नयाँ वर्षमा एलिका ब्रान्डको उपहार : ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर
काठमाडौं । नयाँ वर्ष २०८२ मा एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अभियान ल्याएको छ । सिजी इलेकट्रोनिक्स अन्तर्गत सञ्चालन हुँदै आएको एलिका ब्रान्डले नववर्षको अवसर पारेर यो विशेष अफर सार्वजनिक गरेको हो । यस अभियान अन्तर्गत ग्राहकहरूले एलिकाका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहार प्राप्त गर्नेछन् । एलिकाका उपकरणहरूमा समावेश छन् – कुकटप, हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन, माइक्रोवेभ र चिम्नी, जसको खरिदमा ग्राहकले निःशुल्क सिजी इलेक्ट्रिकल केटल पाउनेछन् । अभियानको उद्देश्य भनेको ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । एलिका ब्रान्डका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च कार्यक्षमता र दीर्घकालीन टिकाउपना सुनिश्चित गर्छन् । ग्राहकहरूको सजिलोका लागि सिजी इलेकट्रोनिक्सले थप सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधामा समावेश छन् – १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, निःशुल्क जडान सेवा, र ० प्रतिशत ब्याजदरमा ईएमआई रहेका छन् । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि यस अभियानमा उपलब्ध छ । थप जानकारीका लागि ग्राहकहरूले क्यूआर कोड स्क्यान गर्न सक्नेछन्, जसबाट विस्तृत विवरण प्राप्त गर्न सकिनेछ र यो अफरको भरपुर फाइदा उठाउन सकिनेछ ।
अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि लगाएका भारी शुल्कहरूलाई रोक्ने घोषणा गरे । जसले बिहीबार संसारभरका क्षतिग्रस्त सेयर बजारहरूलाई उकालो लाग्न बाध्य पार्यो, यद्यपि उनले चीनसँगको व्यापार युद्धलाई भने अझ चर्काए । ट्रम्पले नयाँ ट्यारिफहरू ९० दिनका लागि स्थगित गरेका हुन् । बुधबार ट्रम्पले लिएका यो यु-टर्न जुन नयाँ उच्च ट्यारिफहरू अधिकांश व्यापार साझेदारहरूमा लागू भएको २४ घण्टा नपुग्दै आएको थियो । ट्रम्पको ट्यारिफले संसारभरको सेयर बजारमा प्रतिकूल असर गरेको थियो, जसले ट्रम्पको ध्यान तानेको देखियो । 'मलाई लाग्यो मान्छेहरू अलिकति लाइनबाट बाहिर गइरहेका थिए, यिनले उत्साहमा नियन्त्रण गुमाउँदै थिए,’ ट्रम्पले घोषणा पछि पत्रकारहरूलाई भने यो समाचारसँगै अमेरिकी सेयर सूचकांकहरू माथि गए, बेन्चमार्क एसएन्ड ५०० सूचकांक ९.५ प्रतिशतले बढेर बन्द भयो र राहतको लहर बिहीबार एसियाली सेयर बजारमा पनि देखियो, जहाँ जापानको निक्केई सूचकांक ८ प्रतिशतले उचालियो । तेलको मूल्य पनि करिब १ प्रतिशले घट्यो । जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले बारम्बार विभिन्न व्यापार साझेदारहरूमाथि दण्डात्मक कदमको धम्की दिएका छन्, तर तीमध्ये केही अन्तिम क्षणमा फिर्ता पनि गरेका छन् । यो 'कहिले हुन्छ, कहिले हुँदैन’ शैलीले विश्व नेताहरूलाई अलमलमा पारेको छ र व्यवसायिक कार्यकारीहरूलाई डराएको छ । अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले भने कि यो पछि हट्ने योजना पहिलेदेखि नै थियो, जसको उद्देश्य देशहरूलाई वार्ताको टेबलमा ल्याउनु थियो । तर ट्रम्पले अप्रिल २ पछि बजारमा देखिएको त्रासको अवस्थाले उनको सोचमा परिवर्तन गरेको बताएका छन् । आफ्नो नीतिहरू कहिल्यै नबदलिने भनेर दिनौंसम्म जोड दिँदै आए पनि उनले बुधबार पत्रकारहरूलाई भने, ’लचिलो हुनुपर्छ ।’ तर उनले चीनमाथि दबाव यथावत् राखे- जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र अमेरिकी आयातको दोस्रो ठूलो आपूर्तिकर्ता । ट्रम्पले चिनियाँ आयातमा ट्यारिफ तुरुन्तै बढाएर १२५ प्रतिशत पु¥याए, जुन बुधबार लागु भएको १०४ प्रतिशत स्तरभन्दा उच्च हो । अमेजनमा सामान बेच्ने चिनियाँ कम्पनीहरू अमेरिकी बजार छाड्ने तयारीमा अमेजनमा उत्पादनहरू बेच्ने चिनियाँ कम्पनीहरू अमेरिका बजारमा मूल्य वृद्धि गर्ने वा बजार नै छाड्ने तयारीमा छन्, चीनको सबैभन्दा ठूलो ई-कमर्स संघका प्रमुखले भनेका छन् । यो निर्णय ट्यारिफको 'अभूतपूर्व झट्का' पछि आएको हो । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले अन्य देशहरूमा लगाइएको ट्यारिफ फिर्ता लिए पनि चीनसँगको व्यापार युद्ध अझ चर्किएको छ । बुधबार चीनले अमेरिकाबाट आउने आयातमा ८४ प्रतिशत ट्यारिफ लगाएको थियो, ट्रम्पको अघिल्लो ट्यारिफ आक्रमणको जवाफस्वरूप । चीनले बारम्बार विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्धमा 'अन्तसम्म लड्ने' घोषणा गर्दै आएको छ । 'अहिले अमेरिका र चीन 'ब्रिंकम्यानसिप' को शक्ति खेलमा छन्,’ आईएनजीका विश्वबजार प्रमुख क्रिस टर्नरले भने । बेइजिङले तनावको जवाफस्वरूप युरोपियन युनियन र मलेसियासँग व्यापार सुदृढीकरणका लागि छलफल गरेको जनाएको छ । यद्यपि अष्ट्रेलियाले भने चीनको प्रस्ताव अस्वीकार गरेको छ- चीन अष्ट्रेलियाको प्रमुख व्यापार साझेदार हो । 'हामी संसारमा भइरहेको कुनै पनि प्रतिस्पर्धामा चीनसँग हातेमालो गर्ने छैनौं,’ अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचार्ड मार्लेसले स्काई न्यूजसँग भने । राज्य समर्थनको आशाले बिहीबार चिनियाँ सेयर बजारलाई केही स्थिरता दिएको देखिए पनि चिनियाँ मुद्रा युआन भने २००८ को वैश्विक आर्थिक संकटपछिकै सबैभन्दा कमजोर स्तरमा झरेको छ । ‘चीनलाई उक्साए’ अन्य देशहरूमा लगाइएको ट्यारिफबारे ट्रम्पको निर्णय पूर्ण रूपमा उल्टिएको भने होइन । ह्वाइट हाउसका अनुसार सबै अमेरिकी आयातमा १० प्रतिशतको ब्लान्केट ड्युटी यथावत रहनेछ । नयाँ घोषणाअनुसार कार, स्टील र एलुमिनियममा पहिले लागू गरिएको ट्यारिफहरूमा कुनै असर परेको छैन । ९० दिने रोक क्यानडा र मेक्सिकोका सामानहरूमा लागू हुने छैन किनभने यदि उनीहरूले यूएसएमसीएको उत्पत्ति नियमअनुसार सामान नपठाएमा ती सामानहरू अझै २५ प्रतिशत फेन्टानिल-सम्बन्धित ट्यारिफमा पर्ने छन् । यी ट्यारिफ तत्कालका लागि यथावत् रहनेछ तर यूएसएमसीए-अनुरूप सामानहरूलाई अनिश्चितकालीन छुट दिइएको छ । ट्रम्पका ट्यारिफले केहि दिनसम्मको बजार गिरावट निम्त्यायो, जसले वैश्विक सेयर बजारबाट ट्रिलियन डलरहरू गायब गर्यो र अमेरिकी ट्रेजरी बन्डहरू र डलरमा समेत दबाब पार्यो- यी सबै विश्व वित्तीय प्रणालीका मेरुदण्ड हुन् । क्यानडा र जापानले आवश्यक परेमा स्थायित्व दिन आफूहरू तयार रहेको बताएका छन्- जुन कार्य सामान्यतया संकटको समयमा अमेरिका स्वयंले गर्छ । विश्लेषकहरू भन्छन् कि सेयर मूल्यमा आएको अचानक वृद्धि पूरै क्षति मेटाउन पर्याप्त नहुन सक्छ । सर्वेक्षणहरूका अनुसार ट्यारिफको प्रभावको डरले व्यापार लगानी र उपभोग खर्चमा गिरावट आएको छ । एक सर्वेक्षण अनुसार चारमध्ये तीनजना अमेरिकीले आगामी महिनाहरूमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । गोल्डम्यान स्याक्सले ट्रम्पको पछिल्लो कदमपछि मन्दीको सम्भावना ६५ प्रतिशतबाट घटाएर ४५ प्रतिशतमा ल्याएको छ, यद्यपि बाँकी ट्यारिफहरूले अझै पनि कुल ट्यारिफ दर १५% ले बढाउने देखिएको छ । कोषाध्यक्ष स्कट बेसेन्टले बजारको हलचललाई बेवास्ता गर्दै भने, 'ट्रम्पको अचानक निर्णयले ती देशहरूलाई पुरस्कार दिएको हो जसले प्रतिकार नगर्नु ट्रम्पको सल्लाह सुने ।’ 'ट्रम्पले वार्ता गर्न बढी दबाब सिर्जना गर्न ट्यारिफ प्रयोग गरेका हुन् । यही उहाँको रणनीति थियो । र तपाईं भन्न सक्नुहुन्छ कि उहाँले चीनलाई नराम्रो स्थितिमा उक्साउनुभयो,’ उनले थपे । बेसेन्ट देश-देश अनुसारका वार्तामा मुख्य व्यक्ति हुन्, जसले आर्थिक विषय मात्र होइन, विदेशी सहायता र सैन्य सहयोगको विषय पनि सम्हाल्नेछन् । ट्रम्पले जापान र दक्षिण कोरियाका नेतासँग कुरा गरिसकेका छन् र भियतनामबाट आएको एक प्रतिनिधिमण्डलले बुधबार अमेरिकी अधिकारीहरूसँग व्यापारबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । ७५ भन्दा बढी देशले सम्पर्क गरेकाले वार्ता कति समय लाग्छ भन्ने प्रश्नमा बेसेन्टले केही खुलाएनन् । ट्रम्पले भने, 'चीनसँग समाधान सम्भव छ । चीन सम्झौता गर्न चाहन्छ । तर कसरी गर्ने भन्ने थाहा छैन उनीहरूलाई ।’ तर अधिकारीहरूले अन्य देशसँगको वार्तालाई प्राथमिकता दिने बताएका छन् ।
सुनको मूल्य तोलामा ५ हजार ७ सयले बढ्यो , बन्यो नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार रुपैयाँ ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० रुपैयाँ पुगेको छ ।
होटल ईच्छाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
काठमाडौं । बाराको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि होटल ईच्छाले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा होटलका सीईओ रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले हस्ताक्षर गरे । सम्झौतापत्रमा संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर तथा हिमालयन क्यापिटलका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराई समेत उपस्थित थिए । २०० करोड अधिकृत पुँजी र १५० करोड जारी पुँजी रहेको होटल ईच्छाले जारी पुँजीको २० प्रतिशत, अर्थात् ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो । २०७४ सालमा बाबा रामदेवबाट उद्घाटन गरिएको होटल ईच्छा २०७९ सालमा मधेश प्रदेशकै पहिलो पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको हो । आर्थिक वर्ष २०८०/८१ को श्रावण १ गतेदेखि यो होटल पब्लिक कम्पनीको रूपमा सञ्चालनमा आएको छ । व्यक्तिगत लगानीबाट सुरु गरिएको होटलले अहिले विभिन्न व्यवसायीक घरानाका व्यक्तिहरूलाई प्रवर्द्धकका रूपमा समेट्दै १२० करोड रुपैयाँ चुक्ता पुँजी बनाइसकेको छ । ५ विगाहाभन्दा बढी क्षेत्रमा फैलिएको होटलमा सुविधा सम्पन्न १०० कोठा, स्वीमिङ पुल, स्पा, क्यासिनो, क्लब हाउस, ब्याङ्क्वेट हललगायत सेवा-सुविधा उपलब्ध छन् । यस आर्थिक वर्षमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा अनुमति लिई, आगामी वर्षभित्र सर्वसाधारणमा सेयर निष्कासन गर्ने योजना रहेको प्रमुख प्रवर्द्धक वाग्लेले जानकारी दिए । हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय बनाउन नयाँ भवन निर्माण कार्य अघि बढाइएको छ । पाँचतारे क्यासिनो सेवा छुट्टै भवनबाट सञ्चालन गरिनेछ । भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गर्दै होटलको सञ्चालन जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । सोही अनुसार होटलको स्तरीकरण र रिनोभेसन कार्य तीव्र रूपमा भइरहेको छ । भारतको बिहार प्रदेशबाट डेस्टिनेशन म्यारिजका लागि परिचित यो होटलमा वार्षिक ३०–४० विवाह कार्यक्रमहरू सञ्चालन हुन्छन् । साथसाथै, क्यासिनो सेवा लिन आउने भारतीय पर्यटकहरूको हब पनि बन्दै गएको छ । सडक र हवाई मार्गबाट भारतसँगको दूरी नजिक भएकाले होटल भविष्यमा भारत–नेपाल ट्रान्जिटको मुख्य केन्द्र बन्ने सम्भावना रहेको र त्यसैले पाँचतारेमा स्तरोन्नती गरिएको वाग्लेले बताएका छन् ।
