विकासन्युज

विद्यार्थी र सर्वसाधारणका लागि निःशुल्क आँखा शिविर, किसान साकोसको सह्रानीय काम

काठमाडौं । पाँच पटकसम्म अन्तर्राष्ट्रि स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान साकोसको आयोजनामा दुई दिवशीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं.८ अन्तर्गत कालिका नमुना माविसँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो । जेष्ठ ९ र १० गते सञ्चालित आँखा शिविरमा पहिलो दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण र निःशुल्क चस्मा वितरण गरिएको थियो भने दोस्रो दिन साविक गैंडाकोट नगरपालिका क्षेत्रका आमनागरिकहरुको आँखा परीक्षण गरिएको थियो । विद्यालयस्तरमा संस्थाको उपस्थिति र बालबालिकाहरुको दृष्टि स्वस्थ राख्ने उद्देश्यले विद्यालयलाई लक्षित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताए । ‘हामी समुदायका सबै क्षेत्रमा संस्थाको उपस्थिति प्रभावकारी बनाउन चाहन्छौं । हाम्रो प्राथमिकता हाम्रो समुदायको समग्र विकास हो । संस्थाको स्रोत र क्षमताले भ्याएसम्म आन्तरिक स्रोत एवम् सहकार्य मार्फत स्थानीय आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं,’ तिमिल्सीनाले भने ।   विद्यालयको एकदेखि दश कक्षासम्म अध्ययनरत १ हजार ४०० विद्यार्थीको आँखा परीक्षण गर्दा ६३ जनाको आँखामा समस्या देखिएपछि ५१ जनालाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको थियो भने १२ जनालाई थप परीक्षणका लागि अस्पताल रिफर गरिएको छ । दोस्रो दिन ३५२ जना स्थानीय समुदायका व्यक्तिहरुको आँखा परीक्षणको क्रममा अधिकांशमा आँखा सुख्खा हुने, चिलाउने, पिरो हुने र दृष्टिमा समेत समस्या देखिएको थियो ।  परीक्षण गराइएका मध्ये १७ जनाको आँखामा मोतियाविन्दु देखिएकोले संस्थाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने बताइएको छ । त्यस्तै सामान्य समस्या रहेका व्यक्तिहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।  संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा उद्घाटन भएको आँखा शिविरमा गैंडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि सापकोटाले किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेकोमा वडा कार्यालय सदैव साथमा रहने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले सबै सरोबारवाला पक्षहरुलाई आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गरे ।   कार्यक्रममा विद्यालयका बालबालिकाहरुका साथै स्थानीय जेष्ठ नागरिक र गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो । समृद्ध सदस्य, दिगो साकोस परिकल्पना अनुरुप अगाडि बढेको किसान साकोसले, समुदाय आधारित एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको छ । गैंडाकोट नगरपालिका वडा नं. ८ का ९८ प्रतिशत घरपरिवारबाट संस्थामा सदस्यता कायम रहेकोले पूर्ण घर सदस्य वडा समेत घोषणा गरेको जनाइएको छ । यस अगाडि यसै वडामा प्रतिपरिवार दुई बोट कुरिलोका बिरुवा वितरण गरिएको थियो भने टोलटोलमा फोहर संकलनका लागि डस्टबिनको व्यवस्था गरिएको छ ।  झण्डै चार अर्बको वित्तीय कारोबार गरिरहेको किसान साकाेसले हाल ८४ हजार सदस्य र ११ हजार बाल बचतकर्ता सहित ९५ हजार जनालाई प्रत्यक्ष सेवा दिइरहेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपाको माग : गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सघाउनुपर्ने माग गरेको हो । कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वमा स्वयं सांसद लेखकले 'प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघिनुपर्छ' भन्ने धारणा व्यक्त गरेका स्मरण गराउँदै अहिले आफूले त्यही नै अभ्यास गर्नुपर्ने पार्टीको धारणा छ । रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गृहमन्त्री र उहाँको सचिवालय नै भिजिट भिसा मार्फत् मानव तस्करीमा संलग्न भएको कुरा सार्वजनिक भइसकेको अवस्थामा राजीनामा दिएर निष्पक्ष छानबिनमा सघिनु जरुरी छ ।' यता, गृह मन्त्रालयले शनिबार नै विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ । साथै अख्तियारबाट हुने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।

