मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक बुधबार (आज) अपरान्ह पौने ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । ३ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा फुटसल प्रतियोगिता हुँदै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कम्पनीले आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो । कम्पनी ७९औँ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहनेछ । ‘प्रोटेटिङ एभ्री रिक्स, सेलिब्रेटिङ एभ्री गोल्स’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास बढाउनु रहेको कम्पनीले जनाएको छ । त्यस्तै, प्रतियोगितामार्फत स्वस्थ जीवनशैलीसम्बन्धी चेतना अभिवृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसअघि आयोजना गरिएको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि बीमा प्राधिकरणलगायत बीमा क्षेत्रका विभिन्न कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको छ ।
संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ । बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सात दिनको समयसीमा तोकेर कार्यदल बनाइएको बताए । उक्त कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारी वोध र कानुन निर्माण प्रक्रियामा उनीहरूको भुमिकालाई थप सशक्त र जनपक्षीय बनाउने विश्वास लिइएको छ । पार्टी सभापतिसहित शीर्ष नेताहरू र मन्त्रीहरूको उपस्थितिमा भएको उक्त बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे विस्तृत छलफल भएको छ । बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए गरेका प्रगति र गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए भने सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या र जनस्तरबाट आएका गुनासाहरू राखेका थिए। बैठकमा सरकारले गरेका कामहरूलाई आम जनतासम्म पुर्याउन देखिएका समस्या र सञ्चार समन्वयमा भएका कमजोरीका विषयमा पनि समीक्षा गरिएको छ । उपनेता पराजुलीका अनुसार बजारमा ग्यास आपूर्तिको अवस्था र जनस्तरमा देखिएको अभावका विषयमा समेत बैठकमा चर्चा भएको छ । सदन र सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक बसेको हो ।
उच्च पदस्थ व्यक्तिको नाम लिएर पैसा असुल्ने घले पक्राउ
काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको भन्दै थुनामा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाएर छुटाइदिने आश्वासन दिई रकम असुल्ने व्यक्ति पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले पक्राउ परेका हुन् । घलेले आफू उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्कमा रहेको भन्दै कारागारमा थुनामा रहेका व्यक्तिका आफन्तजनलाई उनीहरूको मुद्दा मिलाइदिने र थुनामुक्त गराइदिने भन्दै पैसा असुल्ने र दुःख–हैरानी दिने गरेका थिए । घलेलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले कसरी र कति व्यक्तिलाई प्रभावित पारेका थिए भन्ने विषयमा समेत थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
एनसेलबाट विदेश फोन गर्दा अब ६० सेकेन्डको पल्स दर
काठमाडौं । एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिबमोजिम ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयअनुसार स्वीकृति प्रदान गरेको हो । प्राधिकरणको स्वीकृतिबमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकमा नयाँ पल्स दर लागू भएको छ । नयाँ पल्स दर कायम भएका सबै मुलुकको पूर्ण सूची तथा कल र एसएमएसको शुल्क एनसेलको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
इनर्जी ड्रिंक पिउनुहुन्छ ? क्याफिन र चिनीले बिगार्न सक्छ स्वास्थ्य
काठमाडौं । पछिल्लो समय युवामाझ इनर्जी ड्रिंक पिउने चलन बढ्दो छ । लामो समय काम गर्न, पढ्न, जिममा राम्रो प्रदर्शन गर्न वा तत्काल ऊर्जावान् महसुस गर्न धेरैले यस्ता पेय पदार्थ सेवन गर्ने गरेका छन् । इनर्जी ड्रिंकले तत्काल शरीरलाई सक्रिय र ऊर्जावान् महसुस गराउन सक्छ । तर, चिकित्सक तथा स्वास्थ्य विज्ञहरूका अनुसार यसको नियमित र अत्यधिक सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ । इनर्जी ड्रिंकमा क्याफिन, चिनी, ग्वाराना, जिनसेंग र बी–भिटामिनजस्ता विभिन्न तत्व पाइन्छन् । यीमध्ये क्याफिन र अन्य उत्तेजक तत्वले केही समयका लागि जागरुकता र ऊर्जा बढाए पनि अत्यधिक सेवनले मुटु, रक्तचाप र मिर्गौलामा असर पार्न सक्छ । क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्छ । यसले केही समयसम्म शरीरलाई सक्रिय राख्न मद्दत गर्छ । तर, धेरै क्याफिन सेवन गर्दा बेचैनी, हातखुट्टा काम्ने, निद्रामा समस्या र रक्तचाप बढ्ने समस्या देखिन सक्छ । कम समयमा धेरैवटा इनर्जी ड्रिंक पिउँदा शरीरमा क्याफिनको मात्रा अत्यधिक हुन सक्छ । त्यसैगरी कफी, प्रि–वर्कआउट सप्लिमेन्ट वा अन्य क्याफिनयुक्त पेयसँगै एनर्जी ड्रिंक सेवन गर्दा जोखिम थप बढ्न सक्छ । विशेषगरी मुटुसम्बन्धी रोग, उच्च रक्तचाप वा मुटुको धड्कनमा समस्या भएका व्यक्तिले क्याफिनको सेवनमा थप सावधानी अपनाउनुपर्ने हुन्छ । इनर्जी ड्रिंकमा प्रयोग हुने ग्वारानामा क्याफिनको मात्रा उच्च हुन्छ। यसले शरीरमा क्याफिनको कुल मात्रा थप बढाउन सक्छ । टोरिनलगायत अन्य उत्तेजक तत्वसँगै क्याफिनको अत्यधिक सेवन गर्दा मुटुको धड्कन तीव्र हुने तथा धड्कनको लयमा समस्या आउने जोखिम बढ्न सक्छ । धेरैजसो इनर्जी ड्रिंकमा चिनीको मात्रा पनि उच्च हुन्छ । चिनीले तत्काल ऊर्जा दिएको महसुस गराए पनि यसको अत्यधिक सेवन लामो समयसम्म गर्दा तौल बढ्ने, इन्सुलिन प्रतिरोध र टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ । त्यसैगरी धेरै चिनी भएका पेय पदार्थको नियमित सेवनले दाँतमा क्षय हुने समस्या पनि बढाउन सक्छ । इनर्जी ड्रिंकले सबै व्यक्तिको मिर्गौलामा प्रत्यक्ष क्षति पुर्याउँछ भन्न मिल्दैन । तर, अत्यधिक क्याफिन र चिनीको सेवनले केही अवस्थामा मिर्गौलासम्बन्धी समस्या बढाउन सक्छ । धेरै क्याफिन सेवन गर्दा बारम्बार पिसाब लाग्न सक्छ । पर्याप्त पानी नपिउँदा शरीरमा पानीको कमी हुने जोखिमसमेत बढ्न सक्छ । लामो समयसम्म धेरै चिनी सेवन गर्दा मोटोपना र टाइप–२ मधुमेहको जोखिम बढ्ने भएकाले त्यसबाट मिर्गौला रोगको जोखिम पनि बढ्न सक्छ । पहिल्यै दीर्घकालीन मिर्गौला रोग भएका व्यक्तिले एनर्जी ड्रिंक सेवन गर्नुअघि चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । एनर्जी ड्रिंकको नियमित सेवनले निम्न समस्या देखिन सक्ने विज्ञहरूले बताएका छन् : निद्राको गुणस्तरमा कमी चिन्ता र बेचैनी टाउको दुख्ने चिडचिडापन तौल बढ्ने इन्सुलिन प्रतिरोधको जोखिम धेरै चिनीका कारण दाँतमा क्षय निद्रा पूरा नहुँदा थकान हटाउन फेरि इनर्जी ड्रिंक पिउने बानी बस्न सक्छ । यसले थकान र इनर्जी ड्रिंक सेवनको अस्वस्थ चक्र सिर्जना गर्न सक्छ । बच्चा तथा किशोरकिशोरी, गर्भवती तथा स्तनपान गराइरहेका महिला, उच्च रक्तचाप भएका व्यक्ति, मुटुसम्बन्धी रोग वा मुटुको धड्कनमा समस्या भएका व्यक्ति तथा दीर्घकालीन मिर्गौला रोग भएका व्यक्तिले इनर्जी ड्रिंक पिउँदा समस्या आउनसक्ने विज्ञहरू बताउँछन् । त्यस्तै, क्याफिनप्रति संवेदनशील तथा चिन्ता वा अनिद्राको समस्या भएका व्यक्तिले पनि यस्ता पेय पदार्थबाट बच्नु उचित हुन्छ । इनर्जी ड्रिंकले तत्काल ऊर्जा दिएको महसुस गराए पनि नियमित र अत्यधिक सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ । विशेषगरी धेरै क्याफिन र चिनी सेवन गर्दा मुटुको धड्कन, रक्तचाप, निद्रा तथा मिर्गौलासम्बन्धी स्वास्थ्यमा असर पर्न सक्छ । बारम्बार थकान महसुस हुने व्यक्तिले इनर्जी ड्रिंकमा निर्भर हुनुभन्दा थकानको वास्तविक कारण पहिचान गरी पर्याप्त निद्रा, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउनु सुरक्षित उपाय मानिन्छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित सेयरधनीले नियमअनुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्।
‘जुके–३’ को सफल अवतरणसँगै चीनले अन्तरिक्षमा बनायो नयाँ इतिहास
काठमाडाैं । चीनले बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके–३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर–पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७ः३५ बजे ‘जुके–३ वाई–२’ रकेट प्रक्षेपण गरिएको थियो । निर्धारित योजनाअनुसार नै रकेटको पहिलो खण्ड जमिनमा अवतरण भएको र उक्त उडान अभियान पूर्णरूपमा सफल भएको अधिकारीहरूले जनाएका छन् । यसअघि गत जुलाई १० मा चीनले ‘लङ मार्च–१० बी’ रकेटको पहिलो खण्डलाई समुन्द्रमा सफलतापूर्वक अवतरण गराएको थियो । तर अवतरणका लागि खुट्टाहरूको प्रयोग गरी जमिनमा नियन्त्रित रूपमा रकेट फिर्ता ल्याइएको यो चीनको पहिलो सफल परीक्षण हो । यस उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक ठूलो फड्को मानिएको छ । यो सफलतासँगै चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ ।