विकासन्युज

आफ्नै पार्टीको अर्थमन्त्री पौडेलसामु सुरेन्द्र पाण्डेको आक्रोश, अर्थ मन्त्रालय मेरो पालाभन्दा पनि भद्रगोल भयो

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो पालाभन्दा अहिले अर्थ मन्त्रालय थप खराब भएको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र विषयक छलफल कार्यक्रममा बोल्दै उनले आफू अर्थमन्त्री बनेको समयभन्दा अहिले अर्थमन्त्रालय बिग्रेको बताएका हुन् । ‘ब्यूरोक्रेसीमा सबै जान्ने भन्ने मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ, अहिले थप भद्रगोल छ,’ उनले भने । यस्तै उनले आवास र जग्गामा उच्च कर लगाउनु पर्ने सुझाव दिए । उनले यस्तो कर विस्तारै ४० प्रतिशत पुर्याउनु पर्ने धारणा राखे । उनले उपभोग घटेको अर्थतन्त्र सुधार गर्न पुँजीगत बजेट साढे ३ खर्ब कायम गर्नुपर्ने बताए ।

अर्थमन्त्रीलाई खनालको प्रश्न: नीति कार्यक्रम आशावादी छैन, आयोगको सुझाव कार्यान्वयन गर्ने हैसियत छ ?

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले पछिल्लो समय सरकार अर्कैले चलाउँदा जनतामा अविश्वास बढेको बचाएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र विषयक छलफल कार्यक्रममा आयोगको प्रतिवेदनका विषयमा प्रस्तुति दिँदै उनले सरकार अर्कै व्यक्तिले सञ्चालन गर्दा सरकारप्रति जनतामा निराशा र अविश्वास बढेको बताएका हुन् । 'सरकारले केही राम्रो काम गर्दा पनि जनतामा निराशा छ, पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका जनतामा सरकारप्रति अविश्वास बढेको छ, यो सरकार अर्कै व्यक्तिले सञ्चालन गर्नुको कारण हो,' उनले भने । । यस्तै, उनले सार्वजनिक निकायमा विश्वसनीयता, सुधार, स्थिरता र विशेषज्ञता हुन आवश्यक रहेको सुनाए । उनले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने, मौद्रिक व्यवस्थापन र स्थिर विनिमय दरको विकल्प खोज्नु पर्ने धारणा राखे ।  उनका अनुसार वर्तमान सकस समाधानका लागि बजेटमार्फत स्टिमुलस प्याकेज ल्याउनुपर्ने बताए । उनले आयोगले प्रतिवेदनले सुझाव दिएअनुसार सानो बजेट तथा कार्यक्रम संघीय बजेटमा नराख्ने, भूतप्रभावी कर नलाउने र घर बहाल कर स्थानीय तहलाई नै जिम्मेवारी दिनुपर्ने बताए । उनले कृषिमा विदेशी लगानी भित्र्याउने, पूर्वाधार निर्माणका निजी क्षेत्रको संलग्नता बढाउने, हाउजिङमा विदेशी लगानी खुलाउनुपर्ने, स्वदेशी सूचना प्रविधिको प्रयोग बढाउने तथा डेटा सेन्टर निर्माणमा जोड दिनुपर्ने सुझाव दिए । अहिले सार्वजनिक भएको नीति तथा कार्यक्रम आशावादी नरेको उनको भनाइ छ । 'आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने हैसियत छ ? कार्यान्वयन भयो भने त्यतिखेर नै धन्यवाद भनौँला,' उनले भने ।

बजाजको ‘खुसीको मिटर’ अफर : मोसीम आलमले जिते १ लाख रुपैयाँ

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बजाज मोटरसाइकलले सञ्चालन गरेको ‘खुसीको मिटर’ क्याम्पेन अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरिएको छ । देशभरिका हजारौं सहभागीहरूमध्ये विराटनगरका मोसीम आलम लक्की ड्र मार्फत नगद १ लाख रुपैयाँ जित्न सफल भएका हुन् । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको यस अफरमा ग्राहकहरूले डिजिटल गेमिङमार्फत रमाइलो अनुभवसँगै उपहार जित्ने मौका पाएका थिए । कम्पनीले विशेष डिजिटल गेम ल्याएको थियो जसमा घरमै बसी मोबाइल वा कम्प्युटरमार्फत खेल्न सकिन्थ्यो । विजेता मोसीम आलमले १५० सिसी पल्सर मोटरसाइकल खरिद गरेका थिए। पारदर्शी र निष्पक्ष लक्की ड्र प्रणालीमार्फत विजेताको छनोट गरिएको कम्पनीले जनाएको छ । बजाजका मार्केटिङ हेड अमितराज चालिसेले भने, ‘खुसीको मिटर’ केवल प्रचार मात्र नभई डिजिटल प्रविधिमार्फत मोटरसाइकल खरिद यात्रालाई इन्टरेक्टिभ र उत्साहजनक बनाउने प्रयास हो । यो अफरमार्फत ग्राहकप्रतिको आभार प्रकट गर्ने र वर्षको सुरुवातलाई अझ विशेष बनाउने हाम्रो उद्देश्य थियो ।' विजेता आलमले आफूले नगद जितेको खबर पाउँदा अत्यन्त खुशी लागेको बताउँदै भने, 'सुरुमा त विश्वासै लागेन, पछि पक्का भएपछि धेरै खुशी लाग्यो । बजाजप्रति मेरो विश्वास अझ बलियो भएको छ । यो अफर मार्फत जित्दा उत्साह अझ बढेको छ ।'   

