विकासन्युज

नेप्का र आईसीएबीच सहकार्य, नेपाल र भारत व्यापारिक विवाद समाधानमा जोड

काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र इन्डिया काउन्सिल अफ आर्बिट्रेशन (आईसीए) बीच बैसाख २४ मा नेप्का सचिवालयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दुई संस्थाबीच भएको यस ऐतिहासिक साझेदारीको मुख्य उद्देश्य नेपाल र भारतबीच बढ्दो व्यापारिक तथा व्यावसायिक गतिविधिका क्रममा उत्पन्न हुन सक्ने विवादहरूलाई वैकल्पिक विवाद समाधान (एडीआर) तथा मध्यस्थताको माध्यमबाट छिटो, छरितो र विश्वसनीय ढंगले समाधान गर्नु रहेको जनाइएको छ ।  सम्झौताले दुई छिमेकी मुलुकबीचको कानुनी तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार सहकार्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । समारोहमा आईसीएका महानिर्देशक अरुण चावला र नेप्काका महासचिव ई. मनोज कुमार शर्माले दुई संस्थाबीचको संस्थागत सहकार्य र साझा दूरदृष्टिबारे चर्चा गरेका थिए । उनीहरूले यस सम्झौताले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासलाई स्थानीयकरण गर्न, मध्यस्थताका आधुनिक सुविधा आदानप्रदान गर्न तथा लगानीकर्ताका लागि सुरक्षित र पूर्वानुमानयोग्य कानुनी वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए। उनीहरूका अनुसार दुवै देशका मध्यस्थकर्ताको क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम, कार्यशाला तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमको समापन गर्दै नेप्काका अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले दुवै संस्थाको विज्ञता र अनुभवलाई जोडेर विवाद समाधान प्रक्रियालाई अझ व्यवस्थित बनाउन तथा मध्यस्थकर्ताहरूको सशक्त व्यावसायिक सञ्जाल निर्माण गर्न यो साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले उक्त समझदारीले भविष्यमा दुई राष्ट्रबीचको व्यावसायिक पारदर्शिता, आर्थिक स्थिरता तथा कानुनी पूर्वाधार विकासमा समेत ठोस योगदान पुर्‍याउने बताए। 

हर्मुज क्षेत्रमा फेरि तनाव

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ हरू सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिएका छन् । ती युद्धपोतहरू हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ती युद्धपोतहरू ‘विश्वस्तरीय’ भएको उल्लेख गरेका छन् । उनका अनुसार जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ । अमेरिकी सैन्य स्रोतहरूका अनुसार सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । तर, अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक रोक्दै आवश्यक प्रतिकारात्मक कारबाही गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरूमा कुनै क्षति नभएको स्पष्ट पार्दै इरानी आक्रमणकारीहरूलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरेका छन् । साथै, उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन् ।  उनले इरानलाई छिटो कूटनीतिक सम्झौता गर्न आग्रह गर्दै भविष्यमा थप कडा कदम चालिन सक्ने सङ्केत पनि गरेका छन् ।  हर्मुज जलडमरूमध्ये विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ । पछिल्लो समय यस क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय सुरक्षा तथा ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ । अमेरिकी अधिकारीहरूले आफ्नो सेनालाई सुरक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको जनाउँदै परिस्थितिलाई थप जटिल बनाउन नचाहेको पनि स्पष्ट पारेका छन् । यसैबीच, यस क्षेत्रको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको बताइएको छ ।  

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।

सुदन किराँती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

काठमाडौं । सुदन किराँतीले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले बिहीबार राति एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्ने सहमति भएको छ । किराँतीको समूहबाट १५ जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ । 

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।   

पिँडालु किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६६ र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १३०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु ७५, झिगुनी प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी हरिया (बुलेट) प्रतिकेजी १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु ९०, माछा (सुकेको) प्रतिकेजी ८००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । 

९ महिनामा सीआईटीको नाफा १ अर्ब, ईपीएस १९.३२ रुपैयाँ

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले ९ महिनामा करिब १ अर्ब रुपैयाँ हाराहारी खुद नाफा गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ७ करोड ३७ लाख विविध आम्दानी र १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।  गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ९ करोड रुपैयाँ विविध आम्दानी र १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले २० करोड ७१ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ७८ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ५० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८३ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ५ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कोषको जगेडा कोष १२ अर्ब ६८ करोड १ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३२ रुपैयाँमा छ भने प्रतिसेयर नेटवर्थ ४७.११ रुपैयाँ कायम छ ।

ट्राफिक प्रमुख अधिकारी आफैं सडकमा, एकैदिन १८०६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै पछिल्लो २४ घण्टामा १ हजार ८०६ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जनालाई कारबाही गरिएको छ । त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा पार्किङ गर्ने ७७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १११ जनामाथि पनि कारबाही गरिएको छ । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जना चालकसमेत कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै मुख्य सडक, चोक तथा नागढुङ्गा लगायत प्रमुख नाकामा विशेष चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाइएको कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा प्राविधिक रूपमा कमजोर सवारीसाधनलाई लक्षित गरी निगरानी कडा बनाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएर अनुगमन गरिरहेका छन् । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रमुख अधिकारीले विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा मापसे रहेको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगञ्ज र नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य तथा यात्रु क्षमतामाथि पनि निगरानी थालिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली विकासका लागि चेकजाँच अभियानलाई अझ प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।