विकासन्युज

बीवाईडीको नयाँ अभियान : गंगा नदीमा डल्फिन बचाउन सहयोग गर्ने

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकद्वारा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले नेपालमा संकटग्रस्त डल्फिन संरक्षणका लागि ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । विश्व जलचर जनावर दिवसको अवसरमा पाटन संग्रहालयमा आयोजित विशेष समारोहमा उक्त परियोजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार नेपालका नदीनालामा पाइने गंगा नदी डल्फिन संकटग्रस्त प्रजातिमा पर्छन् । सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन मात्र बाँकी रहेको तथ्यांक छ । बीवाईडी डल्फिन ईभी को लोकप्रियतासँगै डल्फिन संरक्षणलाई जोड्दै यो परियोजना नेपालको जैविक विविधता जगेर्ना गर्न विशेष पहल हुने आयोजकहरूले बताएका छन् । उद्घाटन समारोहमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसनविषयमा विशेष प्यानल डिस्कसन सम्पन्न भयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक छत्रमान शर्मा, जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक सृष्टि सिंह भण्डारी तथा डब्लुडब्लुएफका फ्रेसवाटर कार्यक्रम संयोजक आशीष कपाली प्यानलिस्टका रूपमा उपस्थित थिए । वन्यजन्तु संरक्षणका लागि विशेष योगदान पुर्‍याएका ९१ वर्षीय भोजराज श्रेष्ठ (गुलेली बाजे) लाई सम्मान गरिएको थियो । उनले बालबालिकाबाट ८,००० भन्दा बढी गुलेली संकलन गरी चरा तथा अन्य जीवजन्तुहरूको सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए । बालबालिकालाई डल्फिन संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले ‘डल्फिनको सपना’ नामक पुस्तक लोकार्पण गरियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित उक्त पुस्तकलाई बीवाईडीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरेका हुन् । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ डल्फिन मात्र होइन, तिनको बासस्थान, जंगल, नदी तथा समुदायको संरक्षणका लागि विस्तारित परियोजना हो । उनले भने, 'बीवाईडी केवल ईभी गाडीको प्रवर्द्धनमा सीमित छैन, हामी वातावरण संरक्षण र दिगो विकासको पक्षमा पनि दृढ प्रतिबद्ध छौं ।' बीवाईडीको नवप्रवर्तन र संरक्षण प्रयासलाई एकसाथ अगाडि बढाउँदै सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालमा जैविक विविधताको रक्षा गर्ने र भविष्यमा थप संरक्षण पहलकदमी ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  

२० औं फेवा नववर्ष महोत्सव चैत ३० गते देखि, पर्यटन र नेपाली खानाको प्रवर्द्धन गरिने

काठमाडौं । नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटनलाई टेवा दिने उद्देश्यले पर्यटन राजधानी पोखरामा २०औं फेवा नववर्ष महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  महोत्सव आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारको करिब ३ किमि क्षेत्र, लेकसाइड सडकमा आयोजना हुने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको शुभारम्भ गरिनेछ । महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ ।  पोखरा आउने पाहुनाहरूका लागि होटल संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन् भने अन्य व्यवसायीहरूले पनि विभिन्न छुट तथा सहुलियत दिने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले जाऊँ है पोखरा अभियान सञ्चालन गरी पूर्वी नेपालका प्रमुख सहरहरूमा फेवा महोत्सवमा सहभागी हुन आमन्त्रण गरिसकेको छ । साथै, घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेजहरू पनि घोषणा गरिएका छन् । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ूपोखरा भ्रमण वर्ष घोषणा गरिसकेकाले यो महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । महोत्सवलाई सफल बनाउन २१ भन्दा बढी समिति गठन गरिएका छन् । महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी, लोकदोहोरी कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् । महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी प्रालि रहेको छ भने सहप्रायोजक बरुण बेभरेज लि (पेप्सी) रहेको छ। अन्य प्रायोजकहरूमा बन्दीपुर केवलकार लि, फोन पे, अन्नपूर्ण केवलकार लि, टोकला चिया लगायत छन् । इन्सोरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी रहेका छन् भने प्रवर्द्धक संस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका छन्। होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहनेछ । नेपाली नयाँ वर्ष २०८२ लाई हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण नागरिकलाई महोत्सवमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

