टोयोटा फर्च्यूनर र टाटा सुमो बेच्दै ग्रामीण विकास लघुवित्त, मूल्य १ लाखदेखि २१ लाखसम्म
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्त संस्थाले आफ्नो नाममा रहेका २ वटा सवारी बिक्रीमा राखेको हो । लघुवित्तका अनुसार बा८च २५५ नम्बरको २०१० मोडलको टोयोटा फर्च्यूनर र बा७च ११०८ नम्बरको २००९ मोडलको टाटा सुमो भिक्टा जीएक्स गाडी बिक्रीमा राखिएको हो । दुइटै गाडीको सिट क्षमता ७ जनाको रहेको लघुवित्तले जनाएको छ । टोयोटाको मूल्य न्यूनतम २१ लाख रुपैयाँ र टाटा सुमोको १ लाख रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुकले जेठ २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । उक्त सवारी साधन जहाँ जे अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने लघुवित्तले जनाएको छ । बोलपत्र फाराम शुल्क २ हजार रुपैयाँ तोकिएको छ । बोलपत्र स्वीकृत भएको ७ दिनभित्र सम्झौता गर्नुपर्नेछ । यदि नगरे बोलपत्र रद्द गरी धरौटी जफत गरिनेछ । बोलपत्रमा कवोल गरेको रकम ५ प्रतिशत अगाडि नै जम्मा गर्नुपर्नेछ ।
छ्याङ्दी हाइड्रोले जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूरूे असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार-६ मिलनचोक, भोर्लेटार-८ बसपार्क, सिउँडीबार सुन्दरबजार-९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूरूले आफ्नो नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीेले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
एउटै बुबाआमाका ५ छोराछोरीसहित ६ जनाले आरोहण गरे मकालु, कीर्तिमानी दाबी
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो ८ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु-२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । कीर्तिमानका लागि मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् । ‘एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ,’ बहिनी पासाङ याङ्जीले दाबी छ,‘भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।’ एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ ।
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्षे कार्यकालको उपलब्धि कार्यक्रममा उनले शैक्षिक संस्था आसपासका त्यस्ता पसल तत्काल सञ्चालनमा रोक लगाउनुपर्ने बताए । नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने औंल्याउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा स्वतः राम्रो हुने बताए । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष नगरस्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्दै आएको जानकारी दिए । स्थानीय तह प्रजातन्त्रको जग भएको चर्चा गर्दै स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुने उनको भनाइ छ । नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण लगायतलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ छ ।
नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने, धार्के-सितापाइला मार्ग प्रयोग गर्न अनुरोध
काठमाडौं । राजधानी भित्रिने सडक मार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए । ‘निर्माण आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो,’ प्रजिअ तिवारीले भने । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के-सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
कुनै समय नाक खुम्च्याउने अस्पतालमा बिरामीको चाप
काठमाडौं । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । ‘चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ । नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ,’ उनले भनिन् । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । अहिले नगर अस्पताल १५ शय्याको छ । यसलाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ । नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रालोले बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । ६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको उनको भनाइ छ । नगरपालिकामा एक नगर अस्पताल र ८ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ३ करोड ९६ लाख रुपैयाँको लागतमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । १५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । भवन निर्माण भएपछि १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिने छ । आधारभूत स्वास्थ्य केन्द्रबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए। नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ । बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउँछन् । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।
साढे १० करोडमा हाम्रो माया घर निर्माण हुँदै, महायज्ञबाट २ करोड संकलन
काठमाडौं । बर्दिबास-२ हङकङ डाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुना साथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ । हाम्रो माया घर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार १० करोड ६९ लाख रुपैयाँको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष रहेको उनको भनाइ छ । पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो । २ करोड रुपैयाँ रकम सो महायज्ञबाट सञ्चित भएको थियो । त्यसयता निर्माण कार्यमा विभिन्न दाताबाट जुटेको सहयोगबाट काम निरन्तर अघि बढेको अध्यक्ष भट्टराई बताउँछन् । केही दिनअघि बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरे । यस्तै ॐ समाज डेण्टल अस्पताल, बर्दिबासका सञ्चालक डा सुवास घिमिरेले ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराए । पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएर अर्को भवन निर्माण थालिने अध्यक्ष भट्टराईले बताए । असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि ‘हाम्रो माया घर’ आश्रय हुने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् । ‘हाम्रो माया घर’ निर्माण गर्न ५ कट्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ । दाताहरु भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उनको भनाइ छ । यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका, त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष गौतम बताउँछन् । ‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ । दुबै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् । खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग यहाँ ल्याइने बालबालिकालाई तत्काल जोडिने छ ।