेकी २८ वर्षीया एक महिलालाई पनि गत शुक्रबार नै सफलतापूर्वक शल्यक्रिया गरिएको रसुवा अस्पतालले जनाएको छ । रासस
सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पारे । ‘प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ,’ उनले भने । मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना तथा भावना सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा बेदुराम भुसाल, किरणबाबु पुन, गङ्गाकुमारी बेल्वासे, इन्दिरादेवी गौतम, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, उदयबहादुर बोहरा, मनरुपा शर्मा, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई, श्रीकृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, रेणु चन्द, राजेन्द्रलक्ष्मी गैरे र गोपीबहादुर सार्की अछामीले भाग लिएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्नसक्ने व्यहोरा जानकारी गराए ।