विकासन्युज

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग दर्शनाचार्य संयोजकमा डा रमेश पौडेल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागको दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम संयोजकमा डा. रमेश पौडल नियुक्त भएका छन् । दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रममा सह–प्राध्यापक डा. पौडेललाई संयोजक नियुक्त भएका हुन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभागका संस्थापक प्रमुख प्रा.डा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका विभिन्न पक्ष र उदाहरणसहित प्रष्ट पारे । यो विषय देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्वपूर्ण रहेकाले गुणस्तरीय अध्यापनमा जोड दिए । केन्द्रीय विभागको दर्शनाचार्य एवं विद्यावारिधि कार्यक्रमका लागि विभागीय प्रमुख अपेक्षा शाहले विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ पौडेललाई स्वागत गरिन् । विभागमा अध्यापनरत प्राध्यापकहरूले आ-आफ्नो विषयमा संक्षिप्त जानकारी गराए ।  डा.पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्नसक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे । साथै, अनुसन्धानात्मक अध्ययनका लागि जोड दिने उनको भनाइ छ । 

उपभोक्ता खर्चमा कमीले बोटलर्स नेपालका दुइटै कम्पनीको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा बोटलर्स नेपालका दुइटै कम्पनीको नाफा घटेको छ  आर्थिक क्षेत्रमा देखिएको सुस्तताले कम्पनीको बिक्री वितरणमा कमी आएपछि नाफामा असर परेको हो । कम्पनीका अनुसार उपभोक्ता खर्चमा कमी, उत्पादन लागत वृद्धि, कच्चा पदार्थको स्रोतमा चुनौती र मुद्राको अवमूल्यन र मुद्रास्फितीका कारण आम्दानीमा असर गरेको छ । तर, उत्पादनमा बढावा, बजार पहुँच विस्तार गर्ने, लागत बचत गर्ने र उत्पादनमा नवीनता जस्ता रणनीतिक पहलमार्फत आम्दानी वृद्धि गर्ने कम्पनीले जनाएको छ ।  चालु आवको चैतसम्म बोटलर्स नेपाल (तराई) ले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६९.१० प्रतिशत घटेको हो ।  यसअवधिमा कम्पनीको आम्दानी ४ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको वित्तीय खर्च १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको वित्तीय खर्च २० करोड १२ लाख रुपैयाँ थियो ।  १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको जगेडा कोष (रिजर्भ) मा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८८ रुपैयाँबाट घटेर ८९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार ४९७ रुपैयाँ छ ।  यस्तै, यता, बोटलर्स नेपाल (बालाजु) को खुद नाफा ७३.३१ प्रतिशत घटेर १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यसअवधिमा कम्पनीले ७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ७ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको चैतसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ यस्तो नाफा गरेको थियो । चैतसम्म कम्पनीको सञ्चालन नाफा २३ करोड २१ लाख रुपैयाँ रहेको छ ।  १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँबाट घटेर ६ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ रहेको छ ।  

चीन-रसिया सहकार्यले दादा गिरी प्रवृत्ति रोक्ने, अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी  जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एक पक्षीयता, शक्तिको राजनीति र दादा गिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।  सीले चीन-रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताए ।  उनले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन-रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाए । ​​​​​​ सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताए ।  साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गरे । चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसीयासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ।

४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड ८९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क १७.८० प्रतिशत बढेर ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चैत मसान्तसममा कम्पनीको कुल बीमा शुल्क १६.९२ प्रतिशत बढेर ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद बीमा दाबी ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।  ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशत बढेर १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।   

