काठमाडौंमा वर्षाले दियो प्रदूषणबाट राहत, अझै केही दिन वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो हल्का वर्षा भएको छ । लामो समयपछि परेको यस वर्षाले वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि देशभरको मौसममा बदली आएको हो । मंगलबारदेखि सक्रिय भएको उक्त प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौं उपत्यकामा बुधबार मात्र वर्षा भएको हो । मौसम विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको जनाइएको छ । वर्षाले उपत्यकाको वायु प्रदूषणमा सुधार हुने र जनताले केही राहत महसुस गर्ने अवस्था सिर्जना भएको मौसमविद्हरूले बताएका छन् । काठमाडौं उपत्यकासँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मौसमविद् धर्मराज उप्रेतीका अनुसार आज, भोलि र पर्सि पनि वर्षाको सम्भावना रहेको छ । त्यसैले केही दिन मौसम बदलिने सम्भावना रहेको उनको भनाइ छ । यसबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले वातावरणमा रहेको धुँवा, धुलोलाई हटाउँदै स्वच्छता कायम गर्न मद्दत गरेको छ । काठमाडौं उपत्यकाबाहिरका केही स्थानमा पनि वर्षा भएकोले वायुमण्डलीय प्रदूषण हट्न सहयोग पुगेको बताइएको छ ।
फक्सवागनको विद्युतीय कार बिक्री युरोपमा बढ्यो
काठमाडौं । फक्सवागन समूहको विद्युतीय कार(ईभी) को बिक्री यूरोपमा यस वर्षको पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढी बढेको छ । चीनमा भने बिक्री घटेको देखिएको छ । युरोपमा विद्युत् कारको माग वर्षौंको सुस्त वृद्धिपछि फेरि बढ्न थालेको छ भने चीनको विद्युत् कार बजार भने अझै पनि निकै प्रतिस्पर्धात्मक छ । जहाँ नयाँ विद्युत् कार मात्रै उत्पादन गर्ने कम्पनीहरूले विदेशी कार निर्माता कम्पनीहरूको बजार हिस्सा खोसिरहेका छन् । चीनमा कुल बिक्री ७.१ प्रतिशतले घटेको छ, यद्यपि कम्पनीले त्यहाँ २२ प्रतिशतको इन्धन इञ्जिन कार बजार हिस्सा कायम राख्न सफल भएको छ । मर्सिडीज-बेन्ज र पोर्शेले पनि चीनमा बिक्री घटेको रिपोर्ट दिएका छन् । फक्सवागनले प्रमुख मोडलहरू- जस्तै आईडी.थ्री र आईडी.फोर एक्सको नयाँ संस्करणहरू लन्च हुँदै जाँदा आगामी महिनाहरूमा विद्युत् कारहरूको बिक्री क्रमशः बढ्दै जाने अपेक्षा गरेको छ । अप्रिलमा शाङ्घाइ अटो शोमा फक्सवागनले नयाँ अडी ब्रान्डको पहिलो सिरिज उत्पादन मोडल प्रदर्शन गर्नेछ जुन यसै वर्ष लन्च हुनेछ र सन् २०२६ मा आउने तीनवटा भीडब्ल्यू मोडलहरू पनि देखाउनेछ । पश्चिमी युरोपमा फक्सवागनका गाडीहरूको अर्डर- चाहे त्यो विद्युत् होस् वा इन्धन इञ्जिन- २९ प्रतिशतले बढेको छ । युरोपेली अटोमोबाइल निर्माता संघको तथ्यांकअनुसार यो वर्ष युरोपमा विद्युत् गाडीहरूको बिक्री उल्लेखनीय रूपमा बढेको छ, यद्यपि कुल गाडी बिक्री भने घटेको छ । नयाँ युरोपेली संघको उत्सर्जन लक्ष्यहरू र नयाँ मोडलहरूको लन्चले वर्षौंको सुस्त वृद्धिपछि माग बढाएको देखिन्छ । संयुक्त राज्य अमेरिकामा बिक्री ६.२ प्रतिशतले बढेको छ, जुन सम्भवतः २५ प्रतिशत आयात कर लागु हुनु अघि ग्राहकहरूले अग्रीम रूपमा गाडी किनिरहेका संकेत हुन सक्छ । भीडब्ल्यू ब्रान्डको करिब दुई–तिहाइ बिक्री मेक्सिकोमा बनेका गाडीहरूमार्फत हुन्छ र यसको सबै पोर्शे, अडी र लाम्बोर्गिनी गाडीहरू युरोपबाट आयात गरिन्छ ।
अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा रु ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, 'सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार गरेर उक्त मानवीय सहायता रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, क्षतिको यकिन विवरण प्राप्त भएपछि थप सहयोग गर्नेछौँ ।' मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवं पीडितलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, सङ्घसंस्था र दातृ निकायलाई सहयोगका लागि अपिल गरे । प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई खटाएको छ । अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गए राति भएको आगालागिबाट दश कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए । यीमध्ये ११ घरमा पसल सञ्चालनमा थिए । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिन्डर विष्फोट हुँदा सल्किएको आगो बजारका अन्य घरपसलमा फैलिएको थियो । साँझदेखि सुरु भएको आगलागी राति १ः३० बजेमात्र प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको थियो । आगलागीबाट सात करोड ५४ लाख बराबर रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए । रासस
आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तर संसदीय संघ (आईपीयू) को महासभाबाट नवगठित स्वास्थ्यसम्बन्धी समितिकी सदस्यमा निर्वाचित भएकी छन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित १५ मुलुकका प्रतिनिधिहरूलाई चार वर्षका लागि समितिमा चयन गरेको हो । समितिको कार्यकाल सन् २०२९ को मार्चमा समाप्त हुनेछ । आईपीयूको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै यसलाई स्वतन्त्र समितिको रूपमा पुनर्गठन गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार गठन गरिएको उक्त समितिमा नेपालको प्रतिनिधित्व गर्दै सांसद गौतम निर्वाचित भएकी हुन् । समितिमा सांसद गौतमसँगै अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी मुएको मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्तानकी सिनेट सदस्य ओ अतानियाजोवा, र जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।
व्यापारीको जेठो संगठन नेपाल चेम्बर ७५ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, 'आज हामीले ७५ ‍औं वर्षमा प्रवेश गरेका छौं । यो अवसरमा हामी खुसी छौं । नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बरले सधैं साथमै रहेको छ ।' उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स.२००७ सालमा आश्विन २७ गते भएको थियो । नेपाल चेम्बर प्रजातन्त्रसङ्गै स्थापित भएको हो । विसं २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाइमा भएको थियो । निवर्तमान अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागि रहेको दाबी गरे । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि बताए । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गरेको छ । देशमा रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरेको छ । देशभरका उद्योगी तथा व्यवसायीहरूको सहभागिता भएको नेपाल चेम्बर अफ कमर्सको विधान मन्त्रिपरिषदबाट २०७४ सालमा संशोधन भएको थियो भने तदनुरूप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा राष्ट्रिय संघ संस्थाहरूसम्म सदस्यहरू बिस्तार भएको छ । हाल ७ वटा प्रदेशका ६८ वटा जिल्ला चेम्बर गठन भैसकेको निवर्तमान अध्यक्ष मल्लले जानकारी दिए।
नेपाल माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, १५४ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६७६ बिन्दुमा पुगेको छ । आज १५४ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २२ करोड र राधी विद्युत कम्पनीको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशतले घटेकाे छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेकाे छ । विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशतले बढेकाे छ ।
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त खुला
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको एक विज्ञ सदस्यको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट भरिने भएकाले इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । आवेदन सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ । दरखास्त दिनको लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने र सार्वजनिक निकायसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको विज्ञता प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नठहरिने व्यक्ति मात्र योग्य हुनेछन् । उमेर हदको सन्दर्भमा, दरखास्त दिनको मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले मन्त्रालयको वेबसाइटमा प्रकाशित निर्देशिकाको अनुसूची २ अनुसारको ढाँचामा दरखास्त भर्नुपर्नेछ । साथै, दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र तथा स्वघोषणा फाराम आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ । मन्त्रालयले समयमै आवश्यक सबै कागजातहरू संलग्न नगर्ने दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।
आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन, साढे ४ प्रतिशतको हाराहारीमै सीमित
काठमाडौं । गत जेठ १५ मा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशतको आर्थिक वृद्धिदर यस वर्ष हुने लक्ष्य राखे । महत्त्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्यसहित ल्याइएको बजेट उनले कार्यान्वयन नै गर्न पाएनन् । सरकार परिवर्तनका कारण अर्थ मन्त्रालयको बाघडोर विष्णुपौडेलले सम्हालेपनि बजेट कार्यान्वयन चुस्त हुन सकेको छैन । सरकारी बजेट खर्च प्रभावकारी नहुदाँसम्मको असर यस वर्षको आर्थिक वृद्धिदरमा देखिने भएको छ । सरकारले यस वर्ष पनि आर्थिक वृद्धिदरको लक्ष्य भेट्न नसक्ने दातृ निकायहरुले गरिरहेको प्रक्षेपणहरुबाट देखिन थालेका छन् । सरकारी लक्ष्य पूरा नहुने संकेत गर्दै बुधवार एसियाली विकास बैंक(एडीबी) ले एसियाली डेभलपमेण्ट आउटलुकमार्फत प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीका अनुसार चालु आवमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने आँकलन गरिएको छ । गत आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । एडीबीकाअनुसार अहिले पनि सरकारी खर्च बढ्न सकिरहेको छैन, निर्माण क्षेत्र चलायमान हुन सकिरहेको छैन । त्यसै कारण यो आर्थिक वर्षमा सरकारी लक्ष्य भेट्न मुस्किल पर्नेछ । यद्यपि गत वर्षमा भन्दा नेपालको अर्थतन्त्रले केही गति लिएको एडीबीको ठहर छ । एडीबीकाअनुसार गत आव नेपालमा जलविद्युत उत्पादनमा वृद्धि, गहुँ उत्पादन बढेको छ भने सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुनेछ । एडीबीले आफ्नो प्रतिवेदनमा भनेको छ, ’ब्याजदरमा आएको गिरावटले औद्योगिक लागतमा कमी आएको र उत्पादनमा भएको वृद्धि भएको छ । जलविद्युत उत्पादन बढेको र निर्माण क्षेत्रसमेत सकारात्मक हुनेछ । पर्यटक आगमनमा वृद्धिले होटल तथा यातायात क्षेत्र पनि चलायमान हुनेछ ।’ दातृ निकायहरुले आर्थिक वृद्धि लक्ष्यअनुसार हासिल नहुनुका कारण प्राकृतिक विपत्तिदेखि राजनीतिक अस्थीरतासम्मलाई मानेका छन् । गत साता मात्रै विश्व बैंक चालु आव २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले भनेको थियो । अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो । सन् २०२४ अन्त्यतिर नेपालले ठूला प्राकृतिक विपत्तिको सामना गर्नुपरेको थियो । विश्व बैंकले हालै आफ्नो प्रक्षेपण सार्वजनिक गर्दै भनेको छ, ‘यस वर्ष आन्तरिक व्यापार, जलविद्युत तथा धान उत्पादन वृद्धिबाट आर्थिक वृद्धिदर उकास्न मद्दत पुग्नेछ । आगामी आव अर्थतन्त्र अझ बिस्तार हुनेछ । यसमा सेवा क्षेत्रको योगदान बढी हुने अनुमान छ ।’ आगामी आव २०८२/८३ मा ५.२ प्रतिशत र त्यसपछि २०८३/८४ मा ५.५ प्रतिशतले बिस्तार हुने समेत विश्व बैंकको अनुमान छ ।