विकासन्युज

काठमाडौं महानगरबाट ५२ हजारभन्दा बढीले लिए निःशुल्क कानुनी सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट हालसम्म ५२ हजार ७४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन्।  कानुन दिवसका अवसरमा विशेष अदालतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले निःशुल्क कानुनी सेवा दिँदै आएको बताए। उनले भने, ’कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्छ । यसैका लागि हामीले निःशुल्क कानुनी सेवाको सुरुआत गरेका छौं । हालसम्मको तथ्याङ्कअनुसार ५२ हजारभन्दा बढीलाई सेवा दिएका छौं ।’ उपप्रमुख डङ्गोलले महानगरले हालसम्म ८३ पटक सुनुवाइ गरी ६८५ वटा विवादमध्ये ३२६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट समाधान गरिएको जानकारी दिए । उनले निःशुल्क कानुन सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिए ।  ’हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौं । लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न, सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर सञ्जाल बनाएका छौं । जसका कारण न्यायका लागि न्यायिक समितिसम्म पुग्नुुपर्ने अवस्था अन्त्य भएको छ ।’ उपप्रमुख डङ्गोलले कानुनबारे अझै पनि अनभिज्ञ रहेको भन्दै नागरिकसम्म पहुँच पुग्नेगरी अघि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले संविधानको भाग–७ को धारा २१७ मा स्पष्टसँग न्यायिक समितिको परिकल्पना गरेको भन्दै न्यायिक समितिलाई अझै फराकिलो र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।  

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।  उनले भने, 'पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।' पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ ।  शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७  यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।   

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘इन्स्योर’ परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते ललितपुरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त तालिमको उद्देश्य अटोमोबाइल वर्कशपहरूमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूलाई सुरक्षा, स्वास्थ्य र कल्याणका विषयमा व्यवहारिक चेतना र दक्षता विकास गराउनु रहेको थियो । कार्यक्रममा जोखिम व्यवस्थापन, कार्यस्थलका संभावित जोखिमहरू, रोकथामका उपायहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति निर्माण जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । नाडाका १२ सदस्य कम्पनीबाट २० जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिममा ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँग सहकार्यमा यस्तो किसिमको तालिम पहिलो पटक आयोजना गरेको हो, यद्यपि दुई वर्षदेखि विभिन्न विषयमा तालिम आयोजना गर्दै आएको छ । तालिमको समापन समारोहमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जिव कुमार राईले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नाडाका केन्द्रीय सदस्य प्रदीपमान प्रधान, इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी, र तालिम समन्वयकर्ता आरजु श्रेष्ठको सक्रिय भूमिका रहेको थियो । नाडाले यो तालिमलाई आफ्नो सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई

कामाठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौं आइपुगेका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसकेका छन् । काठमाडौंमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल भए । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित भएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाए । उनले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले गर्यो । त्यो उनले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गरे । 'मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन । सायद, त्यहाँ दर्शकले आफूलाई पाउनुभएका कारण त्यो चलचित्र मात्र चलेन, त्यहाँका हामी कलाकार पनि चलिरहेका छौँ', अभिनेता राईले भने ।  चलचित्रमै काम गरिरहँदा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको समेत स्थापना गरेका अभिनेता राईले अहिलेसम्म उक्त दायित्व निर्वाह गरिरहेका छन् । आफूलाई अभिनय गर्न, नाटकको अभ्यास गर्न र रङ्गकर्मीलाई एउटा ठाउँ दिन स्थापना भएको मण्डलाले अहिले धेरै कलाकारलाई मञ्चसम्म पुर्याएको छ । अहिले चलचित्रकर्मीका लागि पनि अभिनेता खोज्ने एउटा ठाउँ उक्त नाटक घर बनिसकेको छ । अभिनेता राईसँग उहाँको रङ्ग यात्रा, चलचित्रमा प्रवेश, नाटकघरको परिकल्पनालगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः      तपाइमा रङ्गमञ्चप्रतिको लगाव कसरी भयो ? भोजपुरको माटोमा साहित्य र सङ्गीतको छुट्टै जादु छ, जस्तो लाग्छ । बाल्यकालमा आमाले लोककथा धेरै सुनाउनु हुन्थ्यो । ती कथाका पात्रले मलाई आकर्षित गरिरहेको हुन्थ्यो किनकि उनीहरू रोमाञ्चक थिए । त्यसपछि रेडियो सुन्न थालियो गीतसङ्गीतमा आकर्षण बढ्यो, पुस्तक पढ्न थालेपछि साहित्यप्रति आकर्षित भएँ । त्यसो त म सदरमुकाममा दुई घण्टा हिँडेर चलचित्र हेर्न पुग्थे । चलचित्र हेर्दा किन र कसरी हुन्छ भनेर धेरै कौतुहलता बढ्थ्यो । घरबाट मलाई चाहेको कुरा गर्ने छुट थियो । ‘अरूको चित्त दुखाउने काम नगर्नु’ भनेर अभिभावकले भन्नुहुन्थ्यो । त्यो बाहेक रहर लागेका काम गर्दै हुर्किएँ ।  रङ्गमञ्चसँग कसरी जोडिनुभयो ?  १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईवस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्म अध्यायन गरेँ । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेर भोजपुरबाट काठमाडौं छिरेँ । यहाँ नाटक र साहित्यप्रतिको आकर्षणले मलाई रङ्गमञ्चसँग जोड्यो । म नाटक, साहित्य, चित्रकला प्रदर्शनीका कार्यक्रममा पुग्ने र त्यहाँ आएका कलाकारलाई भेट्ने गर्थें । मैले नाटक महोत्सवमा पनि पुगेर कसरी गरिन्छ भन्ने अवलोकन गरेको छु ।  त्यही क्रममा नाचघर जमलमा अभिनय सिक्न पाइन्छ भन्ने थाहाँ पाएँ । म पुग्दा एकवर्षे अभिनय कक्षा सकिन लागेको रहेछ, तर तत्कालीन महाप्रबन्धक हरिहर शर्मालाई अभिनयप्रतिको लगाव सुनाएँ । भोजपुरदेखिका कथा सुनाएँ । त्यसपछि अनुभवी कलाकारलाई दिइने कार्यशालामा मैले सहभागी हुने अवसर पाएँ । त्यहाँ अनुप बराल, वीरेन्द्र हमालसँग कार्यशाला लिएँ । त्यसपछि रङ्गकर्मीसँग सामीप्यता पनि बढ्यो, विस्तारै काम पाउन थाले ।  