जाँदाजाँदै गभर्नर अधिकारीले भने : मेरै कार्यकालमा राष्ट्र बैंकमाथि हस्तक्षेप भयो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल समेट्ने क्रममा राष्ट्र बैंकमाथि हस्तक्षेप भएको बताएका छन् । शुक्रबार कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गर्दै उनले दोस्रो वर्षमै बैंकको स्वायत्ततामाथि प्रहार भएको र यसले केन्द्रीय बैंकको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताए । गभर्नर अधिकारीले भने, 'नेपाल राष्ट्र बैंक सञ्चालनको विश्वव्यापी मान्यता अनुरूप यसको स्वायत्तता रक्षा गर्न सर्वोच्च अदालत, न्यायप्रणाली, अर्थशास्त्री, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो।' गभर्नर अधिकारीले कार्यभार सम्हाल्दा कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्र संकुचित भइसकेको अवस्थामा नेपालले पनि गम्भीर आर्थिक चुनौती सामना गरेको बताए । उनले कोभिडपछिको पुनरुत्थानमै रुस–युक्रेन युद्धका कारण मूल्यवृद्धि उच्च बनेको तर राष्ट्र बैंकले अपनाएको नीति समग्र आर्थिक स्थायित्व कायम राख्न सफल भएको दाबी गरे । उनका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको छ, वित्तीय क्षेत्रको पुँजी पर्याप्तता तथा तरलता नियामकीय आवश्यकताभन्दा माथि छ, र कोभिडपछिको मूल्यवृद्धि क्रमशः नियन्त्रण हुँदै गएको छ । गभर्नर अधिकारीले कार्यकालभर कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गरे । राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसुर तथा सजाय ऐन, विदेशी विनिमय ऐन लगायतका कानूनी संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताए । साथै, वित्तीय ग्राहक संरक्षण, लिजिङ, धितोपत्रीकरण, र एसेट म्यानेजमेन्टसम्बन्धी नयाँ कानूनी व्यवस्थाहरूको मस्यौदा समेत तयार भएको जानकारी दिए । उनले मौद्रिक नीतिलाई प्रभावकारी बनाउन तरलता व्यवस्थापनमा सुधार ल्याएको र व्याजदर करिडोरलाई व्यवस्थित बनाउने उद्देश्यले स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको बताए । गभर्नर अधिकारीको कार्यकाल २०७६ चैत २४ गते सुरु भएको थियो । अब उनले पाँच वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा लिंदै छन् ।   

सानिमा बैंकका ग्राहकलाई भारतको एपोलो अस्पतालमा छुट, स्वास्थ्य उपचारमा सहजीकरण

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूलाई भारतको प्रतिष्ठित एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिकसँग सहकार्य गरेको छ । यस सम्झौताअन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद, र कोलकातामा रहेका एपोलो अस्पतालहरूसहित चेन्नईस्थित एपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादस्थित एपोलो हेल्थ सिटी, नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पताल, र चेन्नईस्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपलब्ध हुनेछ । यस छुट योजनाबाट लाभ उठाउन, ग्राहकहरूले अस्पताल जानु अघि सानिमा बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनुपर्नेछ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउन तथा अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरूमा उपचारको पहुँच वृद्धि गर्न यो सहकार्य गरेको जनाएको छ।

म कुनै पार्टीमा आवद्ध छैन, जिम्मेवार नागरिकको हैसियतले जिम्मेवारी सम्हाल्न तत्पर छु : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङले आफू कुनै पार्टीमा आवद्ध नभएको बताएका छन् । बर्खास्तीपश्चात पहिलोपटक शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।  घिसिङले भने, ’म कुनै पार्टीमा आवद्ध छैन । जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी सम्माल्न तत्पर छु ।’ उनले आफू अब कर्मचारी नरही सर्वसाधारण नागरिक रहेको बताए । घिसिङले भने, 'जिम्मेवार राष्ट्रसेवक कर्मचारी भएर काम गरिरहेको थिएँ ।  मैले अदालतको निर्णयलाई स्वागत गरेको छु ।अब म कर्मचारी रहिनँ, सर्वसाधारण नागरिक हुँ । उनले आफूले कर्तव्य पूरा गरेको बताउँदै सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई समेत धन्यवाद दिएका छन् ।  घिसिङले बक्यौता रहेको रकम उठाउन जसरी भए पनि आमनागरिक एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए । सान्दर्भिक सामग्री : लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार प्रयास हो : कुलमान घिसिङ कुलमानको प्रश्नः बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो ?  

लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार प्रयास हो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशन कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन्। बर्खास्तीपश्चात पहिलोपटक शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।  घिसिङले भने, 'लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन । यो त एक इमानदार प्रयास हो । वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍याैं । निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ । प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’ प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै घिसिङले रिट निवेदन दायर गरेका थिए ।  यद्यपि सर्वोच्च अदालतले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।  कुलमानको प्रश्नः बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो ?

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत सम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।  यस छुट योजनाअन्तर्गत, गरिमा विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले दराजको वेबसाइट वा मोबाइल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्, जुन अधिकतम ७५० रुपैयाँसम्मको हुनेछ । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशतसम्म, अधिकतम  ५०० रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । यो योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । बैंकका कार्डहोल्डर ग्राहकहरूले छुटको फाइदा उठाउन दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध गरिएका भौचरहरूको प्रयोग गर्न सक्नेछन् । गरिमा विकास बैंकका १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस नयाँ छुट योजना अन्तर्गत ग्राहकहरूलाई एक थप सुविधाजनक र आकर्षक सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।  

कुलमानको प्रश्नः बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङले बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी घिसिङले यस्तो बताएका हुन् ।  ‘उद्योगहरूले तिर्न बाँकी रहेको बक्यौता रकम उठाउनु राज्य विरुद्ध लाग्नु हो ? बक्यौता रकम नउठाउन मलाई निकै दबाब आए । रकम नउठाउन मलाई नैतिकताले दिएन । मलाई राष्ट्रप्रति घात गर्न मन लागेन,’ उनले भने । ‘पन्ध्र-सोह्र घण्टा लोडसेडिङ हुने गरेकोमा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल बनाउन प्राधिकरणले आफ्नो कर्तव्य निभाएको हो । मैले पनि एउटा कर्मचारीको भूमिका निर्वाह गरेको हुँ,’ घिसिङले थपे । विद्युत प्राधिकरणलाई सरकारले बजेट नदिएको अवस्थामा पनि जनताको घरघरमा विद्युत पुर्‍याउनु आफ्नो कार्यकालको ठूलो उपलब्धी भएको उनले बताए ।  घिसिङले प्राधिकरणमा आफूले धेरै काम गरिरहेकै समयमा एक्कासि रातारात हटाइएको भन्दै आक्रोश पोखे ।उनले आफूविरुद्ध सरकार सुरुदेखि नै खनिएको आरोप लगाए । उनले आफू राज्यबाट अपहेलित भएको बताए । उनले नेपालको विद्युत क्षेत्रमा धेरै परिवर्तन गरिरहेको दावी गरे ।  अध्याँरो  नेपाललाई उज्यालोतिर लम्काइरहेको बताउँदै घिसिङले ३० लाख विद्यार्थीको सुनौलो भविष्य निर्माण गर्न भूमिका खेलेको बताए ।   'मैले देशलाई विद्दुतीकरण गर्न हरदम प्रयास गरेको हुँ । यो सामान्य थिएन । मैले हरेक नागरिकको घरमा  बिजुली पुर्‍याउन अभियान चालेको थिएँ ,' उनले भने । घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परे पनि आफू विचलित नभएको प्रतिक्रिया दिए ।  उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाए । घिसिङले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताए । 'नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ उनले भने । घिसिङले राज्यका दमनविरुद्ध जाग्न जनताहरूलाई आग्रह पनि गरे ।