विकासन्युज

नेपाल लाइफको 'सेल्स ट्रान्सफर्मेसन सेसन' सम्पन्न : तेस्रो त्रैमासको समीक्षा र भावी रणनीति तय

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आयोजित एकदिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै बाँकी समयका लागि रणनीतिक योजना तय गरेको छ । सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेलसहित कम्पनीका उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका सञ्चालक अग्रवालले जीवन बीमालाई ‘भविष्य सुरक्षित गर्ने आधार’ भन्दै यसको पहुँच आमनागरिकमा पुर्याउन सम्पूर्ण टिमलाई आह्वान गरे । प्रमुख कार्यकारी पराजुलीले कम्पनीको ऐतिहासिक उपलब्धिलाई मूर्तता दिन सेल्स टिमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा डिजिटल सेवामार्फत अझ सहज सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।

औद्योगिक, पर्यटन, शिक्षा र व्यापार क्षेत्रमा सहकार्य विस्तार गर्न सुझाव

काठमाडौं । भारतको पुर्णियास्थित द सब हिमालयन रिसर्च इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, नयाँ दिल्लीको संयुक्त आयोजनामा सम्पन्न 'भारत-नेपाल साझेदारी शिखर सम्मेलन २०२५' मा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह विशिष्ट अतिथि तथा मुख्य वक्ताको रूपमा सहभागी भए । नेपाल–भारत बीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त सम्मेलनमा नेपालका तर्फबाट अनिल कुमार साहसँगै नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल एण्ड स्ट्रेटेजिक स्टडिजका संस्थापक निर्देशक भाष्कर कोइराला र सामाजिक अभियन्ता प्रवीण नारायण चौधरीको सहभागिता रहेको थियो । उपाध्यक्ष साहले सम्मेलनमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा बल दिँदै औद्योगिक, पर्यटन, शैक्षिक र स्वास्थ्य क्षेत्र लगायतका विविध आयाममा सहकार्यका सम्भावनाहरूको खाका प्रस्तुत गरे । साथै, व्यापार घाटा न्यूनीकरण, लगानी प्रवर्द्धन, सीमावर्ती क्षेत्रको समन्वित विकास, र द्विपक्षीय व्यापार नीतिको पुनरावलोकन आवश्यक रहेको धारणा राखे । सम्मेलनको अवसरमा मोरङ उद्योग व्यापार संघ र द सब हिमालयन रिसर्च इन्स्टिच्युटबीच शैक्षिक एवं अनुसन्धान सहकार्य, सम्पदा संरक्षण, सामाजिक विकास, विद्यार्थी तथा संकाय आदान–प्रदान, सांस्कृतिक कार्यक्रम लगायतका विषयमा आपसी समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको छ ।

विदेशमा बसे पनि नेपाली नागरिकताको हक कायम हुनुपर्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको बताएका छन् । विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि  मुख्य म्यान्डेट भएको उनले बताए । डा.बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँग सिंहदरबारमा मंगलबार  भएको भेटमा अध्यक्ष लिङ्देनले भने, 'एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरुलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ ।' विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उनले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे ।  यस्तै उपाध्यक्ष डा.हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादका सम्बन्धमा नेपालका सबै राजनीतिक दलहरुले एकमत भएर विधानविपरित गतिविधि गरिरहेको समूहलाई समस्या समाधानका लागि सुझाव दिनुपर्नेमा जोड दिए ।  यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोल प्रसाद (डिपी) अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ । यस्तै आजै उपसभामसख इन्दिरा रानासँग भएको भेटमा पनि प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वर्तमान विवादास्पद अवस्था लगायतका बारेमा जानकारी गराएको छ । भेटमा उपसभामुख रानाले आफ्नो तहबाट गर्न सकिने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  आजको भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा,  रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, एनसीसी स्वीडेनका निवर्तमान अध्यक्ष  राजकुमार पाठक, अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, सल्लाहकार एकनारायण चापागाई, तथा डा. मीन रानाभाट सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियाे ।

नेपालमा पहिलो पटक ‘स्काइवेल पाइलट समिट’ सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक आयोजित स्काईवेल पाइलट समिट २०२५ भव्यताका साथ सम्पन्न भएको छ। यात्रा म्यागेजिनको आयोजनामा, पाइलट एसोसिएसन अफ नेपालका लागि आयोजना गरिएको उक्त समिटले हवाई सुरक्षामा पाइलटहरूको भूमिकाबारे गहिरो संवाद र विमर्शको अवसर प्रदान गर्‍यो । कार्यक्रमको प्यानल डिस्कसनमा क्याप्टेन विजय लामा मोडरेटरका रूपमा प्रस्तुत भए भने एटीसी सुस्मिता रावत, रिटायर्ड पाइलट क्याप्टेन रवि कंसाकार, पत्रकार सुरज कुँवर र पाइलट तथा पर्यटन व्यवसायी सुनिल शाक्य सहभागी थिए । समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै नेपाली आकाशलाई सुरक्षित बनाउने जिम्मेवारीमा पाइलटको भूमिका निर्णायक रहेको उल्लेख गरे । उनले पाइलट एसोसिएसनको औपचारिक गठनलाई नेपाली हवाई इतिहासको महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्र लाल कर्णले पाइलटहरूको एकता हवाई सुरक्षा अभिवृद्धिका लागि सहायक हुने विश्वास व्यक्त गर्दै राज्यका निकायहरू र पेशागत संघसंस्थाबीचको सहकार्य अझै मजबुत हुनुपर्ने बताए । समिटको अवसरमा पाइलट एसोसिएसन अफ नेपाल को औपचारिक घोषणा पनि गरियो । बुद्ध एअरका क्याप्टेन लेखनाथ पोख्रेल अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरियो । समिटको मुख्य प्रायोजक स्काईवेलका आधिकारिक आयातकर्ता जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले यस्ता समिटले दीर्घकालीन सहकार्यको ढोका खोल्ने बताए । समारोहमा २५० भन्दा बढी पाइलट र १०० भन्दा बढी पर्यटन तथा उड्डयन क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । समापन मन्तव्य क्याप्टेन किस्मत पछाईले दिँदै सबै सहयोगी र सहभागीहरूलाई धन्यवाद व्यक्त गरे । उनले भने, 'आउनुहोस्, हामी सबै मिलेर संघको मूल नारा ‘आकाशमा एकता, जमिनमा प्रगति’ साकार पारौं ।'

इसेवाको ‘झ्याप्पै ट्रान्सफर-च्याप्पै बोनस’ अफर : १ लाख जित्ने मौका

काठमाडौं । इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' नाम दिइएको यो अफर २०८२ साल वैशाख १० गतेदेखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अवधिभर इसेवाबाट बैंक वा सहकारी संस्थामा रकम ट्रान्सफर गर्ने हरेक प्रयोगकर्ता पुरस्कारका लागि स्वतः योग्य हुनेछन् । हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँ बोनस जित्ने मौका पाउने छन् भने एक जनाले १ लाख रुपैयाँको बम्पर बोनस जित्ने अवसर पाउने छन् । बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ । डिजिटल कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको इसेवाले यो नयाँ अफरमार्फत प्रयोगकर्तालाई थप आकर्षित गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ ।

खुल्यो अवरुद्ध नारायणगढ-बुटवल सडक

मध्यविन्दु । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता गरेर आजै फर्किने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुई दिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौंमा छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।  परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

डोटीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो ।  दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित ३ जनाको मृत्युु भएको हो । मृतक २ जनाको सनाखत हुन बाँकी छ ।