बार एसोसिएसनमा डा. मिश्रको प्यानलै निर्वाचित, कसले कति मत पाए ?
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले विजयी भएका हुन् । नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेको छभने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो । निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन् । महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् । सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौं उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौं उपत्यका बाहिर), किरण पौडेल (काठमाडौं उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) रहेका छन् । बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
क्रिस्टिनारोक्का र ब्लस ब्युटीको ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ उपहार योजना सार्वजनिक
काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र ब्लस ब्युटीले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ नामक उपहार योजना सार्वजनिक गरेका छन् । यस योजनामा तीन–तीन जना गरी कुल ६ जना विजेताले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । क्रिस्टिनारोक्का इटालीमा उत्पादित एक प्रिमियम यूरोपियन सौन्दर्य ब्रान्ड हो जसले उच्च गुणस्तरीय सौन्दर्य सामग्रीहरू उत्पादन गर्दै आएको छ । यस ब्रान्ड अन्तर्गत क्रिस्टिनारोक्का लिपस्टिक, लिप ग्लोस, भोल्युम मस्करा र लिप आयल जस्ता उत्पादनहरू उपलब्ध छन् । यी उत्पादनहरू महिलाको आत्मविश्वास र सौन्दर्यलाई उजागर गर्न विशेष रूपमा डिजाइन गरिएका छन् । त्यस्तै, ब्लस ब्युटी भारतमा उत्पादित एक प्रमुख सौन्दर्य ब्रान्ड हो जसले गिल्टर आइ शाडो प्यालेट, लिक्विड लिपस्टिक, म्याट लिप ग्लोस, कम्प्याक्ट पाउडर र क्रीम ब्लशर जस्ता उत्पादनहरू बिक्री गर्दै आएको छ । यी सबै उत्पादनहरू आधुनिक सौन्दर्य प्रवृत्तिलाई ध्यानमा राखेर तयार गरिएका छन् । उपहार योजनामा सहभागी हुन इच्छुकहरूले क्रिस्टिनारोक्का र ब्लस ब्युटीको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजलाई लाइक र फलो गर्नु पर्नेछ । साथै, ती पेजहरूमा प्रकाशित भएका पोस्टलाई आफ्नो स्टोरीमा सेयर गरी ४ जना सौन्दर्य प्रेमी साथीहरूलाई ट्याग गर्नुपर्नेछ । अभियान समाप्त भएपछि लक्की ड्र मार्फत ६ जना विजेताको चयन गरिनेछ । विजेताहरूको घोषणा दुवै ब्रान्डका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिनेछ । कम्पनीका तर्फबाट यो अभियान सौन्दर्य, आत्मविश्वास र नयाँ सुरुवातको सन्देश बोकेको विशेष उपहार योजना हो, जसले नेपाली ग्राहकहरूलाई उत्साहित गर्ने विश्वास लिइएको छ ।
साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
काठमाडौं । टेस्लाले बिहीबारदेखि साउदी अरेबियामा कार बेच्न सुरु गरेको छ । यो देशको राजधानी रियाद र पवित्र सहर मक्का जोड्ने ९०० किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गमा एउटा पनि चार्जिङ स्टेशन छैन । टेलिमेट्री विश्लेषक साम अबुएल्सामिदका अनुसार गत वर्ष साउदी अरेबियामा जम्मा २ हजारवटा मात्र इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन संख्या टेस्लाले सामान्य दिनमा बिहानदेखि बेलुकासम्म बेच्ने कारभन्दा पनि कम हो । तर साउदी अरेबियासँग विद्युतीय सवारीसाधन (ईभी) को लागि ठूलो योजना छ, जुन टेस्लाले हालसम्म उपयोग गर्न सकेको छैन । यसको एउटा कारण टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र साउदीको शक्तिशाली पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) बीच सन् २०१८ देखि चलिरहेको विवाद हो । तर नयाँ राजनीतिक परिस्थितिले मस्कलाई त्यो सम्बन्ध सुधार्ने अवसर दिएको छ । रियाद र मस्कबीचको सम्बन्ध त्यसबेलादेखि सुधारिएको देखिन्छ, जब मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानमा महत्त्वपूर्ण भूमिका निभाए र त्यसपछि उनको प्रशासनको उच्च पदमा पुगे । राष्ट्रपति ट्रम्प केही हप्ताभित्रै साउदी अरेबियाको पहिलो विदेशी भ्रमणमा आउन लागेका छन्, यो साउदीका लागि एउटा ठूलो उपलब्धी मानिँदैछ । उनले जनवरीमा साउदीलाई अमेरिकी अर्थतन्त्रमा चार वर्षभित्र १ ट्रिलियन डलर लगानी गर्न आग्रह गरेका थिए, जसमा सैन्य खरिद पनि समावेश छ । 