पञ्चकन्या समूहले गर्यो रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना, ४७७ जना लाभान्वित
काठमाडौं । पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविरको आयोजना गरेको छ । सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको हो । यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर क्यान्सर अस्पतालका डा. उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो । कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरुकता बढाउनमा पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ । पाँचदेखि नब्बे वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा २०३ वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए । यस जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । १९ जनामा लक्षणहरू देखा परेको र थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । यस शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथाङ्गक कम्पनीले सार्वजनिक गरेको छ । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरू प्रतिको समर्पणलाई यस शिविरले पुनः पुष्टि गरेको बताएका छन । पञ्चकन्या समूह नेपालको एक अग्रणी औद्योगिक समूह हो, जुन पाइप, फिटिङ, निर्माण सामग्री र निर्माणमा क्षेत्रमा उत्कृष्टताको लागि आमग्राहकमाझ परिचित छ । दिगोपन र संस्थागत सामाजिक उत्तरदायित्वमा बलियो ध्यान केन्द्रित गर्दै कम्पनीले स्वास्थ्य, शिक्षा, र वातावरणीय दिगोपनमा विभिन्न काम गर्दै आइरहेको छ ।
घरजग्गामा बैंकहरूको ब्याजदर हालसम्मकै न्यून, १० प्रतिशत बढ्यो ऋण
काठमाडौं । ब्याजदर घटेसँगै बैंकहरूले घरजग्गामा लगानी बढाएका छन् । बैंकहरूको ब्याजदर एकल अंकमा पनि न्यून अंकमा झरेसँगै वाणिज्य बैंकहरूले घरजग्गामा झण्डै साढे २ खर्ब रुपैयाँ बराबर लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको फागुनसम्ममा बैंकहरूले २ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले १०.०८ प्रतिशत अर्थात् २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ घरजग्गामा कर्जा बढाएका हुन् । साथै फागुनमा बैंकहरूको घरजग्गामा प्रवाह हुने कर्जाको औसत ब्याजदर ८.७२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त ब्याजदर २०७० असार यताकै न्यून हो । समीक्षा अवधिमा कुमारी बैंकले घरजग्गा क्षेत्रमा आक्रामक रूपमा कर्जा लगानी बढाएको छ । फागुनसम्म कुमारीले १४१२.१७ प्रतिशत अर्थात् ८ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बढाएर ८ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको हो । गत वर्षको फागुनमा बैंकले ५७ करोड ४६ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । यस्तै, लक्ष्मी सनराइज बैंकले ४५.५७ प्रतिशत बढाएर १५ अर्ब १० करोड रुपैयाँ, प्राइम बैंकले २८.१० प्रतिशत बढाएर २१ अर्ब ६९ करोड रुपैयाँ, एभरेष्ट बैंकले २६.६३ प्रतिशत बढाएर ७ अर्ब ९४ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले २६.१२ प्रतिशत बढाएर १८ अर्ब ४७ करोड रुपैयाँ, एनएमबि बैंकले २३.९१ प्रतिशत बढाएर ५ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन्स बैंकले १६.२३ प्रतिशत बढाएर ५ अर्ब ४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १६.१३ प्रतिशत बढाएर १ अर्ब ८५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले १५.८८ प्रतिशत बढाएर १ अर्ब ९१ करोड रुपैयाँ, प्रभु बैंकले ७.९३ प्रतिशत बढाएर १४ अर्ब २९ करोड रुपैयाँ, नबिल बैंकले ५.५६ प्रतिशत बढाएर २३ अर्ब ९३ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.५६ प्रतिशत बढाएर ८ अर्ब ३० करोड रुपैयाँ, सानिमा बैंकले २.१२ प्रतिशत बढाएर ६ अर्ब १ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १.३२ प्रतिशत बढाएर ९ अर्ब ८६ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । समीक्षा अवधिमा आधा दर्जन बैंकले भने घरजग्गामा लगानी घटाएका छन् । यसअवधिमा एनआईसी एशिया बैंकले ११.६० प्रतिशत घटाएर २६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्षको फागुनमा बैंकले २९ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको थियो । यस्तै, हिमालयन बैंकले १०.३४ प्रतिशत घटाएर १२ अर्ब ६२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १०.३० प्रतिशत घटाएर ४ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ४.१२ प्रतिशत घटाएर ४ अर्ब ७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकले ३.४९ प्रतिशत घटाएर २४ अर्ब ७३ करोड रुपैयाँ र नेपाल बैंकले २.२५ प्रतिशत घटाएर १४ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकले पैसा तान्नेभन्दा लगानी कसरी बढाउने भन्नेतर्फ सोच्नुपर्छ : वरिष्ठ उपाधयक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंकहरुबाट पैसा खिच्नेभन्दा पनि लगानी बढाउने विकल्प खोज्नुपर्ने बताएका छन् । बिहीबार महासंघको ५९औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय लगानीको अवस्था निकै कमजोर रहेको बताउँदै राष्ट्र बैंकले थप लगानीको वातावरण सिर्जना गर्नतर्फ सोच्चुपर्ने धारणा राखे । ‘अहिलेको परिस्थितिमा लगानी गर्न निजी क्षेत्र आर्कर्षित हुन सकिरहेको छैन, कुनै पनि क्षेत्रमा लगानी नै भएको छैन् भन्दा पनि हुन्छ, सरकारको तर्फबाट प्रयासहरु भने भइरहेका छन् तर ती प्रयास प्रयाप्त छैन,’ उनले भने । सरकारले नियमावली र कार्यविधिहरु संशोधन गर्ने काम भइरहेको बताए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको धारणा राखे । उनले बैंकहरुले पनि रिकभरीलाई प्राथमिकता दिइरहेको बताउँदै लगानीका लागि विकल्प नखोजेको बताए । पछिल्लो २ महिनादेखि व्यापारमा केही सुधार हुनु राम्रो संकेत भएपनि तत्काल व्यापारमा ठूलो परिवर्तन आउने सम्भावना भने नभएको उनको भनाइ छ । ‘सरकारले अध्यादेशमार्फत ५ वटा ऐनहरु संशोधन गर्यो, सरकारले ल्याउने नीतिहरुले लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन मिल्छ,’ उनले भने । यस्तै, सडक सञ्जालको अवस्था दयनीय रहेको सुनाउँदै सरकारले सडक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनले विगतमा उद्योगहरुमा विद्युत आपुर्तिको समस्या भएपनि पछिल्लो समय केही सुधार भएको सुनाए । उनले निर्माण व्यवसायलाई दिनुपनुपर्ने बक्योता रकम तत्काल भुक्तानी गर्न पनि आग्रह गरे ।
'बजेटमा अनुदान नीति पुनरावलोकन गर्नू, उत्पादन र रोजगारी वृद्धि गर्ने नीति ल्याउनू'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने बताएका हुन् । शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्रामथिकतामा राख्न निर्देशन दिँदै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिए । नेपाल सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामाी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुनेछ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरुसहितको छलफल बोलाएका थिए । ‘सुशासन कायममा कुनै सम्झौता गर्नु हुँदैन । राजस्व संकलनमा बदमासी पाइएमा संलग्न जो कोहीलाई तुरुन्त कारवाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि नै जनताको विकासमा खर्च गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्रोतको आधारमाविना बजेट ल्याइएको हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’ आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न नमिल्ने उनको भनाइ छ । ‘बजेट जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउनुपर्छ, अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्छ, उद्यमशीलताको विकास गर्नुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने र भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेजस्ता बेथिति सुधारेर विधि र मापदण्डका आधारित रही बजेट तर्जुमामा आफूहरु लागेको जानकारी गराए । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व संकलन ५५ प्रतिशत, कुल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।
विश्वकै उत्कृष्ट ४४ औं क्लबमा एलओडी
काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् ’लर्ड अफ द ड्रिङ्क्स् विश्‍वकै उत्कृष्ट क्लबमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडीलाई ४४ औं स्थानमा छानेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्नेगर्छ । एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओड छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’ सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ । विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए । मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए । कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४ औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।
सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । विश्वकै प्रतिष्ठित अवार्ड 'बैंक अफ द ईयर २०२४' को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यामाहा ब्लु फेस्ट २०८२ : भृकुटीमण्डपमा एक्सचेन्ज अफर, बाइक किन्दा १ लाख रूपैयाँसम्मको नगद छुट
काठमाडौं । नेपाल - यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित 'यामाहा ब्लु फेस्ट' महोत्सव बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सप्ताहव्यापी यस उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिती देखिएको थियो । विशेष एक्सचेन्ज अफरहरू एक्सचेन्ज अवसर : कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरलाई यामाहाका नयाँ मोडेलसँग सजिलै एक्सचेन्ज गर्न सकिन्छ । न्यूनतम मूल्याङ्कन : यामाहा बाइक वा स्कुटरमा ५०,००० रूपैयाँसम्मको न्यूनतम मूल्याङ्कन सुनिश्चित गरिएको छ । अतिरिक्त मूल्याङ्कन बोनस : एक्सचेन्ज गर्दा अतिरिक्त १०,००० रूपैयाँको मूल्याङ्कन बोनस प्राप्त गर्न सकिन्छ । सस्तो वित्तीय सुविधा : ७.९९ प्रतिशतको ब्याजदरमा वित्तीय सुविधा उपलब्ध छ, कुनै ग्यारेन्टर आवश्यक छैन । 'थ्रिल अफ थ्री' योजना : यामाहा बाइक खरिद गर्दा १ लाख रूपैयाँसम्मको नगद छुटको अवसर अन्य आकर्षणहरू स्मार्ट हेलमेटहरू : डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका टेस्ट राइड र उपहारहरू : यामाहा मोडेलहरूको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू जित्ने अवसर गेमिङ जोन : एक्शनप्याक फन र प्रतियोगिताहरूमा सहभागी हुने मौका फेस पेन्टिंग : फेस पेन्टिंग सेवाको आनन्द लिन सकिन्छ सांस्कृतिक कार्यक्रम : महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत ऊर्जावान पर्फर्मेन्सहरू फ्री एक्सेसरिज : यामाहा बाइक खरिद गर्दा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सकिन्छ प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएको छ, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर 'फ्येजर एफआई' प्रमुख आकर्षण हो । यस 'यामाहा ब्लु फेस्ट' ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको कम्पनीकाे भनाइ छ ।
सेयर बजार र मोबाइल वालेटमा पनि ठगी, साइबर ब्यूरोले दियो यस्तो सुझाव
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।