विकासन्युज

जापानमा बच्चाको भन्दा धेरै बिक्छ वृद्धको डाइपर

काठमाडौं । जापान संसारको चौथो ठूलो अर्थतन्त्र हो । यो एशियाको पहिलो देश हो जसले 'विकसित देश' को सूचीमा स्थान पाएको थियो । कुनै समय चीनसमेत जापानको अधीनस्थ (गुलाम) रहेको थियो । तर पछिल्ला केही वर्षदेखि जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढिरहेको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ३ करोड ६२ लाख ५० हजार पुगेको छ, जुन देशको कुल जनसंख्याको करिब २९.३ प्रतिशत हो । तीमध्ये २ करोड ५ लाख ३० हजार महिला र १ करोड ५७ लाख २० हजार पुरुष छन् । जापानमा वृद्ध जनसंख्या कति तीव्र गतिमा बढिरहेको छ भन्ने कुरा यसैबाट थाहा हुन्छ कि त्यहाँ अहिले बच्चाको भन्दा वृद्धको डाइपर बढी बिक्री हुन्छ । सरकारी तथ्यांकअनुसार हाल जापानमा ९१ लाख ४० हजार वृद्धहरू काम गरिरहेका छन् । यसको अर्थ जापानमा हरेक सातजना कामदारमध्ये एक जना वृद्ध छन् । जनसंख्या घट्दो जापानमा वृद्धको संख्या बढ्दो छ तर कुल जनसंख्या भने घट्दो छ । लगातार १३ वर्षदेखि जापानको जनसंख्या घटिरहेको छ । सन् २०२३ मा जापानको जनसंख्या ५ लाख ९५ हजारले घटेको थियो । सन् २००८ मा जापानको जनसंख्या १२ करोड ८० लाख थियो भने २०२४ मा घटेर १२ करोड ३७ लाख मात्र भएको छ । कामकाजी उमेरको जनसंख्या घट्दा जापानको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ । वृद्धहरूको हेरचाह र सामाजिक सुरक्षामा खर्च बढ्दै गएको छ । सन् २०४० सम्म वृद्धहरूको संख्या बढेर ३४.८ प्रतिशत पुग्ने र त्यसबेला जापानमा १ करोड १० लाखभन्दा बढी कामदारको अभाव हुने अनुमान गरिएको छ । विदेशी कामदारको भरमा जापान जापानमा अक्टोबर २०२४ सम्म २३ लाख विदेशी कामदार पुगेका छन्, जुन अहिलेसम्मकै उच्च हो । यो संख्या अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशत ले वृद्धि भएको हो । कामदारको अभाव पूर्ति गर्न जापानी कम्पनीहरूले विदेशीहरूलाई रोजगारी दिइरहेका छन् । जापानमा सबैभन्दा धेरै काम गर्ने विदेशी भियतनामी हुन्, जसको संख्या ५ लाख ७० हजार छ– कुल विदेशी कामदारको २४.८ प्रतिशत । त्यसपछि चीन (४ लाख) र फिलिपिन्स (२ लाख ४० हजार) का कामदार छन् । हालै म्यानमार, इन्डोनेशिया र श्रीलंका बाट काम गर्न आउनेहरूको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।

विदेश छाडेर आफ्नै माटोमा सम्भावना : बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै दाङका युवा

घोराही । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका हुन् । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको बताउँछन् । उनले भने, 'वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु १० लाख आम्दानी हुन्छ ।' तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । 'अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ,' उनले भने । फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ । घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण रु दुई लाख ५० बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनस्हरू आशावादी छन् । उनीहरूले एउटा खसीलाई रु ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् । विशेषगरी गाउँघरमा किसानले घरमा दुई–चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा दुई–चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ । रासस

प्रदर्शनकै कारण ट्राफिक अस्तव्यस्त, सर्वसाधारणलाई दैनिक यात्रामा कठिनाई

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।       विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।       कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।  उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।  यसैबीच, गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  

सबैभन्दा धेरै नाफा गर्ने बैंक बन्यो नबिल, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ

काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेर २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेर १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ गरेको छ ।  यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८.१३ प्रतिशत बढेर ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  चैतसम्म बैंकको निक्षेप संकलन ८.६६ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ र कर्जा लगानी ७.३८ प्रतिशत बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ बढेर २४.८९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ । 

भट्टविरुद्ध दर्ता भएको रिट फुयाल र पाण्डेयको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी संयुक्त इजलासमा परेको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका थिए ।  रिट निवेदनमा दलहरूले ऐनको बाटो छाडेर सहमतिको आधारमा गर्नू दूषित कार्य भएको उल्लेख छ ।   नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि रिट निवेदनमा दाबी गरिएको छ । यसअघि सर्वोच्च अदालतले संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । यद्यपि भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच गत बुधबार साँझ बसेको बैठकले भट्टलाई गभर्नर बनाउने सहमति गरेको थियो । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएपछि गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ भने कामु गभर्नरको जिम्मेवारी नीलम ढुंगाना तिमिल्सिनाले सम्हाल्दै आएकी छिन् । 

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको छ । मौद्रिक प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोल गर्दा घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणा हुनेगरी निःशेष भाग रहने हिसाबले प्रस्ताव पेश गर्न सकिनेछ । निक्षेप संकलन उपकरण ब्याजदरमा प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा आधारित हुनेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । संकलित रकमको मूलधन र ब्याजको भुक्तानी भने २८ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ । यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । साथै, निक्षेप संकलन उपकरण खरिद गरेपछि सो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

काठमाडौं । जनरल मोटर्स (जीएम) अन्तर्गतको ब्रान्ड बुइकले राम्रो प्रदर्शन गरिरहेको थियो । इनभिजन, इनकोर जीएक्स र इनभिस्टाजस्ता नयाँ डिजाइनमा आधारित सस्तो एसयूभीहरूको कारण कम्पनीको बिक्री पहिलो त्रैमासिकमा ३९ प्रतिशतले वृद्धि भएको थियो । इनभिस्टा त ३० हजार डलरभन्दा सस्तोमा पाइने बुइकको सबैभन्दा धेरै बिक्री भएको एसयूभी बनेको थियो । तर त्यसपछि पूर्वराष्ट्रपति ट्रम्पको ट्यारिफ नीति लागू भयो । ब्युइकका ती तीन सबैभन्दा लोकप्रिय मोडलहरू अमेरिकाबाहिर निर्माण गरिन्छन्- इनभिस्टा र इनकोर जीएक्स दक्षिण कोरियामा बनाइन्छन् भने इनभिजन एसयूभी चीनमा निर्माण गरिन्छ । त्यसैले यी सबै मोडलहरू अहिले भारी ट्यारिफको चपेटामा परेका छन्, जसले अमेरिका भित्रको बिक्री मूल्यमा हजारौं डलर थप्न सक्छ । बारक्लेसको विश्लेषण अनुसार बुइकका कोरियामा बनेका मोडलहरूमा २७.५ प्रतिशत ट्यारिफ लाग्छ । चीनमा बनेको इन्भिजनमा भने कुल ४७.५ प्रतिशत ट्यारिफ लाग्छ- जसमा २५ प्रतिशत अटो ट्यारिफ, २० प्रतिशत चीन फेन्टानिल ट्यारिफ र पहिल्यै रहेको २.५ प्रतिशत अटो कर समावेश छ । यो बुइकका लागि नराम्रो खबर हो । वर्षौंसम्म ’पुरानो शैलीको गाडी’ को छवि बोकेको ब्रान्डले अन्ततः नयाँ र आकर्षक मोडलहरू ल्याएर छवि परिवर्तन गरिरहेको थियो तर अहिले त्यो प्रगति जोखिममा छ । विश्लेषकहरू भन्छन्- मूल्य वृद्धि हुने हो भने बुइकको बजार गति थुनिन वा अन्त्यतिर धकेलिन सक्छ । अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फिओरानी भन्छन्- 'बुइकका पछिल्ला गाडीहरू सस्तो, राम्रो गुणस्तरका र राम्रो डिजाइनका छन् । तर उत्पादन लागत बढ्दा यी गाडीहरूलाई बजारमा टिकाइ राख्न गाह्रो हुन्छ ।’ पोर्टफोलियो पुनर्मूल्यांकन ट्रम्पले ल्याएको ट्यारिफका कारण अटो उद्योगका उच्च अधिकारीहरू अहिले आफ्नो उत्पादन पोर्टफोलियोको समीक्षा गर्दैछन्- 'के विदेशी उत्पादनलाई अमेरिकाभित्र ल्याउने खर्च दीर्घकालीन रूपमा उचित छ?’ भन्ने प्रश्न उठेको छ । यस महिनाको सुरुमा लागू भएको ट्यारिफले पहिले नै केही परिवर्तन गराइसकेको छः जीएमले इन्डियानामा रहेको ट्रक उत्पादन प्लान्टको उत्पादन बढाएको छ । स्टेलान्टिस (राम र जीप निर्माता) ले मेक्सिको र क्यानडाका दुई प्लान्टहरूमा अस्थायी रूपमा उत्पादन रोकिदिएको छ । बारक्लेसको १५ अप्रिलको नोटमा भनिएको छ- 'अब अटो कम्पनीहरूले लाभ नहुने गाडीहरू बेच्ने छैनन्, विशेषगरी चीन र कोरियाबाट आयात गरिएका मोडलहरू ।’ जीएमले चीन र कोरियाबाट ४.५ लाख गाडी आयात बन्द गर्ने अपेक्षा गरिएको छ । बारक्लेसले जीएमको २०२५ को आम्दानी पूर्वानुमान ४० प्रतिशतले घटाएको छ- ९.५ अर्ब डलरको ट्यारिफ असरका कारण । फोर्डका लागि ६० प्रतिशत गिरावटको पूर्वानुमान गरिएको छ- फोर्डले लिनकोन नटिलस चीनबाट ल्याउँछ । इनभिस्टा र सेभरोलेट ट्र्याक्सजस्ता सस्तो मूल्यका गाडीहरू (दुबै दक्षिण कोरियामा बनाइएका) मा ट्यारिफको सबैभन्दा ठूलो असर पर्नेछ, किनभने यी सवारीहरू धेरैजसो अमेरिका बाहिर बनाइन्छन् । कक्स अटोमोटिभका अनुसार अहिले नयाँ गाडीको औसत मूल्य ४८ हजार डलर माथि छ । ट्यारिफका कारण प्रभावित मोडलहरूको मूल्य १०-१५ प्रतिशतले बढ्न सक्छ । बाँकी मोडलहरूमा पनि ५ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्छ । बुइकको गति रोकिँदै बुइकले पछिल्ला २० महिनामा सबै मोडलहरू नयाँ लुकमा ल्याएको छ, जसले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको हो । २०२५ को पहिलो त्रैमासिकसम्म बजार हिस्सा ०.८ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । इनभिस्टाको (सुरुवाती मूल्य २३ हजार ८००) ले ब्रान्डलाई नयाँ उचाइमा पुर्‍यायो । इनभिजन (सुरुवाती मूल्य ३६ हजार ५००) मा पनि नयाँ स्टाइल ल्याइएको थियो, जसले बिक्री बढायो । डिट्रोइटका बुइक-जीएमसी डिलर जेफ लेथम भन्छन्- 'इनभिजन अहिलेको सबैभन्दा बिक्री हुने मोडल हो । जब इनभिस्टाको डिजाइन त्यसमा लागू गरियो, त्यसपछि बिक्रीमा उछाल आयो ।’ एडमन्डका विश्लेषक इभान ड्रुरी भन्छन्– 'बुइकले दशकौंपछि सबैभन्दा राम्रो गति लिएको छ । यो गति रोकिएमा ब्रान्ड मर्दैन तर एउटा ऐतिहासिक सपना भने टुट्न सक्छ ।’ एडमन्डका अनुसार २०२५ अप्रिलको सुरुमा बुइकका डिलरहरूमा ५३ दिनको स्टक थियो, जुन उद्योग औसत ४७ दिनभन्दा धेरै हो । चीनमा पनि चुनौती बुइकका लागि चीन बजार अत्यन्तै महत्त्वपूर्ण हो, तर त्यहाँ पनि समस्या देखिएको छ ।  जीएम र अन्य विदेशी अटो कम्पनीहरू चीनमा बनेका विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेर संघर्ष गरिरहेका छन् । टेलिमेट्रीका अनुसार बुइकको चीनमा बिक्री २०२० देखि २०२४ सम्म ६५ प्रतिशतले घटेको छ । टेलिमेट्रीका उपाध्यक्ष साम अबुलसामिद भन्छन्- 'चीनको बजारमा अनिश्चितता र अमेरिकी ट्यारिफका कारण बुइक ब्रान्डकै अस्तित्व जोखिममा छ ।’ सम्बन्धित समाचार  ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्‍याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।