'धेरै व्यवसायीहरू ट्रम्पको खाडी भ्रमणअघि आफ्नो कम्पनीलाई कसरी पोजिसन गर्ने भन्नेबारे सोंचिरहेका छन्,’ वाशिङ्टनस्थित अरब गल्फ स्टेट्स इन्स्टिच्युटका वरिष्ठ अध्येता रोबर्ट मोगिएल्निकीले भने । 'म अनुमान गर्छु, टेस्ला ट्रम्पको भ्रमणअघि साउदी बजारमा आफ्नो झण्डा गाड्न चाहन्छ र त्यसपछि त्यसको फाइदा लिन खोज्नेछ,’ उनले थपे । छुट्दै अवसर मस्कलाई अहिले ऊर्जा र प्रेरणाको खाँचो छ । टेस्लाको पहिलो त्रैमासिक बिक्रीमा यस महिनाको सुरुमा १३ प्रतिशत गिरावट आएको छ, जुन लगभग तीन वर्षयताकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसको कारण मस्कको राजनीतिक धारणाप्रति असन्तुष्टि, बढ्दो प्रतिस्पर्धा र मोडेल वाईको ढिलाइ हुन् । तर विशेषगरी पीआईएफका प्रमुख यासिर अल–रुमाय्यानसँगको सार्वजनिक विवादपछि मस्कले साउदीमा अझै काम गर्न बाँकी छ । यो विवाद २०१८ मा मस्कले 'टेस्लालाई निजीकरण गर्न लगानी सुरक्षित भएको छ’ भनेर ट्वीट गरेपछि सुरु भयो । त्यो भनाइपछि वास्तविकता नदेखिएपछि लगानीकर्ताहरूले मुद्दा हालेका थिए । त्यस क्रममा मस्क र रुमाय्यानबीचका तनावपूर्ण म्यासेजहरू सार्वजनिक भएका थिए । त्यसपछि मस्कले साउदीको भिजन २०३० अन्तर्गत विविधीकरणको लागि गरिएको अर्बौं डलरको ईभी लगानी अवसर गुमाए । पीडब्ल्यूसीको २०२४ को रिपोर्टअनुसार साउदीले ईभी विकासका लागि करिब ३९ अर्ब डलर लगानी गरिरहेको छ । टेस्लाको साउदी डेब्यु चिनियाँ कम्पनी बीवाईडीको भन्दा ढिलो भयो, जसले मे २०२४ मा नै रियादमा आफ्नो शोरुम खोलेको थियो । यस्ता छन् चुनौती साउदी अरेबियामा टेस्ला आएसँगै उसले अब केही ठूला चुनौतीहरू सामना गर्नुपर्नेछ- यद्यपि मस्कको राजनीतिविरुद्ध युरोप र अमेरिकाजस्तो प्रदर्शन यहाँ नहोला। चुनौतीमा मुख्यतः चार्जिङ स्टेशनको अभाव र गर्मी पर्छ । गर्मी त कहिलेकाहीँ ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ, जसले ईभी ब्याट्रीको द्रुत खपत गराउँछ । मतलब ब्याट्रीको चार्ज चाँडै सकिन्छ । २०२४ सम्म साउदीमा जम्मा १०१ वटा ईभी चार्जिङ स्टेशन छन्, जबकि छिमेकी दुबैमा मा २६१ वटा छन्, त्यो पनि साउदीको एक तिहाइ जनसंख्या भएको देश । अधिकांश स्टेशनहरू सहरहरूमा मात्र छन्, जसले गर्दा लामो दुरीको यात्रा गर्न कठिन हुन्छ । 'मलाई लाग्छ चार्जिङ नै सबैभन्दा ठूलो चिन्ता हो,’ साउदीका लागि बीवाईडीका महाप्रबन्धक कार्लोस मोन्टेनेग्रोले भने, 'यहाँका ड्राइभरहरूले अन्य देशको तुलनामा धेरै किलोमिटर चलाउँछन् ।’ उनका अनुसार साउदीमा बीवाईडीले बेच्ने झण्डै ७० प्रतिशत कारहरू हाइब्रिड हुन्छन्, शुद्ध ईभी होइनन् । बीवाईडीको शोरुममा कार हेर्दै गरेका साउदी नागरिक फाहद अब्दुलहमानले भने, 'म धेरै ड्राइभ गर्छु, मेरो वार्षिक औसत ५० हजार किलोमिटरभन्दा बढी छ । मलाई लाग्छ ईभी त्यसका लागि उपयुक्त हुँदैन ।’ भविष्यको तयारी रियादले ठूलो विकास योजना बनाएको छ, जसअनुसार सन् २०३० सम्म ईभीको ३० प्रतिशत अपनत्व पुर्याउने लक्ष्य छ । यसका लागि साउदी सरकारले इलेक्ट्रिक भेहिकल इन्फ्रास्ट्रक्चर कम्पनी गठन गरेको छ, जसले चार्जरहरूको संख्या ५ हजार पुर्याउने लक्ष्य राखेको छ- जुन अहिलेको तुलनामा ५० गुणा बढी हो । 'साउदी अरेबियामा ईभीको अपनत्व चीनजस्ता अग्रणी देशको तुलनामा कम नै रहनेछ, तर आगामी वर्षहरूमा वृद्धिको सम्भावना भने देखिन्छ,’ मोर्निङस्टारका इक्विटी विश्लेषक सेथ गोल्डस्टिनले भने,' द्रूत चार्जरहरू बनाइँदै जाँदा र लामो रेन्जका किफायती ईभीहरू बजारमा आउँदा माग बढ्नेछ ।’
स्मार्ट जीवनशैलीका लागि माइडियाको नयाँ अभियान, उपहार र क्यासब्याक पाइने
काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा 'स्मार्ट जीवनको नयाँ युग' अभियान सुरु गरेको घोषणा गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूलाई थुप्रै अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गरिनेछ, जसले स्मार्ट जीवनशैलीलाई अझ सुलभ र पहुँचयोग्य बनाउनेछ । अभियानको हिस्सा स्वरूप, माइडियाले जीवनशैलीमा सहजता ल्याउने नवीन र उपयोगी उत्पादनहरूको श्रृंखला सार्वजनिक गर्दैछ। ग्राहकहरूले बम्पर लक्की ड्रमा ५१९ लिटरको मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्नेछन् । त्यसैगरी, मासिक लक्की ड्र अन्तर्गत माइडिया को ८ किलो क्षमताको वाशिङ मेसिन जित्न सकिनेछ । सुनिश्चित उपहार स्वरूप वाशिङ मेसिन वा डीडी रेफ्रिजेरेटर खरिद गर्दा माइडियाराइस कुकर प्रदान गरिनेछ । अभियान अन्तर्गत थप उपहारहरूमा साइडबाइसाइड वा मल्टिडोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट, तथा डिशवाशर खरिदमा २ वटा डिशवाशर ट्याब्लेट उपलब्ध गराइनेछ। साथै, ग्राहकहरूले आफ्नो खरिदमा अधिकतम ३७ हजार ७०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी उपहार र अफरहरू प्राप्त गर्न ग्राहकले अभियान सामग्रीमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो खरिद दर्ता गर्नुपर्नेछ । माइडियाले नवीन प्रविधि र उच्च गुणस्तरीय उत्पादनहरूमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज, सुरक्षित र स्मार्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ। यो योजना चैत २७ गतेदेखि लागू गरिएको छ ।
मन्त्री पौडेलको सक्रियताप्रति न्यूयोर्कमा सकारात्मक प्रतिक्रिया, थप सहकार्यको अपेक्षा
काठमाडौं । अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरु आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता रहेको बताए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सकारात्मक प्रयास भैरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए । वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको भन्दै कार्यान्वयन प्रभावकारी बनाउन सकिए स्वास्थ्य बीमा सुधार, अस्पताल सुधार आदि प्रभावकारी हुने बताए । मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए । संयुक्त राष्ट्रसंघको जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागीता जनाए । साथै, माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीसँग भेटवार्ता गरेर नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पीजी अध्ययन गराउनका आवश्यक तयारी भैरहेको भन्दै छिट्टै सम्झौता अघि बढ्ने विश्वास गरेका थिए । मन्त्री पौडेलले आयोगको सत्रमा सम्बोधन गर्दै नेपालले मातृ शिशु स्वास्थ्यमा सुधार तथा मृत्युदरमा तीन दशकमा उल्लेखनीय सुधार गरेको भन्दै थप प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि आग्रह गरेका थिए ।
घर किन्दै हुनुहुन्छ ? महालक्ष्मी विकास बैंकले ल्यायो ७.९९ प्रतिशतमा घर कर्जा
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकहरूका लागि आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिदका लागि ७.९९ प्रतिशत मात्र ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ योजना ल्याएको हो । बैंकले यस कर्जालाई वातावरणमैत्री घर निर्माणलाई प्राथमिकता दिँदै, नवीकरणीय तथा दिगो स्रोतहरूको प्रयोग हुने घरहरूमा कर्जा प्रवाह गर्ने जनाएको छ । यसले वातावरण संरक्षण, दिगो विकासको प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशिका पालना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन बिजनेस कनेक्ट बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेको बैंकले आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ लाई परिष्कृत गर्दै थप स्मार्ट सेवा प्रदान गरिरहेको छ ।
अब चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ’ उनले भने । चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे । साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए । कोषका सदस्य सचिव डा नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए । उनले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराए । कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संबर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले गरे त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालको राजीनामा प्रधानमन्त्री तथा त्रिविको कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकुलपति बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । जुन बिहीबार स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएलगत्तै प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समन्वय गर्न अनुरोध पनि गरेका छन् ।