विकासन्युज

तरकारी र फलफूलको मूल्यसूची : कति महँगो, कति सस्तो ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । थोक बजारमा फलफूल र तरकारीको मूल्य घटबढ भइरहने हुँदा दैनिक मूल्य सूची सार्वजनिक गर्ने गरिएको छ । आजको बजार मूल्य अनुसार, गोलभेंडा (ठूलो नेपाली) प्रतिकिलो रु ४०, भारतीय गोलभेंडा प्रतिकिलो रु ५०, सानो लोकल गोलभेंडा रु २०, तराई गोलभेंडा रु २५ मा उपलब्ध छ । आलु रातो (नेपाली) प्रतिकिलो रु ३५, भारतीय आलु रातो रु ४० तोकिएको छ । प्याज (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ३५, बन्दा (लोकल) रु १५, बन्दा (तराई) रु १२, काउली (स्थानीय) रु ३५, मूला (रातो) रु ५०, सेतो लोकल मूला रु २०, भन्टा (डल्लो) प्रतिकिलो रु ५० तोकिएको छ । त्यस्तै, बोडीको मूल्य प्रतिकिलो रु ७०, मटरकोसा रु ६०, घिउ सिमी (लोकल) रु ८०, टाटे सिमी रु ७०, तिते करेला रु ११०, लौका रु ५०, परबर रु ९०, घिरौँला रु ७०, झिगुनी रु ८० मा निर्धारण गरिएको छ । सागसब्जीको सूचीमा, पालुङ्गो साग प्रतिकिलो रु ८०, रायो साग रु ६०, चमसुर साग रु १००, तोरीको साग रु ६०, प्याज हरियो रु ४०, च्याउ (कन्य) रु २००, च्याउ (डल्ले) रु २८०, कुरिलो प्रतिकिलो रु ६०० कायम गरिएको छ । फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो रु २५०, फुजी स्याउ रु ३५०, केरा (दर्जन० रु १६०, कागती रु ३००, अनार रु ३५०, हरियो अंगुर रु २००, भारतीय सुन्तला रु १५०, तरबुजा रु ७०, जुनार रु २००, रुख कटहर रु १२० तोकिएको छ । अदुवा प्रतिकिलो रु १२०, हरियो धनिया रु २००, लसुन (चाइनिज) रु ३२०, लसुन (नेपाली) रु ३००, खुर्सानी (हरियो) रु ९०, अकबरे खुर्सानी रु २५०, सिताके च्याउ रु ८०० मा निर्धारण गरिएको छ । आजको थोक मूल्य सूचि बजारको आपूर्ति र माग अनुसार घटबढ हुनसक्छ । उपभोक्ताले मूल्य जानकारी राखेर उचित निर्णय गर्न सक्ने उद्देश्यले बजार समितिले दैनिक मूल्य सूची प्रकाशन गर्ने गर्दछ ।

