सेयर बजारमा दोहोरो अंकको गिरावट, राधी विद्युतको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेको छ । आजको कारोबारमा ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिए पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सबैभन्दा बढी कारोबार राधी विद्युत कम्पनीको भएको छ, जसको कारोबार ५८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ५१ करोड, न्यादी ग्रुपको ४१ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबारको सेयर कारोबारमा अधिकांश उपसूचकहरू रातो भएका छन् । सबैभन्दा धेरै घटेको विकास बैंक समूह हो, जसको सूचक २.०९ प्रतिशतले घट्यो । यसैगरी, अन्य अधिकांश समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । बैंकिङ समूह १.२३ प्रतिशत, फाइनान्स १.१५ प्रतिशत, होटल तथा पर्यटन १.०१ प्रतिशत, हाइड्रोपावर १.७८ प्रतिशत, लगानी समूह १.७६ प्रतिशत, माइक्रोफाइनान्स १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह ०.३० प्रतिशतले घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशतले मात्रै घट्दा उत्पादनमूलक समूह भने १ अंकमुनिको वृद्धिसहित हरियो अवस्थामा रहेकाे नेप्सेले जनाएकाे छ ।
नीति तथा कार्यक्रम वैशाख १९ मा संसदमा प्रस्तुत गरिने, जेठ २ देखि प्रि-बजेट छलफल
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते प्रतिनिधि सभामा प्रस्तुत गरिने भएको छ । सभामुख देवराज घिमिरेको पहलमा प्रमुख सचेतकहरूसँगको छलफलपछि संसद्को कार्यतालिका मस्यौदा तयार गरिएको हो । सरकारले आगामी जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गर्ने प्रस्ताव गरेको छ । उक्त मस्यौदा वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिनेछ । छलफलका क्रममा सभामुख घिमिरेले संसदमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विषयहरू रहेकाले शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरिसकेको छ ।
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी, निर्माण स्थलमा विवादपछि झगडा
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । नगरकोट–बानडाँडा सडक र ड्रेन निर्माणको विवाद मिलाउन निर्माणस्थल पुगेका नगरप्रमुख साम्पाङ र स्थानीय सन्तोष लिम्बूबीच विवाद हुँदा स्थिति झगडासम्म पुगेको हो । प्रदेश सरकारले सडक स्तरोन्नतिको लागि विनियोजन गरेको २० लाख रुपैयाँ केही क्षेत्रमा मात्र खर्च हुने भएपछि स्थानीय असन्तुष्ट बनेका थिए । त्यसैको समाधानका लागि नगरप्रमुख सम्पाङ मङ्गलबार निर्माणस्थल पुगेका थिए । स्थानीय सन्तोष लिम्बूले नगरप्रमुख साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र साम्पाङ समर्थक जोन लिम्बू (चङ्खे) विरुद्ध धरान प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा नगरप्रमुखको अगाडि नै समर्थक जोन लिम्बूले आफूमाथि हातपात प्रयास गरेको उल्लेख छ । नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयर साम्पाङले हिंसात्मक घटनामा मौनता देखाएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।
आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको अनुमान
काठमाडौं । दक्षिण एसियाको आर्थिक वृद्धि सम्भावनाहरू कमजोर भएका छन् । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताका बीच आर्थिक वृद्धि सम्भावनाहरू कमजोर भएका हुन् । जसले गर्दा अधिकांश देशहरूमा वृद्धि अनुमानहरू घटाइएको छ । बुधबार सार्वजनिक गरिएको 'दक्षिण एसिया विकास अद्यावधिक प्रतिवेदनअनुसार सन् २०२५ मा क्षेत्रीय वृद्धिदर ५.८ प्रतिशतमा झर्नेछ । अक्टोबरको अनुमानभन्दा ०.४ प्रतिशत अंक कम र २०२६ मा ६.१ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले नेपालको सन्दर्भमा बाढी-पहिरोका कारण चालु आर्थिक वर्ष २०८१/८२ को वृद्धिदर ४.५ प्रतिशतमा झारेको छ र आर्थिक प्रणालीमा लगातार कमजोरीका कारण आगामी आव २०८२/८३ को अनुमान ५.