विकासन्युज

नेपाल-चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा

काठमाडौं । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ ।  चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्या लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिइन् । 'आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौं,’ अध्यक्ष तामाङले भनिन् । कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिने  कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए । उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए । ‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए ।  

कर्मचारीको गुनासो : ११ महिनादेखि तलब छैन, आन्दोलनमा जाने

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन पैदावार विकास समितिका झन्डै १९० कर्मचारीले ११ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना, झापाको रतुवामाई वृक्षारोपण आयोजना र काठमाडौंको वन पैदावार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी तलब र चाडपर्व खर्च नपाएर आर्थिक संकटमा परेका छन् । विभिन्न कर्मचारी संगठनहरूले एक साताभित्र समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्मचारी संगठनले संयुक्त रूपमा परियोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि अल्टिमेटम दिएका हुन् । कर्मचारीहरूको प्रमुख मागहरूमा ११ महिनाको तलबभत्ता र चाडपर्व खर्च उपलब्ध गराउने, प्रस्तावित वार्षिक कार्ययोजना तत्काल स्वीकृत गर्ने, मौज्दात काठ बिक्रीको स्वीकृति दिने लगायत रहेका छन् । परियोजनामा हाल ५० हजार क्युफिटभन्दा बढी टिक प्रजातिको काठ मौज्दात रहेको र ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको वन पैदावार बिक्री अभावले नष्ट हुने स्थितिमा पुगेको छ । कार्यालय प्रमुख खेम विश्वकर्माका अनुसार १७ भदौ २०८१ यता कार्यकारी अध्यक्षको पद रिक्त रहेको र त्यसकै कारण नीतिगत निर्णयहरू लिन नसकिएको बताइएको छ । करिब ४० करोड मूल्य बराबरको काठ बिक्रीका लागि तयार भए पनि नेतृत्वविहीनताका कारण योजना स्वीकृत हुन नसकेको हो । कर्मचारीहरूले यस अवस्थाले आगामी वर्षको उत्पादन लक्ष्यमा समेत असर गर्ने भन्दै तत्काल समाधानको माग गरेका छन् ।  

कुलमान हटाइयो, पुनर्बहाली माग्दै जनताले गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं । कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार काठमाडौंको माइतीघर प्रदर्शन गरिएको छ । ‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति’ को अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’, ‘देशको शान कुलमान घिसिङ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ लेखिएको टिसर्टसमेत लगाएका थिए । कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा तामाङ, नेवारी, झाक्री र डम्फू जस्ता परम्परागत सांस्कृतिक पहिरनमा सजिएर सहभागीहरूको विशेष उपस्थिति देखिएको थियो । आन्दोलनकारीहरूले कुलमान घिसिङलाई अपमानजनक ढंगमा बर्खास्त गरिएको भन्दै त्यसको कडा विरोध जनाएका छन् । ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघ लगायतका संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । समितिले घिसिङको पुनर्बहाली नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।  

काठमाडौंमा फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन सुरु

काठमाडौं । फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ काठमाडौमा सुरु भएको छ । आइतबारदेखि काठमाडौंको दरबारमार्गमा सुरु भएको सम्मेलनको आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले रहेको छ  ।  सम्मेलनले नेपालमा भइरहेका आगलागीको जोखिम र अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रयासका विषयमा पनि छलफल गर्ने एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले जनाएको छ । नेपालमा वर्षा र हिउँदयाम दुवै सिजनमा आगलागीका घटना धेरै हुन्छन् । आगलागीको एउटा कारण विद्युतीय सामाग्री भएको पाइएको छ । विद्युतीय सामग्रीको जडान, प्रयोगको अज्ञानताका कारण पनि यस्ता जोखिमहरू बढ्दै गएको पाइएको छ।  नेपालमा विभिन्न व्यक्ति स्थानीय तहले निर्माण गरेका भौतिक संरचनामा जडित विद्युतीय सामग्रीले पनि आगलागीका घटना हुने र यसले ठूलो जनधनको क्षति हुने गरेको छ ।  दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामसहित १४ राष्ट्रका विज्ञहरूले आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।  सम्मेलनमा विभिन्न छलफल सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्रविधिगत नवीनता, सफल अभ्यास र समाधानहरूको जानकारी दिनेछ । नेपालमा प्रत्येक वर्ष आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको परिप्रेक्ष्यमा, यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने आप्साका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले बताए । सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको होः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको दाबी गरेका छन् ।  आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका हुन् ।  पूर्वराजा शाहलाई राजनीति गर्नुछ भने पार्टी खोल्न नेपालले सुझाव दिए ।  ‘एउटा राम्रो कुरा मैले सुने । राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने-अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ,' उनले भने, 'अरुले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो ।' तत्कालीन नेकपा एमालेमा रहँदा पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको उनको दाबी छ । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए । 'यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्डजी। पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो,' उनले भने, 'मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो । बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ । हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’ चैत १५ गते राजावादीको प्रदर्शनमा आफ्नो पार्टी कार्यालयको सुरक्षा नगरेको भन्दै उनले आपत्ति पनि जनाए । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन उनको माग छ । 