एशियन लाइफ इन्स्योरेन्स अठारौं वर्षमा प्रवेश, चुक्ता पूँजी ३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  स्थापनाको सत्रौं वार्षिकोत्सव विविध सामाजिक तथा संस्थागत गतिविधिहरूका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र यस वर्ष अठारौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बीमा मात्र नभई सामाजिक उत्तरदायित्वमा समेत अग्रणी भूमिका खेल्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ । 'रक्तदान जीवनदान' भन्ने नारालाई आत्मसात गर्दै, कम्पनीले चैत्र २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । सो कार्यक्रममा कम्पनीका प्रधान कार्यालय तथा काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारीहरूसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७४ जनाले रक्तदान गरे । त्यस्तै, वार्षिकोत्सवकै अवसरमा कम्पनीले चैत्र १८ गते काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि आयोजना गर्‍यो । यस प्रतियोगिताले कर्मचारीबीचको सहकार्य, आत्मीयता र ऊर्जा अभिवृद्धिमा टेवा पुगेको विश्वास गरिएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, देशभरका ८६ शाखा तथा उपशाखा कार्यालयमार्फत वृद्धाश्रम, अनाथालय, सामुदायिक विद्यालय तथा सामाजिक संघसंस्थाहरुलाई करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर सहयोग गरिएको छ । यस कार्यक्रमले संस्थागत सामाजिक प्रतिबद्धतालाई अझ प्रस्ट्याएको कम्पनीले जनाएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले कम्पनीको व्यवसायिक यात्रामा १७ वर्षदेखि साथ दिने सम्पूर्ण सेयरधनी, बीमित, एजेन्ट, कर्मचारी तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे । उनले कम्पनीले जीवन बीमाको उत्कृष्ट सेवा प्रवाह गर्दै बीमित तथा सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको बताए । आर्थिक पक्षमा हेर्दा कम्पनीको हालसम्मको प्रगति उल्लेखनीय देखिन्छ । चालू आव २०८१र८२ को फागुन मसान्तसम्ममा जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कूल बीमाशुल्क संकलन ५७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कूल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा कम्पनीले कूल बीमाशुल्क ५ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ भने सक्रिय बीमालेखको संख्या १६ लाख ४२ हजार पुगेको छ। कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले आगामी दिनहरूमा अझ आधुनिक, दिगो र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्दै बीमा क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने अठोट व्यक्त गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले समाज, बीमित र देशको समृद्ध भविष्य निर्माणतर्फ उन्मुख योजनाहरूमार्फत आफ्नो सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ । कर्पोरेट खबरद्वारा आयोजित इश्वरलाल १७ औं कर्पोरेट बिजनेश अवार्ड २०२५ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो । यसअघि पनि शिवम् सिमेन्ट्सले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्दै आएको छ, जसमध्ये केही उल्लेखनीय अवार्डहरू यस प्रकार छन् : -एनएस गुणस्तर पुरस्कार  -ऊर्जा र वातावरण दक्षता पुरस्कार  -वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी  -उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार -श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार  -संगठन बिक्री उत्कृष्टता पुरस्कार -कर्पोरेट उत्कृष्टता पुरस्कार        

बिम्स्टेक शिखर सम्मेलन सुरु

बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन् ।

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको छ । बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी मागेको हो ।  बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउने हो : मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग हस्ताक्षर कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।  ‘सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ,’ उनले भने ।  मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले स्रोतको प्रयोग गरेर जलविद्युत केन्द्र निर्माण गर्दैगर्दा स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुने बताए ।  ‘स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुन्छ, विपन्न वर्गले पनि स्रोतको उपयोग गर्न पाउनुपर्छ भनेर सरकारले गरिब तथा विपन्न वर्गका लागि जलविद्युत आयोजनालाई धरौटी राखेर २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सेयरको व्यवस्था गर्न लागेको छ, यसमा निजी क्षेत्र पनि आबद्ध हुनुपर्छ,’ मन्त्री खड्काले भने । एउटा वर्ग र समुदाय धनी भएर मुलुक समृद्ध बन्न नसक्ने उनको भनाइ छ ।  भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गरे । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताए ।  नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । सचिव भट्टराईले तमोर आयोजनाको निर्माणसँगै ताप्लेजुङ जिल्ला, सिङ्गो कोशी प्रदेश र मुलुकलाई नै फाइदा हुने बताए । तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  आगामी ४ वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त आयोजना ५१ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । जसमा १२ अर्ब रुपैयाँ लगानीकर्ता, ८ अर्ब रुपैयाँ पब्लिक सेयर, २९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २ अर्ब रुपैयाँ बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ । चाइना रेल्वे इन्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताए । उनले नेपालको आर्थिक विकासमा आफ्नो कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गरे । उक्त कम्पनीले  हालसम्म एक सयभन्दा बढी जलविद्युत आयोजना निर्माण गरिसकेको छ । 

यात्रु नभएपछि आएन जहाज, उडान अवरुद्ध

काठमाडौं । दाङको तुलसीपुर स्थित टरि गाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् ।  काठमाडौंबाट पनि ३ जनाले मात्र टिकट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए ।  ३ महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम् ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । नियमित भाडा ८ हजार ७७५ रुपैयाँ भए पनि हाललाई ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । टरि गाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ । विमानस्थलको धावन मार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ ।  हाल विमानस्थलको धावन मार्ग ७५० मिटर छ । उक्त धावन मार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । 

प्रधानमन्त्रीले ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, ४ बजे नरेन्द्र मोदी भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक मारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कार्यसूची प्रस्तुत गरिने छन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ ।  सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता हुनेछ ।  यी सबै कार्यक्रमहरू बैङ्कक स्थित होटल साङ्‌ग्रिलामा हुने छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।  बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्ड स्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एक नारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलगायत छन् ।