विकासन्युज

अप्रत्याशित बढे मुस्ताङमा विदेशी पर्यटक, ४ महिनामा ५१ हजार भित्रिए

काठमाडौं । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले वृद्धि भइरहेको बताए । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ र अन्य राष्ट्रका ८ हजार ७४५  विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक सङ्ख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रका पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ को जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म विदेशी पर्यटकको तथ्याङ्क हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।  सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् ।  मुस्ताङको ऐतिहासिक, धार्मिक, संस्कृति तथा सामाजिक सभ्यता अवलोकन गर्न उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटक आउने गरेका छन् । हिन्दू तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।  मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायतको पर्यटकीय गन्तव्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको गन्तव्य बनेको हो । 

गर्मीले कुखुरामा तनाव बढ्ने भएकाले अण्डा उत्पादन घट्यो, पर्यटक वृद्धिपछि माग बढ्यो

काठमाडौं । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्छ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आर्द्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउँछन् ।  अझै अण्डाको उत्पादन घट्दै जाने उनले बताए । गर्मी उच्च विन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए। चार महिना अघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनी बताउँछन् ।  उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउँछन् ।  माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ । अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को ४६० रुपैयाँ, ठूलाको ४३५ रुपैयाँ र मिडियमको ३८५ रुपैयाँ कायम गरिएको छ । बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँ सम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेको उनको भनाइ छ । 

सहमतिपछि आवासीय चिकित्सक काममा फर्किए

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो । सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने छ । यस्तै, निजी तथा सार्वजनिक संस्थाको एकैसाथ म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था गरिने भएको छ ।  आवासीय चिकित्सकको बिदा, कार्य समय, अतिरिक्त सुविधालगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ । यस्तै, आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह बराबरको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिने सहमति भएको छ । सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा र नेपाल मेडिकल एसोसिएसनका तर्फबाट नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जीव तिवारीले हस्ताक्षर गरे । मन्त्री पौडेलले सरकारले आवश्यक प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक सङ्घले आन्दोलन फिर्ता लिएको र सहमति कार्यान्वयनका लागि आफूहरूले इमान्दार प्रयास गर्ने बताए । निजी मेडिकल कलेजले पनि आठौँ तह सरह भत्ता दिने प्रतिबद्धता जनाएको र आवासीय चिकित्सक काममा फर्किसकेको मन्त्री पौडेल बताए । 

कक्षा १२ को परीक्षा आजदेखि, सबैभन्दा कम मनाङ, काठमाडौंबाट धेरै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीलाई आग्रह गरे । परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुने छ ।  आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर १ हजार ५९० र जापानमा एक गरी कुल १ हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङ-मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।  परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५  छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।  यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवण शक्ति, दृष्टि विहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।  त्यसैगरी, कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।  परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ । परीक्षाको मर्यादा विपरीत शिक्षक/कर्मचारी/निरीक्षक/परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दु व्याकरण विषयको परीक्षा हुनेछ ।  परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

नीति तथा कार्यक्रम उत्कृष्ट छः डा महत, डा वाग्ले भन्छन्- नयाँ कार्यक्रम कुनै छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सङ्घीय संसदको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘नीति तथा कार्यक्रम परम्परागत भन्दा एक चरण अगाडि बढ्नुपर्थ्यो त्यसमा केही कमी भएको छ तर समग्रमा राम्रो छ ।’ प्रवक्ता महतले भने, ‘मूलभूत रूपमा नीति तथा कार्यक्रम कार्यान्वयनमा निर्भर हुन्छ । बजेटले के कस्ता मार्ग निर्देश गर्छ, त्यसमा भर पर्छ । विगतमा गरिने छ भनेर घोषणा गरेका कार्यक्रम पूरा गर्न नसकेको पक्षलाई बुझ्न जरुरी छ । त्यसका लागि कार्यक्रममा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।’ कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्रै सहयोग गर्ने विषयलाई बजेटले प्रभावकारी रूपमा जोड दिएर आउनुपर्ने बताउँदै उनले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय गाभ्ने, शिक्षकको सुविधा बढाउने लगायत विषय सरकारले गरेकाले अरु क्षेत्रको रकम घटाउने र शिक्षाको गुणस्तर कसरी बढाउने भन्तेतर्फ गम्भीर ध्यान दिनुपर्ने उल्लेख गरे । प्रवक्ता डा महतले अर्थतन्त्रलाई चलायमान बनाउन प्राथमिकीकरण, सडक, सिँचाइ, खानेपानीलगायत उत्पादनशील क्षेत्रको पहिचान गरी परिणाम आउने क्षेत्रमा ठोस विषय आउन जरुरी रहेको बताए । नेपाल वायुसेवा निगमको पुनर्संरचनाका बहुमत शेयर निजी क्षेत्रलाई दिएर संस्थालाई गतिशील बनाउने गरी आगामी योजना बनाउने दिशातिर सरकार अग्रसर हुनुपर्नेमा उनले जोड दिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमलाई सरसर्ती सुन्दा कुनै नौलो पन नभएकाले विगतको निरन्तरता रूपमा मात्र रहेको टिप्पणी गरे ।  उनले भने, ‘विगतमा असफल भएका भूमि बैंक लगायत कार्यक्रमलाई जोडिएको छ । नयाँ कार्यक्रम कुनै छैन । कार्यक्रममा कुनै कल्पनाशीलता देखिन्न, छोटो रूपमा कार्यक्रम ल्याइएको पाटोलाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।’

भविष्य कोर्ने स्पष्ट मार्गनिर्देशन कार्यक्रममा देखिएन, पास अङ्क मात्रै ल्यायो : प्रमुख प्रतिपक्षी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘नीति तथा कार्यक्रममा कुनै नयाँपन केही छैन । परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन सक्दैन ।’ परम्परा र अतीतमुखी रहेकाले भविष्य कोर्ने स्पष्ट मार्गनिर्देशन कार्यक्रममा नदेखिएको बताउँदै प्रवक्ता सापकोटाले नीति तथा कार्यक्रमलाई सारसंग्रहवादी दस्तावेजको संज्ञा दिँदै यसले जनताको आशा जगाउन नसक्ने बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछकी भनी अपेक्षा गरिएकामा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिए ।  उनले भने, ‘कार्यक्रममा आउन त सबै कुराहरू आएको छ, तर परम्परागत सुधारात्मक ढङ्गले आयो । देशको आवश्यकता सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउछकी भन्ने अपेक्षा थियो, मैले त्यो पाइन ।’ ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले कार्यक्रममा सबै विषय समेटिए प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने बताए ।  ‘नीति तथा कार्यक्रम सामान्य रूपमा पास अङ्क ल्याउने भए पनि उच्चतम अङ्क प्राप्त गर्न नसक्ने खालको छ,’ उनले भने । 

नीति तथा कार्यक्रममा निजी क्षेत्रका सुझाव समावेश भएका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले ल्याएको नीति तथा कार्यक्रममा निजी क्षेत्रले दिएका सुझावहरू समावेश भएको प्रतिक्रिया दिएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज पेस भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिक्षालाई रोजगारी र सीपसँग जोड्नुपर्छ भन्ने विषयमा सरकारले प्रतिबद्धता जनाएको बताए ।  उनले भने, ‘नीति तथा कार्यक्रममा सरकारले आगामी दशकलाई रोजगारी दशक बनाउने उल्लेख गरेको छ । त्यसका लागि कार्यक्रम कसरी आउँछ र बजेटले कसरी सम्बोधन गर्छ ? भन्ने विषय हेर्न बाँकी छ ।’

वायुसेवा निगमलाई पुनर्संरचना गरिने, हवाई सेवा पहुँचयोग्य बनाइने

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने घोषणा गरेका हुन् । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाउँदै हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने उल्लेख गरे । उनले हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउनुका साथै आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने बताए । नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिने उद्देश्य लिएको सरकारले योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षकस्थलका रूपमा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारका रूपमा विकास गरिने जनाइएको छ । पर्यावरणमैत्री पर्यटनमा जोड सरकारले दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरेको छ । सार्वजनिक–निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहित गराइने राष्ट्रपति पौडेलले जानकारी दिए । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिनुका साथै सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र उचित व्यवस्थापन गरिने जनाइएको छ ।