सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना : सीमित अवधिमा असीमित लाभ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न आकर्षक योजनाहरू ग्राहकमाझ बिक्री गरिरहेको छ । त्यसमध्येको एक हो ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना । यस योजनाले बचत गर्न चाहने र भविष्यका आपतकालीन अवस्थाका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त देखिन्छ । लचिलो प्रिमियम भुक्तानी र प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि प्राप्त गर्न सक्नेछन् । साथै राइडरहरूले थप सुरक्षा प्रदान गर्छ । जसले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा र घातक रोक रक्षावरणमा बीमितलाई सुरक्षा प्रदान गर्दछ । बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न सक्नेछन् । भुक्तानी अवधि भने क्रमशः ८, १२, १६ र २० वर्षको रोज्न सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि बीमितको उमेर कम्तिमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। यस्ता छन् सुविधा भविष्यका लागि बचत बीमितले बीमा अवधि पुरा भएपछि बिमांकका साथै बोनस प्राप्त गर्नेछन । यसले भविष्यमा आइपर्ने आर्थिक संकटलाई सहज बनाउँछ । त्यस्तै, यदि बीमककोे मृत्यु बीमा अवधि नसकिँदै भएको खण्डमा परिवारले बीमांकको पूरै अर्थात् बीमा गरिए बराबरको रकम र बोनस प्राप्त गर्नेछन् यो योजनामा बीमा अवधि व्यतीत हुँदै जाँदा, जोखिम बहन पनि बढ्दै जान्छ। वैकल्पिक राइडर लाभ बीमितहरुले यस योजनाअन्तर्गत दुर्घटना मृत्यु सुविधाबापतको थप बीमाशुल्क तिरेमा बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोब्बर रकम सम्म प्राप्त गर्नेछन् । पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० मासिक किस्तामा भुक्तानी पाउनेछन् । यो योजनाले असहज अवस्थामा समेत बीमितलाई सहजता प्रदान गर्नेछ । यसका साथै बीमाशुल्क छुट सुविधासमेत पाइने छ । यदि बीमित कुनै दुर्घटनापश्चात पूर्ण स्थायी असक्तता भएमा उसको बीमाशुल्क मिनाहा हुनेछ । यो योजनामा घातक रोग रक्षावरण सुविधा पनि उपलब्ध छ । बीमित १८ मध्ये कुनै एक घातक रोगको शिकार बनेको अवस्थामा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछन् । यसले स्वास्थ्य समस्यामा आर्थिक समर्थन प्रदान गर्दछ। लचिलो भुक्तानी यस योजनामा प्रिमियम भुक्तानीमा लचिलो व्यवस्था गरिएको छ । बीमितले वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक रूपमा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रत्येक अवधिको लागि प्रिमियम भुक्तानी अवधि पनि भिन्न रहेको छ । १० वर्ष अवधिको बीमा गर्न चाहने बीमितले ८ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । १५ वर्षको अवधिको बीमा गराउँदा ८ वर्ष र १२ वर्षको प्रिमियम भुक्तानी अप्सन छनोट गर्न सक्नेछन् । २० वर्ष अवधिको हकमा ८, १२ र १६ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । त्यसैगरी, २५ वर्षको बीमा अवधि रोज्ने बीमितले ८, १२, १६ र २० वर्ष वर्षको भुक्तानी रोज्न सक्नेछ । लचिलो भुक्तानीले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त भुक्तानी सुविधा दिन्छ । किन रोज्ने ? यो योजना केवल जीवन बीमा मात्रै नभई भविष्यका आपतकालीन अवस्थाहरू र महत्त्वपूर्ण खर्चहरूको लागि बचत गर्ने एक उपाय हो । बीमा अवधि सकिएपश्चात बोनससहित आउने एकमुष्ठ भुक्तानी भविष्यमा ठूलो वित्तीय सुरक्षा प्रदान गर्छ। छोटो अवधिको बीमाशुल्क भुक्तानी गरि पुरा बीमा अबधिको बीमांकको ३२५ प्रतिशतसम्मको जोखिम बहन र जीवन बीमा अवधि समाप्तिमा समेत आकर्षक बोनस भुक्तानी हुने भएकोले यो सबैखाले व्यक्तिका लागि फाइदाजनक छ ।
प्रभु बैंक र इला होटल्स तथा मौलाकाली केबलकारबीच सहकार्य, ग्राहकलाई छुटको सुविधा
काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सोमबार सम्पन्न सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीहरूले यी संस्थाहरूबाट विशेष छुट र सेवा प्राप्त गर्नेछन् । समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसी ले हस्ताक्षर गरेका हुन् । यस सहकार्यअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन् -खानपानमा १० प्रतिशत छुट -केबलकार टिकटमा २० प्रतिशत छुट -आवास सेवामा १० प्रतिशत छुट -केबलकार यात्रा निःशुल्क (विशेष सर्तसहित) समझदारीले दुई संस्थाबीचको औपचारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यसले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई गुणस्तरीय सेवा र विशेष जीवनशैली अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
नेपाली सडक अब कालोपत्रे होइन, सेतोपत्रे बनाइनुपर्छ : अध्यक्ष मारु
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सडकलाई निर्माण गर्न अब कंक्रिट नै प्रयोग गर्नुपर्ने बताएको छ । 'कालोपत्रे होइन, अब सेतोपत्रे गरौं' भन्ने नारासहित संघले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो । नेपालमा सडक निर्माण गर्दा बिटुमिनका सडकको सट्टा कंक्रिट सडकलाई प्राथमिकता दिनुपर्ने संघका अध्यक्ष रघुनन्दन मारुले बताए । उनले अब गाउँ-गाउँमा बन्ने सबै सडकहरू कंक्रिटयुक्त बनाइनुपर्नेमा जोड दिए । बिटुमिनबाट निर्माण गरिएका सडक कम टिक्ने बताउँदै कंक्रिटको प्रयोग भए लामो वर्षसम्म टिक्ने उनको दाबी छ । उनले नेपालमा बिटुमिनबाट बन्ने सडकको तुलनामा कंक्रिट सडकको सुरुवाती लागत महँगो भए पनि दीर्घकालीन फाइदा हुने बताए। अध्यक्ष मारुले भने, 'हामी छ्ड, सिमेन्ट, ढुंगा, बालुवा गिट्टी सबैमा आत्मनिर्भर छौं । बिटुमिन आयातित वस्तु हो, जुन लामो समयसम्म टिकाउ हुँदैन । त्यसमा पनि किनेर ल्याउनुपर्ने झन्झट छ । कंक्रिटको सडक निर्माण गर्न बालुवा, गिट्टी र सिमेन्ट भए पुग्छ, जुन हामीसँग पर्याप्त छ । अब नेपालको सडक निर्माणमा बिटमिन होइन, कंक्रिट नै लागु गर्नुपर्छ ।' दीर्घकालीन रूपमा खर्चको हिसाब हेर्ने हो भने बिटमिनको सडकको तुलनामा कंक्रिट सडकको लागत सस्तो हुने उनको भनाइ छ । उनले अब कंक्रिट सडकलाई मान्यता दिन संविधानबाटै पारित गर्न सरकारसँग आग्रह गरे । यसैगरी, बिटुमिनका लागि डलर चाहिने तर कंक्रिट सडक बनाउन आफ्नै स्रोत साधन खर्च हुने उद्योगमन्त्री दामोदर भण्डारी बताउँछन् । उनले देशभर बाटोको समस्या रहेको बताउँदै सरकारको खर्च हुने क्षेत्र पूर्वाधार भएको र यसमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, 'अगाडिबाट नेपाल सडक निर्माण गर्दै जाने अनि पछाडिबाट भत्किँदै जाने गरेका छन् । यो ठूलो समस्या छ । यसका लागि हामीले अब कंक्रिट सडकमा ध्यान दिइनुपर्छ । हामी सिमेन्ट र छडमा आत्मनिर्भर छौं । यति मात्रै हैन, हामीसँग धेरै स्रोतसाधन छ । अब यसमा सबैले ध्यान दिनुपर्ने जरुरी छ ।' मन्त्री भण्डारीका अनुसार बिटुमिनको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने गरेकाे छ । सहज यात्रा लागि व्यवस्थित सडक आवश्यक रहेको र यसको लागि छिट्टै कानुन बनाउनुपर्नेमा उनको जोड छ । उनले सडक निर्माणको काममा उद्योग मन्त्रालयबाट गर्नुपर्ने साथ सहयोगका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । यसैगरी, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कंक्रिट सडक निर्माणको अवधारणा चाँडै लागु हुनुपर्ने बताए । यसमा सरकारको साथसहयोग रहने उनकाे भनाइ छ । उनले स्थानीय सरकारले अब सिमेन्टको प्रयोग गरी कंक्रिट सडक निर्माणमा लाग्न आग्रह गरे । मन्त्री सिंहले भने, 'हाम्रै देशमा उत्पादनमा भएको सिमेन्टको प्रयोग गरी अब कंक्रिट सडक बनाइनुपर्छ । आफ्नै उत्पादन, आफ्नै निर्माणलाई जोड दिनुपर्छ । सरकार सधैं तपाईंहरूकै साथमा छ, यसमा ढुक्क हुनूहोस् । नेपालमा २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको छ ।' उनले लागतभन्दा आफ्नै देशमा उत्पादन भएका सामाग्रीलाई प्रयोगमा ल्याउन जोड दिनुपर्ने बताए ।
एनभीडीया फ्युजन : एआई चिप क्रान्तिमा नयाँ गति, ‘एनभीलींक फ्युजन’ अब बिक्रीमा
काठमाडौं । एनभीडीयाले आफ्नो एक प्रविधि अन्य कम्पनीहरूलाई बिक्री गर्ने योजना बनाएको घोषणा गरेको छ । उक्त प्रविधिले चिपहरू आपसमा जोडेर कृत्रिम बौद्धिकता (एआई) उपकरण निर्माण र कार्यान्वयनका लागि आवश्यक चिप-टु-चिप सञ्चारलाई तीव्र बनाउँछ । एनभीडियाले सोमबार आफ्नै एनभीलींक प्रविधिको नयाँ संस्करण सार्वजनिक गरेको छ जसको नाम एनभीलींक फ्यूजन राखिएको छ । यसलाई कम्पनीले अन्य चिप डिजाइनरहरूलाई बिक्री गर्नेछ ताकि तिनीहरूले धेरै चिपहरूलाई एक आपसमा जोडेर शक्तिशाली कस्टम एआई प्रणालीहरू निर्माण गर्न सकून् । मार्भेल टेक्नोलोजी र मिडियाटेकले पनि आफ्ना कस्टम चिप प्रयासहरूमा यो फ्यूजन प्रविधि अपनाउने योजना बनाएका छन् । एनभीडीयाले वर्षौंअघि एनभीलींक विकास गरेको थियो, जुन विभिन्न चिपहरूबीच ठूलो मात्रामा डेटा साटासाट गर्न प्रयोग हुन्छ । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत जेनसन हुआङले यो घोषणा ताइपे म्युजिक सेन्टरमा गरेका हुन् जुन कम्प्युटेक्स एआई प्रदर्शनी स्थल हो । हुआङको प्रमुख मन्तव्यले एनभीडीयाको एआई चिप र प्रणाली निर्माणको इतिहास र त्यसलाई समर्थन गर्न विकास गरिएको सफ्टवेयरबारे चर्चा गर्यो । हुआङले बताएअनुसार पहिले उनको प्रस्तुतिको ९० प्रतिशत समय ग्राफिक्स चिपमा केन्द्रित हुन्थ्यो, तर अब त्यो बदलिएको छ । अब एनभीडीया भिडियो गेम ग्राफिक्स चिप निर्माता मात्र नभई २०२२ मा च्याटजीपीटीको सुरुवातपछिको एआई क्रान्तिको मुख्य साधन बनेको चिप उत्पादक कम्पनी भएको छ । एनभीडीयाले माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम चल्ने सीपीयूहरू डिजाइन गर्ने काम गर्दैछ, जसमा आर्म होल्डिङ्सको प्रविधि प्रयोग हुने जनाइएको छ । यस वर्ष मार्चमा भएको कम्पनीको वार्षिक डेभलपर सम्मेलनमा हुआङले ब्ल्याकवेल अल्ट्रा जस्ता नयाँ पुस्ताका एआई चिपहरू अनावरण गरेका थिए जुन यसै वर्ष उपलब्ध हुनेछन् । रुबिन चिपहरूपछि कम्पनीले फाइनम्यान प्रोसेसरहरू ल्याउनेछ, जुन सन् २०२८ मा आउने कार्यक्रम छ । एनभीडीयाले आफ्नो एआई चिपको डेस्कटप संस्करण डीजीएक्स स्पार्क पनि सार्वजनिक गर्यो, जुन एआई अनुसन्धानकर्तालाई लक्षित गरिएको छ । सोमबार हुआङले यो कम्प्युटर पूर्ण उत्पादनमा प्रवेश गरिसकेको र केही हप्तामा तयार हुने जानकारी दिए । कम्प्युटेक्स प्रदर्शनीमा १ हजार ४०० प्रदर्शक रहने अपेक्षा गरिएको छ र यो एशियामा हुने पहिलो ठूलो कम्प्युटर र चिप सम्बन्धी सम्मेलन हो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिका भित्र उत्पादन बढाउन दबाब दिने उद्देश्यले भारी कर लगाउने चेतावनी दिएको समयपछि पहिलो पटक हुन लागेको हो ।
हुन्डाईको इलेक्ट्रिक सवारीमा प्रि-बजेट अफर : बीमा, कर छुट र नगद सहुलियत
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईका तीन मोडेलका इलेक्ट्रिक सवारीहरूमा आकर्षक प्रि-बजेट अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओनिक ५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक कर छुट र नगद छुटको लाभ पाउने छन् । कम्पनीले यो अफर नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीको पहुँच विस्तार गर्ने लक्ष्यसहित ल्याएको हो । तीनवटै मोडेलमा दिइने छुटले यी अत्याधुनिक गाडीहरूलाई अझ किफायती बनाउने कम्पनीको दाबी छ । लक्ष्मी हुन्डाईले देशभर डसी र एसी चार्जरयुक्त ६६ सक्रिय स्टेशनसहितको री-लार्ज चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीले सेवा, स्पेयर पार्ट्स र बिक्रीपछिको सहयोग पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा सम्पर्क गरी अफरको फाइदा उठाउन आग्रह गरेको छ।
सिरहामा लागुऔषधसहित ७१ लाख नगद बरामद, पाँच जना पक्राउ
सिरहा । सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट रु ५५ लाख र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । प्रहरीले उनीहरुका साथबाट गत शुक्रबार २१ ग्राम ब्राउन सुगर र रु ५१ हजार तथा दुई थान मोबाइल बरामद गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको कोठा खानतलासी गर्दा थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो । त्यसैगरी, उनीहरुका साथबाट थप १८० ग्राम ब्राउनसुगर पनि फेला परेको थियो । प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढङ्गले नै लागुऔषधको कारोबार गर्दै आएका थिए । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ । अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ । यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई शनिबार सिरहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको रु १६ लाख ३८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । रासस
फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
हेटौँडा- काठमाडौं कान्ति लोकपथ सडकअवरुद्ध
बागमती । हेटौँडा-काठमाडौंं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो । वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।