नाटकघर खोल्ने सोच कसरी आयो नि ?  मैले केही चलचित्रमा काम गरिसकेको थिएँ । अभिनय गर्ने लालसा झन् बढ्दै थियो । त्यो समयमा नाचघर, प्रज्ञा प्रतिष्ठान र गुरुकुलमा नाटक हुन्थ्यो । त्यहाँको आर्थिक भार उठाउन सक्ने हैसियत मसँग थिएन । नाट्यकर्मी साथीहरू राजन खतिवडा र सिर्जना सुब्बासँग छलफल गरेर नाटक गर्ने सोच बनाइरहेका थियौँ । तर, अभ्यास गर्न नै हामीले स्कुलको बिदाको समय चाहिने, छलफल गर्न चिया पसलमा घन्टौं बस्नुपर्ने बाध्यता थियो । हाम्रो कारणले अरुलाई असर गरिरहेको महसुस हुन्थ्यो । त्यसकारण एउटा ठाउँ चाहिन्छ भन्ने भयो ।  त्यही क्रममा हामीले काठमाडौ चहारेपछि अनामनगरमा छ आना क्षेत्रफलमा मण्डलाको स्थापना गर्यौँ । तीन जनाबाट सुरू भएको समूह विस्तारै १५ जनाको बनिसकेको छ । यसले हामीलाई जिम्मेवारी पनि दिएको छ । त्यहाँ अभिनय सिक्न पाउनु हुन्छ, आफूलाई बुझ्न आउनु हुन्छ । हाम्रो सपनासँगै अहिले धेरैको सपना जोडिएको छ । चलचित्रको छायाङ्कनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु । फेरि यो कसैको दबाब होइन, मैले देखेको सपना नै हो । चलचित्रमा काम गरेर नाटकघर चलाउने योजना नै थियो ।  नयाँ पुस्तामाको भविष्य रङ्गमञ्चमा कस्तो देख्नुभएको छ ? अनि रङ्गमञ्च साक्षरताको अवस्था के छ ?     नयाँ पुस्तालाई हामीले अग्रजबाट पाएको ज्ञान हस्तान्तरण गर्नु नै छ । हामीले त्यो गरिरहेका छौँ । हामीभन्दा अघिल्लो पुस्ताको सङ्घर्ष हाम्रो लागि प्रेरणादायी रह्यो । त्यसबाट प्रभावित भएर हामीले उहाँहरूसम्म पुग्न नसकेता पनि एउटा स्थान बनाउन सफल भयौँ । हामी पछाडिको नयाँ पुस्ता प्राविधिक युगको हुनहुन्छ । ज्ञान आर्जन गर्न विभिन्न माध्यम छन् तर इमान्दारिता, धैर्यता र समपर्ण चाहिन्छ । त्यही हामीले बुझाइरहेका छौँ । नयाँ पुस्ताले रङ्गमञ्चमा देखाउनुभएको सम्भावना प्रसंशनीय छ । रङ्गमञ्च साक्षरता बढ्न वा बढाउन समाजनै अध्ययनशील हुनुपर्छ । त्यसपछि हामीले गरिरहेको कामको प्रभाव देखिन्छ । त्यसका लागि विद्यालय वा विश्वविद्यालय जहाँ हामीले शिक्षा आर्जन गर्छौँ, त्यहाँ रङ्गमञ्चसम्बन्धी अध्यन गराउने र छलफल चलाउने हुनुपर्छ । अध्यनबाट सुरुआत भयो भने त्यसले रङ्गमञ्चलाई निकै उचाइमा पु¥याउँछ जस्तो मलाई लाग्छ ।   रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिन्छ त ?   केहीले गरिरहेका छन्, धेरैले सोचे जस्तो जीवनशैली पाउन सकेका छैनन् । रङ्गमञ्च धानिएकै लगाव र इमान्दारिताले हो । किनकी नाटकलाई अझै व्यावसायिक बनाउन सकिएको छैन, हामीले प्रयास गरिरहेका छौँ । यहाँ रङ्गकर्मीकै लगानी छ, जबसम्म ‘कर्पोरेट हाउस’हरु आकर्षित हुँदैनन्, रङ्गकर्मीले सङ्घर्ष गर्नै पर्छ । हामीले चलचित्रमा पाएको पारिश्रमिकले आफ्नो सपना पूरा गर्न रङ्गमञ्च चलाइरहेका छौँ । चलचित्र झैँ यहाँ पनि टिकेट नै आयस्रोत भएकाले हाम्रो सीमितता छ । हामीसँग सिमित सिट छ, सिमित समय छ । तर, हामी धेरै दर्शकसम्म पुग्ने प्रयास गरी नै रहेका छौँ ।  चलचित्र जस्तै विदेशमा नाटक लान वा देखाउन प्रस्ताव आउँछ ? प्रस्ताव आइरहेका छन् । विदेशबाट आएर नाटक हेरेर प्रतिक्रिया दिने नाटक प्रेमी पनि धेरै हुनुहुन्छ । उहाँहरूले विदेश ल्याउनुस् भन्नुहुन्छ । तर, म हतार नगर्नुस्, पहिला सबै बुझ्नुस् भन्छु । किनकी हामिले छोटोमा पनि सात जनासम्मको समूह बनाउनु पर्छ । नाटकलाई सुन्दर बनाउने काम कलाकारसँगै ध्वनी, प्रकाशसहितको ‘स्टेज’ ले गरिरहेको हुन्छ । हामीले विदेशमा मञ्चन गर्दा प्राविधिक रुपमा ती गर्न सक्छौँ वा सक्दैनौँ रु भन्ने प्रश्न आफैँलाई आउने गर्छ । किनकी व्यावसायिक दायित्व धेरै थपेर हामीले नाटक गर्न सक्दैनौँ । त्यसकारण आएका प्रस्तावलाई पर्खिन आग्रह गरेका छौँ ।  नाटकघर सञ्चालन गर्दा के-कस्ता दायित्व थपिने रहेछन् ? पहिला हामीले आफ्नो लागि भनेर स्थापना गरेका थियौँ, अब यो कलाकारिता गर्ने धेरै युवाको सपना बनेको छ । त्यसले हामीलाई दायित्व थपेको छ । केही समय मलाई आर्थिक रुपमा निकै कठिनाइ परेको थियो । तर, अहिले भने सहज रुपमै नाटक घर सञ्चालन गर्न सकेका छौँ ।  तपाई चलचित्रमा देखिन थालेपछि नाटकमा कम समय दिनुभएको छ, अभिनय नगर्नुभएको पनि धेरै भयो । कहिले तपाईलाई दर्शक रङ्गमञ्चमा देख्न पाउने छन् ? म कसरी पवित्र रङ्गमञ्च छाड्न सक्छु रु मञ्च छुटेकै हो तर रङ्गमञ्च कहिल्यै छाडिनँ । रङ्गमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । मैले पछिल्लो समय झन्डै छ वर्ष अगाडि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’मा काम गरँे । त्यसमा म र कलाकार बुद्धी तामाङ ‘डबल कास्ट’ थियौँ । हामी जहाँ भएपनि एक जना नाटक गर्न आउने सहमति भएको थियो । एकपटक पोखरामा छायाङ्कन हुँदा प्लेन नउडेर आउन सकिन । म आफैँ निराश भएँ । त्यो भन्दा अगाडि मैले ‘र।।। माइलो’ नामक नाटक गरेको थिएँ । चलचित्र र नाटकको धपेडीले एउटा शोमा सोफाको आड लिएर अभिनय गरेँ । शो सकिने बितिकै डाक्टरको निगरानीमा उपचार गराउनुपर्यो । त्यसकारण रहरले मात्र नहुने रहेछ भन्ने लाग्यो ।  अहिले पनि हामीले २०८२/८३ का लागि नयाँ नाटक निर्देशन घोषणा गरेका छौँ । मैले पनि गर्ने भन्ने तयारी थियो । म निर्देशन गर्ने तयारीमा रहँदा पनि समय व्यवस्थापन नभएपछि अर्को वर्ष वा कुनै समयमा गरौँला भनेर व्यवस्थापनको जिम्मेवारीमा छु । मानसिक र शारीरिक रुपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो । तर, मञ्च छुटेता रङ्गमञ्च छाडेको छैन । यो मेरो घर हो । घर नफर्की कहाँ जानु र !  तपाईले नाटक हेर्ने शुल्क बढाउनु भएको छ, यसको प्रभाव कस्तो पर्ला ?  हामीले शुल्क न बढाएको झन्डै छ वर्षभयो होला । हामीले नाटकघर सञ्चालन गरिरहेको जग्गाको भाडा, बढ्दो महङ्गीले हामीले आर्थिक भारअनुसार नै टिकट मूल्य बढाएका छौँ । एउटा नाटक मञ्चन भएको पहिलो दुई साता विद्यार्थीलाई ? तीन सय र त्यसबाहेक व्यक्तिलाई पाँच सय रुपैयाँ तथा तेस्रो र चौथो साता विद्यार्थीलाई रु पाँच र त्यस बाहेककालाई एक हजार रुपैयाँ शुल्क तय गरेका छौँ । हामीले पहिले पनि केही सिटलाई एकहजार मूल्य राखेका थियौँ, त्यसलाई परिमार्जन गरेका हौँ । यसले हामीलाई पनि दायित्व बढाएको छ । हामीले पनि लिएको शुल्कअनुसारको मेहनत नाटकमा गर्नुपर्ने दायित्व थपिएको छ ।  ‘लूट’ मार्फत तपाईले अभिनेताको परिभाषा नै बदल्नुभयो नि ? त्यो चलचित्रको बनोट शैली नै नियमितभन्दा भिन्न थियो । त्यसका म लगायतका पात्र टोल, छरछिमेकमा भेटिने नै थिएँ । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण त्यसले नसोचेको नतिजा दियो । हामी रङ्गकर्मी अहिले चलचित्रमा काम गरिरहेका छौँ । हामी दर्शकको सोच र स्वाद फेर्न सफल भयौँ । तर, म त्यो चलचित्रमा आफ्नो विविधता देखाउन अभिनय गरेको थिएँ । मैले ‘दासढुङ्गा’ र ‘मेरो एउटा साथी छ’मा गरेको काम भन्दा भिन्न थियो । अभिनयमा मलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने लागेको थियो तर यो सफलता पाउँछु भन्ने आशा थिएन ।  नाटकघर स्थापनासँगै चलचित्र निर्माणमा पनि जोडिनुभयो । ‘कबड्डी’ निर्माणमा सहकार्य गर्ने सोच कसरी आयो ?   चलचित्रमा काम गरेर भएको आर्जनले नाटकघर चलाउने हाम्रो सोच नै थियो । ‘लूट’ को सफलताले दर्शकले एउटा विश्वास गर्नुभएको थियो । हामी मण्डला स्थापनाकै समय भेटघाट हुँदै गर्दा निर्देशक रामबाबु गुरुङले चलचित्र बनाउने कुरा गर्नुभयो । उहाँले सुनेको कथा (आइडिया) राम्रो लाग्यो । सोही क्रममा निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भयो । हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर चलचित्र बनाउने निधो गरेर काम गर्यौं । ‘कबड्डी’ को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो । त्यसबाट हामीले व्यावसायिक रुपमा समेत लाभ लिन सक्यौं ।  चलचित्र ‘कबड्डी’ मा तपाईले निर्वाह गर्नुभएको ‘काजी’ को राम्रै चर्चा भयो । त्यो प्रेम कथाको शैली कहाँबाट आयो ?   ‘कबड्डी’ एउटा प्रेम कथानक चलचित्र हो । त्यसको काजी नामक पात्रले एकोहोरो माया गर्नेको कथा हो । उसले मन पराएको मान्छेलाई इमान्दारिताको साथ प्रेम गर्छ तर शैली मिलाउन सक्दैन । सोही कारण उसको शैलीमा दर्शकले ‘ह्युमर’ पाउनुभयो । यस्तो प्रेम गर्ने पनि छन्, हुन्छन् । हामीले नियमित भन्दा फरक काम गर्ने कोशिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो ।  कलात्मक र पूर्ण व्यावसायिक (मसालेदार) दुवै चलचित्रमा काम गरिरहनुभएको छ, के छ यिनमा भिन्नता ?  मसालेदार चलचित्रमा दर्शकको प्रिय बन्न पात्रको बनोट हुन्छ । हाम्रो कोसिस त्यहि हुन्छ । तर, कलात्मक चलचित्रमा हामीले स्वतन्त्र भएर काम गर्न पाउँछौ, किनकी यी चलचित्रलाई अन्तरराष्ट्रिय बजार केन्द्रित गरेर तयार गरिएको हुन्छ । दर्शकले पनि दुवै चलचित्रको भिन्नता महसुस गरिसक्नुभएको छ । किनकी उहाँहरू मनोरञ्जन मात्र लिने की नयाँ केही हेर्ने भन्ने सोच बनाएर नै चलचित्र भवनसम्म आउनुहुन्छ ।  नाटक निर्देशन गर्नुभयो, चलचित्रतर्फ के छ सोच ?  म निर्देशन अवश्य गर्छु । तर, यो समयमा भन्ने सोचेको छैन । अहिले नाटकघरसँगै अभिनयमै व्यस्त छु । कुनै समय अभिनयबाट विश्राम लिनुपर्यो भने मैले गर्ने भनेकै नाटक र चलचित्र निर्देशन हो । तर, अहिले के कसरी गर्ने भन्ने तय छैन । यद्यपि केही पटकथा (स्क्रिप्ट) हेरिरहेको छु । तय भएपछि म आफैँ यसबारेमा जानकारी दिन्छु ।  