सर्वोच्चको आदेशपश्चात कालीगण्डकीमा चार वर्षसम्म रोकिएको उत्खनन सुरु, पौने २ करोडको ठेक्का आह्वान

पर्वत । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ ।  सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो ।  गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेको थियो ।  सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र तनहुँ भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा विभिन्न स्थानीय तहमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । उक्त रिटउपर खारेजीको आदेश आएपछि पर्वतको जलजला गाउँपालिकाले उत्खननका लागि ठेक्का आह्वान गरेको छ ।  गाउँपालिकाले गत फागुन २० गते सूचना प्रकाशन गरी पालिकाभित्र पर्ने कालीगण्डकी नदीको घाटगद्दि गरिएका नौ स्थानबाट उत्खनन गर्नका लागि बोलपत्र खोलेर विभिन्न व्यक्ति तथा कम्पनीलाई जिम्मेवारी दिएको छ । एक करोड ७७ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अदालतको आदेशपछि चार वर्षसम्म रोकिएको उत्खनन प्रक्रिया अहिले सुरु भएको हो ।  सर्वोच्चको आदेशपछि पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले तीन वर्षदेखि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आह्वान गर्न पाएका थिएनन् ।  नदीजन्य पदार्थको बिक्री वितरणबाट हुने आम्दानी रोकिएको भन्दै जलजला गाउँपालिकाले अन्तिम फैसलाका लागि मुद्दालाई प्राथमिकतामा राखेर मुद्दाको किनारा लगाउन पटकपटक अनुरोधसमेत गर्दै आएको थियो ।       कालीगण्डकी नदीमा अवैध तरिकाले उत्खनन हुने गरेका घटना बढेपछि सरोकारवालाहरुले यसको रोकथामका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।  रिट खारेजीको आदेशपछि पनि पवित्र कालीगण्डकी नदिको संरक्षण, शालग्राम शिलाको अवैध चोरी निकासी हुन नदिका लागि जिल्ला अनुगमन समितिलाई संरक्षण र अनुगमनका लागि सक्रियता देखाउन भनिएको छ ।  पालिकाले ठेक्का आह्वान नगरे पनि अवैध रूपमा नदी उत्खनन हुने कार्य भने भइरहेको थियो । ठेक्का आह्वानपछि अब व्यवस्थित रूपमा नदीजन्य वस्तुको उत्खनन् र बिक्रीवितरण हुने तथा यसले पालिकाको आम्दानीसमेत वृद्धि हुने जलजलाका अध्यक्ष आचार्यले बताए । यसले पालिकाको विकास निर्माणमा टेवा पुग्ने उनको भनाइ छ ।       कुश्मा नगरपालिकाले भने अहिलेसम्म नदीजन्य वस्तु उत्खननमा चासो दिएको छैन । पालिकाले ठेक्का नलगाउँदा अवैध उत्खनन तथा चोरीनिकासी भइरहेको छ । 

हुन्डाईको नयाँ वर्ष अफरमा ६ लाखसम्मको नगद छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ल्याएको छ । यो योजना बिहीबारदेखि नेपालभरि सुरु भएको छ । आफ्ना ग्राहकको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्युचर थिमसहित, क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ । यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्स्चेन्ज सुविधा पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचि ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आईसीई हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरू कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।  विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।  विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् । सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ । हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।  खुम्बु आइसफल क्षेत्रमा अहिले भर्याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । 'आइसफल क्षेत्रमा चार वटा भर्याङ र १२ वटा किला ठोकिसकिएको छ', निर्देशक अवस्थीले भने, 'दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।' सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ । सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।  वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।