विकासन्युज

कर्मचारी सञ्चय कोषले बाँड्यो ५ अर्ब ३४ करोड नाफा

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।   कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०र८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।   कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ । बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।   कोषले सञ्चयकर्ता तथा योगदानकर्तालाई चालु आर्थिक वर्षमा सञ्चित रकममा पाँच दशमलव ५० प्रतिशतका दरले व्याज प्रदान गरिरहेको छभने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट छ दशमलव ६० प्रतिशत व्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।   कोषले सञ्चयकर्ता तथा योगदानकर्ताको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष, घर, शैक्षिक, घर मर्मत, सरल र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ ।   सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पतीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तै, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुविधा प्रदान गर्दै आइएको छ । यसअन्तर्गत गत आवमा सुत्केरी तथा शिशु स्याहार सुविधा १४ करोड ६५ लाख रुपैयाँ, काजकिरिया अनुदान दुई करोड ८२ लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्ति दुई करोड १४ लाख रुपैयाँ, स्वास्थ्य उपचार सोधभर्ना ३४ करोड ६५ लाख रुपैयाँर विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका ४७ सञ्चयकर्तालाई करिब ७० लाख प्रदान गरिएको कोषले जनाएको छ ।    हाल कोषमा पाँच लाख ७५ हजार सञ्चयकर्ता र ८० हजार ४०० निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।  

तीन वर्षमा नेपालगञ्जमा १५० वटा होटल बन्द, व्यवसायीलाई आर्थिक संकट

  बाँके । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा सङ्कटमा पर्दै गएको छ । मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौँ नागरिकले रोजगारी गुमाएको नेपालगञ्जका होटल व्यवसायी भीम कँडेलले बताए । उनका अनुसार कोभिड–१९ महामारी अन्त्यपछि होटल व्यवसाय तङ्ग्रिने आशा गरिए पनि नेपालगञ्जमा मध्यमस्तरका डेढ सय होटल बन्द भएका छन्भने तारेस्तरका होटल पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । ‘नेपालगञ्ज पश्चिम नेपालको तीन प्रदेशको केन्द्र हो, कुनै बेला होटल क्षेत्रमा उत्साहित भएर लगानी गरेका साथीभाइहरु अहिले समस्यामा पर्नुभएको छ’, होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश समितिका प्रथम उपाध्यक्ष रहेका कँडेलले भने, “पछिल्लो तीन वर्षमा मात्रै डेढ सय होटल बन्द भए, ती सबै व्यवसायीहरु कोही विदेश गए कोही गाउँ फर्किएका छन् ।’ होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले कोभिड–१९ महामारीपछिको आर्थिक शिथिलताले नेपालगञ्जमा होटल व्यवसायी सङ्कटमा पर्दै गएको बताए । ‘महिनामा मुस्किलले एक–दुई दिन मात्रै भरिभराउ हुन्छ, अरू दिन खाली नै हुने अवस्था छ’, अध्यक्ष खड्काले भने, ‘यसले घरभाडा, ऋण, ब्याज र कर्मचारीको खर्च थेग्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपर्ने बाध्यता आएको छ ।’ नेपालगञ्जमा न्यूनतम रु दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो सङ्ख्यामा मध्यमस्तरका होटल सञ्चालनमा छन् । मध्यमस्तरका होटल बन्द हुँदा सयौँ नागरिकको रोजगारी गुमेको अध्यक्ष खड्काको भनाइ छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले सङ्घीयताको कार्यान्वयनसँगै नेपालगञ्जमा रहेका प्रदेशस्तरका सरकारी तथा गैरसरकारी कार्यालय बुटवल र दाङतर्फ स्तानान्तरण भएपछि यहाँ व्यापारिक चहलपहलमा कमी आएको बताए । आर्थिक सङ्कटमा पर्दै गएको होटल व्यवसायलाई लक्षित गरेर प्रदेश र स्थानीय सरकारले राहतको ‘प्याकेज’ ल्याउनुपर्ने उनको भनाइ छ । रासस