तपाईको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ? यो हाम्रै गाउँ/समाजको कथा हो । यसमा पाँच जना प्रमुख पात्र छन्, जसमध्येको म एक हुँ । त्यहाँ एकजना विदेशबाट गाउँ फर्किएका छन्, एक जना काठमाडौँबाट । ती युवाहरुको सोचको कथा नै ‘महाभोज’ हो । यसमा मैले धेर वर्षपछि निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलसँग सहकार्य गरेको छु । मैले झन्डै सत्र वर्ष अगाडि चलचित्रमा सुरुआत गरेको थिएँ । त्यसक्रममा ‘मेरो एउटा साथी छ’ मा अभिनेतामा सिग्देल र मुख्य सहायक निर्देशकमा राउत हुनुहुन्थ्यो । केही समयदेखि कुरा गर्ने भनिएको सल्लाह अहिले बल्ल काममा परिणत भएको छ । यो जेठ १५ गते प्रदर्शन हुँदैछ, यसको विषयले हामीलाई रमाइलो मात्र बनाउँदैन । समाजका केही विषयमा सोच्न बाध्य बनाउँछ ।  नेपाली चलचित्र क्षेत्रमा गएको वर्षको व्यावसायिक उपलब्धिले कस्तो प्रभाव पार्ला ?  अघिल्लो वर्ष हामीले धेरै विविधतामूलक कथालाई पर्दामा हेर्न पायौं । धेरै भिन्न र फरक किसिमका कथा भएकै कारण धेरै देशक चलचित्र भवन आउनुभयो । तर, हाम्रो चुनौती नै ‘फलोअर्स’ बन्नबाट जोगिनु हो । हामीले त्यस्तो चलचित्र चल्यो भनेर त्यही शैलीलाई पछ्याउनु हुँदैन । आफैँ ‘क्रिएटर’ बन्न सक्नुपर्छ । हिजो ‘लूट’ होस् वा ‘कबड्डी’, गएको वर्षकै ‘पूर्णबहादुरको सारङ्गी’ बनाउनुको उदेश्य अर्काको देखासिखी थिएन । त्यो बनाउन मन लागेको शैली र कथामा चलचित्र बनेका थिएँ । तर, अब त्यो चल्यो, त्यो जस्तै बनाउन भनेर आउनुभयो भने गत वर्ष चलचित्र भवन आएका दर्शकलाई हामीले नयाँ केही दिन सक्दैनौँ । त्यसकारण हामीले आफ्नो रचनात्मक पक्षलाई अझैँ बढाउनु आवश्यक छ । चलचित्रको बजार हामीले देखिसकेका छौँ, राम्रो चलचित्र बनाउने दायित्व हामीलाई छ । रासस

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।  यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्ने सक्नेछन् ।  यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । बाइ नउ प्ले लेटर मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्र्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम  प्रिन्ट क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ । 

एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन

काठमाडौं । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ । यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ । एक्सका अनुसार अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र अन्य प्रमुख प्रयोगकर्ताहरूलाई ब्लक गर्न माग गरेको यो आदेश मेटाले नयाँदिल्लीको अनुरोधमा इन्स्टाग्राममा एक प्रमुख मुस्लिम समाचार पेज भारतमा प्रतिबन्धित गरेको एक दिन पछि आएको हो । 'कम्पनीका स्थानीय कर्मचारीहरूलाई उल्लेखनीय जरिवाना र कारावासको सम्भावित दण्डसहित एक्सले भारत सरकारबाट कार्यकारी आदेशहरू प्राप्त गरेको छ जसमा एक्सले भारतमा आठ हजारभन्दा बढी खाता ब्लक गर्न आवश्यक छ', साइटको विश्वव्यापी सरकारी मामिला टोलीले एक विज्ञप्तिमा भनेको छ । धेरैजसो मामिलामा सरकारले खाताहरूबाट कुन पोस्टहरूले भारतीय कानून उल्लङ्घन गरेको छ भनेर निर्दिष्ट गरेको थिएन र अन्य धेरैमा यसले ब्लकहरूका लागि कुनै प्रमाण वा औचित्य प्रदान गरेको थिएन । एलन मस्कको स्वामित्वमा रहेको प्लेटफर्मले मागहरूसँग असहमति जनाएको तर भारतमा निर्दिष्ट खाताहरू रोक्ने प्रक्रिया सुरु गरेको बताएको छ । 