हावाको गतिले घटायो वायु प्रदूषण
काठमाडौं । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ । ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए । 'काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ', उनले भने, 'प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।'
नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सात जना उपप्रबन्धक बढुवाका लागि सिफारिस भएका छन् । १० औं तहअन्तर्गत प्राविधिक टेलिकम सेवा समुहको निर्देशक प्रबन्ध पदका लागि ५ जना सिफारिस भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ७ जना मध्ये ५ जनाले बराबर ९६.६७८ अंक पाएर सिफारिस भएका छन् । उपप्रबन्धक पदमा कार्यरत रामनारायण महतो, निरोल प्रसाद कोजु, गोविन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवाका लागि सिफारिस गरेको हो । यसैगरी प्रबन्ध लेखा पदका लागि लागि उपप्रबन्धक लेखा पदमा कार्यरत हरिशरण महर्जन र कृष्ण कुमार लामेछाने पनि बराबर ८७.५२ अंक पाएर बढुवा पदका लागि सिफारिस भएका हुन् ।
ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने
काठमाडौं । निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको बिहीबार जनाएको छ । यस निर्णयले संयुक्त उद्यम प्लान्टमा आफ्नो सञ्चालनलाई निकै घटाउने विज्ञहरू बताउँछन्। निसानले जनवरीमा घोषणा गरेअनुसार अप्रिल महिनादेखि टेनेसीको स्मिर्ना प्लान्टमा रोक्ने भनेको एक सिफ्टको उत्पादनलाई निरन्तरता दिँदै दुई सिफ्ट सञ्चालन गर्ने भएको छ । जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारमा थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ । अन्य बजारहरूमा कति उत्पादन निर्यात भइरहेको छ भन्ने कुरा अहिले स्पष्ट छैन । मेक्सिकोको राष्ट्रिय तथ्यांक एजेन्सीका अनुसार यी दुई इन्फिनिटी मोडेलहरू अहिलेसम्म मेक्सिकोबाट केवल अमेरिकामा निर्यात गरिएको थियो । शुक्रबार जापानस्थित निसानका प्रवक्ताले यी मोडेलहरू मध्य पूर्व र क्यानडाजस्ता अन्य बजारहरूमा पनि पठाउने जानकारी दिए । तर थप विवरण तत्काल उपलब्ध गराउन सकेनन् । ट्रम्पको २५ प्रतिशत विश्वव्यापी कार र ट्रक ट्यारिफ बिहीबारदेखि लागू भएको छ । निसान अमेरिकामा पुराना मोडेलहरू र हाइब्रिड गाडीहरूको अभावका कारण संघर्षरत छ । यसले जापानी अटोमेकरहरूमध्ये सबैभन्दा धेरै संख्यामा गाडीहरू मेक्सिकोबाट अमेरिकामा निर्यात गर्ने भएकाले नयाँ ट्यारिफबाट विशेष रूपमा प्रभावित हुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा तीन पटकसम्म नाफा अनुमान घटाएको थियो । निसानका नयाँ सीईओ ४६ वर्षीय इभान एस्पिनोसाले नयाँ गाडीहरू विकास गर्न आवश्यक समयलाई निकै छोटो बनाउने प्रतिबद्धता जनाएका छन् । उनी पहिला कम्पनीको योजनाका प्रमुख थिए र मेक्सिकोका नागरिक हुन् ।
मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी, बैंकिङ साक्षरताबाट रोजगारी दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना, लगानी, र जोखिम व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिमको अवसर पनि प्रदान गरिनेछ । सम्झौताबाट विद्यार्थीहरूमा वित्तीय चेतना बढाउने, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य लिइएको छ । बैंकका अनुसार यो दीर्घकालीन सहकार्यले व्यावसायिक शिक्षालाई व्यवहारमा उतार्ने सशक्त माध्यम बन्नेछ । यसबाहेक, मुक्तिनाथ विकास बैंकले डिजिटल सेवामा पनि ध्यान दिएको जनाएको छ । बैंकले हालै 'मुक्तिनाथ फाइदा एप' सार्वजनिक गर्दै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ र रेमिट्यान्स सेवा जस्ता डिजिटल सुविधाहरू घरमै बसि उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
सुन मूल्य तोलामा ३९ सय रुपैयाँले सस्तियो, चाँदी पनि घट्यो
काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार एकैदिन ३ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ रहेको चाँदी आज १२५ रुपैयाँले घट्दै १ हजार ८ सय ७० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, ब्याजदर, महँगाइ दरलगायतका कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गरेको व्यवसायीहरू बताउँछन् ।
राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका शाखा कार्यालयमा ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको हो । बैंकका अनुसार उक्त एटीएम मेसिन आपूर्ति तथा जडानका लागि २ वटा कम्पनी छनोट भएका छन् । बैंकका अनुसार ललितपुरको ज्वागलस्थित एलाइट सोलुसन प्रालि र काठमाडौंको गैरीधारास्थित एनसीएटी सिस्टम एण्ड सोलुसन प्रालिले एटीएम मेसिन आपूर्ति तथा जडानको जिम्मेवारी पाएका हुन् । एलाइट सोलुसनले ४० वटा (फ्रन्ट लोडिङ) मेसिन र एनसीएटी सिस्टम एण्ड सोलुसनले १० वटा एटीएम मेसिन (रियर लोडिङ) आपूर्तिको कार्य गर्नेछ । इलाइटले ७ करोड ३१ लाख २४ हजार ९६७ रुपैयाँमा ४० वटा मेसिन आपूर्ति तथा जडान गर्नेछ भने एनसीएटी सिस्टमले १ करोड ९२ लाख ४१ हजार ४८२ रुपैयाँमा १० वटा एटीएम जडान गर्नेछ । बैंकका अनुसार दुइटा कम्पनीले ३ वर्षसम्म सीएएमसीको कार्य समेत गर्नेछन् । बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार बैंकले ५० वटा मेसिन जडान गर्न लागेको जानकारी दिए । बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति अनुरूप ५० वटा मेसिनका लागि २ वटा कम्पनी छनोट भएको उनले बताए । ‘बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति छ । बैंकको शाखा विस्तार अन्तर्गत ठाउँठाउँमा एटीएम मेसिन जडान गर्न लागिएको हो । यसबाहेक अन्य ठाउँमा पनि एटीएम मेसिन चाहिन्छन्,’ उनले भने, ‘एटीएम मेसिन दुर्गम देखि सुगम सम्म पुर्याउने रणनीति छ । त्यसबाहेक व्यवसाय हेरेर कुनै शाखामा २/४ वटा एटीएम मेसिन पनि दिनुपर्ने हुन सक्छ । जस्तो विशाल बजार शाखा मातहत ४/५ वटा छन् । केन्द्रीय कार्यालय अगाडि पनि ४ वटा छन् ।’ पछिल्लो समय विभिन्न सरकारी निकाय तथा कार्यालयबाट एटीएम मेसिनको माग बढिरहेको उनले बताए । सोही अनुसार बैंकले एटीएम मेसिनको संख्या पनि थपिरहेको उनको भनाइ छ । ‘आवश्यकता अनुसार शाखा कार्यालयमा मेसिन सञ्चालन हुन्छ । यो बजेटमा नै छुट्याएको हो । माग अनुसार उपत्यका भित्र र बाहिर दुर्गमदेखि सुगम, पहाडदेखि तराईसम्म मेसिन जडान गरिनेछ,’ उनले भने ।
कमलपोखरीलाई उज्यालो, स्वच्छ र सौन्दर्यपूर्ण बनाउँछौं : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरीलाई सौन्दर्य र सुरक्षासहित आधुनिक तर पारम्परिक शैलीमा पुनर्जीवन दिने काम तीव्र गतिमा अघि बढेको छ । उक्त योजनाको दोस्रो चरणको कामको अनुगमन गर्दै उपप्रमुख सुनिता डंगोलले रातको उज्यालो व्यवस्था, वर्षाको पानी पुनःभरण प्रणाली र आकर्षक सौन्दर्यीकरणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी हुन् । उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरूलाई कार्य योजनाअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन् । पोखरी वरपर राखिएका चैत्य र मूर्तिहरूमा आगन्तुकले क्षति पुर्याएको देखेपछि उपप्रमुख डंगोलले सिसिटिभी क्यामरा जडान गरी निगरानी प्रणाली सुदृढ पार्न निर्देशन दिएकी हुन् । अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पोखरीको विकासमा जनअपेक्षाअनुरूप जनमैत्री संरचना निर्माणमा ध्यान दिइएको जानकारी दिए । कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसलाई परम्परागत, सांस्कृतिक तथा पर्यटकीय पोखरीका रूपमा विकास गर्ने उद्देश्यअनुसार पुनःनिर्माणको काम भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यसको संरचना निर्माण गरिएको थियो । हाल दोस्रो चरणअन्तर्गत सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो दोस्रो चरणको योजना ३ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो । योजना कार्यादेश २०८१ सालको भदौ १९ गते दिइएको हो र कार्य सम्पन्नको समय सीमा २०८२ साउन १५ गतेसम्म तोकिएको छ । यो योजना सार्वजनिक निर्माण विभागमार्फत कार्यान्वयनमा आएको हो । पोखरीको वरिपरि रहेको क्षेत्र र सडक किनारका लागि ट्याक्टिकल अर्बनिजम अन्तर्गत पनि काम भइरहेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले साविकको प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रमा पार्क निर्माण गरिरहेको छ । यसमा बस बिसौनी, पौधारोपण, फूलबारी र विश्रामस्थल निर्माण भइरहेको छ । फुटपाथ र सडक किनारमा फल्चा शैलीमा परम्परागत बस्ने ठाउँ, पोखरी र सडकको दृश्यावलोकन गर्न मिल्ने स्थानहरू निर्माण हुँदैछन् । आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र ट्याक्टिकल अर्बनिजमअन्तर्गत ३२ स्थानमा करिब २ करोड रुपैयाँको लागतमा काम सम्पन्न गरिने लक्ष्य रहेको छ । यसअन्तर्गत कमलपोखरीका चारै कुनामा कमल रोप्ने र माछा राख्ने योजना समेत रहेको छ, जसले पोखरीको जैविक तथा सौन्दर्य पक्षमा थप योगदान दिनेछ । पोखरी वरिपरि साँझ र विहान हिँड्न सकिने वातावरण बनाउने प्रयास भइरहेको छ। यसका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले पोखरीको सौन्दर्य र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको जानकारी दिए । कमलपोखरीको वरिपरि पैदल मार्ग, चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, तथा उद्यान रहेका छन् । पोखरीका चार ओटै कुनामा संस्कृति झल्किने आकर्षक मण्डपहरू छन् । मुलढोकासँगै पूर्वतर्फ एक ठूलो मण्डप रहेको छ, र सम्पूर्ण मिलाएर ५ वटा मण्डप निर्माण गरिएको छ । पोखरी छिर्ने गेट परम्परागत नेपाली शैलीको बनाइएको छ । पुनःनिर्माणका क्रममा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ, जसले सम्पदाको मौलिकता झल्काउँछ । कमलपोखरीको पुनर्जीवनले काठमाडौंको ऐतिहासिक सम्पदा संरक्षण, पर्यटकीय प्रवर्द्धन र जनमैत्री सार्वजनिक स्थलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
मेहनत र इमान्दारिताबाटै देश निर्माण हुन्छ : डा प्रकाशशरण महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देश निर्माणका लागि सबै तह र क्षेत्रका व्यक्तिहरूबाट मेहनत र इमान्दारिता अपरिहार्य रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद महतले राजनीतिक वृत्तदेखि निजी क्षेत्रसम्म इमान्दारिता र निष्ठापूर्वक काम नगरी देश अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, 'जहाँ हामी काम गर्छौं, त्यो हाम्रो जिम्मेवारी हो भन्ने सोच्न जरुरी छ । मेहनत र खबरदारी दुबै गर्नुपर्छ ।' सांसद महतले सत्तामा बसे पनि वा नबसे पनि नेपाली काँग्रेसले सधैं सही कुरा समर्थन र गलतको विरोध गर्ने नीति अख्तियार गर्दै आएको उल्लेख गरे । उनले नयाँ राजनीतिक दलहरू सजिलो अवस्थामा मात्र अगाडि आउने तर असहज अवस्थामा पन्छिने प्रवृत्ति देखिएको बताउँदै त्यसले जनताको अधिकारको संरक्षण गर्न नसक्ने धारणा राखे । 'कमी कमजोरी जो जहाँ भए पनि हुन्छ,' उनले भने, 'तर लोकतन्त्रको सौन्दर्यता भनेकै जनताको खबरदारी हो। जनताको आवाज नसुनेको अवस्थामा पराजित हुनुपर्छ ।' कार्यक्रममा बोल्दै सांसद महतले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अधिकार र जिम्मेवारी सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । जनताको अपेक्षा अनुसार सेवा दिनसक्नुपर्ने बताउँदै उनले कर्मचारी संघले संस्थागत सुधारमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका महतले आफ्नो पार्टी सधैं जिम्मेवार, अनुभवसिद्ध र प्रतिवद्ध रहेको दाबी गर्दै कठिन परिस्थितिमा पनि काँग्रेस दृढ भएर उभिने पार्टी भएको उल्लेख गरे ।