विकासन्युज

राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ ।  राष्ट्र बैंकले सूचना जारी गरी निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट  पैसा खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाइएको छ ।  यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ ।

कक्षा १२ को परीक्षामा सहभागी भइन् ७३ वर्षीया सूर्यवती खनाल

काठमाडौं । माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।    आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ ।  परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।  त्यसैगरी, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।        यसैबीच, काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।  प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् ।  उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक हुन् ।

गैरआवासीय नेपालीलाई संविधानअनुसार नागरिकता दिन माग एनआरएनएको माग

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गरिएको छ ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनका अवसरमा आइतबार आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले संविधान एवं कानुनमा भएको गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेकाले समस्या भइरहेको बताए ।    एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताले भ्रमण गर्न बाहेक अरु अधिकार प्राप्त हुन नसकेको बताए । भारतलगायत दक्षिण एशियाली देशले दोहोरो नागरिकताको अधिकारी दिइरहेको उनले सुनाए ।  अमेरिकामा अधिवक्ताका रूपमा काम गरिरहेका एनआरएनए खगेन्द्र जिसीले गैरआवासीय नेपालीको नागरिकता नभएकैले नेपालमा लगानीको वातावरण नसकेको जिकिर गरे । एनआरएनए नेता एसी शेर्पाले विश्वका ८४ देशमा बस्ने गैरआवासीय नेपालीको समस्याका रुपमा रहेको नागरिकताको विषयलाई समाधान गर्न माग गरे । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विश्वका ७२ देशमा दोहोरो नागरिकताको व्यवस्था रहेको उल्लेख गरे । नागरिकता ऐन, २०६३ को दफा १० खारेज गरे नेपालमा लगानी वातावरण थप हुने वरिष्ठ अधिवक्ता न्यौपानेको दाबी थियो ।  एनआरएनए बेलायतका अध्यक्ष प्रेमगाहा मगरले नेपालबाट बाहिर गएर काम गर्ने धेरै नेपालीले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएर दोस्रो दर्जाको नागरिक भएर बसेको उल्लेख गरे । ती देशमा अप्ठ्यारो अवस्था आए अङ्गीकृत र जन्मसिद्ध नागरिकता खारेज हुने भएकाले वंशजका आधारमा नेपालमा पाउने नागरिकताको अधिकारबाट बञ्चित गरिनु नहुने उनको तर्क थियो ।  अधिवक्ता कपिल ढकालले एनआरएनए ऐन बनाइ संविधानमा आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरे पनि कार्यान्वयन नभएको बताए । क्याप्टेन हितमान गुरुङले एनआरएनएले देशका लागि केही गर्न आउँदा पनि सरकार संवेदशील हुनुपर्नेमा जोड दिए ।  बेलायतमा कार्यरत अधिवक्ता सुरेन्द्र श्रेष्ठले नागरिकता ऐन, २०२० को पृष्ठ १९ मा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता लोप हुने व्यवस्था रहेको र त्यसपछिका नागरिकता ऐनले पनि यसलाई कायमै राख्दै आएको बताए । एनआरएनएका पूर्वअध्यक्ष रवीना थापाले नेपालमा आन्दोलन गरे मात्र केही हुन्छ, भन्ने सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै कानुनसम्मत मागको सुनुवाइ हुर्नुे बताइन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गैरआवासीय नेपाली ऐन र संविधानमा भएको व्यवस्था पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव पुष्कर नेपालले नयाँ कानुन मस्यौदा भइरहेकाले त्यसमा उठेका विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाए ।  डा बलराम श्रेष्ठले विदेशमा ज्ञान, सीप, पुँजी भएकालाई नागरिकता लिन आउँ भनी स्वागत गर्ने बताए । एनआरएनए नेता योगेन्द्रबहादुर क्षत्रीले संविधान र कानुनअनुसार नै गैरआवासीय नेपालीले नागरिकता पाउनुपर्ने बताए ।  

'भिजिविलिटी' कमजोर हुँदा देशभरका विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । लगातारको वर्षाले 'भिजिविलिटी' कमजोर हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।  आइतबार बिहान 'इन रुट वेदर' का कारण अन्तर्राष्‍ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको उनले जानकारी दिए ।  रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौं विमानस्थलसहित काठमाडौं बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए ।  दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।  काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौं आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।  बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।  

टिकटकले (टिनएजर)किशोर–किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

काठमाडौं । टिकटकले नेपालमा कलिला प्रयोगकर्ताहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ 'फ्यामिली पेयरिङ' फिचर सुरु गरेको छ ।  यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्ने कम्पनीले जनाएको छ । यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको 'सेटिङ्स एण्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ ।  एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् । फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन् ।  जस्तै, यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू रहेका छन् । 'टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,’ टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने ।  यो फिचरलाई देशभर पुर्‍याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ ।  यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ ।  टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ । नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो ।  

२ करोड बढी बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आइतबार जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ ।  खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा दुई करोड छ लाख आठ हजार ३८३ रुपैयाँ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय, अनारमनीमा जाहेरी दिएका थिए । पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए । झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्दाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका- २ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका- ८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए । अदालतको आदेश बमोजिम एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र ७५ हजार रुपैयाँ धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ । झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो । यसैगरी, शिवसताक्षी नगरपालिका- ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए । अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी

काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्। ९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको  सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’ सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो । ६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’ बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम ६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’ बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’ कम्पनी संस्कारको निरन्तरताको संकेत  हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए । बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’ नयाँ नेतृत्व, पुरानै दर्शन  ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’ अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।