२ प्रतिशतमा राखेकाे छ । नेपालको आन्तरिक वित्तीय स्थायित्वमाथि थप जोखिम उत्पन्न गरिरहेको विश्व बैंकको ठहर छ । प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय प्रणालीको अस्थिरता, कमजोर कर्जाको स्थिति र गहिरिँदो प्राकृतिक प्रकोपका घटनाले नेपाली अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थपेका छन् ।' प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धि मुख्यतः जलविद्युत् क्षमतामा भएको वृद्धि र राम्रो मनसुनका कारण धान उत्पादनमा आएको सुधारले आएको हो । तर, निर्माण र वित्तीय सेवा क्षेत्रमा गतिविधि कमजोर रहेकाले समग्र वृद्धिमा प्रभाव परेको छ। आर्थिक परिदृश्यमा सकारात्मक पक्ष भनेको विप्रेषण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसले चालु खाता घाटा १२.५ प्रतिशतबाट ३.९ प्रतिशत सरप्लसमा पुर्याएको छ, जुन आठ वर्षपछिको पहिलो सरप्लस हो । यसले विदेशी मुद्रा सञ्चिति बढाएर १४ महिनाको आयात खर्च बराबर बनाएको छ । यद्यपि प्रतिवेदनले आगामी वर्षमा पनि नेपालले ५.२ प्रतिशत वृद्धिदर हासिल गर्ने संकेत गरेको छ । जुन अझै पनि महामारीपूर्वको औसत वृद्धिदरसँग तुलना गर्दा कमजोर हो । यो अद्यावधिक प्रतिवेदनलाई ‘ट्याक्सिङ टाइम्स’ शीर्षक दिइएको छ । घरेलु राजस्व परिचालनलाई तीव्र बनाउनु दक्षिण एसिया क्षेत्रका कमजोर वित्तीय अवस्थाहरूलाई सुदृढ गर्न र भविष्यका आघातहरूप्रति सहनशीलता बढाउन मद्दत गर्न सक्छ भनी विश्व बैंकको दुई पटक वार्षिक रूपमा प्रकाशित क्षेत्रीय प्रतिवेदनमा उल्लेख गरिएको छ । 'पछिल्लो दशकका विभिन्न आघातहरूले दक्षिण एसियाली देशहरूलाई आजको चुनौतीपूर्ण विश्व परिवेश सामना गर्न सीमित साधनस्रोतहरूसहित छोडेको छ,’ दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरले भने । 'क्षेत्रले कमजोर वित्तीय स्थिति, पछाडि परेको कृषि क्षेत्र, र जलवायु सम्बन्धी आघातहरूको प्रभावजस्ता कमजोरीहरूलाई सम्बोधन गर्न लक्षित सुधारहरूको आवश्यकता छ,’ उनले थपे । दक्षिण एसियामा कर दरहरू प्रायः अन्य विकासशील अर्थतन्त्रहरूको औसतभन्दा माथि भए तापनि कर राजस्वहरू प्रायः कम छन् । २०१९-२३ को औसत अवधिमा दक्षिण एशियाका सरकारहरूको कुल राजस्व जीडीपीको १८ प्रतिशत थियो- जबकि अन्य विकासशील अर्थतन्त्रहरूको औसत २४ प्रतिशत थियो । राजस्व अभाव उपभोग करहरूमा विशेष रूपमा देखिएको छ, तर संस्थागत तथा व्यक्तिगत आयकरहरूमा पनि उल्लेखनीय छ । दक्षिण एशियामा कर राजस्वहरू प्रचलित कर दरहरूका आधारमा अनुमान गर्दा जीडीपीको १ देखि ७ प्रतिशत अंकसम्म कम छन् । यसको केही कारण व्यापक अनौपचारिक क्षेत्र र ठूलो कृषि क्षेत्र हो । यद्यपि यी कारणहरूलाई ध्यानमा राख्दा पनि, उल्लेखनीय कर अन्तरहरू बाँकी छन्, जसले कर नीति र प्रशासनमा सुधार आवश्यक भएको देखाउँछ । 'कम राजस्व दक्षिण एशियाको वित्तीय कमजोरीको जड हो र यो उच्च अनिश्चितताको समयमा समष्टिगत आर्थिक स्थायित्वलाई खतरामा पार्न सक्छ,’ दक्षिण एसियाका लागि विश्व बैंककी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गले भनिन् । 'दक्षिण एसियाका कर दरहरू तुलनात्मक रूपमा उच्च छन्, तर संकलन प्रक्रिया कमजोर छ, जसले कर तिर्नेहरूमाथि बढी बोझ पार्दछ र सरकारहरूसँग आधारभूत सेवा सुधार गर्न पर्याप्त स्रोत रहँदैन,’ उनले थपिन् ।
विश्वविजेता कार्लोस सिंहदरबारमा : प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौं महानगरको सहकारी अनुगमनमा कडाइ, ४ अर्बभन्दा बढीको वचत फसाउनेको खोजी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूमा बढ्दो वित्तीय समस्या र गुनासालाई सम्बोधन गर्न अनुगमन प्रक्रिया तीव्र बनाएको छ । महानगरको सहकारी विभागले चालु आर्थिक वर्षमा ५० वटा सहकारी संस्था अनुगमन गर्ने लक्ष्यसहित हालसम्म ११ वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ । चैत १५ गतेदेखि सुरु भएको अनुगमन अभियान सहकारी विभाग प्रमुख नमराज ढकालको संयोजकत्वमा फागुन २३ गते गठन गरिएको समितिबाट सञ्चालन भइरहेको हो । समितिमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, शाखा अधिकृत नारायण विक, लेखापाल दिपेन्द्र केसी सदस्य छन् भने सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटा मगर सदस्य–सचिवका रूपमा सहभागी छन् । सहकारीहरुलाई गुनासो आएका, राम्रो काम गरेका र धेरै लगानी भएका गरेर ३ भागमा बाँडिएको छ । यी आधारमा प्राथमिकता