बिहे घरमा झडप : बेहुला-बेहुली पक्षबीचको विवादमा पाँच जना घाइते
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एक बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ : ३० बजे विवाहको विधि चलिरहेको बेला डिजेमा नाचगान भइरहेका दौरान दुवै पक्षबीच विवाद सुरु भई झडपमा परिणत भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मदिरा सेवनपछि झगडा चर्किँदा दुवै पक्षबाट व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी (बेहुली पक्ष), विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी (जन्ती पक्ष) रहेका छन् । प्रहरीका अनुसार झडपमा तीन जनाको टाउकोमा गम्भीर चोट लाग्दा टाँका लगाउनुपरेको छ । घाइते सबै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बजेट छरिएर होइन, जलविद्युतमा फोकस गरेर ल्याउनुपर्छ : इपान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको दिशामा अघि बढाउन जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर आगामी बजेट ल्याउन सरकारसँग आग्रह गरेका छन् । डाँगीले सरकारले जलविद्युत उत्पादनको दीर्घकालीन योजना बनाइसकेको सन्दर्भमा बजेट पनि सोहीअनुसार केन्द्रित हुनुपर्ने बताए । उनका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजनाले निजी क्षेत्रलाई थप प्रेरित गरिसकेको छ । 'जलविद्युत, कृषि र पर्यटन देशको समृद्धिको मूल आधार हुन्, तर हालको अवस्थालाई हेर्दा जलविद्युत सबैभन्दा बढी सम्भावनायुक्त क्षेत्र हो। त्यसैले बजेट छरिएर होइन, केन्द्रीत भएर आउनुपर्छ,' उनले भने । डाँगीले निजी क्षेत्रको योगदान उल्लेख गर्दै भने, '२०५७ सालमा देशको कुल विद्युत उत्पादन क्षमता २५४ मेगावाट थियो, अहिले ३५०० मेगावाट पुगेको छ । यो उपलब्धिमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ र सरकारले यसको कदर गर्नुपर्छ ।' उनले हालसम्म ९१ वटा आयोजना लिस्टिङ भइसकेको र झन्डै ६०–६५ लाख डिम्याट खाता जलविद्युत क्षेत्रसँग जोडिएको उल्लेख गर्दै आमनागरिकको लगानी र विश्वाससमेत यो क्षेत्रमा बढेको बताए । तर समस्याहरू पनि उत्तिकै छन् । डाँगीका अनुसार वन ऐन २०२९, बाझिएको कानुनी संरचना, प्रशारण लाइनको अभाव, र बजेटमा बारम्बार हुने अनिश्चितता जस्ता कारणले जलविद्युत क्षेत्र अवरुद्ध बन्न पुगेको छ । '१४ वटा मन्त्रालय, ३५ विभाग र सयौं टेबुल धाउँदै उर्जा उत्पादक जानुपर्ने बाध्यता अझै पनि कायमै छ । एकद्वार प्रणालीमार्फत यस्ता झन्झट अन्त्य गर्न सकिन्छ,' उनले भने । उर्जा मन्त्रालयलाई नै तालुकदार मन्त्रालय बनाई सोहीभित्र सम्बन्धित निकायको समन्वयबाट सुविधा दिन सकिने उनले सुझाव दिए । डाँगीले सरकारसँग आयात कर छुट, नीतिगत स्पष्टता, प्रशारण पूर्वाधारको सुनिश्चितता र लगानीमैत्री वातावरणको माग गर्दै भने, 'सरकारले २८ हजार ५ सय मेगावाट उत्पादन लक्ष्य राखिसकेको छ भने त्यसको पूर्वाधार तयारी पनि हुनुपर्छ । उत्पादन मात्रै होइन, प्रसारण र खपतसमेत सुनिश्चित गर्नु जरुरी छ ।'
मुगुको विकट गाउँ पुलुमा हेलिप्याड निर्माण, यार्सा संकलक र बिरामीको उद्धारमा सहजता
मुगु । यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ । सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, 'मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्, सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।' कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए । हेलिप्याड आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो । रासस
विदेशी उत्पादनमा कर बढाउँदै ट्रम्प, एप्पल र अन्य कम्पनीहरूमा दबाब
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गरे,'हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।' एप्पल कम्पनीमाथि निशाना यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एशियामा उत्पादन गर्न जारी राखेमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका हुन् । यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीति अन्तर्गत दबाबमा परेको देखिएको छ । ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन् । व्यापार वार्ताप्रति असन्तुष्टि राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन् । एपी समाचार संस्थाका अनुसार, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ । यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म घरेलु उत्पादनको पुनः स्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन । रासस