'सम्पूर्ण खाताहरू अवरुद्ध गर्नु अनावश्यक मात्र होइन, यो विद्यमान र भविष्यका सामग्रीको सेन्सरसिप बराबर हो, र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको विपरित हो', विज्ञप्तिमा भनिएको छ, 'यो सजिलो निर्णय होइन, यद्यपि प्लेटफर्मलाई भारतमा पहुँचयोग्य राख्नु भारतीयहरूको सूचना पहुँच गर्ने क्षमताका लागि महत्त्वपूर्ण छ ।' काश्मीरको विवादित मुस्लिम बहुल क्षेत्रमा भारतद्वारा शासित क्षेत्रमा पर्यटकहरूमाथि घातक आक्रमणलाई समर्थन गरेकामा नयाँदिल्लीले इस्लामाबादलाई दोष दिएको दुई हप्तापछि भारत र पाकिस्तानबीचको भीषण लडाइँका बीच यो कदम आएको हो । पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गरेको भन्दै हवाई आक्रमण सुरु गरेदेखि बढ्दो हिंसामा सीमाको दुवै छेउमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । दुवै देशले बिहीबार एकअर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् । एक्सले कानूनी प्रतिबन्धहरूका कारण भारतीय कार्यकारी आदेशहरू सार्वजनिक गर्न नसक्ने बताएको छ, तर यसले प्रभावित प्रयोगकर्ताहरूलाई ‘अदालतहरूबाट उपयुक्त राहत खोज्न’ प्रोत्साहित गरेको छ । यसले प्रभावित प्रयोगकर्ताहरूको नाम उल्लेन गरेन, तर हालैका दिनहरूमा भारतीय मिडियाले भारतले पाकिस्तानी राजनीतिज्ञ बिलावल भुट्टो जरदारी र पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खानका एक्स खाताहरू ब्लक गरेको रिपोर्ट गरेको छ । भारतले पाकिस्तानी समाचार संस्थाहरूसहित ‘उत्तेजक’ सामग्री फैलाएको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलहरूलाई पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ असलम पनि भारतमा सीमित थिए । साथै स्टार ब्याट्सम्यान बाबर आजम र मोहम्मद रिजवान र सेवानिवृत्त खेलाडी शाहिद अफ्रिदी र वसीम अकरमसहित विभिन्न प्रकारका क्रिकेटरहरू पनि भारतमा सीमित थिए । दक्षिण एसियाली यी दुई छिमेकीबीच बढ्दो शत्रुताले अनलाइन गलत सूचनाको बाढी ल्याएको छ । सामाजिक मिडिया प्रयोगकर्ताहरूले डिपफेक भिडियोदेखि असम्बन्धित द्वन्द्वहरूको पुराना छविहरूसम्म सबै कुरा प्रसारित गरिरहेका छन्, जसलाई गलत तरिकाले चलिरहेको लडाइँसँग जोडिएको छ ।  

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे ।  राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरें : अभिनेता हमाल

काठमाडौं । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे ।   'मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ', अभिनेता हमालले भने । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । 'अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उनलाई दर्शकको भावनाअनुरुप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उनलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु', निर्देशक भट्टराईले भने । उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्र भवन पुग्ने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे । उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।