विकासन्युज

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् ।  भेटवार्ता कक्षबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भने, 'म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।'  थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो । यसअघि उनीहहरुबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो ।   

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि  उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।   

भरतपुर महानगरको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न, ७७ करोड राजस्व संकलन

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा स्थानीय वडावासीहरूले विकास योजनाहरूको प्रशंसा गर्दै थप सुशासन र अति आवश्यक योजनाहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चार महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला व्यवस्थापन, सिटी हल निर्माण, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक निर्माण, फोहोरमैला व्यवस्थापन तथा उज्यालो भरतपुर कार्यक्रमलगायतका योजनाको प्रगतिबारे जानकारी गराए । कार्यक्रममा प्रमुख रेनु दाहालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई एकसाथ अघि बढाइएको उल्लेख गरिन् । उनले अबको कार्यकालमा अझै धेरै विकासका काम अघि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउन महानगर प्रतिबद्ध रहेको बताइन् । प्रमुख दाहालले संघीय सरकार, प्रदेश सरकार तथा साझेदार निकायहरूबाट सञ्चालित विकास योजनामा कुनै गुनासो नआउने गरी गुणस्तरीय काम गर्न निर्देशन दिएकी छन् । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई योजनाबद्ध, सन्तुलित, दिगो र आत्मनिर्भर विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै महानगरवासीको रचनात्मक सुझावलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष ०८१/८२ को लागि विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रुपैयाँमध्ये १ अर्ब ९९ करोड खर्च भइसकेको छ । जुन कुल बजेटको ३६.४९ प्रतिशत हो । त्यसैगरी, १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन भइसकेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भरतपुर महानगरपालिकाले जनमुखी भएर नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे। भरतपुर महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत स्थानीय सरकार र नागरिकबीचको अन्तरक्रियालाई मजबुत बनाउँदै आएको छ। महानगरले आगामी दिनमा अझ पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न कटिबद्ध रहेको जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच दुई वर्षका लागि सहकार्य

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज, चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतका अवसरहरूमा प्राथमिकता दिनेछ । त्यसैगरी, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सेन्ट लरेन्स कलेजका विद्यार्थी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ । यस सहकार्यअन्तर्गत कलेजले आयोजना गर्ने ‘जब फेयर’ तथा अन्य व्यावसायिक कार्यक्रमहरूमा सांग्रिला डेभलपमेन्ट बैंकको पनि सहभागिता रहनेछ । दुई वर्षका लागि लागू गरिएको यस सहकार्यले बैंकिङ क्षेत्र र शैक्षिक संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।  

किया एक्सचेन्ज कार्निभल गैरीधाराको सिल्भर ओकमा सुरु, ६ लाखसम्मको बोनस र डिस्काउन्टको अफर

काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको यो कार्निभल आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, जुनसुकै ब्रान्डका पुराना गाडीहरू उत्तम मूल्यमा बिक्री गरी कियाका अत्याधुनिक गाडीहरूमा अपग्रेड हुने अवसर कार्निभलमा प्राप्त गर्न सकिन्छ । साथै, कार्निभलमा टेस्ट ड्राइभ गर्ने सहभागीहरूका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । कार्निभलमा सहभागी हुने ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, नगद भुक्तानी गरेर गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको विशेष छुटको पनि लाभ उठाउन सकिनेछ । कम्पनीले गाडी खरिदकर्ताका लागि सहज फाइनान्स सुविधा उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थामार्फत सरल किस्ताबन्दीमा गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले बिक्री गर्ने गाडीहरूमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा पनि आफ्नै तर्फबाट बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन प्राप्त गर्नेछन् । साथै, एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सक्नेछन् । कियाका सवारीसाधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । किया ब्रान्डका इन्धनचालित र विद्युतीय दुवै प्रकारका गाडीहरू विश्वबजारमा निकै लोकप्रिय छन् । कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्स ग्राभिटी एडिसन (२०२५), इभी६ र इभी९ प्रस्तुत गरेको छ । विशेष छुट र सुविधाको लाभ लिन किया एक्सचेन्ज कार्निभलमा सहभागी हुन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ ।

भोल्भोले मेक्सिकोमा लगानी बढाएर १ अर्ब डलर पुर्‍याउने

काठमाडौं । स्वीडेनको एबी भोल्भोले मेक्सिकोको उत्तरमा रहेको न्युभो लिओन राज्यमा निर्माणाधीन ट्रक कारखानामा लगानी बढाएर १ अर्ब डलर पुर्‍याउने भएको छ । मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले बिहीबार उक्त जानकारी दिएका हुन् । भोल्भोले अगष्ट महिनामा मेक्सिकोको उत्तरी औद्योगिक केन्द्र मोन्टेरेको छेउमा रहेको स्थानलाई आफ्नो नयाँ उत्तर अमेरिकी भारी ट्रक कारखानाका लागि चयन गरेको घोषणा गरेको थियो । उक्तबेला यसको निर्माण लागत ७० करोड डलर अनुमान गरिएको थियो । 'गजब समाचार !' एब्रार्डले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै भोल्भोको मुख्यालय स्वीडेनबाट उच्च लगानीको निर्णयबारे जानकारी पाएको बताएका छन् । उक्त कारखानाबाट उत्पादन सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ ।