टिओडी मिटरका आधारमा महसुल उठाउनुपर्ने, नियमन आयोगले विवाद छिनोफानो गर्ने हो: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको भएको बताएका छन् । विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सवका कार्यक्रममा मन्त्री खड्काले ‘टिओडी मिटर’का आधारमा विद्युत् महसुल उठाउनुपर्ने बताए ।  ‘टिओडी मिटरका विषयलाई लिएर धेरै विवाद भयो, तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिरकणले बक्यौता उठाउन नसक्ने, यसको छिनोफानो गर्ने जिम्मेवार निकाय आयोग हो । बिल ठीक छ की छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो,’ उनले भने ।  ऊर्जा क्षेत्रमा फैलिएको विचौलिया संस्कृति, कानुनी छिद्र प्रयोग गर्ने प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले समस्या भएको उनको भनाइ छ ।  ‘हिजो झोलामा खोला भन्ने प्रचलन थियो, अहिले त्यो मोडिफाइ भएको छ, १०० मेगावाट उत्पादन हुने आयोजना पाँच मेगावाटको दर्ता गरी थोरै पैसा तिरेर कानुनी छिद्र खोज्ने प्रवृत्ति देखिन्छ, अब यस्ता प्रवृत्तिमाथि निर्मम हुनुपर्छ,’ मन्त्री खड्काले भने ।  नियमन आयोगले गर्नुपर्ने थुप्रै काम रहेको भन्दै मन्त्री खड्काले उक्त कामलाई पूरा गर्न विज्ञ, निजी क्षेत्र र सम्बन्धित सबै निकायको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढेमात्र देशको विकास हुने उनको भनाइ छ । ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई कार्यान्वयन गर्दै गर्दा आगामी १० वर्षमा ऊर्जा क्षेत्रमा ६४ खर्ब रुपैयाँसम्म लगानी परिचालन हुने भएकाले उक्त लगानीले पुल, विद्यालय, मोटरबाटो, निर्माण सामग्री, श्रमिकदेखि इञ्जिनियरसम्म सबैले रोजगारी पाउने मन्त्री खड्काले बताए । उनले बिचौलियाको संलग्नता र स्वार्थ नमिल्दा मिडियाबाजी गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता थपिँदै गएको बताए । ‘सबै क्षेत्रमा विचौलिया छन्, नकारात्मक प्रचारबाजीसँग डराउनु हुँदैन, हामीले कानुनसम्मत रूपमा काम गर्नैपर्छ, उनले भने । अबको दशकलाई परिवर्तनको दशक बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने मन्त्री खड्काको भनाइ छ । ऊर्जा सचिव सुरेश आचार्यले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न आयोगको भूमिका अझ बढेर गएको बताए । उत्पादक, प्रसारक र उपभोक्तालाई नियामक गर्न आयोगले अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले आयोगले नेपालको विद्युत् क्षेत्रको दिगो विकासका लागि पारदर्शी, स्वतन्त्र ढङ्गले काम गर्दै आएको बताए । उनले विद्युत् विकासका क्षेत्रमा देखिएको समस्या समाधान गर्दै आयोग अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोगले एक वर्षमा धेरै उपलब्धि मूलक काम गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । डेडिकेटेड तथा ट्रङ्कलाइन विवादलाई आयोगले निर्क्यौल गर्न समेत उनले आग्रह गरे ।  सरकारका पूर्वमुख्यसचिव विमल कोइरालाले निजी क्षेत्र ढिलै भए पनि विद्युत् विकासमा संलग्न हुनु खुसीको कुरा भएको बताए । विद्युत् नियमान आयोग र विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले राखेको समृद्ध मुलुकको लक्ष्यलाई पुरा गर्न उर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले २३ महिनादेखि जलविद्युतको आईपीओ रोकिँदा व्यवसायीहरू समस्यामा परेको बताए । वर्तमान सरकारले नेपालको ऊर्जा क्षेत्रमा धेरै राम्रो काम गरेको उनको भनाइ छ । 

विदेशी मुद्रा अपचलन र राजस्व चुहावट, ३ करोड रुपैयाँ असुल र कैद सजायको माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ । विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँ विरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका-१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख ३८ हजार रुपैयाँ नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ । उनीहरू विरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान  गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिए । प्रतिवादीहरुका साथबाट बरामद ३४ लाख २४ हजार रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७ (१) बमोजिम हदैसम्मको जरिवाना र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफतको माग गरिएको छ । साथै उक्त रकम ओसारपसारमा प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए । यस्तै बुटवल उपमहानगरपालिका-७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक मियाँविरुद्ध आजै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ । मियाँ विरुद्ध मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्री बिजक जारी नगरी बिक्री गरेको तथा  कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरी पैठारी गरी ल्याइ बिक्रीवितरण गरेको कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।  मियाँविरुद्ध बिगोसहित ३ करोड ११ लाख ३२ हजार रुपैयाँ असुलउपर र हदैसम्मको कैद सजायको माग दाबी गरिएको छ ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए ५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्ने देखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशु चौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा अन्य कानुन विपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ ।  गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार, सार्वजनिकस्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म, छाडा छाडिएका पशु चौपायाले हानी नोक्सानी पुर्‍याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ ।  सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँदेखि  ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ । उनीहरुको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई ५० रुपैयाँ जरिवाना गरिने व्यवस्था गरेको छ । गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी भएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष शिव उद्‍गार यादवले लागू गरिएको यस आर्थिक कार्यविधिले यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सबै पक्षसँग उभिने, भारत-पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो ।  उक्त घटना पश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् चिन्ता व्यक्त गरेको हो । यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ । नेपालले सबै प्रकारका आतङ्कवाद विरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निस्सन्देह रूपमा भर्त्सना गरेको थियो ।  'आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।