विकासन्युज

सरकारविरुद्दको नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै युवाहरू आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलमानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ । माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

प्रतिपक्षीहरु आफू बच्न र सरकारलाई बद्नाम गर्न लागे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागिपरेको बताएका छन् । मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि बिरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका हुन् । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरु कसरी आफू बच्ने र सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वभाविक पनि हो । बिरोधीहरु लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो ।’ प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तिव्र गतिमा अघि बढिरहेको बताए । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए। ‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।’ यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।  ‘अहिले हामीसँग करिब एक सय टन कोइला छ’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए । उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ’, उनले भने , ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।’ उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो । एक पछि अर्कौ समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।

मृत्युदण्डको प्रतीक्षामा ५० वर्ष बिताएका व्यक्ति निर्दोष साबित, पाए १९ करोड क्षतिपूर्ति

काठमाडौं । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर (१९ करोड ५७ लाख २० हजार रुपैयाँ) क्षतिपूर्ति प्रदान गरिएको छ । ​जापानी नागरिक इवाओ हाकामादा, जसले विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका थिए र ५६ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । ​ यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो । हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनीकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए । सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए । सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो । हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए । यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ । स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ । दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् । हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए । अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंक र द मल्ल होटलबीच समझदारी भएको छ । बैंक र लेखनाथ मार्ग, काठमाडौंस्थित द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

नबिलबाट बाहिरिए ढुङ्गाना, अब को बन्छ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् । उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट राजीनामा दिएका हुन् । बैंकका अनुसार उनले गत आइतबारकाो मिति राखेर राजीनामा दिएका हुन् । बैंकका अध्यक्ष उपेन्द्र पौडेलले राजीनामा स्वीकृत हुन बाँकी रहेकाे बताए । ढुङ्गानाले राजीनामा दिएसँगै अब बैंकको सीईओ को बन्छ भन्ने चासोको विषय रहेको छ । अहिले वरिष्ठताका हिसाबले सुजित शाक्य अगाडि छन् । उनी हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका छन् भने मनोज ज्ञवाली पनि सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका छन् । बैंकमा भूपेन्द्र पाण्डे पनि डीसीईओ भएर काम गरिरहेका छन् । मुख्यतः अहिले बैंकका दुई जना सिनियर डेपुटी सीईओ शाक्य र ज्ञवालीबीच सीईओ बन्नका लागि प्रतिस्पर्धा हुने देखिन्छ । नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य

सामसङका डीसीईओ हान जोंग-हीको निधन

काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हान जोंग–हीको निधन भएको छ । उनको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले उनको निधनको पुष्टि गरेको छ । हानले कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व सम्हालेका थिए । सामसुङले हालसम्म हानको उत्तराधिकारीको नाम घोषणा गरेको छैन । हान जोंग–हीले १९८८ मा इनहा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक डिग्री पूरा गरेपछि सामसुङमा काम गर्न सुरु गरेका थिए । २०११ देखि २०१३ सम्म उनी कम्पनीको उत्पादन अनुसन्धान र विकास (आर एन्ड डी) टोलीको प्रमुख थिए । हानले २०१७ मा भिजुअल डिस्प्ले व्यवसायको नेतृत्व लिएका थिए । २०२१ मा उनलाई उपाध्यक्ष र डीसीईओमा पदोन्नति गरिएको थियो । स्थानीय मिडियाका अनुसार सामसुङको टिभी व्यवसायलाई उचाइमा पुर्‍याउने श्रेय उनलाई दिइन्छ । सामसुङका एक प्रवक्ताका अनुसार हान जोंग–हीको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । ३० नोभेम्बर, २०२४ सम्ममा हानको कुल सम्पत्ति करिब ९ लाख ७१ हजार २९१ नेट वर्थ थियो । उनको वार्षिक तलब प्याकेज ६.९० अर्ब वोन (झन्डै ४८.३ लाख डलर) थियो । गत वर्षको अवधिमा सामसुङका सेयरहरू सबैभन्दा कमजोर प्रदर्शन गर्ने प्रविधि सेयरहरूमा परेका थिए । हानले भनेका थिए कि कम्पनीले तीव्र रूपमा विकसित भइरहेको एआई सेमिकन्डक्टर बजारलाई पर्याप्त रूपमा जवाफ दिन असफल भएको छ ।

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, १० हजार लाभान्वित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ नारासहित सञ्चालन गरेको थियो । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।