विकासन्युज

एनएलजी इन्स्योरेन्सको २.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गर्ने कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।     

रोजगारी र लगानीबिना अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई गति दिन लगानीकर्ता आकर्षण र रोजगारी सिर्जना अनिवार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै पौडेलले अर्थतन्त्रलाई पुनः लयमा फर्काउन निजी क्षेत्रको मनोबल उठाउनु आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वर्तमान सरकारले निजी क्षेत्रका गुनासाहरू सुन्ने र समाधान गर्न गम्भीर पहल गरिरहेको छ। अर्थमन्त्रीले सरकार गठन भएदेखि नै आर्थिक शिथिलता हटाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको जानकारी दिए । पौडेलले कानुनी अवरोधलाई अध्यादेशमार्फत हटाउने र आवश्यक परे कानून संशोधनमार्फत निजी क्षेत्रलाई सहज वातावरण बनाउने स्पष्ट संकेत दिए । 'कानून संशोधन मात्रै पर्याप्त छैन, निजी क्षेत्रलाई उत्साहित बनाउन थप प्रयास जारी रहन्छ,' उनले भने । अर्थतन्त्रको गति पुनर्स्थापित गर्न तीन तहमा काम हुने उनले स्पष्ट पारे । बजेटबाट सम्भव समाधान बजेटमै, कानुनी समस्या कानुनी प्रक्रियाबाट गर्न सकिन्छ । अन्त्यमा, उनले भने 'तपाईंहरूको मनोबल नबढाई, लगानीकर्ता नआकर्षित गराई, र रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।'

बोनसमा कर लगाउँदा दोहोरो हुने आईक्यानको ठहर, नाफा पुँजीकरण गर्दा लागत शून्य हुनुपर्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले बोनस सेयर वितरण गर्दा लाग्ने करको व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयकर ऐन २०५८ मा बोनस सेयर वितरणमा जोड दिँदा राज्यलाई फाइदा हुने भएकाले कर हटाउनुपर्ने सुझाव दिएको हो ।  संसारका प्राय देशहरूमा बोनस सेयर वितरण गर्दा कर लाग्ने व्यवस्था छैन । तर, नेपालमा भने आयकर ऐन, २०५८ को दफा ५३ मा निकायबाट हुने वितरण (निकायबाट आफ्नो हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी वा मुनाफाको पुँजीकरण) लाई दफा ५४ अनुरूप लाभांश मानी दफा ८८ को अधीनमा रही ५ प्रतिशत रकम अन्तिम रुपमा कर कट्टी हुने गरेको आईक्यानले बताएको छ ।  आईक्यानका अनुसार कुनै पनि निकायको आयमा कर लगाई सकेपछि लाभांशमा कर लगाउँदा एउटै आम्दानीमा दोहोरो कर लाग्ने अवस्था आउँछ । जुन अन्तर्राष्ट्रिय कर कानुनको मान्यताको विरुद्ध रहेको आईक्यानको भनाइ छ । यद्यपि संसारका धेरै मुलुकमा कम्पनीले नगद लाभांश बाँड्ने कामलाई भन्दा सेयर लाभांश बाँड्ने कामलाई प्राथमिकता दिनको लागि नगद लाभांशलाई कर लगाउने र सेयर लाभांश बाँड्दा कर नलगाउने गरेको पाइएको आईक्यानले जनाएको छ ।  ‘नगद लाभांशको कारण तत्काल नगद प्रवाह हुन्छ । तर, नगद लाभांशको सट्टा बोनस सेयर जारी गरिएमा व्यवसायमा नगद परिचालित भई थप रोजगारी सिर्जना गर्न सक्ने निकायको आम्दानीमा वृद्धि भई कर समेत बढी उठ्न सक्ने सम्भावना रहन्छ । तसर्थ, बोनस सेयर वितरणको रुपमा मुनाफाको वितरणलाई फरक करारोपण गर्नु उपयुक्त हुन्छ,’ आईक्यानले बजेटमा सुझाव दिँदै भनेको छ, ‘सञ्चित मुनाफा पुँजीकरण गरी बोनस सेयर जारी गर्दाको अवस्थामा करारोपण नगरी सो सेयरको लागत मूल्य शून्य बनाइएमा सो सेयर बेचबिखन गर्दा हुने लाभ गणना गर्दा बिक्री रकम नै लाभ भइ सो रकममा करारोपण हुन जान्छ, जुन अहिलेको व्यवस्था भन्दा राज्यका लागि फाइदाजनक छ ।’  आईक्यानले आयकर ऐन, २०५८ को दफा ५३ को उपदफा १ र २ मा मुनाफाको पुँजीकरण भएमा भन्ने व्यवस्था हटाउन सुझाव दिएको छ । साथै सोही दफाको स्पष्टीकरणमा उल्लेख गरिएको ‘यस दफाको प्रयोजनको लागि ‘मुनाफाको पुँजीकरण’ भन्नाले बोनस सेयर वा यस्तै कुनै हित जारी गरी पुँजीकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा वृद्धि गरेको वा निकायको प्रिमियम तथा पुँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउँछ,’ भन्ने व्यवस्था हटाउन सुझाव दिएको आईक्यानले जनाएको छ ।   यस्तै, ऐनको दफा ५४ मा उपदफा ६ मा बासिन्दा निकायले मुनाफाको पुँजीकरण गरेमा पुँजीकरण गरेको अवस्थामा सो हितबापत हिताधिकारीले कुनै रकम प्राप्त गरेको मानिने छैन भन्ने व्यवस्था थप्नुपर्ने आईक्यानको सुझाव छ ।   साथै, स्पष्टीकरणमा यस दफाको प्रयोजनको लागि ‘मुनाफाको पुँजीकरण’ भन्नाले बोनस सेयर वा यस्तै कुनै हित जारी गरी पुँजीकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा वृद्धि गरेको वा निकायको प्रिमियम तथा पुँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउने भनेर उल्लेख गर्नुपर्ने आईक्यानको भनाइ छ ।  

५० वर्ष पुरानो भवनको सट्टामा सुविधा सम्पन्न चौकी, गलकोटमा स्वास्थ्य सेवा बलियो

ढोरपाटन । गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न भएको थियो । मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवत/केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् । दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताए । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ । पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४  स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए । रासस

टक्सारको सामुदायिक विद्यालयमा इलर्निङ कक्ष सुरु, १० कम्प्युटरसहित सुविधा विस्तार

टक्सार । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र  आवश्यक उपकरण  जडान गरिएको छ ।  पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।   सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताए । उनले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भने ।  ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री बन्न आवश्यक रहेको र विद्यालयमा संस्थाले इलर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थी पनि प्रविधिमैत्री र सक्षम हुने छ भने  । इलर्निङ कक्षको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ । ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयस्तरबाट नै यो अनिवार्य भएको बताए । उनले भने, 'कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इलर्निङ कक्ष आवश्यक देखिएको छ ।'

१०.९३ प्रतिशत बढ्यो आईजीआई प्रुडेन्सियलको बीमा शुल्क, २६.५१ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४३.३१ प्रतिशत घटेर २६ करोड ५१ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४६ करोड ७६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.९३ प्रतिशत बढेर २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १९.७५ प्रतिशत बढेर ६१ करोड ३० लाख ५७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड १९ लाख १५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३ करोड ४७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार २.०१ प्रतिशत बढेर ४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५८ रुपैयाँबाट घटेर ११.६७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.३० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.४३ गुणा रहेको छ ।  

८९ करोड ९० लाख रुपैयाँ नाफा गरेको सीआईटीको कमिशन १५.०६ प्रतिशत बढ्यो

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.८८ प्रतिशत बढेर ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कोषले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैतसम्ममा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेर २४ करोड १ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १७ लाख रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.२३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ र कुल खर्च ३९.३६ प्रतिशत बढेर ३२ करोड ८८ लाख रुपैयाँ गरेको छ ।  ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६५ रुपैयाँ घटेर १८.४९ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ ।  

नेशनल लाइफले ५.२० प्रतिशत नाफा बढायो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५.२० प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.५९ प्रतिशत बढेर १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.९० प्रतिशत बढेर १५ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ अर्ब २१ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले १९ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ५० करोड ३० लाख रुपैयाँ कुल आम्दानी गर्दा १६ अर्ब ४७ करोड ४० लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशत बढेर ८१ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.३३ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५९.५६ गुणा रहेको छ ।