बजेटका सन्दर्भमा अर्थमन्त्रीसमक्ष सुझाव पेश, अवैध कारोबार नियन्त्रण र मूल्य सन्तुलनमा जोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि मोरङ उद्योग व्यापार संघले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी लगायत सरकारी पदाधिकारीलाई औपचारिक सुझाव पेश गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघका पूर्वअध्यक्ष नवीन रिजाल, उपाध्यक्ष अनिल सारडा लगायतको टोलीले सम्बन्धित मन्त्री तथा विभागीय प्रमुखसँग प्रत्यक्ष भेट गरी सुझावपत्र बुझाएको हो । अध्यक्ष राठीले सीमावर्ती बजारबाट हुने अवैध कारोबार तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै, खाद्यान्न र लत्ता कपडा जस्ता वस्तुहरूमा आयात शुल्क घटाएर नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्नुपर्ने सुझाव दिए । स्वदेशी उद्योगहरूलाई सहज बनाउन केही कच्चा पदार्थमा लगाइएका उच्च भन्सार दरलाई कम गर्नुपर्ने माग संघले राखेको छ । राठीले भन्सार दर परिमार्जन गर्नुपर्ने वस्तुको सूचीसहित सुझाव पेश गरे । बैंकहरूमा उपलब्ध तरलता कृषि, उद्योग, शिक्षा, पर्यटन लगायत क्षेत्रमा लगानी प्रवाह गर्ने नीतिहरू ल्याउनुपर्ने सुझाव पनि संघले दिएको छ । त्यसका लागि सम्भावित क्षेत्रहरूको सूचीसहितको प्रस्तुति पनि गरिएको थियो । संघले विकास खर्च बढाउनुपर्ने, आर्थिक वर्ष प्रारम्भको मिति परिवर्तन गर्नुपर्ने, अघिल्लो संकटकालमा लगाइएको आयात प्रतिबन्ध हटाउनुपर्ने, प्लास्टिक र रबर उद्योग स्थापना गर्न अनुकूल वातावरण बनाउनुपर्ने सुझाव दिएको छ । विराटनगरसम्मको रेलवे पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेको भन्दै हाल चार वस्तुमा सीमित बल्क कार्गोको दायरालाई बढाउन नेपाल–भारत सचिवस्तरीय बैठकमार्फत सन्धी संशोधनको माग गरिएको छ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना तथा विराटनगरको रिङरोड निर्माण कार्य सम्पन्न गर्न संघले बजेट विनियोजनको अनुरोध गरेको छ । संघले मौसमी भन्सार दर ल्याउन, स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न नीति बनाउन, आयात मूल्याङ्कनमा आधिकारिक बीललाई मान्यता दिनुपर्ने, रि-एक्सपोर्ट नीति विस्तार गर्नुपर्ने सुझावहरू पनि दिएको छ । बहुदरको मूल्य अभिवृद्धि कर व्यवस्था, व्यक्तिगत आयकर सीमा वृद्धि, निर्यातमा भन्सारमै अन्तःशुल्क फिर्ता, पूँजीगत सामग्रीमा अन्तःशुल्क हटाउने, र नेपाल–भारत सन्धीविपरीत असुलिने सीभीएफ जस्ता शुल्कहरू खारेज गर्नुपर्ने प्रस्ताव संघले राखेको छ ।
पियोर इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला
काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि पियोर इनर्जी कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । यसअघि कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । पियोर इनर्जीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सेयर बजारको अनलाइन प्रणाली 'मेरोसेयर' मार्फत वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ । पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जसमध्ये ८० प्रतिशत पुँजी संस्थापकहरूको स्वामित्वमा रहेको छ भने बाँकी २० प्रतिशत सेयर सर्वसाधारण समूहलाई निष्कासन गरिँदैछ ।
तामा किलोको १०० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ । यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर कन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।