अनलाइन पत्रकार संघको अध्यक्ष बने सत्याल, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने साथै सदस्यहरुमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् । संघको १४औं साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल थिए ।  

राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाम शाखा सञ्चालनमा, २९७औँ शाखाको उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहकाबीच शाखाको संयुक्त रुपमा समुदघाट्न गरेका छन् ।  उक्त अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले यस क्षेत्रमा बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए । रा.वा.बैंकमा सरकारको लगानी भएकाले यो जनताकै बैंक हो र नागरिकले यस बैंकसँग बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।  उनले अहिले बैंकमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गर्न सक्षम रहेको बताए । उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेवी भुजेल, धनुषाधाम नगरपालिका ३ न. वडाका अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धकहरू, कर्मचारीहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रम संगम महतले सञ्चालन गर्नु भएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।   

सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि रामे मगरको टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ।  रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो । एमेच्योर गल्फरहरू सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।  प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । टिमका एमेच्योर खेलाडीहरु रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।  यस्तै प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोर सहित तेस्रो भयो । एमेच्योर खेलाडीहरु स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे ।  महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् ।  यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा कुल ९० एमेच्योर गल्फरको सहभागीता रहेको थियो ।  प्रतियोगिताका विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।  हिजो सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए । उनले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए ।  अब सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रो-एम जुन १४ मा हुने बताइएको छ ।

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको निधन

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको निधन भएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युत्‌को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ । उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनका साथै अन्य पाँच जनाको ज्यान गएको छ । सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ । सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, 'हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौं । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।' दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ । सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ । रासस

गृहमन्त्री लेखकको चेतावनी : गलत काम गरे राजनीतिबाट विदा लिन्छु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहने युवाहरूबाट रकम असुली भएको प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति गृहमन्त्री रमेश लेखकले कडा प्रतिक्रिया दिएका छन् । शनिबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू कुनै गलत काममा संलग्न नभएको दाबी गर्दै यस्तो काम भएको प्रमाणित भए राजनीतिबाटै टाढिने घोषणा गरेका छन् । उनले भने, 'जुन दिन म यहाँ (गृहमन्त्री) आएँ, त्यस्तो कुनै गलत काम भएको पाइए भने त्यो दिनदेखि म राजनीतिमा देखिंदिनँ ।' गृहमन्त्री लेखकका अनुसार मन्त्रालयले आजै औपचारिक विज्ञप्तिमार्फत प्रकरणबारे स्पष्ट पार्नेछ । उनले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियालाई लिएर आफूपनि अनुसन्धान गरिरहेको जानकारी दिए । 'दुई–चार दिन चुप लागेर बसेको थिएँ, किनभने के भइरहेको छ, कहाँबाट भइरहेको छ भनेर बुझिरहेथें । धेरै कुरा थाहा भइसकेको छ,' गृहमन्त्री लेखकले भने । उनले यो विषयले पार्टीको गरिमा खस्काउने खालको नभएको दाबी गर्दै छानबिन निष्पक्ष ढंगले हुने विश्वास व्यक्त गरे । यसैबीच, भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकरणमा संलग्न अन्य कर्मचारीहरूतर्फ पनि अनुसन्धान अघि बढाएको छ । शुक्रबार गृहमन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका कम्तीमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । हटाइएका अधिकांश नायब सुब्बा स्तरका कर्मचारी रहेको बताइएको छ ।

ओझेलमा चमेरे गुफा : प्रचारप्रसार र पूर्वाधार अभावले पर्यटकीय सम्भावना खुम्चियो

इलाम । पर्यटनको सम्भावना रहेको इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ । प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । 'चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ', जवेगुले भने, 'त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।' देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् । गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ । तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । 'यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ', अध्यक्ष राईले भने । माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए । रासस