३४ दिनमा संकलन भयो १ खर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कुल १ खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन् । 

राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन् । 

गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो ।

Share News