विकासन्युज

रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी

काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । बानियाले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए । २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो । कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो । उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रियासम्बन्धी हल्ला निराधार सावित भएको बताए । उनले आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता  सरस्वती गौतमलाई विशेष धन्यवाद दिए । उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाललगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो । 

सिटिजन्स बैंकले २ महिना पुग्ने गरी आवाज नेपाललाई सहयोग गर्याे सरसफाइ र उपभोग्य सामग्री

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।  संस्थाले लामो समयदेखि एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको छ । सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र बालबालिकाहरूलाई सामाग्री हस्तान्तरण गरे । सीईओ पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताए । संस्थामा रहेका बालबालिकाहरूको प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको हेरचाहको लागि समाजमा उदाहरण बनिरहेको उनको भनाइ छ ।  हालै बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले दिइरहेको छ । यस्तै बैंकले क्रस बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको छ ।  बैंकले ६१ जिल्लामा २ सय वटा शाखा, १६८ वटा एटिएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।   

बजारमा बिक्री-वितरण गरिने डिलर खुद्रा वस्तुमा एमआरपी अनिवार्य लगाउन सरकारको आग्रह

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री गरिने डिलर तथा खुद्रा वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण नगर्न आग्रह गरेको छ ।  शुक्रबार एक सूचना जारी गर्दै डिलर खुद्रा तथा थोक बिक्रेताले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ६ को उपदफा २ बमोजिम एमआरपीसहितको लेबल लगाएका वस्तुहरू मात्रै बिक्री-वितरण गर्न आग्रह गरेको हो ।  उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तु तथा पैठारी वस्तु भए पैठारी कर्ताले बिक्री वितरण गर्ने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।  तर उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनको विपरीत केही उत्पादक र पैठारीकर्ताहरूले बिना लेबलका उत्पादन बजारमा खुल्ला बिक्री-वितरण गरेको विभागको अनुगमनबाट पाइएपछि एमआरपी अनिवार्य लगाउन भनेको हो । पछिल्लो समय बजारमा खुलमखुला रूपमा एमआरपी नराखी वस्तु बिक्री-वितरण गरेको भेटिएपछि विभागले धमाधम कारबाही समेत गरिरहेको छ । 

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने, 'गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।'  पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।  उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गु रोग लाग्ने गरेको छ ।  शाखा प्रमुख डा. दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।   सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।   

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।  अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ ।  निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् ।  उनले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।  नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे ।  ‘यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,’ मन्त्री पौडेलले भने ।  

गभर्नर पौडेल र नाडाका अध्यक्ष चौधरीबीच भेटवार्ता, नाडाले दियो यस्ता सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधिले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर पौडेलसँग भेटगरी नेपालको मोद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत रूपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँचबुँदे सुझावहरू प्रस्तुत गरेका थिए । उक्त छलफलमा वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको छ । नाडाका मुख्य सुझावहरू अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन यद्यपि राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको छ, तर व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको छ । यसले सम्पूर्ण उद्योगलाई प्रभावित गरिरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग गरेको हो । लोन टु भ्यालु अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस्  हालको ५० प्रतिशत लोन टु भ्यालु सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका लागि बढाएर यथार्थपरक स्तरमा ल्याउन नाडाले आग्रह गरेको हो ।  डेब्ट सर्भिस टु ग्रस इनकम रेसियोमा लचकता ल्याइयोस् हालको सख्त डीएसआर नीतिले मध्यम वर्र्गीय तथा तलबदरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाइ भएको भन्दै यसमा व्यवहारिक लचकता ल्याउनुपर्नेमा नाडाकाे जोड छ ।  ईभी तथा डाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस् देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको  नाडाकाे सिफारिस छ । वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस् ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने माग  छ । सो भेटघाट तथा छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे । सो छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाको सुझावहरूलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरूमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए  । सो भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय यमुना श्रेष्ठ तथा दीपेन्दकुमार मिश्र समेतको उपस्थिति रहेको थियो ।  

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको हो । अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रूपमा नियुक्त गरेको भन्दै रिट पेस गरेका हुन् । उनीहरूले सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस गरेका हुन् । उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको थियो ।  गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।  मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । 

लिबर्टी माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ । कम्पनीले बिक्री तथा बजारीकरण (सेल्स एन्ड मार्केटिङ)का लागि आवेदन खुला गरेको हो। कोहलपुर, तुलसीपुर, गुलरिया, लम्की, टीकापुर, महेन्द्रनगर, बुटबल, भैरहवा, धादिङ, नारायणगढ, हेटौंडा, कुश्मा, पुतलीबजार, लहान, जनकपुर, इनरुवा, धरान, बिर्तामोड, दमक, बनेपा र तानसेनका लागि कम्पनीले आवेदन माग गरेको हो । स्नातक पूरा गरेका इच्छुकले  आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेठ ३१ भित्र आवेदन दिइसक्नुपर्नेछ । विस्तृत विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सकिने जनाइएको छ ।