आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १५१७ डलर
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले तीन दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान तीन दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र तीन दशमलव २५, द्वितीय क्षेत्रको चार दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ । निरन्तर दुई आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा दुई दशमलव ०२ प्रतिशत र निर्माण क्षेत्रमा दुई दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र तीन दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र दुई दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ । प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।
बजाजको नयाँ परफमेन्स बाइक एन१६० र एन१२५ सार्वजनिक, ग्राण्ड कार्निभलमा छुट
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर एन१६० र एन१२५ मोडल सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक गरिएका यी दुई नयाँ मोटरसाइकलमा पर्फमेन्स, प्रविधि र स्टाइलको संयोजन गरिएको छ । पल्सर एन१६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबीएस, अपसाइड डाउन फोर्क्स र स्मार्ट नेभिगेसन सुविधा छन् । यस्तै एन१२५ मा १२४.५८ सीसीको इन्जिन, उत्कृष्ट इन्धन सक्षमता र ५ स्पिड ट्रान्समिशन छन् । गोल्छा ग्रुपका मार्केटिङ हेड अमित चालिसेले नयाँ मोडलले नेपाली बजारमा पर्फमेन्स बाइकको परिभाषा फेरिने विश्वास व्यक्त गरे । भृकुटीमण्डपमा १६–२१ वैशाखसम्म चल्ने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न, टेस्ट राइड गर्न र स्थानमै फाइनान्सको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । खास अफरहरूमा जीरो सर्विस चार्ज, उच्चतम भ्यालुएसन, नगद र अन्य उपहारहरू, तथा निःशुल्क एक्सेसरीज पनि समावेश छन् ।
शिक्षकहरूसँग आजै सहमति भई भोलीदेखि पठनपाठन सुचारु हुने सत्ता गठबन्धनको विश्वास
काठमाडौं । सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबीच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन् । उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति हुने बताए । उपमहासचिव ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन सुरु हुने विश्वास लिएको बताए । उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पारे । उपमहासचिव ज्ञवालीले सरकारले सुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गरे।
पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिने थालेको हो । डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ। 'हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,' डा. चौरसियाले भने । यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ ।
एनआईएमबी स्टक मार्केट्सले ल्यायो नयाँ टीएमएस, सेयर कारोबार अझ प्रभावकारी
काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) औपचारिक रूपमा वैशाख १४ गतेदेखि सञ्चालनमा ल्याएको छ । नयाँ टीएमएसमार्फत सेयर कारोबारलाई अझै सहज, सुरक्षित र डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । यस प्रणालीले प्रयोगकर्ताहरूलाई रियल टाइम अर्डर प्लेसमेन्ट, पोर्टफोलियो ट्र्याकिङ, तथा मोबाइल पहुँच सुविधा दिनेछ । एनआईएमबी स्टक मार्केट्स लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो । कम्पनीले ग्राहक-केन्द्रित सेवा र आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको पूँजी बजारको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको छ ।
ट्रम्पको १०० दिन : ट्यारिफ युद्धले मन्दीको सन्त्रास र महँगीको शंका
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका १०० दिन पूरा भइसकेका छन् । तर आर्थिक मोर्चामा उनीले लिएका आक्रामक नीतिहरूले अमेरिका मात्रै होइन, विश्व अर्थतन्त्रलाई समेत झस्काइरहेको छ । एकपछि अर्को गर्दै विदेशी वस्तुहरूमा भारी प्रतिशोधात्मक शुल्क (रेसिप्रोकल ट्यारिफ) लगाउँदै आएका ट्रम्पले ९० दिनका लागि अस्थायी राहत दिएका छन्, तर यसले उठाएको आँधी अझै शान्त भएको छैन । मन्दीको सन्त्रास र महँगीको शंका विश्वभरका बजारहरू उथलपुथलमा छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले धेरै मुलुकहरूको जीडीपी वृद्धि दरको अनुमान घटाएको छ । अमेरिकी सेयर बजारमा गिरावटले लगानीकर्ताहरूको अर्बौं डलर डुबेको छ । ट्रम्पको मूल मन्त्र 'अमेरिकालाई फेरि महान बनाउने' भए पनि अहिले अमेरिकी अर्थतन्त्र नै दिशाहीन देखिन थालेको छ । अविश्वास, अनिश्चितता र लगानी संकट ट्रम्पको बारम्बार बदलिँदो नीति र ट्यारिफको कठोर दृष्टिकोणले बजारमा अनिश्चितता निम्त्याएको छ । विज्ञहरू भन्छन्- यस्तो अस्थिरता अमेरिका चाहँदैन । ट्यारिफले उपभोक्ताका लागि सामान महँगा बनाउँछ, कम्पनीको लागत बढाउँछ र लगानी रोकिएको देखिन्छ । अर्थतन्त्रको मेरुदण्डमै असर ट्राभल उद्योगदेखि उपभोक्ता खर्चसम्म, असर व्यापक छ । डेल्टा एयरलाइन्सले आम्दानी पूर्वानुमान घटाएको छ भने एयरलाइन कम्पनीहरूले गर्मी सिजनको यात्रा कम हुने संकेत दिँदै उडानहरू कटौती गर्न थालेका छन् । एसएन्डपी ग्लोबलका अनुसार मात्र दुई महिनामा १२९ कम्पनीले टाट पल्टेको घोषण गरेका छन्- जुन २०१० यताकै उच्च हो । अमेरिका एक्लै युद्धको केन्द्रमा अहिले ट्रम्पको नीति अमेरिका विश्वव्यापी व्यापार युद्धको केन्द्रमा छ । लगानीकर्ताहरू डलर र अमेरिकी कोषपत्रबाट पैसा हटाउँदै छन् । बजारमा अस्थिरता बढेको छ । यद्यपि बेरोजगारी दर घटेको र मुद्रास्फीति २.५ प्रतिशतको हाराहारीमा रहेको सरकारी तथ्यांकले केही सान्त्वना दिएको छ । चीनसँगको व्यापार युद्ध अझ चर्किँदै अमेरिकाले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएको छ र चीनले पनि १२५ प्रतिशत ट्यारिफ लगाएको छ । परिणामस्वरूप पछिल्ला तीन हप्तामै अमेरिका-चीन बीचको ढुवानी ६० प्रतिशतभन्दा बढी घटेको बताइएको छ । यद्यपि हालसालै ट्रम्पको व्यवहार केही नरम देखिएको छ । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता चाहन्छन् । जनताको असन्तोष र चुनावी दबाब एसएसआरएसको नयाँ सर्वेक्षणअनुसार ५९ प्रतिशत अमेरिकीले ट्रम्पको नीतिले अर्थतन्त्र बिगारेको ठानेका छन् । ६० प्रतिशतले महँगी बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् भने ७० प्रतिशतले आगामी वर्ष मन्दीको डर व्यक्त गरेका छन् ।
अर्थतन्त्र ‘भाइब्रेन्ट’ हुने बजेट ल्याउन सत्तारूढ दलको राय, बसाइँसराइ रोक्ने कार्यक्रममा जोड दिन सुझाव
काठमाडौं । सत्तारूढ दलहरूले अर्थतन्त्र सुधार हुने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अहिले सबैभन्दा ठूलो समस्या र चुनौतीको रूपमा अर्थतन्त्र सुधार रहेकोले सरकारले सोहीअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिए । बैठकमा उपस्थित विभिन्न सत्तारुढ दलका शीर्ष नेताहरूले पछिल्लो समय आम जनमानसमा अर्थतन्त्रका विषयमा चिन्ता रहेकोले वर्तमान परिस्थितिको सुधारका लागि सरकारले नयाँ कार्यक्रम ल्याएर अर्थतन्त्रमा नयाँ किसिमको भाइब्रेन्ट सिर्जना गर्नुपर्ने उनीहरूको धारणा छ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बैठकपछि संक्षिप्त कुराकानी गर्दै अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम ल्याउनुपर्ने र अर्थतन्त्रमा नयाँ किसिमको भाइब्रेन्ट ल्याउनुपर्नेमा सहमति भएको धारणा राखे । ‘अहिले अर्थतन्त्रमा समस्या छ, युवाहरू विदेश पलायन भइरहेका छन्, यो समस्याको समाधानमा लाग्नुपर्ने धारणा हामी सबैको रह्यो, नयाँ कार्यक्रमहरू ल्याएर बसाइँसराइ रोक्नुपर्ने दायित्व पनि छ,’ उनले भने । ज्ञवालीका अनुसार विदेशको विकल्प खोजिरहेका युवाहरूमा सकारात्मक सोच ल्याउनका लागि उद्यमशीलताका कार्यक्रम ल्याउनमा जोड दिएको पनि धारणा राखे । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । त्यसका लागि सत्तारूढ दलहरूको बैठक बसेको हो ।
२५ अर्बको तल्लो सेती जलविद्युत् आयोजना अगाडि बढ्दै, इआइए प्रतिवेदन मन्त्रालय पठाइयो
दमौली । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ खन्न आवश्यक बिस्फोटक पदार्थ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए। प्रस्तावित विद्युत्गृह क्षेत्रको जग्गासम्बन्धी अभिलेख जिल्ला मालपोत कार्यालयबाट सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण प्रक्रियासमेत अघि बढिसकेको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन प्रस्ताव स्वीकृतिका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको श्रेष्ठले बताए । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम सङ्घीय सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनले बताए। ‘आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट–३ र ४ हुँदै छ दशमलव आठ कलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादनको योजना बनाइएको छ’, प्रबन्ध सञ्चालक श्रेष्ठले भने। आयोजनाबाट बन्दीपुर-६, व्यास नगरपालिका-१३ र १४, देवघाट-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार देवघाट-४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली-नयाँ भरतपुर प्रसारणलाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने बताउँदै भण्डारीले यसका लागि करिब दुई किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने जानकारी दिए । ‘अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसको अनुमानित लागत २५ अर्ब रहेको छ’, उनले भने । लगानी सुनिश्चित गराउन पहल थालिएको बताउँदै प्रमुख भण्डारीले तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी लिए । उनका अनुसार तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । ‘आयोजनाले विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी काजगात तयार गर्न परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो, प्रमुख भण्डारीले भने । रासस