बीवाईडीको नयाँ अभियान : गंगा नदीमा डल्फिन बचाउन सहयोग गर्ने

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकद्वारा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले नेपालमा संकटग्रस्त डल्फिन संरक्षणका लागि ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । विश्व जलचर जनावर दिवसको अवसरमा पाटन संग्रहालयमा आयोजित विशेष समारोहमा उक्त परियोजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार नेपालका नदीनालामा पाइने गंगा नदी डल्फिन संकटग्रस्त प्रजातिमा पर्छन् । सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन मात्र बाँकी रहेको तथ्यांक छ । बीवाईडी डल्फिन ईभी को लोकप्रियतासँगै डल्फिन संरक्षणलाई जोड्दै यो परियोजना नेपालको जैविक विविधता जगेर्ना गर्न विशेष पहल हुने आयोजकहरूले बताएका छन् । उद्घाटन समारोहमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसनविषयमा विशेष प्यानल डिस्कसन सम्पन्न भयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक छत्रमान शर्मा, जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक सृष्टि सिंह भण्डारी तथा डब्लुडब्लुएफका फ्रेसवाटर कार्यक्रम संयोजक आशीष कपाली प्यानलिस्टका रूपमा उपस्थित थिए । वन्यजन्तु संरक्षणका लागि विशेष योगदान पुर्‍याएका ९१ वर्षीय भोजराज श्रेष्ठ (गुलेली बाजे) लाई सम्मान गरिएको थियो । उनले बालबालिकाबाट ८,००० भन्दा बढी गुलेली संकलन गरी चरा तथा अन्य जीवजन्तुहरूको सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए । बालबालिकालाई डल्फिन संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले ‘डल्फिनको सपना’ नामक पुस्तक लोकार्पण गरियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित उक्त पुस्तकलाई बीवाईडीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरेका हुन् । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ डल्फिन मात्र होइन, तिनको बासस्थान, जंगल, नदी तथा समुदायको संरक्षणका लागि विस्तारित परियोजना हो । उनले भने, 'बीवाईडी केवल ईभी गाडीको प्रवर्द्धनमा सीमित छैन, हामी वातावरण संरक्षण र दिगो विकासको पक्षमा पनि दृढ प्रतिबद्ध छौं ।' बीवाईडीको नवप्रवर्तन र संरक्षण प्रयासलाई एकसाथ अगाडि बढाउँदै सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालमा जैविक विविधताको रक्षा गर्ने र भविष्यमा थप संरक्षण पहलकदमी ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  

२० औं फेवा नववर्ष महोत्सव चैत ३० गते देखि, पर्यटन र नेपाली खानाको प्रवर्द्धन गरिने

काठमाडौं । नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटनलाई टेवा दिने उद्देश्यले पर्यटन राजधानी पोखरामा २०औं फेवा नववर्ष महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  महोत्सव आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारको करिब ३ किमि क्षेत्र, लेकसाइड सडकमा आयोजना हुने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको शुभारम्भ गरिनेछ । महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ ।  पोखरा आउने पाहुनाहरूका लागि होटल संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन् भने अन्य व्यवसायीहरूले पनि विभिन्न छुट तथा सहुलियत दिने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले जाऊँ है पोखरा अभियान सञ्चालन गरी पूर्वी नेपालका प्रमुख सहरहरूमा फेवा महोत्सवमा सहभागी हुन आमन्त्रण गरिसकेको छ । साथै, घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेजहरू पनि घोषणा गरिएका छन् । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ूपोखरा भ्रमण वर्ष घोषणा गरिसकेकाले यो महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । महोत्सवलाई सफल बनाउन २१ भन्दा बढी समिति गठन गरिएका छन् । महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी, लोकदोहोरी कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् । महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी प्रालि रहेको छ भने सहप्रायोजक बरुण बेभरेज लि (पेप्सी) रहेको छ। अन्य प्रायोजकहरूमा बन्दीपुर केवलकार लि, फोन पे, अन्नपूर्ण केवलकार लि, टोकला चिया लगायत छन् । इन्सोरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी रहेका छन् भने प्रवर्द्धक संस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका छन्। होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहनेछ । नेपाली नयाँ वर्ष २०८२ लाई हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण नागरिकलाई महोत्सवमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।