प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश डा नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझो योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो । अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ चैत १७ गते दायर गरेको रिट निवेदनमा उनको नियुक्ति बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । रासस
बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे ८ लाखको क्षति
काठमाडौं । मकवानपुरको छुट्टा छुट्टै स्थानमा आज भएको आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेलीस्थित बहुउद्देश्यीय प्लास्टिक उद्योग (नेपाली सेनाले हेण्ड ग्रिनेड बनाउने ठाउँ) को जवान ब्यारेकमा आगलागी हुँदा करिब साढे ८ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए । विद्युत् सर्ट भई आगलागी हुँदा ब्यारेकमा रहेका नेपाली सेनाका लत्ताकपडा, फर्निचर, कागजात तथा दराज जलेर नष्ट भएको प्रहरी निरीक्षक ढकालले बताए । हेटौंडा उपमहानगर पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ढकालको भनाइ छ । हेटौंडा उपमहानगरपालिका–१२ स्थित आल्दमार सुवेदी टोल निवासी पुरुषोत्तम ढुङ्गानाको गाई गोठमा आज आगलागी हुँदा करिब १ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको छ ।
बजेट कटौतीपछि पनि २.५ अर्ब डलरको अभाव झेलिरहेको डब्लूएचओको भनाइ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आफ्नो बजेट नाटकीय रूपमा कटौती गरे पनि अमेरिका सहयोग दिने निर्णयबाट पछि हट्ने भएपछि यो वर्षदेखि र सन् २०२७ सम्म बजेट अभावको सामना गर्नुपर्ने देखिएको बुधबार सार्वजनिक एक मिडिया रिपोर्टमा बुधबार जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले आगामी जनवरीमा पूर्ण अमेरिकी सेना फिर्ता गर्ने तयारी गरिरहँदा उसले सन् २०२६÷०२७ का लागि आफ्नो दुई वर्षे बजेट ५.३ अर्ब डलरबाट घटाएर ४.२० अर्ब डलरमा झारेको छ । तर नाटकीय रुपमा रकम घट्दा पनि उक्त बजेटका लागि १ अर्ब ९० करोड अमेरिकी डलर कम रहेको विश्व स्वास्थ्य सङ्गठनको ‘हेल्थ पोलिसी वाच’ले बुधबार जनाएको छ । प्रकाशकले उक्त तथ्याङ्क मङ्गलबार टाउन हल बैठकको क्रममा कर्मचारीहरूलाई प्रदान गरिएको बताएको छ । निकायले यस वर्षको बजेटको लागि नपुगेको रकम लगभग ६० लाख डलरभन्दा माथि भएको जनाएको छ । आफ्नो ऐतिहासिक रूपमा सबैभन्दा ठूलो दाताको बहिर्गमनसँग जुधिरहेको डब्लूएचओले एएफपीको रिपोर्टमा टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । जनवरीमा ह्वाइट हाउस फर्केपछि विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिने घोषणा गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी स्वास्थ्य परियोजनाहरूमा ठूलो सहयोगसहित लगभग सबै अमेरिकी विदेशी सहायता रोक्का गर्ने निर्णय गरेका थिए । संयुक्त राज्य अमेरिकाले डब्ल्यूएचओलाई सन् २०२२÷०२३ को बजेट अवधिमा मुख्यतया निश्चित सदस्यता शुल्कको सट्टा विशिष्ट निर्धारित परियोजनाहरूको लागि स्वैच्छिक योगदानको माध्यमबाट १।३ अर्ब अमेरिकी डलर प्रदान गरेको थियो । वासिङ्टनले सन् २०२४ को बक्यौता अहिलेसम्म तिरेको छैन र सन् २०२५ का लागि आफ्नो सदस्यता दायित्वको सम्मान गर्ने अपेक्षा गरिएको छैन। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२४ देखि २०२५ सम्मका लागि मात्र अमेरिकाले २६ करोड अमेरिकी डलर सदस्यता शुल्क तिर्न बाँकी छ । शुक्रबार मात्र डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले यस वर्षको बजेटमा ६० करोड अमेरिकी डलरको अभाव भएको जानकारी कर्मचारीलाई दिनुभएको थियो भने एएफपीले प्राप्त गरेको सन्देशमा एजेन्सीसँग कटौती सुरु गर्नुबाहेक ‘कुनै विकल्प नभएको’ उनले चेतावनी दिए । टेड्रोसले आफ्नो इमेलमा भन्नुभएको छ, “संयुक्त राज्य अमेरिका र अन्य देशहरूले आधिकारिक विकास सहायतामा नाटकीय कटौती गर्दा विश्व स्वास्थ्य सङ्गठनलगायत देश, गैरसरकारी संस्था र संयुक्त राष्ट्रसङ्घका निकायहरूमा ठूलो व्यवधान उत्पन्न भएको छ । उनले ट्रम्पले डब्लुएचओबाट बाहिरिने एक वर्षको प्रक्रिया सुरु गर्नुअघि नै सङ्गठनले आर्थिक अभावको सामना गरिरहेको बताए । टेड्रोसले भने, ‘हाम्रो सर्वोत्तम प्रयासको बावजुद, हामी अहिले यस्तो बिन्दुमा छौँ जहाँ हामीसँग हाम्रो काम र कार्यबलको आकार घटाउनुबाहेक कुनै विकल्प छैन ।’ ‘यो कटौती मुख्यालयबाट सुरु हुनेछ, प्रमुख योगदान गर्ने मुलुकबाट सुरु हुनेछ, तर यसले सबै तह र क्षेत्रहरूलाई असर गर्नेछ,’ उनले कर्मचारीसँग भने । गत महिना टेड्रोसले वासिङ्टनलाई विश्वव्यापी स्वास्थ्य कोष कटौतीमा पुनः विचार गर्न आग्रह गर्दै अचानक रोकिएको सहायता रकमले लाखौं मानिसको ज्यान जोखिममा परेको चेतावनी दिए । उनले विश्वव्यापी एचआईभी कार्यक्रमहरूमा मात्र अवरोध आउँदा ‘एचआईभीका थप एक करोडभन्दा बढी सङ्क्रमित र ३० लाख एचआईभीसँग सम्बन्धित मृत्यु’ निम्त्याउन सक्ने बताए ।
एनसेल फाउन्डेसनले शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्याउने
काठमाडौं । हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ । यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान पु¥याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ । मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ । एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरूबापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५ हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ । एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।
अब ‘एक्जिम कोड’ लिन भन्सार विभाग जान नपर्ने
काठमाडौं । अब व्यवसायीहरूले निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन भन्सार विभागको केन्द्रीय कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । भन्सार विभागले एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि ‘एक्जिम कोड’ सम्बन्धी सबै सेवा केन्द्रीय कार्यालयबाट बन्द गरिने जानकारी दिएको छ । अबदेखि व्यवसायीहरूले यो सेवा देशभरका भन्सार कार्यालयहरूबाटै प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाले आयात–निर्यात कारोबार गर्ने व्यवसायीहरूलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने भन्सार विभागले जनाएको छ। २०७४/७५ आर्थिक वर्षदेखि लागू गरिएको ‘एक्जिम कोड’ प्रणाली अब भन्सार कार्यालयहरूबाटै सञ्चालन हुने भएकाले व्यवसायीहरूले समय र श्रम बचत गर्न सक्नेछन् । व्यवसायीहरूको प्रशासनिक झन्झट घटाउने यो निर्णयलाई निर्यात–आयात प्रक्रियालाई सरल बनाउन गरिएको महत्त्वपूर्ण सुधारको रूपमा हेरिएको छ ।
१८ दिन बितिसक्दा पनि अगाडि बढेन नागढुंगा सुरुङमार्गको निर्माण कार्य
काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको १८ दिन भइसकेको छ। स्थानीयको आन्दोलनका कारण नागढुंगा सुरुङमार्गको निर्माण कार्य अझै सञ्चालनमा आउन नसकेको नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएको छ । स्थानीयहरूले विभिन्न ८ वटा माग राख्दै सुरुङमार्गको निर्माण क्षेत्रमा धर्नासहित आन्दोलन गर्दै आएका थिए ।आयोजना प्रमुख सञ्जय पन्थीका अनुसार स्थानीयहरूले सुरुङमार्गको निर्माण कार्य सुरु भएयता १०-१२ पटक आन्दोलन गर्दै आएका छन् । निर्माण कार्य विगत १८ दिनदेखि बन्द अवस्थामा रहेको उनले जानकारी दिए । आन्दोलनका कारण टनेलमा जारी रहेको भुइँ ढलान, एप्रोच सडक, फ्लाई ओभर, पहिरो नियन्त्रणको लागि वालिङ्ग (ल्याण्ड साइड प्रोटेक्सन) उठाउने कामलगायत सडकको निर्माण कार्य पूर्णरूपमा ठप्प रहेको उनको भनाइ छ । उनले भने, ‘हामीले हाम्रोतर्फबाट हुने सबै प्रयास गर्याैं । तर पार लागेन । हामीले निर्माण कार्य सुचारु गराउन सकेनौं । आज निर्माण कार्य बन्द भएको १८ दिन भइसक्यो । अब सरकारले नै मिलाउँला ।’ स्थानीयहरूले ८ वटै मागहरू पूरा गर्नुपर्ने भन्दै अडान गरिरहेका प्रमुख पन्थीले बताए।स्थानीयहरुको आन्दोलनका कारण निर्माण कार्य बन्दा हुँदा जापनिज कम्पनीको हाजमा एण्डो कर्पोरेशनले दैनिक ५० लाख रुपैयाँको दरले क्षति भएको भन्दै आयोजनासँग १८ दिनको ९ करोड रुपैयाँ हर्जना माग गरेको आयोजनाले जनाएको छ । प्रमुख पन्थीले स्थानीयहरूले दीर्घकालीन रूपमा निः शुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, भत्काइएका घरको क्षतिपूर्ति दिनुपर्ने, आयोजनामा स्थानीयहरूलाई रोजगारी दिनुपर्नेलगायतका मागहरू अघि सार्दै आएको बताए । उनले भने, ‘हामीले पटक-पटक समय दिनूहोस्, समाधान गरौंला भन्यो तर उनीहरूले मानेन । यसै वर्षभित्र काम सक्ने भनेका थियौं । यी नै बाधा अवरोध कारण काममा ढिलो भइरहेको छ ।’ उक्त आयोजनामा १५ जापानीसहित ३ सय नेपाली काम गरिरहेको आयोजनाले बताएको छ । खानेपानीका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार खानेपानी मन्त्रालयबाट उक्त ठाउँमा आयोजना सिफारिस भइसकेको छ । स्थानीयहरूले खानेपानी मात्रै नभएर अरू विभिन्न मागहरूको पनि जिम्मा लिनुपर्ने अडान लिँदै आएका छन् । उनीहरूले आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै आएका छन् ।
टोखामा बरामद भएको २५ करोड बराबरको डलर र युरोको मालिक पौडेल
काठमाडौं । टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक नारायण पौडेल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्दै आएका पौडेलको उक्त रकम रहेको खुलेको हो । हालसम्मको अनुसन्धानबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको हो । उनलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी भइसकेको विभाग स्रोतले जनाएको छ । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड नेपाली बराबरको डलर र यूरो लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले उक्त ट्रक बरामद गरेको थियो । ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले चलाएका थिए । सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लुकाइएको थियो । चालक लामा र पौडेलबीच मोबाइलमा अन्तिम पटक सम्पर्क भएको विभागको भनाइ छ । विभागले उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।
तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । घटनामा परेर कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।