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन, उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउने पहल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले द्विपक्षीय वाणिज्य सम्बन्धलाई थप सुदृढ बनाउन संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी गरेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको द्विपक्षीय वार्तामा यो निर्णय लिइएको हो । यस परिषद्ले दुवै देशमा लगानी प्रवर्द्धन र आदानप्रदानको सहजिकरण गर्ने लक्ष्य राखेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको लगानी वातावरण सुधारिएको र विदेशी लगानीका लागि सरकारले सहज वातावरण उपलब्ध गराएको बताएका छन् । उनले थाइल्याण्डका व्यवसायीलाई नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ र निर्माण सामग्री उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । त्यसैगरी, थाइ चेम्बर अफ कमर्ससँग नेपालबाट आउने उद्योगीलाई अनअराइभल भिसा उपलब्ध गराउन पहल गर्ने विषयमा पनि कुरा गरिएको छ । अध्यक्ष ढकालले थाइ व्यवसायीहरूको चिन्ता व्यक्त गर्दै नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानीमा केही असर पर्न सक्छ भन्ने धारणा राखे पनि सरकारको नीतिगत सुधारका कारण लगानी प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । यो संयुक्त वाणिज्य परिषद् दुवै देशका लागि आर्थिक र व्यापारिक सम्बन्धलाई थप प्रगति र सहयोग प्रदान गर्ने ठूलो कदम हुनेछ ।   

अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा विस्तार गरिन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारको योजनाअनुसार नागरिक आरोग्य सेवालाई अब ७५३ वटै पालिकामा विस्तार गरिने जानकारी दिएका छन् । उनले यो योजना अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा नागरिक आरोग्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले आयुर्वेदलाई नेपालका मौलिक जीवनपद्धति र संस्कृति मान्दै यसको व्यापक विकासमा सरकार लागिपरेको बताएका छन् । उनले नेपाललाई आयुर्वेद हब बनाउने उद्देश्यका साथ विश्वभर यो उपचार प्रणालीको प्रचार गर्ने कुरा पनि जोड दिएका छन् । मन्त्री पौडेलले आयुर्वेद उपचार प्रणालीलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन् । 'आयुर्वेद नेपालको मौलिक प्रणाली हो, र यो हाम्रो जीवन पद्धति र सभ्यता पनि हो,' उनले भने, 'नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्नेछ र यससँगै आयुर्वेद उपचार प्रणालीको बारेमा सबैलाई जानकारी दिने प्रयास गरिनेछ ।' मन्त्री पौडेलले रोग बढ्न नदिनका लागि सरकारले निरोगी नेपाली अभियान चलाइरहेको र स्क्रिनिङ कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको बताए ।  

सिद्धार्थ प्रिमियर ‘नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले '१७औं कर्पोरेट बिजनेस अवार्ड २०२५' अन्तर्गत 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५' सम्मान प्राप्त गरेको छ । कर्पोरेट खबरद्वारा आयोजित एक समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरे । यो अवार्ड विभिन्न उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी विधामा प्रदान गरिएको हो । 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५;' को लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको यो सम्मान कम्पनीको दीर्घकालीन मेहनत र उत्कृष्ट सेवाको प्रमाण हो, जसले ग्राहक र उद्योगको विश्वसनीयता निर्माण गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् । उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।’ प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए । उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे । जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सृजना गरेको उल्लेख गर्दै उनले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए । ‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्‍याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ’, प्रधानमन्त्री ओलीले भने । पहाडहरूको दुर्दशा र पहाड-महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले जानकारी दिए । उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया)बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका थिए ।     

हावाको गतिले घटायो वायु प्रदूषण

काठमाडौं । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ ।  ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको  थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए । 'काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ', उनले भने, 'प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।'  

नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सात जना उपप्रबन्धक बढुवाका लागि सिफारिस भएका छन् ।  १० औं तहअन्तर्गत प्राविधिक टेलिकम सेवा समुहको निर्देशक प्रबन्ध पदका लागि ५ जना सिफारिस भएको नेपाल टेलिकमले जनाएको छ।  टेलिकमका अनुसार ७ जना मध्ये ५ जनाले बराबर ९६.६७८ अंक पाएर सिफारिस भएका छन् ।  उपप्रबन्धक पदमा कार्यरत रामनारायण महतो, निरोल प्रसाद कोजु, गोविन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवाका लागि सिफारिस गरेको हो ।  यसैगरी प्रबन्ध लेखा पदका लागि लागि उपप्रबन्धक लेखा पदमा कार्यरत हरिशरण महर्जन र कृष्ण कुमार लामेछाने पनि बराबर ८७.५२ अंक पाएर बढुवा पदका लागि सिफारिस भएका हुन् ।