विकासन्युज

काठमाडौं उपत्यकामा वर्षा, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ । महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शाक्यलाई ऊर्जामन्त्रीले भने- लाल आयोगको प्रतिवेदनका आधारमा उद्योगको बक्यौता उठाउनुस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।  ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिएका हुन् । विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ । ऊर्जा मन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिए ।  आयोगको प्रतिवेदनमा ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेवापत टिओडी (टाइम अफ डे) मिटर समेतका आधारमा अध्ययन गरी बक्यौता असुल गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को गत कात्तिक २७ को निर्णयअनुसार टिओडी मिटर समेतको तथ्याङ्क पुनः परीक्षण भई आएमा विद्युत् बक्यौता तिर्न उद्यमीहरु सहमत भए पनि विद्युत् प्राधिकरणले उपलब्ध गराएको ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापतको टिओडीबाट हिसाब नगरेको महसुलमा उद्योगीले असहमति राख्दै आएका छन् ।

उद्योग व्यवसाय फस्टाउन निकट सम्बन्ध राख्छौं तर, कमिसनका लागि होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककाे राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रुपमा उद्योग व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् । आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए ।  ‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसलाई सहजरूपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईँहरूले कन्भिन्स गर्न सक्नुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चेम्बर आफैंमा एकता र साथ सहयोगका रुपमा निर्विवाद संस्थाका रुपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ । यो संस्था आफ्ना निम्ति मात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो । यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन । देशमा उद्योग व्यवसाय फस्टाउने सवालमा हामी सधैँ पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ । यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन । देश बनाउने सवालमा हो ।’ प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए ।  ‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरू मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशिला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।’ चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी-व्यवसायीहरूलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।

आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी

काठमाडौं । सरकारले घोषणा गरेको आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखती र महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले सीपमूलक तालिम, उद्यमशीलता, प्रशिक्षक प्रशिक्षण तालिम र रोजगारी प्रदान गर्ने सम्बन्धी सो समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई सफल बनाउन निजी क्षेत्रसँग समझदारी गरिएको बताए । कार्यकारी निर्देशक बखतीले समझदारीसँगै परम्परागत सीपलाई उद्यमशीलता सँग जोड्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन एवं आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।  महासङ्घका अध्यक्ष शाक्यले हस्तकला व्यवसायको पुस्तान्तरण र दीगोपनाका लागि सम्झौता गरिएको बताए। सीप विकास प्रतिष्ठानसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै उहाँले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रियकरण गर्न सकिएमा छिट्टै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।  श्रम मन्त्री भण्डारीको समुपस्थितिमा भएको सो समारोहमा मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा महासङ्घका पदाधिकारीलगायत सहभागी थिए । 

हिमाल आरोहणबाट साढे २४ करोड आम्दानी, ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौं । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण-१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् । यस्तै अन्नपूर्ण-१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।

१२५ जना घाइते उपचारपछि घर फर्के, अझै ५ जना उपचाररत

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन् । प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा एक/एक जना गरी  पाँच जना हाल उपचाररत छन् । बाँकी सबै उपचार पश्चात् घर फिर्ता भएका मन्त्रालयले आज विज्ञप्तिमार्फत् जनाएको छ । आजै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलगायतको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूले निःशुल्क उपचार व्यवस्थापन गरिरहेको उल्लेख गर्दै घाइतेहरूको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजातसहित मन्त्रालयमा सोध भर्नाका लागि पठाउन अनुरोध गरेको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई हिल्टन होटलमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ ।  यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजर र माछापुच्छ्रे बैंकका कर्मचारीहरूलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।  बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । बैंकले १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । 

लोकतन्त्रभन्दा जेठो संस्था चेम्बरले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रभन्दा जेठो संस्था नेपाल चेम्बर अफ कमर्शले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभा एवम चेम्बर दिवस समुद्घाट्न कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 'चेम्बर आफै लगानीकर्ता हो, आफै निजी हो अनि आफै उद्यमी हो । देशभित्र देशबाहिरबाट यसले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ । यसका लागि चेम्बरलाई धन्यवाद छ,’ उनले भने ।  प्रधानमन्त्री ओलीले चेम्बरको खुलेरै प्रशंसा गरे ।  'चेम्बरले हालसम्म यो पुगेन त्यो पुगेन भनेको छैन । चेम्बरले सहीलाई सही गलतलाई गलत नै भन्ने गरेको छ । मलाई खुसी लागेको छ । चेम्बरसम्बन्धी नीति तथा कार्यक्रम सरकारले तपाईंले भने अनुसार नै ल्याउने छ । यसमा ढुक्क हुनुहोस्,’ उनले भने ।  चेम्बरले अन्तर्राष्ट्रियसतरमा आफ्नो स्थायित्वलाई विश्वका ७० देशमा विस्तार गरेकोमा समेत उनले धन्यवाद व्यक्त गरे ।  उनले बाहिर लगानीभन्दा स्वदेशमै लगानी गर्नुपर्नेमा जोड दिए । यसैगरी, प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हामी आफैले गर्नुपर्नेमा जोड दिए । 'सरकार तपाईंहरूसँग छ यसमा कुनै समस्या छैन । सरकार कमिसन खानका लागि हैन, देशको लागि हौं । सरकार दुखी गरिबका साथमा छ, शिक्षक उद्यमीलगायत सबैका लागि छ,’उनले भने ।