फलफूलको भाउ आकासियो, तरकारीको मूल्य कति छ ?
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु १००० तोकेको छ ।
लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश, निक्षेप संकलन साढे ३ खर्ब पुग्यो
काठमाडौं । लक्ष्मी सनराइज बैंक २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष सफलताका साथ पार गरेको बैंक आजदेखि २४औँ वर्षमा प्रवेश गरेको हो । विसं २०५८ चैत्र ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले विसं २०५८ चैत्र १९ गतदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेको बैंकले लाखौं ग्राहकबाट निक्षेप संकलनको कार्य गर्दै आएको छ । बैंकको अध्यक्षमा रमण नेपाल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह कार्यरत छन् । डिजिटल बैंकिङलाई प्राथमकिताका साथ अघि बढाएको बैंकमा ५१.०५ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४८.९५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख बढी सक्रिय ग्राहक छन् । बैंकमा २ हजार ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गरिरहेको छ । विभिन्न ८ वटा संस्थामा लगानी रहेको यस बैंकका ३ वटा सहायक कम्पनी छन् । ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको ४ खर्ब १० अर्ब रुपैयाँको एसेट पुगेको छ । २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।
दोर्दी खोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आज चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कोशी र गण्डकीमा हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउने तयारी
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिलाई नियुक्ति दिने तयारी थालेको छ । सोमबार अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गर्दै ६५ वर्षे उमेर हद हटाएको छ । संशोधित मापदण्डमा सार्वजनिक निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएपछि सरकारले ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउने तयारी थालिएको बुझिएको हो । यसअघि सार्वजनिक निकायमा नियुक्तिका लागि न्यूनतम ३० वर्षदेखि अधिकतम ६५ वर्षको उमेर हदको व्यवस्था थियो । राष्ट्र बैंकको गभर्नर नियुक्तिको समय निजिकिँदै गर्दा मापदण्ड संशोधनलाई अर्थपूर्णरुपमा हेरिएको छ । अर्थ सम्बद्ध सार्वजनिक निकायमा नेपाल राष्ट्र बैंक पनि पर्छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत्रमा सकिँदैछ । हाल गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका दर्जनौं व्यक्ति शक्तिकेन्द्र धाइरहेका छन् । जसमध्ये गभर्नर बन्ने व्यक्तिको सूचीमा पुर्वमूख्यसचिव राजेन्द्र किशोर क्षेत्री र राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा हालका सञ्चालक रवीन्द्र पाण्डे छन् । उनीहरू दुवै जना ६५ वर्ष उमेर नाघेका हुन् । उमेर हद हटेसँगै यी दुवै जनालाई आगामी गभर्नर बन्न सहज पनि भएको छ । ५८ वर्षे उमेरहदका कारण पाण्डेले १४ वर्षअघि राष्ट्र बैंकबाट र क्षेत्रीले ७ वर्षअघि मुख्यसचिवबाट अवकाश पाएका थिए । चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सिफारिस समिति समेत गठन गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।
सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु
काठमाडौं । सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ । पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टीभिटी’को भूमिका हुने बताउँदै उनले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्सको प्रशंसा गरे । उनले भनृ, ‘चुनौती बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ । गण्डकी सरकार पोखरामा हिमालय एअरलाइन्स्को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान सुरु भइसकेका अवस्थामा पर्यटकलाई पोखरा आउँ आउँ लाग्ने वातावरण बनाउनुपर्ने बताए । हिमालय एअरलाइन्स्ले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको बताउँदै उहाँले आगामी दिनमा एअरलाइन्स्को उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा लाग्न शुभकामना व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानलाई नियमित गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताए । पोखराबाट पहिलो निर्धारित तालिका, उडान सेवा र १४औँ अन्तरराष्ट्रिय उडान प्रदान गरेकामा हिमालय एयरलाइन्स् प्रति धन्यवाद व्यक्त गर्दै उनले ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत पुग्ने बताए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको ७० वर्षको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने उनले विश्वास व्यक्त गरे । पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै उनले निर्धारित अन्तरराष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको उल्लेख गरे । हिमालय एयरलायन्सका अध्यक्ष झोउ एनयोङले ऐतिहासिक उडान हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको बताए । यसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्ने उनको भनाइ छ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण पहल भएको उनको धारणा छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले हिमालय एअरलाइन्स्लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई दिए । उनले पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोगको अनुरोध गरे । हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए । हिमालय एअरलाइन्स्ले सधैँ चीनमा नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको बताए ।
नारायणगढ-बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र, दाउन्ने खण्डमा ढलान गरिने
काठमाडौं । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताए । आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको सूचना अधिकारी खनालले बताए । दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा ४ किलोमिटर र घुमाउरो घुम्तीमा ४ किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनको भनाइ छ । जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने सूचना अधिकारी खनालले बताए । एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको उनको भनाइ छ । ‘पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ,’ सूचना अधिकारी खनालले भने । विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ ।
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही
काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले बताए । ‘अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन् । आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ,’ उनले भने । उनका अनुसार समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् । पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् । वसन्तयामका लागि हालसम्म ५ वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् । उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् । भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताइन् । ‘शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्,’ उनले भनिन् । विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म ४८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरिएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ-आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ । नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले उल्लेख गरे । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्याएको उनले बताए । ‘गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे । यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन्,’ उनले भने । पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ । पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताए । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो । फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताए । उनका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ । आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिए । मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट ४ हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् ।