औद्योगिक विकास र रोजगारीमा टेवा : कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट
काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा दोस्रो उत्पादन युनिट सञ्चालनमा ल्याएको छ । बुधवार आयोजित विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै उक्त युनिटको औपचारिक शुभारम्भ गरे । यसअघि मोरङको विराटनगरमा पहिलो युनिट स्थापना गरिसकेको कम्पनीले दुई दशकको सफल अनुभवलाई आधार बनाएर कपिलवस्तुमा दोस्रो युनिट स्थापना गरेको हो । नयाँ युनिटबाट ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका लोकप्रिय चाउचाउ ब्रान्डका उत्पादन सुरु गरिने छ । साथै, केही नयाँ ब्रान्ड पनि उत्पादनमा ल्याउने योजना कम्पनीले सार्वजनिक गरेको छ । उत्पादन सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिनेछ । सुरुआती चरणमा चाउचाउ उत्पादन केन्द्रित भए पनि आगामी दिनमा अन्य स्न्याक्स उत्पादन लाइनहरू थप्ने तयारी कम्पनीको रहेको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
१० मेगावाट सौर्य परियोजना : सूचीकरण प्रक्रिया अघि बढाउँदै अर्गा भगवती
काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ । उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ । अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्याउने दाबी गरेको छ । यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक
झापा । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिर्तामोडस्थित आफ्ना डिलर 'अलायन्स मोटर्स' मा क्रेटा इभी (इलेक्ट्रिक भर्सन) को सार्वजनिक कार्यक्रम तथा ग्राहक प्रतिकृया सञ्जाल 'मिट एन्ड ग्रेट' सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ग्राहकहरूले नयाँ क्रेटा इभीको प्रत्यक्ष अवलोकन गर्दै हुन्डाई व्यवस्थापन टिमसँग गाडीको प्रविधि, सेवालगायत विषयमा प्रत्यक्ष संवाद गरेका थिए । कम्पनीले इभी प्रति देखिएको अनिश्चितता, जस्तै स्पेयर पार्ट्स उपलब्धता, सर्भिस चार्ज, र ब्रान्डको दीर्घकालीन सपोर्टमा स्पष्टता ल्याउँदै क्रेटा इभी पेट्रोल मोडेलसरहै भरपर्दो हुने जानकारी गराएको छ। हुन्डाई नेपालका अनुसार क्रेटा इभी र पेट्रोल मोडेल एउटै प्लेटफर्ममा आधारित भएकोले सर्भिस, पार्ट्स र ब्रान्ड सपोर्ट दुबैमा कुनै भिन्नता छैन । कम्पनीले आफ्नो सन्देश देशभर फैलाउन उच्च व्यवस्थापन टोली स्वयं विभिन्न स्थानहरूमा पुगेर ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ । बिर्तामोडको कार्यक्रम पनि त्यही अभियान अन्तर्गत भएको हो । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै हुन्डाई नेपालले 'सफा र स्मार्ट भविष्य' को यात्रालाई अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।
तोलामा १ हजार ४ सयले घट्यो सुन
काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आए सँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, १ तोला चाँदी १ हजार ९६० मा बेचबिखन भइरहेको छ । बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एसियाली बजारको सहाराले चीनको निर्यातमा तीव्र वृद्धि, अमेरिकासँगको व्यापार गिरावट सन्तुलन
काठमाडौं । चीनको निर्यात अप्रिलमा तीव्र रूपमा बढेको छन् । जसको कारण दक्षिणपूर्वी एसियाली देशहरूमा पठाइएका सामानहरूको उल्लेखनीय वृद्धि हो । निर्यातमा वृद्धि भएसँगै गत महिनादेखि लागू भएका उच्च अमेरिकी शुल्कका कारण अमेरिकातर्फ पठाइएका सामानमा आएको तीव्र गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । शुक्रबार चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ८.१ प्रतिशतले बढेको छ, जुन रोयटर्सको १.९ प्रतिशत वृद्धिको अनुमानभन्दा धेरै माथि हो । तर, आयात भने अप्रिलमा ०.२ प्रतिशतले घटेको छ, जबकि अर्थशास्त्रीहरूले ५.९ प्रतिशतको गिरावटको अपेक्षा गरेका थिए । सीएनबीसीले आधिकारिक भन्सार तथ्यांकको आधारमा गरेको गणनाअनुसार अप्रिलमा चीनको अमेरिकातर्फको निर्यातमा वार्षिक २१ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अमेरिकाबाटको आयात लगभग १४ प्रतिशतले घटेको छ । पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङका अनुसार निर्यातमा आएको वृद्धि आंशिक रूपमा तेस्रो देशमार्फत ट्रान्सशिपमेन्ट तथा शुल्क घोषणा हुनुअघि भएका सम्झौताका कारण हुनसक्छ । झाङले आगामी केही महिनामा व्यापार तथ्यांक कमजोर हुँदै जाने अपेक्षा गरेका छन् । अप्रिलमा चीनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (एएसईएएन) तर्फको निर्यात गत वर्षको तुलनामा २०.८ प्रतिशतले वृद्धि भएको छ, जुन मार्चको ११.६ प्रतिशतको वृद्धिभन्दा तेज हो । त्यस्तै, सो क्षेत्रबाट आयात २.५ प्रतिशतले बढेको छ । यसैबीच चीनको युरोपेली आयोग (ईयू) तर्फको निर्यात ८.३ प्रतिशतले बढेको छ भने आयात वार्षिक रूपमा १६.५ प्रतिशतले घटेको छ । मार्चमा चीनबाट विश्वभर पठाइएका सामानमा १२.४ प्रतिशतको वार्षिक वृद्धि भएको थियो, किनकि व्यवसायहरूले उच्च शुल्क लागू हुनु अघि सामान निर्यात गर्न हतार गरेका थिए । तर, आयात भने ४.३ प्रतिशतले घटेको थियो, जसले चीनको आन्तरिक माग पुनःउत्थान गर्ने चुनौतीलाई देखाउँछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १४५ प्रतिशत शुल्क लगाएका छन्, जसको जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत शुल्क लगाएको छ । हालसम्म दुवै पक्षले अत्यधिक शुल्कको आर्थिक प्रभावलाई कम गर्न केही महत्त्वपूर्ण वस्तुहरूमा छुट दिएका छन् । एएनजेड बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री रेमण्ड यिउङका अनुसार अप्रिलको अन्त्यतिर चीनबाट अमेरिका जाने कन्टेनर जहाजहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । चिनियाँ सरकारले निर्यातकर्ताहरूलाई आफ्ना उत्पादनहरू घरेलु बजारमा मोड्न सहयोग गर्दै आएको छ, जुन कदमले अर्थतन्त्रलाई अझ गहिरो डिफ्लेसन (वस्तु तथा सेवाहरूको मूल्यहरू सामान्यतः घट्ने अवस्था) तर्फ लैजान सक्छ । ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन
बजाजको नयाँ योजना सार्वजनिक, पुरानो बाइकमा १० हजार बोनस भ्यालुएसन
विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले विराटनगरको महाबिर चोक (धरान रोड)मा 'बजाज ग्रान्ड एक्सचेन्ज मेला' आयोजना गर्ने भएको छ । यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने मेलामा पुराना बाइक साटेर नयाँ बजाज बाइक सजिलै किन्न सकिनेछ। नागरिकताको आधारमा मात्र बाइक खरिद गर्न सकिने सुविधा रहेकाे छ । झन्झटिलो कागजी प्रक्रिया बिना नै ग्राहकहरूले ० प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा खुशीको मिटर योजना अन्तर्गत नगद र उपहार जित्ने मौका पाउने छन् । पुरानो बाइकको उचित मूल्य सुनिश्चित गर्न काठमाडौंबाट अनुभवी भ्यालुएटरहरू पठाइएको छ । जसले बाइकको मूल्यांकन गरी थप १० हजारसम्मको बोनस भ्यालुएसन दिनेछन् । यो मेलाले मोटरसाइकल किन्ने प्रक्रिया अझ सहज र आकर्षक बनाएको छ । लालपुर्जा, बिजुली बिल वा आम्दानी प्रमाणपत्र जस्ता झन्झटपूर्ण कागजात आवश्यक छैन । किस्ताबन्दीमा बाइक किन्ने इच्छुक ग्राहकले १ घण्टाभित्रै ऋण स्वीकृत गराई बाइक प्राप्त गर्न सक्नेछन् । बजाज ग्रान्ड एक्सचेन्ज मेलालाई नेपालको सबैभन्दा बृहत् मोटरसाइकल एक्सचेन्ज योजना मानिएको छ । जहाँ ग्राहकहरूले पुराना बाइक साटेर बजाजका नयाँ मोडेलहरूमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।
चन्द्रागिरि भालेश्वरमा भारतका स्वामी कैलाशानंदले गरे पूजा
काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परम पूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर पुगेर पूजा गर्दा अत्यन्तै अलौकिक अनुभूति भएको बताए । उनका अनुसार चन्द्रागिरि हिल्सको हरियाली, शान्त वातावरण र काठमाडौं उपत्यकाको मनोरम दृश्यले गहिरो आध्यात्मिक शान्ति प्रदान गरेको छ । काठमाडौं बसाइका क्रममा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले चन्द्रागिरि हिल्स पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै प्राकृतिक र धार्मिक महत्त्वले भरिएको यो स्थल सबैलाई लोभ्याउने बताए । स्वामी कैलाशानंद सहितको टोलीले केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुग्दा यात्रा स्मरणीय बनेको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंदले लुम्बिनी केबलकार यात्रा, वसन्तपुरस्थित कामाख्या देवी मन्दिर, रसुवाको गोसाईंकुण्ड र काठमाण्डौंको दक्षिणकाली मन्दिरमा पनि दर्शन तथा पूजा गरेका थिए । धार्मिक स्थलहरूको यो यात्रा नेपालका तीर्थ स्थलहरूको महत्व उजागर गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
५०.४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ। तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।