स्काईवेल एसयुभी किन्ने जोडीलाई युरोप घुम्न जाने अवसर
काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्ने भएका छन् । स्काईवेल नेपालको 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानअन्तर्गत स्काईवेल किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरेको हो । यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल -'बीई ११' र 'ईटी ५'- मध्ये कुनै पनि खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् । नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल-साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् । 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् । स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् । हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् । स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स हाे ।
रविको मानवअधिकार हनन गर्नेलाई कारबाही गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी सभापति रवि लामिछानेको गैरकानुनी पक्राउप्रति विरोध जनाउँदै बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । उनीहरूले लामिछानेको पक्राउ प्रक्रियामा राज्य संयन्त्रबाट मानवअधिकार उल्लंघन भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । रास्वपाका अनुसार अदालतको आदेश बिना, कुनै कानुनी प्रक्रियाको पालना नगरी, दलबलसहित लामिछानेको निजी सयनकक्षमा प्रहरी पुगेर बल प्रयोग गरिएको हो । यस प्रकारको ज्यादती संविधान र मानव अधिकार विपरित रहेको रास्वपाको ठहर छ । 'सभापति लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको बलप्रति गम्भीर आपत्ति जनाउँदै दोषी अधिकारीमाथि कारबाही हुनुपर्छ,' आयोगमा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । रास्वपाले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
गौतमबुद्ध अन्तर्राराष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै उद्योग व्यवसायीको ध्यानाकर्षण
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । त्यस्तै, सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरुसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए । त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् । भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समर शेड्युल लिएका छैनन् ।
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक- २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा दुई दशमलव तीन र सन् २०२६ मा दुई दशमलव दुई प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति दुई दशमलव छ प्रतिशत थियो । नेपालको मुद्रास्फीति भने सन् २०२५ मा पाँच दशमलव दुई र सन् २०२६ मा पाँच प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ । 'अप्रिलको सुरुआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ,’ प्रतिवेदनमा भनिएको छ । साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन–रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।
अब नेपालको अर्थतन्त्र सुधार हुँदै जाने एडीबीको अनुमान, महँगी घट्ने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधार हुने अनुमान गरेको छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र सुधारको गतिमा रहने प्रक्ष्येपण गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने अनुमान गरेको एडीबीले आगामी आर्थिक वर्षमा सो वृद्धिदर ५.१ प्रतिशत पुग्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो भने अघिल्लो आवमा २ प्रतिशतमा सीमित बनेको थियो । यस्तै, एडीबीले आगामी आर्थिक वर्षमा नेपालको मुद्रास्फिति ५ प्रतिशतमा झर्ने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्म ५.२ प्रतिशत कामय हुन सक्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षको नेपालको मद्रास्फिति अर्थात् महँगी ५.४ प्रतिशत र अघिल्लो आर्थिक वर्षमा ७.७ प्रतिशत पुगेको थियो । एडीबीले नेपालको सेवा क्षेत्र, जलविद्युत उत्पादन र धान उत्पादनमा वृद्धि भएपछि आर्थिक वृद्धिदरमा सुधार हुँदै गएको बताएको छ । खाद्यबाहेकका वस्तुहरूमा मूल्यवृद्धि कम भएपछि मुद्रास्फीति घट्न पुगेको, व्यापार घाटा कम भएको तथा रेमिट्यान्स आम्दानी बढ्नाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक माग थप सशक्त हुँदै जाँदा, जलविद्युत निर्यात बढ्दै जाँदा र पर्यटन क्षेत्र मजबुत हुँदा आर्थिक वृद्धिदर अझै बढ्ने जनाएको छ । विश्व बजारमा तेलको मूल्य केही घट्ने अनुमानसँगै नेपालको मुद्रास्फीति पनि घट्न सक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्स स्थिर रहँदा आयात बढ्ने भएकाले चालु खाता घाटामा जान सक्ने प्रक्ष्येपण पनि गरिएको छ । पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।