देउवाप्रति धनराजको कटाक्ष : रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गरे । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसकेका र अझै प्रधानमन्त्री बन्नसक्ने बताए । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने जानकारी दिए । उपसभापति गुरुङले भने, ‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्ने होइन । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । रस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’ उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने जानकारी दिए ।
पर्यटन विकासले अर्थतन्त्रमा टेवा पुग्छ, सरकार-निजी क्षेत्र सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत जानकारी दिए । उनले भने, ‘हामी भारत र नेपालको बीचमा छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने दिशामा लागिरहेका छौँ ।’ अध्यक्ष ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको जानकारी दिए ।
नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा-नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएकोलाई जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
३० वर्ष यताकै धेरै वर्षा हुने, हिमाली क्षेत्रमा हिमताल विष्फोटको जोखिम : डा धर्मराज उप्रेती
काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यस वर्ष नेपालमा ३० वर्ष यताकै धेरै वर्षा हुने प्रक्षेपण गरिएको बताउँदै उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटको उच्च जोखिम रहेको चेतावनी दिएका छन् । उनका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने देखिएकाले विविध प्रकारका प्राकृतिक जोखिमहरू बढ्नसक्ने देखिएको छ । ‘वर्षा मात्र होइन, तापक्रम पनि खतरा बनेको छ’ डा. उप्रेतीका अनुसार यस वर्षको मनसुनमा उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ६५ प्रतिशतसम्म औसतभन्दा बढी वर्षा हुने अनुमान छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाइ भागमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुन सक्नेछ । उनले भने, 'उच्च हिमाली क्षेत्रमा तापक्रम समेत औसतभन्दा बढी हुने प्रक्षेपण छ । तापक्रम बढ्दा हिमताल पग्लिन सक्छ, जसले हिमताल विष्फोटवा आकस्मिक बाढी ल्याउन सक्छ ।' कृषिमा प्रभाव, मनसुनको ब्रेकले चुनौती मनसुन सुरु हुनु अगाडि नै देशका केही स्थानमा प्रि-मनसुन वर्षा भइरहेको उल्लेख गर्दै डा. उप्रेतीले कृषिमा यसको प्रत्यक्ष प्रभाव पर्ने बताए । 'लगातार पानी परे कृषि प्रणालीलाई फाइदा हुन्छ, तर एकैचोटि ठूलो पानी परेमा बाढी र नोक्सानी सम्भव हुन्छ,' उनले स्पष्ट पारे । उनका अनुसार मनसुनको बीचमा हुने ‘ब्रेक’ (वर्षा रोकिने अवधि) पनि समस्याजनक हुनसक्छ । यसले गर्मी बढाउने, वायु प्रदूषण बढाउने र कृषि उत्पादनमा असर पार्ने सम्भावना बढाउँछ । डेङ्गु हिमाली क्षेत्रमा फैलिन सक्ने सम्भावना यो वर्ष औसतभन्दा बढी तापक्रम र वर्षाका कारण डेङ्गु रोग उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत देखिनसक्ने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'डेङ्गु अब केवल तराईको रोग रहेन । तापक्रम र जमेको पानीले गर्दा हिमाली भेगमा पनि यसको प्रकोप फैलन सक्छ,' उनले चेतावनी दिए । बाढी, पहिरो र नदी थुनिने उच्च जोखिम उच्च हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना बढेका कारण माटो बग्ने, नदी थुनिने र त्यसपछि फुटेर विनाश निम्त्याउने खतरा रहेको डा. उप्रेतीको भनाइ छ । 'यो अवस्थालाई सामान्य भन्न सकिन्न, साना ताल फुटेर ठूलो दुर्घटना हुने सम्भावना छ। थामेमा जस्तै घटना दोहोरिन सक्छ,' उनले भने । पूर्वसूचना प्रणाली र प्रविधि प्रयोगको आवश्यकता डा. उप्रेतीले जोखिम क्षेत्रको पहिचान गरी पूर्वसूचना प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिए । 'उच्च हिमाली क्षेत्रमा मापन गर्ने स्टेशनहरू नभएकाले स्याटेलाइटबाट निगरानी गरी सूचनाको आधारमा समयमै पूर्वचेतावनी दिन सक्नुपर्छ,' उनले सुझाए । भौतिक संरचना वैज्ञानिक ढंगले बनाउनुपर्ने सुझाव रोशी खोलामा कम वर्षामा आएको ठूलो बाढीलाई उदाहरण दिँदै डा. उप्रेतीले संरचना निर्माण वैज्ञानिक आधारमा नगरेको खतराको संकेत भएको उल्लेख गरे । '४४ मिलिमिटर वर्षामा आउने बाढी सामान्य होइन । अब कुनै पनि संरचना बनाउँदा वर्षाको प्रकृति, माटोको बनावट र जलनिकास प्रणालीको अध्ययन गरेर मात्र अघि बढ्नुपर्छ,' उनले भने । अन्त्यमा, उनले मनसुनसँग सम्बन्धित विपद् न्युनिकरणमा केवल सरकार वा एक विभागको मात्र नभई सबै सरोकारवाला, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमको भूमिका आवश्यक रहेको स्पष्ट गरे ।