प्राधिकरणले पुनः जारी गर्यो डेडिकेटेड ट्रंकलाइनको बक्यौता बुझाउने म्याद थपको सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना पुनः जारी गरेको छ ।  प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी महसुल बक्यौता रहेका उद्योगीलाई पुनरावलोकनका लागि निवेदन दिन पुन सूचना जारी गरेको हो । यसअघि २६ गते प्राधिकरणले सूचना निकालेको थियो भने प्राधिकरणले सोमबार सूचना प्रकाशित गरी डेडिकेटेड ट्रंकलाइनका ग्राहकहरूले २०७८ सालको विद्युत वितरण विनियमावली, नियम ५५ को उपनियम (२) बमोजिम बक्यौता रकमको ५० प्रतिशत वा सो बराबरको एक वर्षसम्म म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत राखी, विनियमावलीको उपनियम (९) अनुसार प्रशासनिक पुनरावलोकनका लागि निवेदन दिन सक्ने भनेको छ । प्राधिकरणले निवेदन दिने म्याद हालको कार्यसञ्चालक समितिको मिति २०८२ वैशाख २१ को निर्णय अनुसार तोकेको जनाइएको छ । डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगीहरू र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।  

सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरणका लागि स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहजीकरण पहल थालेका छन् ।  लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासो पछि मन्त्री पौडेलले सरकारी नियमअनुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधी बिक्री सहजीकरणका लागि चाल्न सकिने कदमबारे वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुसँग छलफल गरेका हुन् ।  ‘आम नागरिकलाई सुपथ मूल्यमा उपलब्ध हुने औषधी प्राप्तिको निरन्तरताका लागि पनि लिमिटेडका उत्पादन निरन्तर हुनु जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘विश्व स्वास्थ्य संगठनमार्फत गुणस्तर प्रमाणित गर्न पनि हामीले सहयोग गरेका छौं । उत्पादन सरकारी संस्थामा पुर्याउनका लागि के कसरी सहजीकरण गर्न सकिन्छ हामी तयार छौं ।’ मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधीका लागि समेत उद्योगबाट खरिद गर्न सकिने विकल्पका लागि गृहकार्य अघि बढाउने बताए ।  मन्त्रालयमा सम्पन्न बैठकपछि लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन भएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने,महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए ।  समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।   

गर्भरनर बन्न अयोग्य भन्दै डा. विश्व पौडेलविरुद्ध रिट दायर

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध नेपाल राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त रिटमा, राजनीतिक दलको सक्रिय सदस्य रहेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउन खोज्नु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने जिकिर गरिएको छ । रिट निवेदनमा हाल प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा भएकाे थियाे ।  गभर्नर छनोट समितिका सदस्य रहेका डा. पौडेलले आइतबार उक्त समिति सदस्य पदबाट राजीनामा दिएका थिए । 

सानिमा रिलायन्सको नयाँ योजना : न्यूनतम भुक्तानी, अधिकतम सुरक्षा र ग्यारेन्टी फिर्ता

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन ।  आफूले तिर्न सक्ने बीमाशुल्कको आधारमा बीमाङ्क कायम हुने र जोखिम बहन सँगै बीमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने हुनाले यसमा आकर्षण बढ्दो छ । ग्राहकलाई बीमा गर्नका लागि निकै उपयोगी र नयाँ किसिमको रहेको यस बीमालेखमा विभिन्न लाभहरू समावेश छन् ।  अन्य बीमालेखमा भन्दा फरक यस बीमालेखमा बीमा परिपक्व हुँदा आर्जित भुक्तानी रकम फरक पर्दैन । यस्तै बीमा शुरू भएको मितिमा नै आधारभूत बीमाशुल्कको २.५ गुणा सम्मको एकमुस्ट भुक्तानीको ग्यारेन्टी समेते यस पोलिसीमा गर्दै आएको छ । यस बीमालेखमा ग्राहकको आकर्षण बढ्नुको अर्को कारण भनेको  सीमित समय मात्रै बीमाशुल्क भुक्तानी गरी लामो समय जोखिम बहन हुने आकर्षक सुविधा समावेश भएकाले हो । आफूसँग केही समयसम्म रहने बचतबाट नै यसको बीमा गर्न सकिने भएकाले पनि यो बीमालेख किन्न सहज छ ।  ५ र ७ वर्षसम्मको मात्र बीमाशुल्क भुक्तानी गरेर १६ र २० वर्षसम्मको दीर्घकालिन बचत र जोखिम बहन गर्न सकिने भएकाले यो बीमालेख आफ्नो  जीवनको सक्रिय अवस्थामा हुँदा नै गर्न उचित हुने देखिन्छ ।  आफूले आम्दानी गर्न सक्ने अवस्थामा नै बीमा गराउँदा यस बीमालेखबाट धेरै लाभ लिन सकिन्छ । आधारभूत बीमाशुल्कको न्यूनतम २ गुणा देखि अधिकतम २.५ गुणा सम्म रक्षावरण लाभपाउन सकिन्छ ।  यो योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता र तत्कालको क्षमता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । सीमित अवधिको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा र परिपक्व रकम ग्यारेन्टीका साथ पाउन सकिने आकर्षक विशेषता यस बीमालेखमा रहेको छ ।  कसरी गर्न सकिन्छ यस्तो बीमा ?  यस बीमालेख कसरी गर्दा सबैलाभ पाउन सकिन्छ भन्ने बुझाउनका लागि यहाँ वर्ष ३५ का कुबेरलाई राखिएको छ ।  ३५ वर्षीय कुबेरले २० वर्ष बीमा अवधिका लागि यस बीमा लेख रोज्छन् । यसमा उनले बीमाशुल्क सात वर्षमा तिरिसक्ने गरी सम्झौता गर्छन् ।  उनले प्रत्येक वर्ष आधारभूत बीमाशुल्क एक लाख रुपैयाँ वा १ लाख ३६ हजार  ३१३ (पूरक करार सुविधा सहित) भुक्तानी गर्ने विकल्प रोज्छन् । यस अनुसार कुबेरको १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क कायम हुन्छ । यसका लागि उनले ७ वर्षमा ९ लाख ५४ हजार १९१ रुपैयँ मात्र तिर्छन् । कम्पनीका अनुसार यस बीमालेखमा कुबेरलाई बीमा अवधिको समाप्तिमा १७ लाख ५० हजार रुपैयाँ (भुक्तानी गरेको आधारभूत बीमाशुल्कको २.५ गुणा) रकम भुक्तानी गरिने छ ।  यस्तै कुबेर कुनै समयमा दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी कम्पनीले गर्नेछ । दुर्घटना मिति पछि बीमाशुल्क मिनाहा गरिने समेत कम्पनीले सुनिश्चित गरेको छ । यस्तै कुनै कारणबस कुबेरको मृत्यु भएमा उनको हकवालालाइे घटना मितिको आधारमा १७ लाख ५० हजार रुपैयाँसम्म र दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु भएमा उनको हकवालालाई १७ लाख ५० हजार रुपैयाँमा थप रकम एकमुष्ट भुक्तानी गरिने छ । घातक रोग सुविधा घातक रोग सुविधा अन्तर्गत कुबेरलाई १८ मध्ये कुनै एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा उपचारका लागि एकमुष्ट १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने छ । ।

कला संरक्षणको नयाँ अभियान : पाटनमा एआई-ब्लकचेन प्रणाली उद्घाटन हुँदै

काठमाडौं । नेपाली परम्परागत चित्रकलाको अन्तर्राष्ट्रिय प्रतिष्ठा र संरक्षणका लागि एक नयाँ अध्याय सुरु हुँदैछ । पाटन दरबारस्थित संग्रहालयमा मे १५ का दिन आयोजित 'थाङ्का र पौभा कला प्रदर्शनी'मार्फत हिमालयन आर्ट काउन्सिलले नेपालमा पहिलोपटक ब्लकचेन प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी कलाकृति प्रमाणीकरण प्रणाली सार्वजनिक गर्दैछ । यस प्रविधिबाट चित्रकलाको वास्तविकता प्रमाणित गर्न, नक्कली कलाकृति छुट्याउन र स्रष्टालाई उचित श्रेय दिलाउन मद्दत पुग्नेछ । कलाकृति संकलनकर्ताले अब डिजिटल प्रमाणपत्रमार्फत सम्पत्ति ट्र्याक गर्न सक्नेछन् । कार्यक्रम पाटन संग्रहालयको ऐतिहासिक माहोलमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ । यस सहकार्यमा कलाकार, प्रविधिविद् र सांस्कृतिक अभियन्ताहरूले नेपाली कलालाई अन्तर्राष्ट्रिय पहुँच दिलाउने उद्देश्य राखेका छन् ।