नयाँ वर्षमा सीजीका सामान किन्दा थाइल्यान्ड घुम्न जाने अवसर
काठमाडौं । नयाँ वर्षको अवसरमा सीजी एसडीए (साना घरेलु उपकरण) ले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको छ । ‘लेभल अप’ अभियान अन्तर्गत ल्याइएको यो योजना चैत २२ गतेदेखि लागू गरिएको हो । यस योजनाअन्तर्गत सीजीका एसडीए उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर विवरण भरी सहभागी हुन सक्नेछन्। योजनाका मुख्य आकर्षणहरू साप्ताहिक पुरस्कार- हरेक हप्ता ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार- अभियानको अन्त्यमा थाइल्यान्ड यात्रा र सीजी मेघौली सरायको विलासी यात्राजस्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् कम्पनीका अनुसार यो योजना सीजी डिजिटलका आउटलेटहरू तथा देशभरका च्यानल पार्टनरमार्फत कार्यान्वयन गरिएको छ। सीजी नेपालकै इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा उच्च गुणस्तरका आधुनिक प्रविधियुक्त उत्पादनहरू उपलब्ध गराउँदै उपभोक्ताको विश्वास जित्दै आएको छ । नयाँ वर्षलाई थप उत्साहजनक बनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
चुनौतीको चाङभित्र रहेर पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी हासिल गरिरहेका छौं : अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्र लगायतमा महत्त्वपूर्ण उपलब्धी हासिल गरिरहेको दाबी गरेको छ । सिंगापुरमा एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औं सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष सिंहले भौतिक पूर्वाधारको नेपालको वर्तमान अवस्थाबारे प्रकाश पारेका हुन् । पूर्वइफाप्का अध्यक्ष समेत रहेका अध्यक्ष सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नुपरिरहेको दुखेसो पोखे । विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको जनाउँदै उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य बताए । विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेकोतर्फ अध्यक्ष सिंहले विश्व समुदायको ध्यानाकर्षण गराए । विगत केही महिना अघिदेखि निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकूल असर देखिएको उनले सुनाए । उनले भने, ‘सरकार निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दाताहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको छ । यहाँहरु सबैको साथ सहयोगले हामीले महत्तपूर्ण उपलब्धि हासिल गर्न सकिरहेका छौं । अब हामीले निर्माण उद्योगका लागि प्रविधिमा लगानीमा विशेष ध्यान दिनुपर्छ ।’ निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबीचको सहकार्य जरुरी भएको उनको भनाइ छ । निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औं इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । ४६ औं इफाप्का सम्मेलनमा सन् २०२३ को नोभेम्बरमा नेपालले आयोजना गरेको थियो । एसिया तथा प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूलाई निकट सम्पर्कमा ल्याई अन्तर्राष्ट्रिय भाइचारा र सहकार्य अभिवृद्धि गर्ने,निर्माण प्रविधिका बारेमा सूचना आदानप्रदान गर्ने, समस्या समाधानका लागि सम्बन्धित् सरकार र निर्माण व्यवसायीहरूबीचको सम्बन्ध विकसित तथा सुदृढ गर्ने, निर्माण परियोजना सम्पन्न गर्नका लागि सम्बन्धित् देशको ऐन कानुनसहित भौगोलिक अवस्था, काम गर्ने उपय्क्त वातावरण लगायतका पक्षलाई प्राथमिकतामा राख्ने लगायतका उद्देश्य राखी सन् १९५६ मा इफाप्काको स्थापना गरिएको हो। नेपालसहित १९ मुलुकका निर्माण संस्था आबद्ध इफाप्काको मुख्यालय फिलपिन्सको मनिलामा रहेको छ।
अछाममा सिलिण्डर पड्किँदा २७ घर जले, साढे ७ करोडभन्दा बढीको क्षति
काठमाडौं । अछाममा सिलिण्डर पड्किँदा २७ घर जलेर नष्ट भएका छन् भने साढे ७ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा मंगलबार राति साढे ७ बजेको समयमा सिलिण्डर पड्किएको हो । पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा पुरै बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट २७ वटा पसल र घर जलेका छन् भने अनुमानित ७ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । उनले भने, ‘गएराति साढे ७ बजेतिर ग्यास पड्किएर आगलागी भएको हो । हामीले आगलागी भएको ५ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सक्यौं । यो ठाउँमा बाटो सानो भएकाले दमकल ल्याउन सकिएन ।’ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ । आगलागी भएको ठाउँमा ११ व्यापारीले व्यवसाय गर्दै आएका बताए । अहिले क्षतिको विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ।