विकासन्युज

नेपाली सेनामा भर्ना खुला : २,६०० भन्दा बढी जनशक्ति माग, वैशाख २७ सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको जनाएको छ । सेनाले प्रकाशन गरेको सूचनाअनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि इच्छुक उम्मेदवारहरूले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन सक्नेछन् । उम्मेदवारहरूले वैशाख २७ गतेसम्म नियमित रूपमा आवेदन दिन सक्नेछन् । यदि तोकिएको समयमा आवेदन दिन नभ्याएमा दोब्बर दस्तुर तिरेर थप ७ दिन, अर्थात् जेठ ३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेनाले तोकेको न्यूनतम शैक्षिक योग्यता अनुसार, उम्मेदवारले कम्तीमा कक्षा ८ पास गरेको हुनुपर्नेछ । यस अतिरिक्त, शारीरिक मापदण्डमा पुरुषका लागि ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ । नेपाली सेनामा सेवा गर्न चाहने युवायुवतीहरूका लागि यो एक महत्वपूर्ण अवसर हो । योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवश्यक कागजातसहित आवेदन दिन सेनाले अनुरोध गरेको छ ।

राजावादी हुलदंगाको क्षतिमा साढे ५ करोडको दावी, शिखरले मात्रै गर्‍यो भुक्तानी

काठमाडौं । गत चैत्र १५ गते राजावादी समर्थकहरूले गरेको आन्दोलनमा भएको हुलदंगाका कारण भएको क्षतिमा शिखर इन्स्योरेन्सले क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ । कम्पनीले ५ वटा दाबीमा ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चैत्र २६ गतेसम्ममा १२ निर्जीवन बीमा कम्पनीमा ५ करोड ४९ हजार ४२१ रुपैयाँको ५० वटा दाबी परेको छ । जसमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ । उक्त कम्पनीमा १ करोड २७ लाख रुपैयाँको २ वटा दाबी परेको छ । धेरै दाबी पर्ने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ । सिद्धार्थमा १ करोड १७ लाख ९५ हजार रुपैयाँको ९ वटा दाबी परेको छ ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार ४१३ रुपैयाँको ७ वटा दाबी परेको छ । त्यस्तै, नेको इनस्योरेन्समा ५२ लाख रुपैयाँको ४ वटा, ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार रुपैयाँको एउटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँको २ वटा, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँको ११ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ । त्यसैगरी, आईजीआई प्रुडेन्सियलमा १७ लाख ६० हजार रुपैयाँकाो ६ वटा,  नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार रुपैयाँको एउटा, सानिमा जीआईसी इन्स्योरेन्समा ६ लाख रुपैयाँको एउटा र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँको एउटा दाबी परेको छ ।  क्षतिको दाबी परेको १२ कम्पनीमध्ये भुक्तानी गर्ने कम्पनी शिखर मात्रै हो । अन्य ११ कम्पनीले दाबी रकम भुक्तानी गरेका छैनन् ।  सबैभन्दा बढी दाबी सम्पत्ति बीमाको  गत चैत्र १५ गते भएको राजावादीहरूको प्रदर्शनीमा भएको क्षतिबाट सबैभन्दा बढी बीमा कम्पनीमा सम्पति बीमाको दाबी परेको छ । १२ कम्पनीमा ३ करोड १९ लाख ५२ हजार ६१४ रुपैयाँ बराबरको २१ वटा बीमा दाबी परेको छ । त्यसपछि दोस्रोमा मोटर बीमा (निजी) को दाबी परेको देखिन्छ ।  कम्पनीहरूमा १ करोड ६ लाख ४५ हजार रुपैयाँको २२ वटा दाबी परेको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिमको ३७ लाख, मोटर बीमा सार्वजनिक २७ लाख ५० हजार रुपैयाँ र विविधमा १० लाख  १ हजार १३० रुपैयाँको बीमा दाबी परेको छ । 

नेप्सेमा निजी क्षेत्रलाई सहभागी गराउन सुझाव, हाइड्रोको आईपीओ रोक्नुपर्ने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको छ । शुक्रबार आयोगले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन बुझाउँदै नेप्सेको  पुँजीवृद्धि गर्नुका साथै निजी क्षेत्रलाई सेयर सहभागिता गराउनु पर्ने सुझाव दिएको हो ।  आयोगले नेप्सेसँगै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पनि पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्ति सहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो ।  यस्तै, जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्काशन गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव आयोग छ । अहिले कम्पनी सुरु हुँदै आईपीओ जारी गर्ने अभ्यास छ ।  सरकारी वित्तमा चाप परेको स्थिति र पुँजीबजार प्रति बढ्दो जनचासोसँगै इच्छुक लगानीकर्ताहरू रहेको सन्दर्भमा सरकारी संस्थानहरूलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरी निजी क्षेत्रलाई सेयर बिक्री गर्नु पर्ने, यस्तो सरकारी संस्थानमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । यस्तै, नागरिकता परिचय पत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने, लगानीकर्ताले दोस्रो बजारमा सेयर खरीद गर्न भित्र्याएको रकमको एक वर्षमा दुई पटक पचास प्रतिशतसम्म रकममात्र फिर्ता लान सक्ने व्यवस्था गर्ने र धितोपत्र ऐन, २०६३ मा संशोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नु पर्ने सुझाव दिएको छ ।  नेपाल चार्टर एकाउन्टेण्ट्स संस्था, नेपाल उद्योग वाणिज्य संघ र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधित्व हटाउनु पर्ने, हाल एक जना मात्र विज्ञ राख्ने व्यवस्था रहेकोमा दुई जना राख्ने व्यवस्था गर्ने र धितोपत्र कारोवारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । पुँजीबजारको विस्तारसँगै नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डमा पर्याप्त जनशक्तिको व्यवस्था सहित कार्यक्षमता अभिवृद्धिको लागि स्वायत्तता प्रदान गर्ने, ठूलो स्तरको सेयर कारोवारमा लाग्ने कारोवार शुल्क कम गर्ने, वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने । यसको लागि पब्लिक वेयर हाउजिङ ऐन जारी गर्ने र निजी क्षेत्रका उत्पादनमूलक कम्पनीलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहज बनाउन शेयर तथा बण्ड जारी गर्ने लागत घटाउनु पर्ने र प्रक्रिया सरलीकृत गर्नु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशनकाे लागि पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनु पर्ने सुझाव आयोगको छ ।

भिभो वाई-२९ नेपाली बजारमा ल्याउने तयारी

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले लोकप्रिय वाई-सिरिज अन्तर्गतको नयाँ मोडेल भिभो वाई–२९ छिट्टै नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । यो फोन वाई–२८ को सफल यात्रालाई अगाडि बढाउँदै, नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि स्टाइल र पावरको संयोजन लिएर आएको छ । कम्पनीका अनुसार भिभो वाई–२९ केवल प्रविधिको कुरा होइन, यो एक फैशनेबल स्टेटमेन्ट पनि हो । आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेम मा तयार गरिएको यो फोन नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंगमा उपलब्ध हुनेछ, जसलाई फेसनप्रेमीहरूले मनपराउँनेछन् । यस फोनको प्रमुख विशेषता यसको ६५०० एमएएच ब्याट्री हो, जसमा ४४ वाटको फ्ल्यास चार्जिङ सुविधा छ । साथै, क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट र ८. ८ जिबी र्याम को संयोजनले मल्टीटास्किङलाई सहज बनाउने कम्पनीले जनाएको छ । ५० एमपी को मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको लो ब्लू लाइट डिस्प्ले, र ४००५ अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरले गेमिङ, स्ट्रिमिङ र भिडियो कलिंगको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ। कम्पनीका अनुसार भिभो वाई–२९ अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने तयारीमा छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरूका आवश्यकता बुझ्दै, यो फोन थप स्मार्ट, स्टाइलिश र शक्तिशाली बनाइएकाले नेपाली बजारमा यसको चर्चा चुलिएको छ।

जापानी राजदूत मेएडाले गरे केएनपी कारखानाको अवलोकन

काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूले हालैको वीरगञ्ज भ्रमणका क्रममा बहुराष्ट्रिय संयुक्त लगानीमा सञ्चालित केएनपी जापानको कारखानाको अवलोकन गरेका छन् । राजदूत मेएडालाई केएनपी जापानका निर्देशक अशोक कुमार बैद्य, प्रबन्धक प्रवीण जाधव तथा अन्य कर्मचारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा सम्पूर्ण कारखानाको उत्पादन प्रक्रिया र कार्य प्रणालीबारे जानकारी दिइएको थियो । राजदूत मेएडाले जापान, भारत र नेपालको साझेदारीमा सञ्चालित यस उद्योगको कार्यशैली र उत्पादनको गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो त्रिपक्षीय सहकार्यले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभव सकारात्मक रहेको उल्लेख गर्दै, भविष्यमा अझ बढी जापानी लगानी भित्रिने अपेक्षा व्यक्त गरे । साथै, यस्ता बहुराष्ट्रिय उद्योगका प्रतिस्पर्धात्मक क्षमतालाई बढावा दिन नेपाल सरकारले नीति तथा संरचनात्मक सुधारमा तदारूकता देखाउनेमा आशावादी रहेको बताए । केएनपी जापानमा यसअघि पनि दुईजना जापानी राजदूतहरूले अवलोकन भ्रमण गरिसकेका छन् ।

दुर्गा प्रसाईं पक्राउको विषयमा प्रहरीले किन बोल्यो झुट ?

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको भन्ने खबर बिहीबार साँझ सञ्चारमाध्यममार्फत सार्वजनिक भयो । विभिन्न सञ्चारमाध्यमले प्रसाईं पक्राउ परेको भन्दै खबर सार्वजनिक गरेपछि नेपाल प्रहरीले त्यसको खण्डन गर्दै उनी पक्राउ नभएको जानकारी गरायो । प्रहरीले विज्ञप्ति नै जारी गरेर भन्यो, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरु प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विभिन्न आपराधिक घटनामा संलग्न फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्रा नपरोके हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनहुन सबैमा अनुरोध गर्दछौं ।’ सञ्चारमाध्यममा प्रसाईं पक्राउ भएको समाचार सार्वजनिक भएपछि उनी पक्राउ भए भनेर विश्वास गरेका सर्वसाधारणले पछि प्रहरीको उक्त विज्ञप्तिपछि भने उनी पक्राउ नभएको भन्दै विश्वस्त भए । तर, दुगाई प्रसाईं भने प्रहरीको फन्दामा परिसकेका थिए । तर, प्रहरीले भने उनी पक्राउ नै नपरेको झुट सार्वजनिक गर्‍यो । यो विषयमा अहिले प्रहरीले किन झुट बोलेको भन्ने चासो अधिकांशको छ । हामीले नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यलाई प्रसाईं पक्राउ भएपछि पनि प्रहरीले किन झुट बोल्ने भन्ने प्रश्न हामीले गर्‍याैं । उनले जवाफमा भने, ‘दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको होइन, हामीले नेपालको सीमाभित्र भएको घटनाक्रमलाई मात्रै औपचारिक रूपमा भन्न सक्छौं, सञ्चारमाध्यममा उनी भारतको आसामबाट पक्राउ भएको भन्ने समाचार आइरहेको थियो, त्यस विषयमा हामीलाई जानकारी हुँदैन,’ उनले भने ।   प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारतका विभिन्न ठाउँ पुगेको थियो । अन्ततः उनले सार्वजनिक भिडियोको आधारमा प्रहरीले उनलाई आसाममा भेटेर पक्राउ गरेको हो ।  भारतको आसाम राज्यबाट पक्राउ भएका प्रसाईंलाई आज नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो । नेपाल प्रहरीले अहिले उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याउँदैछ ।  राजसंस्था पुनःस्थापनाका लागि भन्दै प्रसाईंले चैत १५ गते तीनकुनेमा हिसांत्मक आन्दोलन गरेका थिए । सो आन्दोलनका कमाण्डर पनि उनै थिए । सो हिंसात्मक प्रदर्शनबाट दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए ।  आन्दोलनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेको थियो । घटनाले उग्र रूप लिएपछि प्रसाईं घटनास्थलबाटै फरार भएका थिए ।  उनी भक्तपुर-धुलिखेल-सिन्धुली हुँदै झापा पुगेका थिए । उनले झापाबाट आफू चढेको गाडी फिर्ता पठाएर त्यहाँबाट भारत फरार भएको प्रहरीको अनुसन्धानले खुलेको छ । नेपालबाट भारत फरार भएपछि उनले सामाजिक सञ्जालबाट भिडियो पनि सार्वजनिक गरेका थिए । उनको सोही भिडियोहरूले गर्दा नै प्रहरी उनीकहाँ पुग्न सफल भयो ।  प्रसाईंलाई संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । 

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।  सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर ऐतिहासिक रेकर्ड बनाएको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, आज चाँदीको तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा लगाएको २५ प्रतिशत अटो ट्यारिफले सन् २०२५ मा अमेरिकास्थित अटो निर्माता कम्पनीहरूले करिब १०८ अर्ब डलरको थप लागत बेहोर्नुपर्ने देखिएको छ । अटोमोटिभ रिसर्च केन्द्रले गरेको नयाँ विश्लेषणले यस्तो देखाएको हो । मिशिगन राज्यको एन आर्बरमा आधारित संस्थाले बिहीबार सार्वजनिक गरेको अध्ययनमा फोर्ड मोटर, जनरल मोटर्स र स्टेलान्टिस (जीप र राम ट्रक बनाउने कम्पनी) लगायत डिट्रोइटका प्रमुख तीन अटो कम्पनीहरूलाई मात्र ४२ अर्ब डलरको अतिरिक्त लागत पर्ने देखिएको छ । अध्ययन अनुसार यी डिट्राेइट थ्री कम्पनीहरूले अमेरिकाभित्र उत्पादन गरिएका प्रत्येक सवारीका लागि आयात गरिएका पार्टपुर्जामा औसत करिब ५ हजार डलर ट्यारिफ तिर्नुपर्नेछ र आयात गरिएका सवारीका लागि करिब ८ हजार ६०० ट्यारिफ तिर्नुपर्नेछ । ट्रम्पको २५ प्रतिशत अटो आयात ट्यारिफ अप्रिल ३ देखि लागू गरिएको थियो, जसले विश्वभरबाट आउने आपूर्तिमा आधारित अटो उद्योगमा ठूलो असर पारेको छ ।  मेक्सिको र क्यानडामा बनेका सवारीसाधनहरूमा पनि यो ट्यारिफ लागू भए पनि युएस-मेक्सिको-क्यानडा सम्झौताअनुसार अमेरिकी सामग्रीको मूल्य घटाएर ट्यारिफ गणना गर्न सकिन्छ । यी ट्यारिफहरूले अटो निर्माता कम्पनीहरूलाई उत्पादन रणनीति फेरबदल गर्न बाध्य पारेका छन् । जीएमले इन्डियानाको प्लान्टमा ट्रक उत्पादन बढाएको छ भने स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई प्लान्ट अस्थायी रूपमा बन्द गरेको छ । यी परिवर्तनहरूले ती प्लान्टहरूसँग सम्बन्धित पाँच अमेरिकी प्लान्टहरूमा प्रभाव पारेका छन् । अध्ययन अनुसार डिट्रोइट थ्री कम्पनीहरूले प्रत्येक सवारीका लागि पार्ट्समा औसत ४ हजार ९११ ट्यारिफ तिर्नुपर्नेछ, जुन सम्पूर्ण अटो उद्योगको औसत ४ हजार २३९ भन्दा बढी हो । आयात गरिएका सवारीहरूमा सम्पूर्ण अटो उद्योगको औसत ट्यारिफ लागत  ८ हजार ७२२ देखिएको छ भने डिट्रोइट थ्रीको लागि  ८ हजार ६४१ । अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले एक विज्ञप्तिमा भने, '२५ प्रतिशत ट्यारिफले अटो उद्योगमा पार्ने गहिरो प्रभाव यो अध्ययनले देखाउँछ ।' अमेरिकी अटो निर्माता कम्पनीहरू- फोर्ड, जीएम, र स्टेलान्टिसले संयुक्त रूपमा भनेका छन् कि उनीहरूले अमेरिकी अटो उत्पादन वृद्धिका लागि प्रशासनसँग चलिरहेको संवादलाई जारी राख्नेछन् । जीएम र स्टेलान्टिसले उक्त अध्ययनबारे आफ्नो धारणा व्यक्त गर्न व्यापार समूहको टिप्पणीलाई समर्थन गरेका छन् भने फोर्ड तत्काल उपलब्ध थिएन । साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा​​​​​ टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने