विकासन्युज

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस जयशंकरको चेतावनी

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । जयशंकरले उक्त कुरा इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको बैठकका क्रममा बताएका हुन् । अरागची भारत-इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सव अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा सहभागी हुन भारत भ्रमणमा छन् । जयशंकरले यसबारेमा एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै जानकारी दिएका हुन् । उनले २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणबारे जानकारी दिँदै भनेका छन्, 'यस आक्रमणले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो ।' भारतीय विदेशमन्त्री जयशंकरले बताए अनुसार २२ अप्रिलको पहलगाम आक्रमणपछि भारतले ७ मेमा 'आतङ्कवादी ठेगानाहरू'लाई लक्षित गर्दै सीमा पार आक्रमण गरेको हो । जयशंकरले भने, 'हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरिन्छ भने कुनै शंका छैन- हामी त्यसको दृढ र कडा जवाफ दिनेछौं ।' जयशंकरले इरानी विदेशमन्त्री अरागचीलाई भने, 'एउटा छिमेकी र नजिकको साझेदारको हैसियतले तपाईंले वर्तमान परिस्थितिबारे राम्रोसँग जानकारीमा रहनु आवश्यक छ ।' बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेको जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हो  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।

नेपाली उत्पादनलाई विदेश निर्यातमा जोड दिऔं : उद्योगमन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालीहरूले  आफ्नो उत्पादनलाई देश र दुनियाँले देख्ने गरी विश्वव्यापी रूपमा व्यापारीकरण गर्न आवश्यक रहेको बताएका छन् । १० औं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उनका अनुसार हाल मुलुकले अपेक्षाकृत ढंगले अन्तर्राष्ट्रियस्तरमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सकिरहेको छैन । उनले भने, ‘हामीले आयात र निर्यातको अवस्था देखेकै छौं । विदेशी वस्तु बढी मात्रा प्रयोग गर्ने गरेका छौं । तर स्वदेशी वस्तुहरूलाई निर्यात गर्न सकिरहेका छैनौं । अब यसलाई वृद्धि गर्नुपर्नेछ । यसका लागि विशेष गरी निजी क्षेत्र र उद्योग वाणिज्य आपूर्तिको क्षेत्रले लाग्नुपर्ने देखिन्छ । पछिल्लो प्रतिस्पर्धा या पछिल्ला संघर्षहरू आफ्नौ उत्पादन ब्राण्डमा लगाउनुपर्छ ।’  ‘हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ । ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग हुन्छ,’ उनले थपे । मन्त्री भण्डारीले यसका लागि ठोस नीति तथा योजना बनाउन आवश्यक रहेको बताए।  निर्यातलाई चलायमान बनाउन सरकार लागि परेको समेत उनको भनाइ छ  । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।   

भृकुटीमण्डपलाई व्यवस्थित बनाउने सरकारको योजना दबाउने काम नहोस् : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि १० औं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली नेपाली उत्पादनको अन्तर्राष्ट्रिय व्यापारीकरण र मुलुकको अर्थतन्त्रमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।  उनले नेपाली वस्तुको गुणस्तर र ब्राण्डलाई विश्व बजारमा पुर्‍याइने जानकारी दिए । नेपाली वस्तुको विदेशी बजार माग धेरै आउने अपेक्षा रहेको उनको भनाइ छ । मेलाले विदेशी तथा स्वदेशी व्यवसायीहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ । उनले नेपाली उपात्दनको ब्राण्डिलाई विश्व बजारमा पु¥याउनु जरुरी रहेको पनि उल्लेख गरे ।  उपाध्यक्ष श्रेष्ठले भृकुटीमण्डपको अवस्था जीर्ण भएकाले तत्काल कदम चाल्न सरकारलाई अनुरोध गरे । उनले भने, ‘हाम्रो देशमा अन्तर्राष्ट्रियस्तरीय मेला महोत्सवको आयोजना गर्न निकै समस्या छ । भृकुटीमण्डपको अवस्था जीर्ण छ । हामीले सोंचेअनुसारको मेलालाई सभ्य र भव्य बनाउन सकिरहेका छैनौं । हाम्रा छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरीय प्रर्दशनी केन्द्र छन् । प्रदर्शनी केन्द्रको अभावले हाम्रो उत्पादन अनि हाम्रो ब्राण्डिङको अन्तर्राष्ट्रियकरण हुन सकेको छैन ।’ मेला प्रदर्शनीका लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनको जोड छ ।  आफूहरुले सरकारसँग बारम्बार माग गर्दै आए पनि यसको समाधान हुन नसकिएको उनको आक्रोश छ ।  उपाध्यक्ष श्रेष्ठले सरकारलाई उद्योगमन्त्रीमार्फत व्यवस्थित र सुविधा सम्पन्न प्रदर्शनीको व्यवस्था गरिदिन माग समेत गरे ।  उनले भने, ‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनारलगायत मनोरञ्जन पार्क बनाउने भनेको छ यसलाई दबाउने काम नहोस् ।’ उनले १० खर्बको निर्यात गर्न विश्व बैंकले डकुमेन्ट तयार गरिसकेको र त्यसमा धुलो लागिसकेको समेत उल्लेख गरे।   

आजदेखि भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु (फोटो-फिचर)

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु  भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ । व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू राखिएको जानकारी दिए ।   यो मेलाबाट नेपाली सामग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ। मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् । मेलामा चीनका ४० कम्पनीले सहभागी जनाएका छन् । चिनियाँ विद्युतीय सवारीसाधनका पार्टपूर्जा, हस्तकला, वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् । मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो । यसैगरी, हेरिटेज कार्पेट सहप्रायोजकको रूपमा रहेको छ । मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ । हेर्नूहोस् तस्बिरहरू : नरेश बोहोरा/विकासन्यूज

बजाज नेपालको ‘ह्वील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले 'ह्वील्स अफ मेमोरी' फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ ।  यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ ।  प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आग्रह गरिएको थियो । प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरूप १२ जना विजेता छनोट गरिएको छ ।  सम्मानस्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ ।  प्रत्येक विजेताले १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन भइरहेको छ । कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरूबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ ।  नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।

इम्बार्क कलेजमा 'अनम्याथ म्याथ टक’ कार्यक्रम वैशाख २७ गते हुने

काठमाडौं । 'गणित भनेको कण्ठस्थ गर्ने होइन, खोज गर्ने विषय हो ।' यही मूल सन्देशसहित आउँदैछ ‘अनम्याथ म्याथ टक’ - एक विशेष अनुभवात्मक गणित कार्यक्रम, जुन वैशाख २७ गते (१) मे, २०२५० शनिबार, इम्बार्क कलेज, पुल्चोक ललितपुर मा आयोजना हुँदैछ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गणित शिक्षालाई रमाइलो, व्यावहारिक र जीवन्त बनाउने प्रयास गरिनेछ । कार्यक्रमको नेतृत्व भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरित गरिसकेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजा ले गर्नेछन् । उनी अनम्याथ स्कूल का सह–संस्थापक समेत हुन् । दिवेश बठीजाका अनुसार, 'गणित वास्तविक जीवनसँग जोडिने बित्तिकै विद्यार्थीहरूले यसलाई बुझ्न र रमाउन सुरु गर्छन् ।' कार्यक्रममा सहभागीहरूले गणितसँग सम्बन्धित रोचक गतिविधि, बहस, कथावाचन र अनुभव आदान–प्रदानमार्फत सिकाइलाई रमाइलो बनाउनेछन् । कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजे सम्म सञ्चालन हुनेछ । सिट संख्या सीमित भएकाले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क प्रति सहभागी ९९ रूपैयाँ मात्र निर्धारण गरिएको छ । 

साइमेक्स इंकले गर्‍यो देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रूपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।  वैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफरअन्तर्गत ग्राहकले विभिन्न मौका पाउने कम्पनीले जनाएको छ । मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम ६ लिन सक्नेछन् र यसका लागि बेस्ट इन इन्डष्ट्री भ्यालुएसन प्राप्त गर्न सकिने छ ।  क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुने पनि साइमेक्स इंकले जनाएको छ ।  चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकमध्ये तीनजना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क इएमआई उपलब्ध हुनेछ ।  एक्सचेन्ज क्याम्पेन हुने स्थान  चितवन – बीवाईडी पार्क, चितवन बुटवल – भेल्भेट लक्स होटल भैरहवा – बोधी रेडसन  नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम दाङ – माला इन  धनगढी – होटल रुबस विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल दमक – बीवाईडी शोरुम, दमक इटहरी – बीवाईडी शोरुम, इटहरी विराटनगर – बीवाईडी शोरुम, विराटनगर जनकपुर – बीवाईडी शोरुम, जनकपुर लहान – बीवाईडी शोरुम, लहान वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज पोखरा – रोयल महल बैंक्वेट ललितपुर – सत्कार फाइन डाइन पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन सातदोबाटो – सेल्सबेरी, सातदोबाटो नक्साल – आम्रपाली बैंक्वेट  

उद्यमशील नेपाल निर्माणका लागि नीति निर्मातादेखि युवा पुस्ताले गरे संवाद

काठमाडौं । उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यम सशक्तिकरणका विषयमा गहन संवाद तथा अन्तरक्रिया गर्ने उद्देश्यले नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा 'नीति तथा बजेट संवाद कार्यक्रम' सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उद्यमशीलताका बहुआयामिक पक्षहरू, स्टार्टअप प्रवर्द्धन, सरकारी नीति, सार्वजनिक लगानी र अर्थतन्त्रमा सुधार आवश्यकताका विषयमा गहन छलफल भयो । कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा जलविद्युत् र कृषि क्षेत्रमा अपार सम्भावना रहेको भन्दै सरकारले ती क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे । पूर्व अर्थ राज्यमन्त्री डा. उदय शमशेर राणाले दोस्रो तहको आर्थिक सुधार बिना समृद्धि सम्भव नहुने बताए । योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले युवाहरू विदेशिनेभन्दा स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने बताए । त्यसका लागि नीति निर्माताले वातावरण तयार गर्नुपर्नेमा जोड दिए । पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजय बाबु शिवाकोटीले छलफलमा उठेका विषयहरू पार्टी नेतृत्वसम्म पुर्‍याइने जानकारी गराए । डा. विश्व पौडेलले कानुन उद्योगमैत्री भए पनि कार्यान्वयन कमजोर भएकाले प्रभावकारी योजनाको खाँचो रहेको औँल्याए । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले उद्यमशीलताको प्रवर्द्धनका लागि आर्थिक सुशासन, स्थानीयस्तरमा उद्यमशीलता विस्तार र राज्यको सहजीकरण भूमिका आवश्यक रहेको धारणा राखे। उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले साझा धारणा बनाउन सरोकारवालाबीच संवाद निरन्तर गरिने बताए। महासचिव मोहन गजुरेलले यी विषयहरूलाई निरन्तर उठान गरिने उल्लेख गरे। कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, विज्ञ, कानुनी सल्लाहकार तथा नीति निर्माता पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।