निर्धारण गरी सूचक कम गर्दै ५६ वटा सूचकमा आधारित अनुगमन भइरहेको छ, जुन अघिल्लो ८२ सूचकबाट घटाइएको हो । अनुगमन कार्य काठमाडौं महानगरपालिकाको सहकारी ऐन २०७४ तथा नेपाल सरकारको निर्देशिका २०७७ को कानुनी प्रावधानअनुसार भइरहेको छ । टोलीले वडास्तरीय समन्वयमा वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञहरूको सहयोगमा अनुगमन गरी विस्तृत प्रतिवेदन तयार पार्नेछ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले सहकारीमा देखिएको वित्तीय संकटको गहिरो विश्लेषणको आवश्यकता औंल्याउँदै सबै पक्षको आचरण परीक्षण गर्नुपर्ने बताए । आयोग सदस्य डा. सुरज काफ्लेले प्रविधिमा आधारित निगरानी प्रणाली निर्माण आवश्यक रहेको सुझाव दिए । संघका अध्यक्ष सुमन केसीले नियतवश गल्ती गर्ने सञ्चालकलाई कानुनी दायरामा ल्याउन तयार रहेको बताए । काठमाडौं बचत तथा ऋण सहकारी अध्यक्ष दीपक पनेरुले आन्तरिक सुशासनको कमीलाई समस्याको मूल कारण मानेका छन् । महानगरको सहकारी विभागमा सञ्चालक, वचतकर्ता, ऋणी, घरधनी र कर्मचारीहरूबाट निरन्तर उजुरी आइरहेका छन् । सञ्चालकहरूले दायित्व नलिएको, वचतकर्तालाई रकम फिर्ता नदिएको, ऋणीहरूबाट मिटर ब्याज लिएको, घरधनीहरूको सम्पत्तिमा क्षति भएको लगायतका गुनासा उल्लेख छन् । महानगर कार्यक्षेत्रभित्र १ हजार ९१७ सहकारी संस्था छन्, जसमध्ये ११८ वटा संस्था प्रहरी अनुसन्धानका लागि सिफारिस भइसकेका छन् । हालसम्म ६ हजार २६६ जना वचतकर्ताले ४ अर्ब ४९ करोड रुपैयाँ फिर्ताको मागसहित उजुरी दिएका छन् । साधारण सभा अद्यावधिक गर्ने सहकारीको संख्या ७५० मात्र छ भने १ हजार ७४८ संस्था कोपोमिस प्रणालीमा दर्ता छन् । दुईवटा संस्था समस्याग्रस्त घोषित भइसकेका छन् । महानगरको सहकारी प्रवर्धन कोषमा हालसम्म ८२ लाख रुपैयाँ संकलन भएको छ ।
काठमाडौं महानगरपालिकाको राजस्व ७ अर्ब नाघ्यो, सम्पत्ति र घरबहाल करमा वृद्धि
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख ७ गतेसम्ममा ७ अर्ब २१ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसन करलगायत शीर्षकमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार घरबहाल करबाट मात्रै २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । अघिल्लो वर्षको १ अर्ब ८६ करोड रुपैयाँको तुलनामा यो वर्ष सो शीर्षकमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी संकलन गरिएको छ। सम्पत्ति करमा पनि १५ करोड रुपैयाँको वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ करोड संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, न्यायिक दस्तुर, शिफारिस दस्तुर, प्रशासनिक जरिवाना, पर्यटन शुल्क लगायतका शीर्षकमा समेत सकारात्मक वृद्धि देखिएको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गतको आम्दानी १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ करोड ७० लाखले बढी हो । यसका साथै केही शीर्षकमा भने राजस्व संकलनमा गिरावट आएको छ । नक्सा पास दस्तुरबाट संकलन हुने आम्दानी अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले घटेको अधिकारीले जानकारी दिए । महानगरले करदाताहरूलाई पत्राचार गरेर, राजस्व टोली परिचालन गरेर, र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर राजस्व वृद्धि गर्न सकेको जनाएको छ।
निसानको ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ १६ वटा चेकपोइन्टमा सुरु
काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको छ । यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौंडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको पायोनियर मोटो कर्पले जनाएको छ । ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् अनि १५ प्रतिशत छुटमा ‘बडीसप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी, ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०% छुटबाट लाभान्वित हुन सक्नेछन् । यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारीसाधन आयात, तथा निसानको सम्पूर्ण मोडेलको गाडीका लागि विक्री, सर्भिसिङ र पाटपूर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ ।