विकासन्युज

हवाई इन्धन र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूचि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । यस्तै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ । निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ ।

टीयूमा नेविसंघले फेरि मार्यो बाजी, ७८९ मत पाएर जोशी सभापतिमा विजयी

  काठमाडौं । त्रिवि विश्वविद्यालय (टीयू) केन्द्रीय क्याम्पस किर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ । नेविसंघका उम्मेदवार दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले उनले ७८९ मत प्राप्त गरे । अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत र क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए । टीयूमा नेविसंघको निरन्तर दोस्रो जित हो ।    

बैंकका सञ्चालकलाई कस्तो अवस्थामा लाग्छ कुलिङ पिरियड ? राष्ट्र बैंकले अदालतमा दियो यस्तो तर्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई ‘गाइड’ गर्ने तर्क गरेको छ । विवेक शमशेर जवराले नेपाल बैंकविरूद्ध दायर गरेको रिटमा बहस गर्दै राष्ट्र बैंकका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई निर्देशिकाले नियमन गर्ने दाबी गरेका हुन् । गत चैत ६ गते सम्पन्न ६५औं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने भन्दै बैंकको सञ्चालक बन्न पूर्वसञ्चालक जबराले उम्मेदवारी दिएका थिए । तर, जबराविरुद्ध उजुरी परेपछि नेपाल बैंकको निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी रद्द गरेको थियो । सोही निर्णयविरूद्द जबरा न्याय माग्दै गत चैत ५ गते उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश लाल बहादुर कुँवरको चैत ५ गतेको एकल इजलाशले बैंकको चैत ६ गते हुने निर्वाचन रोक्न आदेश दिएको थियो । साथै, दुवै पक्षबीच छलफल गराई अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निश्कर्षमा पुग्न चैत ११ गते अन्तरिम आदेश छलफलको पेशी तोकेको थियो । तर, चैत ११ गते नभ्याएपछि चैत १५ गते शुक्रबार बहसका लागि समय तोकेको थियो । शुक्रबारको बहसबाट अदालतले ५ गतेको अन्तरिम आदेशलाइ नै निरन्तरता दिएको छ भने चैत २१ गतेका लागि तारेख तोकेको छ । शुक्रबारको बहसमा राष्ट्र बैंकका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई निर्देशिकाले नियमन गर्ने तर्क राखेको बहसमा एक सहभागीले विकासन्युजलाई बताए । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)सँगै राष्ट्र बैंकले जारी गरेका निर्देशिकाले समेत बैकिङ क्षेत्रलाई गाइड गर्ने तर्क राखेको उनको भनाइ छ । ‘बैकिङ क्षेत्रको सुशासन अन्तर्गत पर्ने भएकाले एकीकृत निर्देशिकाको व्यवस्था गरिन्छ । बैंकिङ क्षेत्रलाई सुशासित गर्न निर्देशिका जारी हुन्छन्,’ राष्ट्र बैंकका प्रतिनिधिले बहसमा भनेको विषय उदृत गर्दै स्रोतले भन्यो, ‘हुन त सबै विषय सुशासनकै लागि राखिएको हो । अब राष्ट्र बैंकले लिखित जवाफ पेस गरेपछि स्पष्ट होला ।’ वार्षिक साधारण सभासम्म सञ्चालक समितिले रिक्त रहने पदमा पदावधि सकिन लागेको सञ्चालकलाई निरन्तरता दिन सक्ने व्यवस्था वाफियामा उल्लेख छ । यदि पुर्ननियुक्ति भएको खण्डमा निरन्तरता रहने र साधारण सभाबाट चुनाव जितेर पुनः सञ्चालक बन्न सक्ने प्रावधान छ । ‘सञ्चालक समितिले आवश्यक र योगदानलाई महसुस गरेर पुनःनियुक्ति गर्न सक्छ । पुर्ननियुक्ति हुँदा निरन्तरता कायम रहन्छ । त्यहाँ कहीँ पनि ब्रेक हुने अवस्था रहँदैन । तर, जबराको केसमा भने ब्रेक भइसकेको अवस्था देखिन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘पुस २८ गते जबराको पदावधि सकियो । चैत ६ गते बैंकले वार्षिक साधारण सभा बोलायो । साधारण सभासम्म २/३ महिना ब्रेक भइसकेको छ । २/३ महिना ब्रेक भएपछि कुलिङ लाग्छ । यदि पुर्ननियुक्ति भएको खण्डमा निरन्तरता मानिन्थ्यो ।’ राष्ट्र बैंकका अधिकारीहरूको दाबी अनुसार पदमा हुँदा समयमा वार्षिक साधारण सभा गर्नु सञ्चालकको दायित्व हो । साथै राष्ट्र बैंकले जारी गर्ने निर्देशिका पनि ऐन सरह नै लागू हुने भएकाले पालना गर्नु बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुने उनीहरूको दाबी । ‘जस्तो होटलमा खाना खान जाँदा पेटभरी खाना खान दिन्छ । तर, एक/दुई प्लेट खाइसकेपछि मलाई पुग्यो भनेर हात चुठेर निस्कियो । फेरी एक/दुई घण्टापछि आएर खाना खान्छु त्यसैमा निरन्तरता दिनुपर्याे भन्नु त मिल्दैन । होटलले दोस्रो प्लेटमा खाना लगाएपछि दुइटै प्लेटको पैसा लिन्छ,’ उनले भने, ‘जबराको केसमा पनि निरन्तरता पाएको भए कुलिङ लाग्ने अवस्था थिएन । तर, पदावधि सकिएपछि केही समय ग्याप भएको देखिन्छ ।’ तर, जबरा भने कुलिङ नलाग्ने दाबी गर्छन् । सीईओले २ कार्यकाल बन्न पाउने तर सञ्चालकले दोस्रो कार्यकालका लागि ६ महिनाको कुलिङ चाहिने भन्दै उनले प्रश्न गरेका छन् । ‘जस्तो निर्णय कार्यान्वयन गर्ने व्यक्तिलाई कुलिङ अवधि नपर्ने । तर, निर्णय गर्ने अधिकार नभएको व्यक्तिलाई कुलिङ पर्ने विषय तर्कसंगत भएन भन्ने विषय उठेको छ । यसैका आधारमा पनि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको देखिन्छ,’ उनले भने । नेपाल बैंकका सञ्चालकको चुनाव रोक्न अदालतको आदेश, ‘यो लडाइँ बैंकिङ क्षेत्रकै हो’ बाफियालाई टक्कर दिँदै कुलिङको नाममा सञ्चालकको उम्मेद्वारी रद्द, अयोग्य हुनेछन् बैंकिङ क्षेत्रका सञ्चालक

