लिबर्टी माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । कम्पनीले बिक्री तथा बजारीकरण (सेल्स एन्ड मार्केटिङ)का लागि आवेदन खुला गरेको हो। कोहलपुर, तुलसीपुर, गुलरिया, लम्की, टीकापुर, महेन्द्रनगर, बुटबल, भैरहवा, धादिङ, नारायणगढ, हेटौंडा, कुश्मा, पुतलीबजार, लहान, जनकपुर, इनरुवा, धरान, बिर्तामोड, दमक, बनेपा र तानसेनका लागि कम्पनीले आवेदन माग गरेको हो । स्नातक पूरा गरेका इच्छुकले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेठ ३१ भित्र आवेदन दिइसक्नुपर्नेछ । विस्तृत विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई केटीएसमा ५० प्रतिशतसम्म सहुलियत
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र काठमाडौं टेक्निकल स्कुल (केटीएस) बीच सम्झौता भएको छ । सम्झौतापश्चात आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुलका रोजगारमुखी तालिममा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान हुनेछ । यसैगरी,स्कुलका प्रशिक्षार्थीहरूलाई प्रशीक्षण अवधिभरि आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ । कम्पनी र स्कुलबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट(सुविधाको लाभ लिन सक्नेछन्। स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन् । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।
साङ्ग्रिला मोटर्सको 'स्टेट अफ दी आर्ट' मल्टीब्रान्ड शोरुम उत्तरढोकामा
काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन गरेको छ । यो डिलरशिप गोल्छा अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रालिले सञ्चालन गर्ने जनाइएको छ । काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ शोरूमले विश्व प्रसिद्ध तीन ब्राण्डहरू( सिट्रोन, लीप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ । नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले गरिन् । प्रबन्ध निर्देशक गोल्छाले सिट्रोन, लीपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर नेपाली ग्राहकहरुका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्ने दावी गरे । गोल्छा अर्गनाइजेशन अन्तर्गतको सांग्रिला मोटर्स प्रालिले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ । नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । स्टेलान्टिस विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो । यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल छन् ।
तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आजदेखि सुरु, नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्याउने
काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) शुक्रबार (आज) देखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल (नाट्टा) को दुवैले संयुक्त रूपमा होटल सोल्टीमा आयोजना भएको मार्ट शनिबार (भोलि)सम्म चल्ने छ । यसअघि बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक काठमाडौंमा पनि आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मार्टको आयोजना गरेको बताए । उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाई केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’ संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले आजदेखि काठमाडौंबाट सुरु भएको कार्यक्रमको सफलताको कामना गर्दै नेपाल विश्वभरका पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए । उनले सबै मिलेर नेपाललाई शाझा शान्तिको विकास गर्ने एक मञ्च बनाउनुपर्ने औंल्याए । सबै मिलेर बुद्धलाई सम्मान दिँदै त्यही सबै मिलेर बुद्धको मार्गमा अघि बढ्नुपर्ने मन्त्री पाण्डेको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले पर्यटन प्रवद्र्धनको लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । अध्यक्ष ढकालले मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्याउने उल्लेख गर्दै मार्टलाई थप परिस्कृत गर्न र नेपालको लागि ब्राण्डको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । आजदेखि सुरु भएको कार्यक्रम भोलिसम्म चल्ने छ । आज काठमाडौंमा उद्घाटन सत्रसँगै बिटुबी मिटिङ र स्टल प्रदर्शनी रहने छ । दोस्रो दिन भोलि कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने भोलि नै साँझ लुम्बिनी जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरू आ-आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ । यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ । नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजनाका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स/मिडियाको सहभागिता रहेको थियो ।
सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिँदै, कम्पनी नवीकरण पनि गर्नु नपर्ने
काठमाडौं । सरकारले अब सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गर्ने योजना अगाडि सारेको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावलाई कार्यान्वयन गर्नका लागि बनेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा उल्लेख भएअनुसार सरकारले अब कुनै पनि व्यवसाय शुल्क नलिएर दर्ता गर्ने भएको हो । यो व्यवस्था एक वर्षभित्र कार्यान्वयन हुने कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा सबै किसिमका व्यवसाय, प्राइभेट फर्म, साझेदारी फर्म र कम्पनी एकै निकायमा दर्ता गर्ने एकल दर्ता निकाय कायम गर्ने, व्यवसाय तथा कम्पनी दर्ता, नवीकरण र अद्यावधिक सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागज बुझाउने काम अनलाइन मार्फत गर्ने व्यवस्था मिलाउने र व्यवसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नम्बर एकै साथ उपलब्ध हुने व्यवस्था मिलाउने कार्ययोजना अगाडि सारेको हो । यस्तै, सबै प्रकृतिको व्यवसाय दर्ता गर्दा फर्मको स्वामित्व रहेका व्यक्तिको राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रूपमा लिने, कम्पनीहरूको हकमा प्रवर्तकहरूको नम्बर प्रयोग गर्ने र कुनै खास परिचयपत्र नम्बरको स्वामित्वमा रहेका व्यवसायको संख्यासमेत पहिचान हुनसक्ने प्रर्णाली विकास गर्ने र व्यवसाय दर्ता भई प्रधान कार्यालय रहेको स्थानीय तहलाई त्यस्तो व्यवसायको विवरर्णमा अनलाइन पहुँच दिने व्यवस्था सरकारले गर्न लागेको छ । सरकारले तयार गरेको कार्ययोजनामा आन्तरिक राजस्व कार्यालयको सूचना प्रणालीबाट कम्पनी रजिस्ट्रार कार्यालयको कम्पनी दर्ता प्रणालीमा कर चुक्ताको विवरण स्वचालित रूपमा जाने गरी प्रणालीबीच सम्बन्ध स्थापित गर्ने, व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने । आयकर दाखिला गरिरहेको छ भने व्यवसाय चलिरहेको छ भन्ने जानकारी स्वतः हुने व्यवस्था गर्ने कार्ययोजना बनाएको छ । अहिले बर्सेनि कम्पनी नवीकरण गर्नुपर्ने बाध्यता छ । यस्तै, भन्सारबाट छुटेको मालवाहक साधन गन्तव्यसम्म पुगे नपुगेको अनुगमन गर्ने अनलाइन प्रणाली आन्तरिक राजस्व विभागले सञ्चालन गर्ने, निगरानी गर्नु पर्ने ठानिएका मालवाहक सवारी साधन गन्तव्यमा पुगेपछि मात्र अधिकार प्राप्त निकायले जाँचपडताल गर्ने, राजमार्गका ठाउँ ठाउँमा मालवाहक सवारीसाधन रोकेर जाँच गर्न बन्द गर्ने, निर्यात गर्ने वस्तु ढुवानी गरेका मालवाहक सवारी साधनलाई भन्सार बिन्दुमा नपुगी रोक्ने र खानतलासी गर्ने प्रचलनलाई बन्द गर्ने कार्ययोजना पनि सरकारले बनाएको छ ।
अर्थमन्त्रीलाई बजेट चुहिने डर, मन्त्रालय प्रवेशमा कडाइ, प्रवेशद्वारमा प्रहरी तैनाथ
काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । विगतका वर्षहरुमा बजेटका विभिन्न कार्यक्रम तथा करका विषयहरु चुहिने गरेका थिए । सोही डरले मन्त्रालयले अहिले प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्नेछन् ।
यी ३ क्षेत्रमा ५ वर्षसम्म स्थीर ब्याजदर, यस्ता छन् बैंकिङ क्षेत्र सुधारका कार्ययोजना
काठमाडौं । विभिन्न तीन क्षेत्रमा जाने कर्जाको ब्याजदर ५ वर्ष अवधिका लागि स्थीर राख्नुपर्ने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावलाई कार्यान्वयन गर्न बनेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाअनुसार ६ महिनाभित्र उत्पादनमूलक क्षेत्रमा ३ देखि ५ वर्ष अवधिका लागि ब्याजदर स्थीर रहने गरी व्यवस्था मिलाउन भनिएको हो । कार्ययोजना अनुसार उत्पादनमूलक उद्योग, साना तथा लघुउद्यम व्यवसाय र निर्यातकर्तालाई ३ देखि ५ वर्ष अवधिको स्थीर ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने उल्लेख छ । यस्तै, एक वर्षभित्रमा उच्च प्रतिफलयुक्त आयोजना विशेषको लागि पूर्वाधार बण्ड जारी गरेर लगानी गर्न, नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको लागि ऊर्जा बण्ड जारी गरेर लगानी गर्न, सबै खालका बैंक तथा वित्तीय संस्था र सहकारीहरूको एकीकृत कर्जा सूचना राख्न कार्ययोजनामा उल्लेख छ । यस्तै, २ वर्षभित्रमा कर्जा सूचना केन्द्रको क्षमता विकास र आवश्यक कानूनी प्रवन्धसहित व्यक्तिगत क्रेडिट स्कोरिङ निकाल्ने काम सुरु गर्नुपर्नेछ । यस्तै, ६ महिनाभित्र उद्योग मन्त्रालय तथा स्थानीय तहले बैंकिङ्ग क्षेत्र, निजी उद्यम व्यवसायी र सरकारको सहकार्यमा युवामा उद्यमशीलता विकास गर्नुपर्ने र शिक्षा मन्त्रालय तथा स्थानीय तहले विद्यालय पाठ्यक्रममा उद्यमशीलता एवं वित्तीय शिक्षा समावेश गर्नुपर्नेछ । यस्तै, कर्जा र निक्षेपको ब्याजदर अन्तर बढी भएपछि एक वर्षभित्रमा कर्जा र निक्षेपको ब्याजदर अन्तर कम गर्न, एक वर्षभित्रमा निक्षेपको वास्तविक ब्याजदर धनात्मक र कर्जाको ब्याजदर एकल उच्च अङ्क वा न्यून दोहोरो अङ्कमा मात्र रहने गरी ब्याजदर नीति अवलम्बन गर्नुपर्ने, अर्थतन्त्रमा ब्याजदर उतारचढावलाई सम्बोधन गर्न ऋणपत्र बजारको विकास गर्नुपर्ने र भारतीय रुपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धानको व्यवस्था गर्नुपर्नेछ । साथै अर्थमन्त्रालयले कम ब्याजदरमा सहजै वित्तीय स्रोत उपलब्ध गराउन वैकल्पिक वित्तको व्यवस्था गर्नुपर्नेछ । कार्ययोजना अनुसार उत्पादनमूलक र निर्यातमुखी क्षेत्रमा प्रवाह हुने कर्जालाई स्थीर ब्याजदरमा प्राप्त हुने व्यवस्था गर्ने, उत्पादनमूलक उद्योग र निर्यातलाई प्रर्वद्धन गर्न त्यस क्षेत्रमा जाने कर्जा र स्थीर आय भएका व्यक्तिहरूले लिने पहिलो घरकर्जा निश्चित अवधिसम्म स्थीर ब्याजदरमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरन्तर रूपमा मौद्रिक व्यवस्थापनको लागि ब्याजदर कोरिडरलाई प्रभावकारी कार्यान्वयन गर्दै अन्तरबैंक ब्याजदर नीतिगत दरको नजिक राख्ने, ब्याजदर कोरिडरको ब्यान्डलाई क्रमशः कम गर्दै लैजाने, तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै ब्याजदरको उतारचढाव कम गर्नुपर्नेछ । यस्तै, मौद्रिक नीतिको उद्देश्यसँग तादात्म्यता कायम हुने गरी विदेशी विनिमय व्यवस्थापन र नियामकीय व्यवस्था गर्न र विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवाको आयात धान्न सक्ने अवधि ५ देखि ७ महिनासम्म कायम गर्न सुझाएको छ ।
सिंगटी हाइड्रो इनर्जीले पायो आईएसओ प्रमाणपत्र
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गरेकाले कम्पनीले आईएसओ ९००१-२०१५ प्राप्त गरेको हो । बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिए । काठमाडौको गहनापोखरीमा केन्द्रीय कार्यालयको रहेको कम्पनीले दोलखाको सिंगटी खोलामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना सञ्चालन गरी ४ वर्षदेखि व्यवसायीक उत्पादन गरिरहेको छ । उक्त कम्पनी धितोपत्र कारोबारमा समेत संलग्न भई पुँजी बजारमा समेत सक्रिय छ ।