रास्वपाको केन्द्रीय समिति बैठकमा किन देखिएनन् उपसभापति स्वर्णिम ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्यो । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि रवि लामिछानेले कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई सुम्पिदै पार्टीको नियमित कामकाजबाट बाहिरिएका थिए । उनी सभापतिबाट अलग भएको पाँच महिनापछि बैठक डाकेर सभापतिको कामकाजमा फर्किएका छन् । रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गरेका छन् । लामो समयपछि पार्टी कार्यालयमा पुनरागमन भएका लामिछानेले डाकेको सोमबारको केन्द्रिय कार्यसमितिको बैठकमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भने अनुपस्थित देखिए । बैठकमा सभापति लामिछानेले पार्टीभित्रको संरचनामा व्यापक फेरबदल गर्ने बताएका छन् । उपसभापति डा. वाग्लेको अनुपस्थितिले सभापतिसँग सम्बन्ध बिग्रिएको होकि भन्ने अनुमान पनि धेरैले गरेका छन् । तर, डा. वाग्लेको सचिवालयले भने उनी महत्वपूर्ण कार्यक्रमका लागि देश बाहिर रहेकोले बैठकमा उपस्थित हुन नसकेको बताएको छ । ‘उपसभापतिज्यू महत्वपूर्ण कार्यक्रमका लागि विदेशमा हुनुहुन्छ, उहाँ पाँच दिन अगाडि नै विदेश जानु भएको हो, त्यस कारण उहाँ बैठकमा सहभागी हुन नसक्नु भएको हो, अन्यथा होइन,’ वाग्लेको सचिवालयले भन्यो ।

हिमालयको ल्हासा-पोखरा-ल्हासा सेड्युल उडान सेवा सुरु

काठमाडौं । नेपाल– नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्स्ले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा-पोखरा-ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने एयरलाइन्सले जनाएको छ । नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पुर्‍याउन समर्पित हिमालय एयरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको छ । ल्हासा-पोखरा-ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एयरलाइन्सको प्रतिबद्धतालाई जोड दिन्छ । हिमालय एअरलाइन्स्ले काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ । यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (एच नाइन ७३२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ । नयाँ ल्हासा-पोखरा-ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ । हिमालय एयरलाइन्स आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरी, गण्डकी प्रदेशका माननीय उद्योग र पर्यटनमन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णलगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न छाड्दैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा गणतन्त्रका आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने प्रतीज्ञा गरेका छन् । सोमबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका उनले लुटतन्त्रलाई टुलुटुलु हेरेर नबस्ने दावी गरे । कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।’ सरकारले आफूलाई दुःख दिइरहेको भन्दै उनले शरीरमा एक थोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा उभिने बताए। ’दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ, यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाए पनि म पछि हट्दिनँ,’ लामिछानेले भने । उनले आफू लाछी मान्छे नभएको पनि जिकिर गरे । सभापति लामिछानेले रास्वपाले खोल नओढ्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनी आजैदेखि सभापतिको नेतृत्वमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

दक्षिण एसियाको सर्वाधिक सुरक्षित देश नेपाल

काठमाडौं । नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको छ । सर्वियाको विश्व प्रतिष्ठित सूचांक प्लेटफर्म नुम्बियोले जारी गरेको सर्वेक्षण प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियाको सर्वाधिक सुरक्षित देशमा परेको हो । ६३.३ अङ्कका साथ नेपाल ४७ औं स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । दक्षिण एसियामा नेपालभन्दा अघि कुनै पनि देश रहेका छैनन् । विश्वको सर्वाधिक सुरक्षित देश भने यूरोपको अन्डोरा रहेको छ । युएई दोस्रो नम्बर, कतार तेस्रो र ताइवान चौंथो स्थानमा रहेका छन् । त्यस्तै, ओमान पाँचौं स्थानमा रहन सफल भयो । नुम्बियोले सुरक्षित देशको वरीयता त्यो देशको रहनसहन, अपराध दरको आधारमा तयार गर्छ । चीन भने १५ औं नम्बरमा रहेको छ । दक्षिण एसियामा भारत ६६ औं स्थानमा रहँदा पाकिस्तान ६५ औं स्थानमा रहेको छ । दक्षिण एसियामा श्रीलंका ५९ औं स्थानमा रहँदा माल्दिभ्स १०६ औं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश सर्वाधिक पछि रहेको छ । १४७ देशमध्ये बंगलादेश १२६ औँ स्थानमा रहेको छ । अमेरिका भने विश्वको सुरक्षित देशको शीर्ष ५० भित्रसमेत पर्न सकेको छैन । अमेरिका ८९ औं स्थानमा रहँदा ब्रिटेन ८७ औं स्थानमा छ । सूचीमा १ सय ४७ देश सहभागी गराइएको थियो । भेनेजुएला सर्वाधिक असुरक्षित मानिएको छ । उसको वरीयता १४७ औं स्थानमा रहेको छ । योबाहेक पपुवा न्यु गिनी १४६ औं स्थानमा रहँदा हाइटी १४५ र अफगानिस्तान १४४ र दक्षिण अफ्रिका १४३ स्थानमा रहेको छ ।